‘मेरो अब सुत्ने बेला भयो...’

श्रद्धाञ्जली
स्वरूप आचार्य

काठमाडौँ — ‘डा. उपेन्द्र देवकोटाले स्क्र्याचबाट सुरु गरेर न्युरो सर्जरीको अम्पायर नै खडा गर्नुभयो । उहाँको त्यो योगदानका कारण धेरै नेपालीले नेपालमा नै गुणस्तरीय उपचार पाउने वातावरण बनेको छ । उनले यो प्राप्तिका लागि निकै लड्नुपर्‍यो । हामीले त्यसको सम्मान गर्नुपर्छ ।’ –डा.गोविन्द केसी

गोरखाको पण्डित गाउँमा कविराजको घरमा जन्मिएको बालक करिब ६ दशकपछि पृथ्वीबाट सदाका लागि बिदा हुनुभन्दा केही साताअघि पुन: त्यही पिँडीमा सुस्ताउन पुग्यो । कविराजको छोरा उपेन्द्र देवकोटा आधुनिक चिकित्सा विज्ञानको पनि निकै कठिन मानिएको स्नायु प्रणालीका शल्यचिकित्सक यानि न्युरोसर्जन बनेर फर्किएका थिए ।


एउटा सानो गाउँको कविराजको छोराले जसरी संघर्ष गरेर सहर काठमाडौंमा आफ्नो विशिष्ट पहिचानसहित आफूलाई वरिष्ठ स्नायु शल्यचिकित्सक (न्युरोसर्जन) प्राध्यापक डाक्टर उपेन्द्र देवकोटा भनेर चिनाए, त्यो चानचुने उपलब्धि पक्कै होइन । गाउँको कन्दरामा खेलेर, सिस्नेधाराको पानी कलकल पिएर हुर्किएको एउटा केटोले बेलायतका नामुद मानिएका अस्पतालमा प्रदर्शन गरेको विशिष्टतम क्षमताबाट जो कोही नेपालीले पनि गौरव गर्नुपर्छ ।
प्राध्यापक देवकोटाले जीवनमा धेरै यस्ता उपलब्धि हासिल गरे जुन त्यतिबेलाको समाजका लागि निकै दुर्लभ थियो । तर, उनलाई सदैव आफूमाथि अन्याय हुने गरेको गुनासो भनूँ वा असन्तुष्टि भने थियो । उनी भन्थे, ‘मेरो मूल्यांकन कहिल्यै पनि सही ढंगबाट भएन ।’ उनले सदैव महसुस गरेको त्यो अन्यायले उनको जीवनपर्यन्त पिछा छोडेन । अन्त्यमा उनको जीवनले नै उनीमाथि अन्याय गर्‍यो । उनी यो लोकबाट ‘केही’ चाँडै बिदा हुनुपर्‍यो ।

Yamaha


डा. देवकोटाले सधैं ‘फिल’ गरेको त्यो ‘अन्यायभाव’ ले कहिल्यै उनलाई नछोडे पनि, त्यसलाई पैतालाले कुल्चिएर आफ्नो क्षमताको तगारो भने बन्न दिएनन् । साँचो अर्थमा उनी एक यस्ता सफल व्यक्ति हुन् जो अगाडि बढ्न कहिल्यै अर्काको काँध चढेनन् ।


आफ्नै संघर्षले एउटा चुचुरोमा पुगेकाले होला, उनको स्वभावमा केही ‘दम्भ’ भने झल्कन्थ्यो । बेलायतमा मात्रै नभई विश्वमै सुप्रख्यात उनका कुनै समयका सहपाठी/सहकर्मी डा. हेनरी मार्सले कहीं कतै भनेको भनाइ प्रा. देवकोटासँग हुबहु मिल्छ । डा. मार्स भन्छन्, ‘न्युरोसर्जन हुन ठूलो दम्भ, निर्णायक क्षमता र धेरै आत्मविश्वास चाहिन्छ । किनभने न्युरोसर्जरीमा धेरैजसो शल्यक्रिया एक्लो प्रदर्शन नै हो ।’


