१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सम्झना कति–कति

यात्रा
डा ध्रुवचन्द्र गौतम

काठमाडौँ — दुनियाँमा एकै ठाउँ यस्तो छ, जहाँ जान मलाई कारण चाहिन्न, परिस्थिति मात्र चाहिन्छ । त्यो ठाउँको नाउँ हो, वीरगन्ज । वीरगन्ज मेरो बाल्यकाल बितेको ठाउँ, ठीक हो । म जन्मे–हुर्केको ठाउँ, यो पनि ठीक हो । तर यति मात्रले पुग्दैन ।

सम्झना कति–कति

वीरगन्जको मोह वा आकर्षण यसरी किन छ ममा, म ठ्याक्कै भन्न सक्दिनँ । मेरो नागरिकता वीरगन्जको छ, मोटरबाइक लाइसेन्स वीरगन्जकै छ, अब त भनुँ— थियो । काठमाडौं डेरामा बसुन्जेल अर्थात् कैयौं वर्ष, म आफ्नो नाम, थर, वतनमा वतन : वीरगन्ज, कुम्हालटोल नै लेख्ने गर्दथें, हाल : काठमाडौं भन्थें । अब भने प्रँविधिक रूपमा मिल्दैन, कुरा मानसिक रूपको बेग्लै छ । मानसिक रूपमा अझै पनि मलाई त्यो घर झल्झल्ती सम्झना हुन्छ, जुन अहिले छँदै छैन । घरको फोटो खोजेको, त्यो पनि पाइएन । त यो लेखमा वीरगन्जका ती कुराको पनि सम्झना गरिनेछ, जुन आज छैन, भए पनि परिवर्तित रूपमा छ । तर पहिले, यस पटकको वीरगन्जको यात्रा–प्रसंग ।

‘देशका तीन जना चिनिएका लेखक–साहित्यकारहरू यसपाला फिरन्ता बनेर काठमाडौंबाट वीरगन्जसम्म गएको यो वृत्तान्त आफैंमा जति रोचक छ, त्यति नै बितेका दिनहरू सम्झने यस पटकको तौरतरिका एकदमै भिन्न छ । लेखन, प्रयोग र शैलीको यो लेखोट आफैंमा बनेको छ— डा. गौतम नोस्टाल्जिया ।’

साहित्यकार/सम्पादक नगेन्द्रराज शर्माले एक दिन एउटा सानदार गाडी किने । एक दिन कार्यक्रम बन्यो— काठमाडौंबाहिर घुमौं त्यसै गाडीमा । काठमाडौंबाहिर भनेपछि उही वीरगन्ज । मैले अनुरोध गरें— साथीहरूले माने । सहयात्रामा अर्का यायावर थिए— कथाकार ध्रुव सापकोटा ।

यो वीरगन्ज योजनामा सुरुमैं जोडिएर आएको थियो— वीरगन्जको टाँगा, रक्सौल, त्रिजुद्ध स्कुल, वन्दी गृहसहितको एउटा नोस्टाल्जिक संस्मरण लेखन । कुरो त गरियो, तर आज वीरगञ्जमा टाँगा छ कि छैन होला ? ‘प्रतीक’ का प्रधानसम्पादक जगदीश शर्मालाई काठमाडौंबाटै फोन गरेर सोधें— के थाहा यतिन्जेलमा टाँगा पनि ‘नेस्तनावुद’ भइसक्यो कि ?

त्यसैको परिणाम हो यहाँ देखिएको यो तस्बिर जसमा हाम्रो टोली टाँगा चढेर कतै जान खोज्दै गरेको देखिन्छ । हो, वीरगन्जमा सुरुमा एक्का नै थियो । साँच्चि भन्ने हो भने, वीरगन्जमा मैले टाँगाभन्दा एक्का नै बढी चढेको छु आफ्नो एक आनाको जमानामा । एक्का एउटा ‘ओहार’ (सेड) बिनाको सवारी हुन्थ्यो, जसमा चार जना पिठ्युँ जोडेर बस्दथे । काठको ‘समरो’ (फ्ल्याट) चौखटमाथि लम्पटजस्तो ओछ्याइएको हुन्थ्यो । पछिल्तिर काठकै डेढ बित्ता अग्लो र डेढ हात जति लामो एउटा छेको (टेको) हुन्थ्यो जसलाई पिठ्युँ जोडेर बसेका पछिल्तिरका एक–एक सवारीले समाउन सक्थे । अन्य दुई सवारी, टेको समाउनेलाई समाएर बस्थे, आवश्यक पर्‍यो भने । प्राय: चार कहिलेकाहीं पाँचसम्मको ग्रुप बनाएर जान्थ्यौं हामी । एकवान तल बस्थ्यो र एक्का तान्ने घोडा/घोडीको पिठ्युँमा कोर्रा वा पैना चलाउँदै । पैना माने पातलो प्रायजसो बाँसको छडी ।

