कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुनेको–देखेको खप्तड

मेलामा रमौंला भन्ने आकांक्षाले गरगहना झरिझपक्कै भएर आएका महिलाहरूको ठूलो हूल चउरभरि राताम्य भएर रङमङिन थाल्यो । युवाहरू तरुनीसँग रातभर नै देउडा खेल्ने सुर कसेर आएका थिए, ओढ्ने ओछ्याउने नै नबोकी ।
स्थानीयहरू के भन्छन् भने आजसम्म पूरै खप्तड कसैले पनि घुम्न सकेको छैन । धेरै परपरसम्म यसका घाँसेमैदानहरू फैलिरहेका रहेछन् ।
घनश्याम खड्का

काठमाडौँ — अंग्रेजीमा एउटा भनाइ छ, त्यो के भने हजार पटक कुनै ठाउँको बारे सुन्नुभन्दा त्यो एक पटक हेरेकै श्रेष्ठ हो । खप्तड क्षेत्रबारे मेरा सम्बन्धमा भइदिएको यही थियो । जेठको पहिलो साता भने साइत जुर्‍यो । ‘खप्तड काव्य यात्रा’ र यसका संयोजक अमृत भादगाउँलेलाई धन्यवाद जसले सुदूरपश्चिमको यो सुन्दर भूमिमा अपर्झटसँग घुम्ने निम्तो दिएका थिए ।

सुनेको–देखेको खप्तड

दुई दिन लगाएर डोटीसम्म गुडेर पुग्दा मध्यरात भइसकेको थियो । हाम्रो इच्छा थियो— चिसो हिमाली हावा बग्ने सिलगढी गएर बस्ने । तर, बाटामा सर्पझैं गुडुल्किएका पहाडी बाटोमा घिस्रँदै गर्दा दिपायलमै अर्काे दिन सुरु हुने छाँट देखिएपछि कविहरूले लामो निद्राबाट बिउँझिएझैं गरी आङ ताने । खप्तडमा हुने गंगा दशहरा मेलामा जान भनेर सयौं यात्रु सहर पुगिसकेका रहेछन् र थाकेर यसैगरी बास बसिसकेका रहेछन् । त्यहीकारण कविहरूले दुई अलगअलग होटलमा खाँदिएर बस्नुपर्ने भयो ।


थाकेको ज्यानले ढुंगाको सिरानीमा पनि सपनाको स्वर्ग देख्छ । ओढ्ने र ओच्छ्याउने पाएपछि त झन् किन नदेख्नु ? म एकै झमटमा निदाएछु । आँखा खोल्दा त बिहान भइसकेको थियो । भोलिपल्ट दिन ढल्नै लागेपछि जिपले झिग्रानासम्म लगेर ओराल्दियो । अघिल्तिर नाकै ठोस्सिने पहाड ठिंग उभिएको थियो । यो चढेर अनि अलिकति झरेपछि बिचपानी भन्ने ठाउँमा आजको बास हुने जनाउ दिएका थिए, कवि हेमन्त विवशले ।


उकालो जति उक्लियो, उति रोमाञ्चक रहेछ । तनक्क भनेजसरी तन्केको पर्वतको भिरालो छातीमा कहीँकहीँ त पाइला अड्नेसम्मका केही समथर भुइँ मात्र थिए । मलाई उचाइसँग एक खालको लगाव छ । जिउ जतिसुकै गलेको भए पनि, पसिना जतिसुकै बगेको भए पनि र मुटु जतिसुकै धड्केको भए पनि पाइला अगाडि बढी नै रह्यो । अनादिकालदेखि समाधीस्थ पर्वतमा तपस्वीझैं मौन उभिएका रूखका कापकाप भएर बग्ने चिसो हावाको झोक्काले दिने आनन्द असिनपसिन भएर नहिँडी भेटिँदोरहेनछ ।


अविराम हिँडिरहेपछि रात छिप्पिने बेलामा बिचपानी भन्ने ठाउँ आइपुग्यो जहाँ एउटा सानो होटल र विश्रामका लागि केही कटेराहरू थिए । तर बासका आकांक्षीको संख्या थामिनसक्नु थियो । त्यस रात सुत्ने थैलामा पसेर कविहरूका माझ लस्करै काठको फलेकमा सपनाको स्वर्ग विचरण गरियो ।


बिहान भयो । चराहरू गुँडबाट भुर्र उडे । बटुवाहरू उठे र पाइलाहरू चाल्न थाले । सबको ताक खप्तडतिरै सोझिएको थियो । उकाली–ओराली र तेर्सो बाटा आधा दिनजति हिँडेपछि फराकिला घाँसेमैदान देखियो । खप्तड क्षेत्र आइपुगेछ । यसरी फैलिएका घाँसे पाटालाई अथ्र्याउने एउटा शब्द छ— पाटन । खप्तड यस्ता मनोरम पाटनै पाटनले भरिएको विछट्टको रमाइलो ठाउँ रहेछ, पुगेपछि बाटाभरिको थकान त्यसै हराएर गयो । माथि नीलो अनन्त गहिराइको वायुमण्डल, तल हरियो घाँसेमैदान । एक पाटनदेखि अर्काे पाटनका बीचमा अग्ला पर्वत र घना जंगल । ठाउँठाउँमा तालतलैया र भुइँभरि सेतो, पहेंलो अनि नीलो ल्वाङ आकारका फूलहरू । मानौं, ताराहरू फूल बनेर झरेका छन् र धर्ती त्यसको उत्सवमा हरियो आँचलमा लपेटिएकी छ ।


