१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संस्कृतिसँग साक्षात्कार

समीक्षा
माधव घिमिरे

काठमाडौँ — मुलुक सांस्कृतिक रूपले विविधतायुक्त रहे पनि यसबारे पर्याप्त जानकारी दिने खाले कृतिको अभाव रहेको अवस्थामा नयाँ कृति बजारमा आएको छ । संस्कृति बृहत् क्षेत्र समेट्ने विषयवस्तु भए पनि यसको शोध, अनुसन्धान र अध्ययन गर्ने व्यवस्थित पद्धति बसेको पाइँदैन ।

संस्कृतिसँग साक्षात्कार

विभिन्न संस्कृति र त्यससँग सम्बन्धित अनेक पक्षबारे एकै ग्रन्थबाट जानकारी पाउन सक्ने अवस्था छैन ।
हालै आएको ‘नेपाली संस्कृति विश्वकोष’ पुस्तकले संस्कृतिसम्बन्धी पुस्तक अभावलाई केही हदसम्म पूरा गर्ने विश्वास अग्रज संस्कृतिविद्ले गरेका छन् । प्राध्यापक डा. सोमप्रसाद खतिवडाद्वारा लिखित यो पुस्तकबारे संस्कृतिविद् सत्यमोहन जोशीले ‘संस्कृतिका विविध पक्षबारे विश्वकोश प्रकाशन गरी आफ्नो पहिचान संसारभर फैलाएको’ बताएका छन् ।


बृहत् विषयवस्तु भए पनि सरल ढंगमा प्रस्तुत गरिएकाले सबैले बुझ्नमा कठिनाइ नहुने प्रतिक्रिया अरू साहित्यकार र संस्कृतिकर्मीको छ । आस्तिक–नास्तिक तथा जुनसुकै समुदाय र धर्मका मानिसका धारणा, सोच, विश्वास र परम्परालाई पनि यसले सहज रूपमा प्रकाश पारेको छ ।
मेचीदेखि महाकालीसम्मका धार्मिकस्थललाई पनि पुस्तकको विषयवस्तु बनाइएको छ । नेपालका विभिन्न जातजाति, तिनका भाषा, संस्कार, चाडपर्व, रीतिरिवाज, जात्रा, पर्व, उत्सव, लोकगीत, लोकवाद्य, लोकनृत्य, लोक परम्परा, व्रत र विश्वासका आधारहरूलाई पुस्तकमा रोचक रूपमा प्रस्तुत गरिएको छ । विभिन्न धर्म, देवीदेवता, ऋषिमुनि, ऐतिहासिक स्थल, मठमन्दिरहरू, तीर्थहरू, धार्मिक नदी, कुण्ड, पर्वत र ऐतिहासिक व्यक्तिबारे व्याख्या–विश्लेषण गरिएको छ ।


नेपालमा हिन्दु, बौद्ध, किरात, जैन, इस्लाम, प्रकृतिपूजक र इसाई आदि धर्म तथा तिनका शाखाहरू प्रचलित छन् । यी सबै प्रकारका धर्म र परम्पराबारे जानकारी दिने माध्यमका रूपमा पुस्तक आएको छ । हिन्दु धर्मभित्रका शैव, वैष्णव र शाक्तमत तथा तिनीहरूभित्रका पनि वीरशैव, पाशुपत, कापालिक, कालामुख, कश्मीरी शैव, श्रीवैष्णव, निम्बार्क, रामानन्दी, पुष्टिमार्ग, इस्कन, राधामाधव र श्रीकृष्णप्रणामीका साथमा अन्य कैयन् शाखा, सम्प्रदाय र मत तथा तिनका सिद्धान्त, दर्शन तथा नीतिनियमका बारेमा पनि चर्चा र विश्लेषण गरिएको छ ।


कौल र समयिन, सप्तमातृका, अष्टमातृका, नवदुर्गा, दसमहाविद्या, काली, भैरवी, सौर्य, गाणपत्य, मष्टो, जोस्मनी सन्त र पाञ्चायन मतको जानकारी दिनु यस ग्रन्थको अलग्गै विशेषता हो । बौद्ध धर्मका महायान, हिनयान, वज्रयान, कालतन्त्रयान र लामा बौद्ध धर्मका साथमा काग्र्युपा, सक्यपा, गेलुक्पा र निंमापा शाखाका बारे पनि पुस्तकबाट जानकारी पाउन सकिन्छ ।


किरात धर्मका साथमा प्रकृतिपूजक, जैनका श्वेताम्बर र दिगम्बर, इस्लामका सुन्नी र सिया, इसाईका क्याथोलिक र प्रोटेस्टेन्ट एवम् ओमशान्ति, कबीरपन्थी र उदासी धर्मको सूक्ष्म जानकारी पाउन सकिने पुस्तकमा दसैं, तिहार, कृष्णअष्टमी, रामनवमी, शिवरात्रि, विवाहपञ्चमी, ल्होसार, इद, मनिरिम्दु, उधौली, उभौली, मुन्धुम, चण्डी, देवाली, मस्टो, बुद्धजयन्ती, गाईजात्रा, घोडेजात्रा, जिब्रो छेड्ने जात्रा, खड्गजात्राजस्ता पर्वबारे पनि उत्तिकै जानकारीमूलक सामग्री समेटिएको छ ।


ऋषिमुनिहरूको तपस्थली रहेका कौशिकी, गण्डकी, वाग्मती र अन्य नदीका किनारी भाग र तिनको महत्त्व पनि यसमा समेटिएको छ । काठमाडौं उपत्यकाका कान्तिपुर, भक्तपुर, ललितपुर, त्यस वरपरका बनेपा, पनौती, नुवाकोट तथा बाइसे र चौबीसे राज्यहरू, सिम्रौनगढ, विजयपुर, चौदन्डी, मकवानपुर, पाल्पा र अन्य साना ठूला राज्य, तिनका मुख्य राजा र रजौटाहरू तथा भारदारहरूका बारे पनि यसमा जानकारी पाउन सकिन्छ ।


यति मात्र होइन कोतपर्व, भण्डारखालपर्व, मकैपर्व र अलौपर्वजस्ता ऐतिहासिक घटनाबारे पनि विस्तृतमा चर्चा गरिएको छ । विश्वकोशमा करिब पाँच हजार शीर्षक र ३ हजार जति उपशीर्षकमा समेटेर व्याख्या विश्लेषण गरिएको छ । नेपालका तालतलैया, नदीनाला र पोखरी तथा तिनको धार्मिक र ऐतिहासिक महत्त्व उजागर गर्न पुस्तक सफल देखिन्छ । प्रमुख देवस्थलका साथमा वराहक्षेत्र, रुरुक्षेत्र, पशुपतिनाथ, डोलेश्वर, मुक्तिक्षेत्र र स्वर्गद्वारीजस्ता धार्मिक स्थलहरूबारे पनि विस्तारमा चर्चा गरिएको छ ।


संस्कृतिको बृहत् चर्चा भए पनि विभिन्न समुदायका चिनारीका रूपमा रहेका लोक जीविकाका उपकरणजस्तो हलो, जुवा, ठेकी, मदानी, हर्पे, खुकुरी र तरबारजस्ता विषयवस्तुको जानकारी पाइँदैन । विश्वकोशमा चित्रहरूको अभाव खट्किन्छ । अक्षर निकै साना भएकाले पढ्न अलिक असहज छ ।

प्रकाशित : असार २, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?