केटीहरू पनि त्यसै गर्दथे, आफ्नो समूह चार जनाको बनाउँथे, एक एक्काको समूह र रक्सौलतर्फ जान्थे । नत्र एकवान भन्दै हिंड्थ्यो, एक सवारी–एक सवारी रक्सौल...। हामीलाई त ठीकै पनि हुन्थ्यो, सवारी खोज्दा, अलिकति एक्कामा घुमाउँथ्यो पनि । केटीहरूलाई भने डर हुन्थ्यो— कुनै एउटा मुछक्कड आएर पिठ्युँमा ढेस्सिएर बसिदिन्छ कि ? उनीहरू प्राय: चौथो साथी आफैं खोजेर एक्का चढ्थे । हो, म चित्रकार भएको भए आज मेरो मनमा रहेको एक्काको स्पष्ट आकार कोरेर देखाइदिन्थें ।


एक्काको घोडा कुनै कुनै त बडेमानको हुन्थ्यो जसलाई हामी ‘अरबी घोडा’ भन्थ्यौं । धेरैजसो घोडा वा घोडी भने, ‘मरियल’ नै हुन्थे । कहाँसम्म भने कहिलेकाहीं, सवारीको भार थाम्न नसकेर ती थौसिदिन्थे अर्थात् बीच सडकमै लडिदिन्थे, एकाएक बसिदिन्थे । ‘थौसिने’ भनेको त्यही हो । हामी ओर्लेर उभिन्थ्यौं, त्यो क्षण थोरै रोमाञ्चक पनि लाग्दथ्यो । केटीहरू भने हलुका संकोच र सरम अनुहारमा छिट्याएर उभिन्थे । कारण, दर्शकहरू त्यहाँ कताकताबाट घुईचै बनाउने गरी रसाएर आउँथे ।

एक्का सम्झँदा, अहिले एउटै नाउँ सम्झन्छु— मुहम्मद अली । मुहम्मद मेरो प्रारम्भिक स्कुलको साथी थियो । सरल, कम बोल्ने भलाद्मी । पछि उसले यही एक्का चलाउने धन्दा अँगाल्यो । एक्का सम्झँदा उसको सम्झना यसकारण पनि आउँथ्यो कि ऊ मसँग कहिल्यै भाडा लिँदैनथ्यो ।

यस्तै एक्कामा चढेर एक रात चार जना एसएलसी दिनुपर्ने विद्यार्थी, जाँच दिनु नपरोस् भनेर घरबाट भागेर गएका थिए । ती चार जनामा एक मंै थिएँ । त्यसरात एक्का चढ्दा मैले मुहम्मद अलीलाई खुबै सम्झें । ऊ भएको भए पैसा बँच्ने थियो भनेर ।

एक्कापछि टाँगा, टाँगापछि रिक्सा र अब त वीरगन्जमा ट्याक्सी, ई–रिक्सा आदि धडधडाएर चल्छन् । यिनै कारणले होला— यीमध्ये सहरको सबभन्दा प्राचीन भनिएको एक्का अब वीरगन्जबाट विस्थापित भएको छ । हामीले एक्का नचढेर टाँगा चढ्ने कारण यही थियो ।

‘सामूहिक अवचेतन’ भनेजस्तै सामूहिक नोस्टाल्जिया हुन्छ कि हुँदैन, म भन्न सक्दिनँ । तर, मान्छे हो भने नोस्टाल्जिया सबसँग हुन्छ, यो थाहा छ । अतीतबोध, तीव्र अतीतबोध, विगतबोध, के भन्ने ? वीरगन्जको त्यही भूमि–भूगोल र वातावरणका सम्झनाहरू जसबाट म निर्मित भएको छु, यो मेरा लागि आफ्नै महाभारत हो । एक बसाइ वा एक लेखाइमा यो सम्भव छैन ।