उनको उतारचढावलाई नजिकबाट नियालेकाहरू यो कुरामा सहमत पनि होलान् । उनले चिकित्सा क्षेत्रमा जे जति हासिल गरे, त्यो धेरै हदसम्म एक्लो प्रदर्शन नै थियो । डा. दिनेशनाथ गंगोलले रोपेको बिरुवालाई उनले ठूलो सुन्दर वृक्ष बनाए । आफ्नो समयका नामुद शल्यचिकित्सक डा. गंगोलको सोच, अनुशासन र कर्तव्यपरायणबाट दीक्षित भएका डा. देवकोटासँग संघर्षले पौंठेजोरी खेल्न कहिल्यै छोडेन । उनले कहिले वीर अस्पतालमा आफ्नो दरबन्दीका लागि लड्नुपर्‍यो त, कहिले आफ्नो कामलाई यथोचित स्थान दिलाउनकै लागि संघर्ष गर्नुपर्‍यो ।


प्राध्यापक देवकोटा भनेर सम्बोधित हुन रुचाउने ती न्युरोसर्जनका चिकित्साशास्त्र अध्ययन गर्दाका बखतका सुरुआती दौंतरी डा. गौरीशंखर अधिकारी उनको जुझारु र लक्ष्यप्राप्तिप्रतिको एकाग्रतालाई नजिकबाट नियालेका पात्रमध्येका एक हुन् । उनका अनुसार कोलम्बो प्लानअन्तर्गत भारतको आसामस्थित डिब्रुगडमा रहेको आसाम मेडिकल कलेजमा अध्ययन गर्दाको बखत नै उनमा चिकित्सा क्षेत्रमा क्रान्ति नै गर्ने एक प्रकारको ‘जुनुन’ थियो ।


‘उपेन्द्र पहिलेदेखि नै एकदम फोकस्ड मान्छे हो,’ अमेरिकाको मिसिगन विश्वविद्यालयको मेडिकल स्कुलमा अध्ययपनरत डा. अधिकारीले भने, ‘सायद उनी त्यति दत्तचित्त र एकाग्र भएर नलागेको भए आज जुन सफलता उनले प्राप्त गरे, त्यो सम्भव थिएन । किनभने नेपालमा जुन बेला न्युरोसर्जरी भन्ने विषय नै थिएन, त्यतिबेला उनले त्यसलाई रोजे । यो विषय फेरि सजिलो विषय पक्कै पनि होइन ।’


डा. अधिकारीका अनुसार त्यति एकाग्रताले गर्दा पनि कतिपय बेला देवकोटालाई आफ्ना सहकर्मीमाझ एक्लो बनायो । ‘उनी आफ्नो काम र लक्ष्यप्रति ध्यानमग्न भएकैले होला, उनी कतिकति बेला भीडमा एक्लै उभिएको जस्तो देखिन्थे,’ उनले भने, ‘ध्यानमग्न योगीलाई कसैले अनावश्यक रूपमा जिस्काउन जाँदा उनको रिसको वेगले आक्रान्त भएकाको धेरै कथाहरू हामीले सुनेका छौं । हो, उनी त्यस्तै प्रकारले आफ्नो काममा ध्यानमग्न थिए । उनी आफ्नो एकाग्रता भंग हुने कुनै पनि विषयलाई इन्टरटेन नै गर्दैन थिए ।’


प्रा. देवकोटाको समाजका विभिन्न पाटाहरूको सुधारका लागि आवश्यक रहेको संघर्षको बुझाइमा टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. गोविन्द केसी सहमत छन् । आफूभन्दा केही वर्ष ‘सिनियर’ रहेका प्रा. देवकोटा सच्चा राष्ट्रभक्त भएको बताउँदै डा. केसी भन्छन्, ‘डा. देवकोटाले स्क्र्याचबाट सुरु गरेर न्युरोसर्जरीको अम्पायर नै खडा गर्नुभयो । उहाँको त्यो योगदानका कारण धेरै नेपालीले नेपालमा नै गुणस्तरीय उपचार पाउने वातावरण बनेको छ । उनले यो प्राप्तिका लागि निकै लड्नुपर्‍यो । हामीले त्यसको सम्मान गर्नुपर्छ ।’


