कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वमा छाएका नेपाल तस्बिर

फोटो–कथा
जगदिश तिवारी

काठमाडौँ — नेपालको ल्यान्डस्केप फोटोग्राफीमा जगदीश तिवारीको अब्वल नाम–काम जोडिएको छ । जगदीशको नाम देशभित्रभन्दा बढी विदेशमा चिनिएको छ– नेपाल पानोरामालाई चिनाउने फोटोग्राफरका रूपमा । जगदीशले बाहिरी विश्वमा चिनाएका नेपालबारेका ६ वटा प्रतिनिधि तस्बिरहरू यहाँ प्रकाशित छन् ।

विश्वमा छाएका नेपाल तस्बिर

यो पानोरामा अन्नपूर्ण हिमालय क्षेत्रको हो । आजभन्दा २०/२२ वर्षअघिको जलाशययुक्त फेवाताल र जोडिएको पार्दी(ड्याम–साइड) पोखराबाट यो तस्बिर खिचिएको हो । तस्बिरमा अन्नपूर्ण साउथ, हिउाचुली, अन्नपूर्ण–१, मार्दी हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण–३, अन्नपूर्ण–४, अन्नपूर्ण–२, लमजुङ हिमाल र सराङकोट सुस्पष्ट देख्न सकिन्छ । आजका दिनमा थिचिएको, मिचिएको फेवातालको पानी त्यसबेला स्वच्छ, सफा र कञ्चन थियो ।

प्राकृतिक मनोरम छटाले भरिएको यो दृश्य उपल्लो मुस्ताङको हो । नेपालको अरू भूभाग र प्राकृतिक छटाभन्दा विशिष्ट दृश्यावलोकन गर्न यो थलोमा पर्यटकहरू पुग्ने गर्छन् । विदेशी पर्यटकका लागि ‘अनमुति लिएर मात्रै जान सकिने’ यो गन्तव्यमा म १५/१६ पटक पुगेको छु । देखिएको यो तस्बिर १२ वर्षअघि खिचेको हुँ ।

यो सगरमाथा हिमालयको परिदृश्य (पानारोमा) हो । कालापत्थर (५५४५ मिटर) क्षेत्रबाट यो तस्बिर आजभन्दा २२/२३ वर्षअघि खिचिएको हो । यसमा सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, नुप्से, आमादब्लम, मेरा पिक, सगरमाथा आधारक्षेत्र, खुम्बु (ग्लेसियर) आदि स्पष्ट देखिन्छन् । सगरमाथा नियाल्ने सबैभन्दा उत्कृष्ट ‘भ्यू–पोइन्ट’ का रूपमा चिनिएको यो कालापत्थर ढिस्कोमा म ३५/३६ पटक पुगेको छु ।

अन्नपूर्ण पदयात्राको रुटमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुनहिल क्षेत्र (३२१० मिटर) को यो तस्बिरमा हिउँको तन्ना बिछ्याइएजस्तो दृश्य छ । पुनहिलबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण, हिउँचुली, माछापुच्छ्रे आदि हिमाल र सूर्योदयको दृष्य मनमोहक रूपमा आँखैसामु देख्न सकिन्छ ।

यो पानोरामा संसारको सबैभन्दा उचाइ (४९१९ मिटर) मा रहेको तिलिचो लेकको हो । यो लेकसँगै जोडिएको हिमालको नाम पनि तिलिचो हो । विश्वमा जलवायु परिवर्तनको बहस सुरु भइसकेको थियो, मैले भने तिलिचोको आँगनसम्मै सेताम्मे हिउँले ढाकिएको यो दृश्य १० वर्षअघि खिचेको हुँ । अन्नपूर्ण सर्किट, मनाङ क्षेत्रको फोटोग्राफी गर्ने क्रममा म तिलिचोमा मात्रै १२ पटक पुगिसकेको छु ।

प्रकाशित : असार २, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?