मैले जबदेखि वीरगन्जलाई देखें, एउटा नगरपालिकाकै रूपमा देखें । पहिले नगर मात्र थियो, पछि नगरपालिका बन्यो विधिवत् । पहिलो चुनाव मलाई याद छ । हाम्रो वडाबाट शम्भु श्रेष्ठ जितेका थिए । हाम्रा पिताजीहरू आफ्नो प्रतिनिधिलाई बधाई दिन राति नौ बजे रेशमकोठी, उनको घरमा जानुभएको थियो । म एकदम सानो थिएँ । मेरो त्यहाँ के काम ? तैपनि म त्यो हूलमा थिएँ । केशरमान मानन्धर वीरगन्ज नगरपालिकाका प्रथम ‘चेयरम्यान’ थिए । उनी यति धेरै चेयरम्यान बने कि उनको नाउँ नै केशरमानभन्दा ‘चेयरम्यान’ भनेर बढी प्रचलित भयो नगरभरि । उनी सय वर्षको आयुमा हालै बिते । त्यसअघि उनी ‘माडसाब’ थिए, त्रिजुद्ध हाई इङ्लिस स्कुलका । ३–४–५ क्लासमा उनी मेरा शिक्षक थिए । निकै राम्रो पढाउँथे ।
त्रिजुद्ध हाइस्कुल त्यस भेगको एक मात्र हाइस्कुल हुनाले केवल हाइस्कुल भने पुग्दथ्यो । कहाँ पढ्छस् ? हाइस्कुलमा । त्यसपछि अर्को प्रश्न सोध्ने आवश्यकतै थिएन ।

यस स्कुलसित मेरा ठूल्ठूला अनुभव जोडिएका छन् । मेरो पहिलो स्कुल र पहिला गुरु त यहाँका थिएनन्, तर मेरो व्यक्तित्व बनाउने गुरुहरू यहाँ थिए । यहाँ तीन कक्षामा भर्ना भएपछि एकै पटक एसएलसीपछि नै यहाँबाट म निस्कें । निस्कें पनि के भन्नु ? यसै स्कुलमा आईए, बीए, श्री ठाकुरराम कलेज भनेर रात्रिकक्षाका रूपमा खुलेको थियो, त्यसैमा पढ्न थालें ।
एक्का चढेर रक्सौल सिनेमा हेर्न थाने बेला तिनै थिए । वीरगन्ज र रक्सौल गरेर जम्मा दुई हल थिए, दुवै भ्याउँथ्यौं प्राय: । पत्रपत्रिकामा बेलाबेलामा हिन्दी फिल्मबारे मेरा लेख आउँदा कतिपय पाठकहरू मसित खुबै चर्चा गर्छन्, अन्य विषयभन्दा कता हो कता बढी । म भन्छु— “पहिले सिनेमालाई म ‘पे’ गर्थें, अहिले सिनेमाले मलाई ‘पे’ गर्छ ।” वीरगन्जको त्यस बेलाकै सिनेमाको अनुभवले मेरा त्यस्ता लेखलाई केही मौलिक र निजी बनाएको छ, नत्र त ती सूचनाका भकारी मात्र हुन्थे होलान् ।


स्कुलमा एउटा लाइब्रेरी थियो । बंकिमचन्द्रका ‘दुर्गेश नन्दिनी’, ‘आनन्द मठ’ आदि रवीन्द्रनाथ ठाकुरका ‘नस्ट–निड’, ‘नौका डुबी’ र शरतचन्द्रका त कति हो कति उपन्यास मैले त्यहीँ पढ्न पाएँ । भागवत कुञ्ज वा पञ्चगीतबाहेक स्कुलमा परिचित भएको पहिलो नेपाली कविता थियो :

खाँबाका कशिपुत्र त्यो कशिपुले
सोध्यो कडाइ गरी
मार्छु नत्र बता कहाँ छ अहिले
त्यो राम तेरी हरि ?
यो कविताको प्रकाशन, दार्जिलिङबाट प्रकाशित नेपाली साहित्य, भाग–३ मा सम्भवत: भएको थियो । कविको नाउँ थाहा भएन, सम्पादक पारसमणि प्रधान नै थिए कि ? यकिन भएन । एउटा थियो हिन्दीमा ‘बाल साहित्य भाग–३’ जसमा ‘राम–केवट संवाद’ भनेर तुलसी दासको ‘रामचरित मानस’ बाट लिइएको कविता थियो :