डा. केसीका अनुसार देवकोटालाई पनि नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि राजनीतिज्ञहरूले प्रयोग गर्ने शब्दझैं ‘आमूल परिवर्तन’ को आवश्यकता रहेकोमा कुनै द्विविधा थिएन । ‘उहाँले मेरो अभियानमा निरन्तर ऐक्यबद्धता जनाउनुभयो । अन्तिम समयमा उहाँलाई भेट्न जाँदा पनि उहाँले त्यस्तै ऐक्यबद्धता दोहोर्‍याउनुभयो र हामीलाई संघर्ष गर्न नछोड्न आग्रह गर्नुभयो,’ डा.केसीले भने, ‘यहाँका नेताहरूलाई पैसा बटुल्नसँग मात्र छ, राजनीति गरेर सेवा गर्न हो धन कमाउन होइन भन्ने सुझबुझ रत्तिभर पनि छैन । त्यही बुझाइ देवकोटाको पनि थियो ।’


प्रा. देवकोटाको क्षमता, अध्ययनशीलता र कुशलताको बयान नेपालमा मात्रै नभएर उनले अध्ययन तथा काम गरेका बेलायतका अस्पतालसम्म पनि सुनिन्छ । आसामबाट पढाइ सकाएर फर्कंदा नै उनको ज्ञानको स्तर आफ्ना सहपाठी र सहकर्मीभन्दा निकै अगाडि पुगिसकेको बताउँछन्— वरिष्ठ थोर्‍याक्सिक सर्जन डा. प्रकाश सायमी । डा. सायमी देवकोटाका अस्कल क्याम्पस पढ्दा बखतका साथी हुन् ।


‘त्यतिबेला कलेजमा हामी ४/५ जना अत्यन्तै पढ्ने, लगनशील विद्यार्थीमध्ये पथ्र्यौं । त्यसमा बाबुराम भट्टराई पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘हामी केही अंकले मात्रै अगाडि–पछाडि थियौं । त्यहाँबाट पास भएपछि हामीले कोलम्बो प्लानअन्तर्गत भारतमा अध्ययन गर्‍यौं । मैले दिल्लीमा नै पढ्न पाएँ । उहाँ आसाम जानुभयो ।’


डा. सायमीले एकै ब्याचको प्रतिस्पर्धी साथी भए पनि देवकोटा आसामबाट फर्केर आउँदा पढाइको हिसाबले आफूहरूभन्दा निकै अगाडि बढिसकेको बिनासंकोच बताए । ‘एमबीबीएस पढेर फर्किंदा वास्तवमै उहाँलाई त्यतिबेला हामीलाई भन्दा धेरै नै ज्ञान भइसकेको थियो,’ उनले भने, ‘त्यसपछि उहाँले जसरी डा. गंगोलसँगै काम गर्ने अवसर पाउनुभयो, त्यो अर्को ठूलो उपलब्धि भयो ।’


सायमीका अनुसार उनले जुन प्रकारले विदेशमा हासिल गरेको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गरे, त्यसले पनि उनको सम्झनालाई अमर बनाएको छ ।
प्राध्यापक देवकोटाले नयाँ पुस्तालाई छोडेर गएको विरासतलाई उनीहरूले कुन दिशातर्फ लैजान्छन् त्यो भविष्यको गर्भमा छ । तर, लगभग दिनहुँजसो जीवन र मृत्युबीचको लुकामारीलाई नजिकबाट देखेका चिकित्सकलाई आफ्नो सहकर्मी र सहपाठीको मृत्युले भने शोकाकुल बनाएको छ ।


डा. अधिकारीले फोनमा भन्दै थिए, ‘हामी धेरै जनाको मृत्युको साक्षी बसेका हुन्छौं । तर, जब कुनै आफ्नो नजिकको मान्छेको मृत्युको साक्षी बस्नुपर्छ, हामी सकेसम्म त्यो नभइदिए हुन्थ्यो भन्ने कामना गर्न थाल्दछौं । देवकोटाको हकमा पनि मलाई त्यही महसुस भयो ।’