आँखालाई अचम्मसित लोभ्याउने यहाँका मैदानी पाटाहरूमा प्रथम दृष्टि पर्दा मलाई कताकता बेलायतका घाँसेजमिनको याद आयो । सधैंभरिजसो पानी परिरहने बेलायती भूमिमा देखिने रमणीय चउरहरू अक्सर मेसिनले छाँटेर एकनासको पारिएका हुन्छन्, त्यसैले ती त्यति राम्रा देखिन्छन् । तर, यहाँ कुनै यन्त्रले होइन, वसन्त ऋतु सुरु भइसक्दा पनि पग्लिन अटेर गर्ने हिउँका बाक्ला पत्रले घाँसलाई नरम्याउने र एकनासे बनाउने रहेछ । त्यसैले यो बढी प्राकृतिक हुने नै भयो । त्यसमाथि यी दुई भूमिबीचको उचाइमा नै धेरै फरक छ । कहाँ समुद्र सतहबाट मुस्किलले चार–पाँच सय फिटसम्मको उचाइमा फैलिएका बेलायती घाँसेमैदान, कहाँ आकाशै छुँलाझैं गरी १० हजार ८ सय फिटसम्मको उचाइमा फैलिएको खप्तडको पाटन । स्वर्ग माथि र नरक तल छ/हुन्छ भन्ने आम विश्वासलाई आधार मान्दा त यो उचाइको यति भव्य प्राकृतिक सौन्दर्यले परिपूर्णै खप्तड क्षेत्र स्वर्गकै एक टुक्राजस्तो प्रतीत हुन्छ ।
हिउँ पग्लनेबित्तिकै बुद्ध पूर्णिमापछिको पूर्णिमाछेका खप्तडमा रातभरि मेला लाग्दो रहेछ । अघिपछि निर्जन डोटी, बाजुरा, बझाङ र अछामको थाप्लोमा फैलिएको खप्तडमा मेला भर्न चारै दिशाबाट हजारौं मानिस उक्लिँदा रहेछन् । अलिक माथिको डाँडामा खप्तड बाबाको आश्रम पुगेर पल्लो पाटनमा चलिरहेको घोडा दौड हेरेर फर्किंदा त त्रिवेणीमा भव्य मेला लागिसकेको रहेछ । मेलामा रमौंला भन्ने आकांक्षाले गरगहनाले झरिझपक्कै भएर आएका सुदूरपश्चिमेली महिलाहरूको ठूलो हूल चउरभरि राताम्य भएर रङमङिन थाल्यो । युवाहरू तरुनीसँग रातभर नै देउडा खेल्ने सुर कसेर आएका थिए, ओढ्ने ओछ्याउने नै नबोकी ।


मेला भर्नेहरू रुझेरै मध्यरात पर्खिरहेका बेला हामीचाहिँ टर्च बालेर अनकन्टार भूमिमा बास खोज्दै हिँड्नुपर्‍यो । सैनिक ब्यारेकको टेन्ट त हामीले छाडिआएको टेन्टभन्दा झनै पिलन्धरे रहेछ । नआउनु आइहालियो भनेर पानीले पहिल्यै भिजिसकेको हुनाले हिलो भएको पालभित्रको जमिनमुनि म्याट बिच्छ्याएरै सुत्न थैलाभित्र घुर्सिएँ । शीतको थोपा तप्प–तप्प गर्दै सुत्ने थैला पनि भिजायो । जीवनमा कहिल्यै भोग गर्न नपाएको त्यो कष्टकर रात मैले आदिम समयमा हाम्रा पुर्खाहरूको ओढारमा बस्ने जीवनलाई सम्झिएँ ।


‘यस्तो अवसर जीवनमा फेरि फेरि कहाँ पाइन्छ ?’ मसँगै पालमा घुस्रिएका र कष्ट भयो भनेर गुनासिएका मित्र कवि दीपेन्द्रसिंह थापालाई मैले सम्झाएँ ।


हामी यसरी ओत खोज्न यता आएलगत्तै उताचाहिँ देउडाको रन्को छुटेछ । झुल्के काममा पुग्दा मेला भर्न आएकाहरू त्रिवेणीमा नुहाएर पार ताप्दै घरदेखि ल्याएको खानेकुरा झोलाबाट निकालेर खान लागेका थिए । हामीचाहिँ खप्तड दह, सहस्र लिंग र खप्तड पाटन घुम्न भनेर निक्लियौं । ५३ पाटन र २२ तालको खप्तड जति घुमे पनि नसकिने र जति हेरे पनि नअघाइने रहेछ । दिनभरिमा पनि हामीले दुइटा पाटन मात्रै घुम्न सक्यौं ।


स्थानीयहरू के भन्छन् भने आजसम्म पूरै खप्तड कसैले पनि घुम्न सकेको छैन । धेरै परपरसम्म यसका घाँसेमैदानहरू फैलिरहेका रहेछन् । फर्किएर आउँदा हिजो मेला लागेको ठाउँ पूरै खाली थियो । यत्रतत्र छरिएका प्लास्टिक र पानीका बोटलले मात्रै त्यहाँ मानवीय चहलपहल खुबसँग भएको थियो भन्ने संकेत गथ्र्याे । नत्र खप्तड फेरि उही गहिरो मौनतामा फर्किसकेको थियो । त्यस साँझ भने हामीले खप्तड निकुञ्जको धर्मशालाजस्तो घरमा आरामका तीन कोठाहरू पायौं जहाँ हाम्रो टोलीका २७ जना कवि लस्करै पल्टेर आरामले सुत्न सक्थे ।


बिहान खप्तडबाट झर्दा बाटैभरि कलिलो घाममा चरिरहेका घोडा र गाईका घाँटीमा बाँधिएका घण्टीबाट एकतमासको संगीतमय ध्वनिको अनुगुञ्जन भइरह्यो । मानौं, खप्तडमा अखण्ड कीर्तन चलिरहेको छ ।
[email protected]

प्रकाशित : असार २, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?