छुवत शिला भई नारी सुहाई
काहन तेन काठ कठिनाइ
यसैगरी मेरो पठनपाठन हाइस्कुलमा चल्दै गयो । कोर्सको कम, लाइब्रेरीको ज्यादा पढ्दै । शुक्रबार टिफिनपछि छुट्टी हुन्थ्यो । त्यसै बखत लाइब्रेरीमा किताब दिथ्यो । त्यो किताब आइतबार ल्याएर बुझाउनुपर्दथ्यो । मेरो पहिलो संगठित र ‘धुवाँदार’ साहित्यिक पुस्तकको पढाइ त्यहींबाट सुरु हुन्छ ।

वीरगन्जमा श्यामप्रसाद पनि थिए, आठ सालतिर । उनले ‘सेवा’ नामक साहित्यिक पत्रिका निकालेका थिए । त्यसमा प्रकाशित सबै कथा र कविता म चाट्थें । त्यसैमा एक दिन धनुषचन्द्र गौतम (मेरा दाइ) को एउटा कथा प्रकाशित भएको थियो— ‘कहानी प्लाट’ । धनुषचन्द्रपछि साहित्यिक दुनियाँमा ध.च. गोतामेका नाउँले प्रख्यात भए । उनको प्रथम प्रकाशित कथा त्यही ‘कहानी प्लाट’ थियो । अनि मैले देखेको पहिलो नेपाली पत्रिका पनि त्यही ‘सेवा’ नै थियो । ‘सेवा’का कारण नै होला— पछि श्यामप्रसादले आफ्नो घरको नाउँ नै ‘सेवा–सदन’ राखेका थिए ।

वीरगन्जमा निकै साहित्यकार पनि आउँदा रहेछन् । कृष्णचन्द्रसिं प्रधानले वीरगन्जसँग आफ्नो पुरानो सम्बन्ध रहेको कुरा विस्तारमै लेखेका छन् । सिद्धिचरण श्रेष्ठ, विजय मल्ल आदिको पनि आवतजावत थियो भन्ने बुझिन्छ । म बाल्यकालमा कहिलेकाहीं लेखनाथलाई वीरगन्जको सडकमा देख्दथें । उनलाई देख्दा त्यही नेपाली साहित्य भाग कतिमा हो, छापेको एक कविता ‘नैतिक दृष्टान्त’ सम्झन्थें । सम्झने कारण कविता त्यति होइन, जति त्यसमा छापिएको उनको एउटा ठूलो तस्बिर थियो । लेखनाथलाई देख्दा म मिलाउन खोज्थें, फोटो र साक्षात् उनमा कति अन्तर छ भनेर । म पाउँदथें— फोटोभन्दा साक्षात् लेखनाथ निकै वृद्ध छन् ।

गोपाल दाइ (गोपाल गोतामे, लेखक/पत्रकार) को नाउँमा बाबुराम आचार्यले लेखेको एउटा चिठी मैले पढेको थिएँ जसमा ‘जग्गासम्बन्धी केही समस्यामा सहयोग गर्न’ भनिएको थियो । मलाई भनिएको थियो—‘यिनीहरूको यता जग्गा छ, त्यसैको व्यवस्थापन गर्न, बाटो पर्ने हुनाले यहाँ आइरहन्छन् ।’


२०१४ सालतिर (मिति केही यताउति हुन सक्छ) एक दिन अचानक एउटा अद्भुत घटना भयो । हाइस्कुलमा एउटा हल थियो । हालै म त्यहाँ गएको थिएँ । त्यस कोठालाई ‘हल’ त अझ पनि भन्दा रहेछन्, तर त्यहाँ परीक्षा–पुस्तिकाको बन्डलैबन्डल भरिएको थियो । नौ क्लासमा हाम्रो पढ्ने कोठा थियो त्यो । त्यहींं कहिलेकाहीं जादु देखाउने वा अन्य ‘करतव’ देखाउनेहरूको कार्यक्रम पनि भइरहन्थ्यो । त्यस्तो बखत हामीलाई मात्र के, सारा स्कुल छुट्टी हुन्थ्यो । हामीलाई मजा त त्यही थियो । वादविवाद प्रतियोगिता त्यहीं हुन्थ्यो । एक पटक मैले पनि भाग लिएँ त्यसमा म दोस्रो भएँ । त्यो काफी थियो, मेरा लागि । वादविवादको विषय थियो— ‘सिनेमा हेर्नु असल हो कि खराब ?’ मैले भनें ‘असल हो’ भन्ने पक्षमा जिकिर गरेको थिएँ ।