डा. सायमी पनि आफूले देवकोटालाई अन्तिम पटक भेट्न जाँदा गरेको कुराकानी सुनाउँदै गर्दा केही भावुक देखिए । उनको आँखाका गहहरू रसिला भएर आए ।


“अब उहाँलाई के हुँदै छ भन्ने सबै थाहा थियो । केही लुकाउन सकिने विषय पनि थिएन । उहाँले सुरुमा नै ‘अब मेरो सुत्ने बेला भयो’ भन्नुभएको थियो,” उनले भने, ‘त्यो दिन हामीले कलेज दिनका पुराना कुराहरू गर्‍यौं । पुराना यादहरूलाई ताजा बनायौं । करिब १५ मिनेट जति कुरा गरेपछि उहाँले आफू थाकेको र केहीबेर आराम गर्ने बताउनुभयो । अनि म निस्कें ।’


नभन्दै केही दिनपछि असार ४ गते डा. सायमीलाई भनेझैं उनी सदाका लागि चीरनिद्रामा सुते । उनी त्यसका लागि धेरै हदसम्म मानसिक रूपमा तयार भइसकेका थिए । देवकोटा लामो समय बेलायतको किंग्स अस्पतालमा आफूलाई भएको पित्तनली क्यान्सरको उपचार प्रयास विफल भएपछि मृत्युलाई स्वीकार गर्दै वैशाख १५ मा काठमाडौं फर्किएका थिए ।
डा. देवकोटामा रहेको देशप्रतिको लगाव उनको शरीरमा चेतना रहेसम्म देखियो । गोरखाको पण्डित गाउँको त्यो ठिटो अन्तत: पुन: एक पटक त्यही पिँडीमा अन्तिम पटक सुस्ताउन पुग्यो, जहाँ उसले पहिलो पाइला टेकेको थियो ।


उनी त्यहाँ पुग्दा उक्त पिँडी जति नयाँ थियो, त्यति नै नयाँ थियो उनी अन्तिम बिदा माग्न पुगेको परिवेश । तर, संयोग भनौं वा नियति उनले पहिलो पटक गाउँ हवाई मार्गकै प्रयोग गरेर छोडेका थिए । उनी एसएलसी दिएर पालुङटारबाट एनएसीको विमान चढेर काठमाडौं ओर्लिएका थिए । त्यसको लगभग ४ दशकपछि उनले सदाका लागि गाउँ छोडेर बिदा हुँदा पनि हवाई मार्ग नै प्रयोग गर्नुपर्‍यो ।

प्रकाशित : असार ९, २०७५ ११:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

असार १५ पर्खन्थे डा.देवकोटा

सम्झना
डा. दीपक गौतम

काठमाडौँ — क्यान्सर पनि यस्तो दुर्लभ प्रकारको क्यान्सर पर्‍यो कि नाम सुन्नेबित्तिकै मृत्युबाहेक अरू केही सोच्नै सकिंदैन । ‘कोल्यान्जियो कार्सिनोमा’ अर्थात् पित्तथैलीबाट आन्द्रातर्फ पित्त लैजाने नलीको क्यान्सर । यो क्यान्सर किन र कसरी हुन्छ भनेर विस्तारमा लेख्नु यो लेखको दायराभन्दा बाहिर पर्न जान्छ । तर यतिचाहिँ पक्कै भन्नुपर्ने हुन्छ कि डा. उपेन्द्रलाई जस्तो लागेको क्यान्सर म आफैंले चिनेजानेका अरू दुई जनालाई भएको थियो । ती दुवै बाँचेनन् ।

गत साल (२०७४) काठमाडौंमा जाडो पसिसकेको थियो क्यारे । नमज्जाले असिना–पानी परेछ । आफू दिल्लीको प्रदूषणमा बाँचिरहेको बेला, काठमाडौं बस्ने एक जना पत्रकार साथीसँग फेसबुकको म्यासेन्जरमा ठट्टा गर्दै थिएँ, ‘मिल्छ भने अलिकता पानी यतातिर पनि पठाइदिनुस् न । यहाँको प्रदूषणलाई पखालिदिन्थ्यो कि ?’


