गल्लीभित्रका चित्र

कला
आँखा र हातगोडाले साथ दिएसम्म राजु मानन्धर भने काममै हराइरहने सदिच्छा सुनाउँछन् । ‘चित्र नै मेरो जीवन,’ उनी भन्छन्, ‘जीवन नै मेरो चित्र, अरू थप के भनौं र ?’
मधु शाही

काठमाडौँ — राजुका चित्र सिर्जनाहरू आज विश्वका १ सय ४० देशमा पुगिसकेका छन्, २५ हजारभन्दा बढी चित्र बिदेसिएका होलान् । चित्र बनिसक्न पाउँदैन, खरिदारी गर्ने ग्राहक ढोकैमा आइहाल्छन् ।

गल्लीभित्रका चित्र

यसकारण पनि कला प्रदर्शनी गर्न चित्रकै अभाव बेहोरिरहेका छन् राजु मानन्धर ।

तीन वर्षअघि भूकम्पले खलबलिएको एउटा बस्ती । त्यहींनिर सानो गल्ली । न कुनै साइनबोर्ड छ, न त विज्ञापन नै । मान्छेहरू पालैपालो उही भित्री गल्ली पुग्छन् र अमूल्य चित्रहरू हेरेर वा साथै बोकेर बाहिरिन्छन् । पाटनस्थित सुनधारा गल्लीभित्र एउटा यस्तो घर छ, जहाँ हरेक दिन चित्र जन्मिन्छ । घरको भुइँ तलामा दुई दशकदेखि सुनको भाउमा चित्र जन्माइरहेका छन्— चित्रकार राजु मानन्धर । त्यहींका बासिन्दा र उनका ग्राहकबाहेकलाई यो खबर धेरै थोरैलाई मात्रै थाहा छ । काम गर्नेहरू हल्लाको पछाडि दौडिँदैनन् । त्यसैले राजु गल्लीभित्रको भुइँघरमा मौन छन्, मौन साधनाजस्तै चित्र कोरिरहेका छन् ।


कुची र क्यानभास राजुका सबथोक हुन्, एकाग्र भएर चित्र कोर्नु उनको दैनिकी । आधी घण्टा मात्रै गफगाफमा भुल्ने हो भने एक दिनको सिर्जना खेर गएसरह हुन्छ, चित्र अपुरै हुन्छ । त्यसैले उनको काम गर्ने ठाउँ असली ग्राहकबाहेक अरूलाई पत्तै छैन । बालाजु बस्ने उनी बिहानी झिसमिसेमै कर्मथलो आइपुग्छन्, बेलुका अबेरसम्मै काममै दत्तचित्त हुन्छन् ।
पोखरामा जन्मेका राजु पाल्पा मावलीमा हुर्किए । हुनलाई पाल्पा र पोखरा दुवै कलात्मक थातथलो हुन् । उनलाई लाग्छ— सायद यिनै ठाउँको हावापानीले उनलाई कलाकार बनाएको हो । २०३८ सालतिरको कुरा हो, राजु भर्खरै १३ वर्षका थिए । काठमाडौंमा साइनबोर्ड लेख्ने काम पाएमा टन्नै आम्दानी हुन्छ भन्ने उनले सुनेका थिए । सुनेकै भरमा साइनबोर्ड लेख्ने जागिर खान उनी काठमाडौं आएका थिए । ‘उतिबेला भर्खरै भोटाहिटी बजार खुल्दै थियो । बाटो बन्ने क्रममै थियो । हातले कला लेख्ने कलाकार भनेर मलाई हेर्न आउने थुप्रै मानिस हुन्थे,’ उमेरको स्वर्ण जयन्ती मनाएका राजु भन्छन्, ‘उतिबेला साइनबोर्ड लेखेबापत पारिश्रमिक ६ सय रुपैयाँसम्म पाइन्थ्यो ।’


साइनबोर्ड लेखिरहँदै गर्दा एक दिन राजुलाई कलात्मक कामको र सिर्जना उतार्ने प्रस्ताव आएको थियो । राजनबाबु खड्का नामका असल पात्रले चित्र कोर्न अर्डर दिएका थिए । त्यही चित्रले राजुलाई साइनबोर्ड आर्टिस्टबाट चित्रकार बन्ने बाटो खोलिदियो । त्यही दिनदेखि राजन–राजुको साथसाथ चलिरहेकै छ, आडभरोसको दह्रिलो साथीका कुरामा ।


चित्रकलाको ‘सिल्भर जुब्ली’ पार गर्दासम्म राजुले कामबाट थकाइ मार्ने क्षणको कल्पना गरेका छैनन् । रिटायर्ड जीवनको उनी कल्पना गर्न पनि चाहँदैनन् । संयोग के छ भने राजुसँग आफूले काम गर्न थाल्दाका अर्थात् २० वर्षअघिका ग्राहकहरू अझै नियमित छन्, नयाँ ग्राहक र बजार उनले खोज्नै पर्दैन । ‘पुरानै ग्राहकको चित्त बुझाउँदा समय पुगिरहेको हुन्न,’ उनी भन्छन्, ‘नयाँ ग्राहक र नयाँ काम खोजिरहनै पर्दैन । नयाँ ग्राहकलाई पूरा गर्नै नसकिने वचन दिनुको के अर्थ ?’