मैले माथि भन्न खोजेको ‘चमत्कार’ अर्कै थियो । कवि लक्ष्मीप्रसाद देवकोटा भर्खरै रुसको भ्रमण गरेर फर्केका थिए । कसरी–कसरी एक दिन त्यही हलमा देवकोटाको स्वागत समारोहको कार्यक्रम राखियो । त्यस बखतसम्म देवकोटा हाम्रा लागि ‘महान्’ भइसकेका थिए । त्यति महान् व्यक्तिलाई साक्षात् देख्न पाउनु म साहित्यतिर ढल्किसकेको केटाका लागि त सबैभन्दा ठूलो घटना हुने नै भयो । नभन्दै त्रिजुद्धको मेरो अध्ययनकालमा त्योभन्दा ठूलो समारोह अरू भएन । कम्तीमा मैले मानिनँ ।

त्यो दिनसम्म मैंले देवकोटाको नाम मात्रै खुबै सुनेको थिएँ, तस्बिर भने देखेको थिइन । तर एकाएक सामुमा साक्षात् देख्न पाउँदै थिएँ । मेरा लागि देवकोटा त्यस्ता थोरै साहित्यकारमा पर्छन् जोसित पहिले साक्षात्कार भयो, अनि तस्बिर देखियो । साक्षात्कारको अर्थ केवल साक्षात् देख्नु हो, बढी होइन ।

समारोहमा विद्वान् प्राध्यापक नन्दकिशोर सिन्हाले अंग्रेजीमा स्वागत भाषण गरेका थिए । उनले भनेका थिए— ‘देयर इज ए थिन डिमार्केसन लाइन, बिटविन अ पोएट एन्ड अ लुनाटिक ।’

अनि देवकोटाको बोल्ने पालो थियो । श्रोताको आग्रह आएपछि उनले सुरुमा कविता सुनाउन चाहे । देवकोटाले कविशिरोमणि लेखनाथको ‘पिँजडाको सुगा’ पो सुनाउन थाले । तर, श्रोतागणले ‘अरूको होइन, आफूलाई मन पर्ने आफ्नै कविता सुनाउनुपर्‍यो’ भनेपछि देवकोटाले उनको ‘पागल’ र ‘गोली हो’ कविता सुनाएका थिए ।

त्यसपछि देवकोटाले मन्तव्यमा भनेका थिए— ‘विद्वान् मित्रले भन्नुभयो— पागल र कविमा धेरै फरक हुन्न । त्यो म जान्दछु तर म के पनि मान्दछु भने दुनियाँमा पागल त सबै पागलै हुन्छन् । तर, कवि मात्र एउटा काम लाग्ने पागल हो, अरू जम्मै बेकम्मा पागल ।’

म सम्झन्छु— ताली र हाँसोको समवेत ध्वनिले हल धेरै बेरसम्म गुन्जायमान भएको थियो ।

२०२५ सालतिर पारिजात पनि वीरगन्ज आएकी थिइन् । त्योबेला गोपाल दाइले दिवा–भोजको निम्तो गरेपछि हामीकहाँ घरमा पनि एक दिन आएकी थिइन् । पारिजातको स्वागत समारोह माईस्थान विद्यापीठ स्कुलमा भएको थियो । पारिजातबारे स्वागतमा मैले निकै बोलेछु, दुई घण्टा जति । पछि पारिजातले बोल्दा भनिन्, ‘ध्रुवजीले मेरोबारेमा धेरै नुन–खुर्सानी हालेर बोल्नुभयो ।’

त्यो मेरो कुरा सुन्नेमा जगतमोहन अधिकारी, ठाकुरराम कलेजका तत्कालीन प्रिन्सिपल पनि थिए । तिनले निकै मन पराएछन्, पछि थाहा लाग्यो । वीरगन्जमा नेपाल–भारत सांस्कृतिक केन्द्र खुलेपछि मेरो पठनपाठनको रफ्तार झन् बढ्यो । धर्मवीर भारतीदेखि निर्मल बर्मा, कमलेश्वर, मोहन राकेश, कवि सर्वेश्वर दयाल सक्सेना आदि । ‘नई कविता’, ‘नई कहानी’का उन्नायकहरू लगभग सबै । पहिले इलाचन्द्र, भगवतीचरण र यशपालहरू पढिसकेकै थिएँ ।

२०१८ सालताका वीरगन्जमा मलाई कविका रूपमा पनि जान्न थालेका थिए । पहिले गायकका रूपमा लिन्थे । हरसाल सरस्वती पूजाका दिन म गीत गाउँथें, कहिले सिंगल, कहिले डुएट । डुएट सुपेन्द्रबहादुर श्रेष्ठसँग गाउँथें, जो मेरा बालसखा/टोलसखा सब हुन् । (सुपेन्द्र हाल वीरगन्जमै छन् ।)

२०१९ मा भूपि वीरगन्ज आएका थिए । उनलाई मैंले केही कविता सुनाएँ । उनले एक कविता, उत्तम कुँवरको नाउँमा चिठी लेखेर ‘रूप–रेखा’ मा छाप्न सिफारिस गरिदिए । त्यही कविता २०२० साल वैशाख १ गतेको ‘रूप–रेखा’ कविता विशेषांकमा छापिएको मेरो प्रथम नेपाली कविता थियो— तटस्थता : असफलता ।

यस बखतमा स्कुल र कलेजमा मैले टल्सटाय, अस्कर वाइल्ड, ओ हेनरी, ड्राइडन, पोप, सेक्सपियर आदिको अध्ययन गरिसकेको थिएँ । यसै वर्ष पहिलो कथा छापियो : एक यात्रानुभूति । त्यसपछि मेरो प्रकाशन यात्रा थालियो । अखबारहरूमा पनि लेख्न थालें पछि— समीक्षा, विमर्शतिर । ‘कान्तिपुर’ प्रकाशित भएको केही पछि आएको ‘कोसेली’ पहिलो अंकमा पारिजातबारे मेरो आवरण लेख छापिएको थियो । म बेलाबेला फिल्मी कुरो पनि लेख्छु । विविधतामा मधुबालादेखि किर्केगार्डसम्म लेखेको छु । रमाइलो के छ भने ‘मधुबाला पढें है’ भनेर धेरै जनाले भन्ने गरेका छन्, तर किर्केगार्डबारे चाहिं कोट्याएरै सोध्नुपर्छ । भन्न खोजेको के हेाँ भने यी सबैको जगमा वीरगन्ज नै छ । यो जगमा पत्रकार दाइ ईश्वरचन्द्र गौतम वीरगन्जमै मेरो आडभरोस हुनुहुन्छ ।

वीरगन्जबाट मैले पुरस्कार पनि पाएको छु । गोविन्द सिंह बडाहाकिमले दिएको रु. २५ देखि राजा महेन्द्रले दिएको भारु १०० सम्म । विमल श्रीवास्तव मेयर हुँदा उनले दिएको नगरपालिका सम्मानदेखि गोपाल गिरीले मेयर हुँदा गरेको सम्मानसम्म । त्यसैगरी गोपल अश्कको भोजपुरी समाजले गरेको ‘स्वर्ण–सूत्र–सम्मान’ देखि ‘नारायणी वाङ्मय’ सम्मानसम्म । योभन्दा के चाहियो अरू ?

वीरगन्जबाट म त एक व्यक्ति मात्र हुँ । अरू पनि कति साहित्यकार राष्ट्रिय स्तरका भएका छन्, मभन्दा लोकप्रिय । यहाँका कति जना राजदूत र न्यायाधीश, प्रधानन्यायाधीश पनि भएका छन् । शिक्षा क्षेत्रमा पनि वीरगन्जको ठूलो नाम छ । उद्योगमा त यसलाई औद्योगिक नगरी नै भनिन्छ ।

वीरगन्जका यतिका स्मृति, यतिका अनुभव, यतिका देन र अतीतबोधी भावका साथ, लेखकका रूपमा गुजारा गरिरहेको म, मलाई वीरगन्जले नै बनाएको हो । बिग्रेको जति बरु आफैं हो भन्ने म, वीरगन्ज जान कुनै कारण खोज्ने कारण नै देख्न सक्दिनँ । यस पटकको मेरो/हाम्रो वीरगन्ज–यात्रा त्यस्तै थियो ।

नगेन्द्र, ध्रुव र मैंले निकै रमाइलो मान्यौं—यसपटकको सहयात्रा । रक्सौलबाट फर्कदा टाँगामा फिर्‍यौं, बाटाभरको रौनक हेर्दै । एकदिन एक्लै टहलिंदैं म आफ्नो हाइस्कुलदेखि बन्दी गृहसम्म पुगें । आसपासका मठमन्दिरहरू गएँ । नगेन्द्र र ध्रुब साथैमा रहे, भए पनि यसपटक म बढी हराएँ— आफ्नो बीरगंन्जमा । यसपाला यस्तै भयो । आगे देखा जाएगा ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?