कलाकार राजुकहाँ धेरैजसो पञ्चबुद्ध, दृश्यचित्र र पोट्रेट बनाउने ग्राहकहरू जोडिएका छन् । पारिवारिक फोटोलाई दुरुस्तै चित्रमा उतार्ने कला राजुमा छ, पोट्रेट काममा उनी सिद्धहस्त छन् । उनले अहिलेसम्म सयौं पोट्रेट बनाएका छन् । पञ्चबुद्ध र दृश्यचित्र भने प्राय: नेपालमा बस्दै आएका विदेशी ग्राहकले बढी किन्ने गरेको उनको अनुभव छ ।


दृश्यचित्र सन्दर्भमा राजुसँग एउटा रमाइलो अनुभव छ । १६ वर्षअघि कान्तिपुर दैनिकमा छापिएको जिरी बस्तीको एउटा ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटो थियो । जिरीको त्यो सादा तस्बिरलाई राजुले उतिबेलै क्यानभासमा रंग मार्फत उतार्न थालेका थिए । ‘दुरुस्तै भने होइन,’ उनले भने, ‘केही आर्टिस्टिक–इफेक्ट दिएको थिएँ ।’ त्यसपछि त्यही एउटै दृश्यचित्र राजुले सयौं पटक कोरे होलान् । हालै पनि उनको स्टुडियोमा त्यही जिरी–दृश्य चित्रमा उत्रिंदै रहेछ । गर्दागर्दा कस्तो भइसकेको छ भने राजुको आँखामा जिरीको सदृश्य कैद भइसकेको छ । बिनातिस्बर पनि क्यानभासमा उनी जिरी उतार्न सक्छन् । ‘एउटै जिरी दृश्य उतारेर लाखौं कमाएँ,’ उनी भन्छन्, ‘घर वा होटलमा साजसज्जा चाहनेहरू यही जिरी चित्र खोजिरहेका हुन्छन् ।’


फोटो हेरेर चित्रमय आकृति उतार्नु उनको कला हो तर यसमा आफ्नो कल्पनाशीलता पनि थप्नैपर्छ । फेरि हुबहु आकृति भइदियो भने त्यसमा कपीराइटको प्रश्न पनि जोडिन सक्छ । उही आकृति उतारे पनि राजुलाई हरेक चित्र फरक लाग्छ । चित्र र फोटोमा यही भिन्नता छ । चित्रकारले कोरेको एउटा चित्र अर्कोसँग तुलना गर्न पटक्कै मिल्दैन । ‘म हरेक दिन फरक चित्रको जन्म दिन्छु,’ उनी भन्छन्, ‘उस्तै चाहिने भए त प्रिन्ट निकाले भइहाल्यो नि ।’


केही समयपहिले उनले यस्तै १ सय ८ गणेशको मास्टरपिस बनाएका रहेछन् । यसमा एउटै गणेश आकृतिभित्र खोज्दै जाँदा थुप्रै गणेशका अनुहार देख्न सकिन्छ । उनको यो चित्र भारतीय ग्राहकले निकै मन पराएका रहेछ । ‘बेच्दिनँ भन्दाभन्दै किनेरै छाडे,’ उनी भन्छन्, ‘त्यो चित्र यस्तो मिराकल बनेको थियो, अब चाहेर पनि दुरुस्तै बनाउन सक्दिनँ ।’ राजुका अनुसार, उनका चित्र सिर्जनाहरू आज विश्वका १ सय ४० देशमा पुगिसकेका छन्, २५ हजारभन्दा बढी चित्र बिदेसिएका होलान् । झन्डै डेड दशकअघि राजुले पहिलो एकल चित्रकला प्रदर्शनी गरेका थिए । त्यसयता उनीसँग आफूले बनाएका चित्रसमेत आफूसँग एक दिन पनि बस्न पाएका छैनन् । बन्दाबन्दै बिक्री भइहाल्छ । यसकारण पनि दोस्रो पटक कला प्रदर्शनी गर्न चित्रकै अभाव बेहोरिरहेका छन् उनी ।


एक वर्षमा राजुले झन्डै ४ सय चित्र कोर्न भ्याउँछन् । भारतको गोवामा राजुले सबैभन्दा महँगो दाममा चित्र बिक्री गरेको सुनाए, त्यसको मूल्य थियो— झन्डै ७ लाख रुपैयाँ । अरू चित्रहरूको मूल्य पनि लाख रुपैयाँभन्दा कमी ‘धेरै कमै मात्र’ हुने गरेको उनी सुनाउँछन् । राजुका बुझाइमा, आफूले जानेको सीप र प्रकृतिले दिएको वरदानमा बिसौनी भन्ने कुरै आउँदैन । बिहानदेखि बेलुकैसम्म चित्रकारितामा जुटिरहँदा पनि उनी थाकेका देखिन्नन्, थकाइका बारे उनी कुरो गर्नै चाहँदैनन् । आँखा र हातगोडाले साथ दिएसम्म राजु मानन्धर भने काममै हराइरहने सदिच्छा सुनाउँछन् । ‘चित्र नै मेरो जीवन,’ उनी भन्छन्, ‘जीवन नै मेरो चित्र ! अरू थप के भनौं र ?’

प्रकाशित : असार २, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?