कुरा गर्दागर्दै निदाएछु । भोलिपल्ट बिहान त्यही म्यासेन्जरमा कल आयो । फोनको अर्कोतर्फ हुनुहुन्थ्यो— उही दिदी डा. मधु दीक्षित देवकोटा । हालचाल सोधपुछपछि उहाँको फोनको उद्देश्य थाहा पाएँ । न्युरो अस्पतालमा काम गर्दै आएका हड्डी–दिमागका पार्टटाइम डाक्टरले त्यहाँ छोडेर अन्तै जान लागेका रहेछन् । तिम्रो के विचार छ ? भनेर बुझ्न चाहनुभएको रहेछ । म त्यतिबेला एउटा अनुसन्धानमूलक लेख प्रस्तुत गर्न अमेरिका जाने तयारीमा थिएँ । विश्वस्तरीय फोरममा प्रस्तुत हुने मेरो अनुसन्धान लेख भारतबाट छनोट भएको एक मात्र लेख थियो । मलाई जसरी पनि त्यहाँ जानु थियो । त्यसका लागि तयारी पनि राम्रैसँग गर्नुपरेको हुनाले मैले फेरि दिदीलाई ‘नाइँ’ भन्नुपर्‍यो । उहाँले कुरा बुझ्नुभयो । कुरैकुरामा गए राति परेको असिनापानीको कुरा पनि भयो ।


‘हेर न, हिजोको असिनापानीले बगैंचाका फूलहरू सबै तहसनहस पारेछ...’, सायद बगैंचामा हिँड्दै फोन गर्नुभएको रहेछ क्यारे । यत्तिकैमा फोन काटियो पनि । लगत्तै मोबाइलमा फेरि टुङटुङ आवाज आयो । यसपालि उहाँले आफ्नो फेसबुकमा बगैंचाको फोटो हाल्नुभएको रहेछ । लेखिएको थियो, ‘हाम्रो बगैंचाको त यो हाल छ, झन् बालीनाली भित्र्याउन पर्खेका किसानहरूको झन् के हाल होला ?’


डा. उपेन्द्र देवकोटा सामाजिक सञ्जालमा त्यति क्रियाशील कहिल्यै रहनुभएन । बरु उहाँका तस्बिरहरू डा. मधुको फेसबुक मार्फत हेर्न पाइन्थ्यो । दसैं होस् या तिहार, नागपञ्चमी या तीज— उहाँले राखेका तस्बिरमा कुनै कुनामा डा. उपेन्द्र मुस्काइरहेको देखिनुहुन्थ्यो । हरेक वर्ष छुटाउनै नहुने फोटो हुन्थ्यो हिले दसैंको, आफ्नो व्यस्त कार्यका बाबजुद डा. देवकोटा असार १५ को बेला पारेर खेतमा जानुहुन्थ्यो । टिसर्ट र हाफ–पाइन्टमा कोदालो लिएर, कहिले खेतको कुना खन्दै गरेको त कहिले आली लाउँदै गरेको फोटो † सुरुमा त हेरेर छक्कै परिन्थ्यो । यति ठूलो ओहोदामा पुगिसकेका मान्छेले पनि खेतमा काम गर्न बिर्सेका रहेनछन् । हाम्रो भेटघाटको प्रसंगमा पनि खेतको कुरा निस्केको थियो । उहाँले ठट्यौली पारामा भन्नुभएको थियो, ‘यदि चिकित्सा पेसा छाड्नुपर्‍यो भने नि, म त कुटो–कोदालो गरेरै भए पनि ज्यान पाल्न सक्छु ।’
...


हाम्रो कुरा भएको डेढ महिना पनि भएको थिएन होला । नेपालमा आम निर्वाचनको माहोल बढ्दै थियो । एक दिन अचानक पोखराबाट एक जना रेडियोलोजिस्ट दाजुले दिएको खबरले छाँगाबाट झरेझैं भएँ । डा. उपेन्द्रमा क्यान्सर रोग देखा पर्‍यो रे भन्ने खबर थियो त्यो । पहिला त विश्वासै लागेन । तर, हावा नचली पात हल्लिँदैन । त्यसमाथि नराम्रो खबर कति चाँडै फैलिहाल्ने । उहाँलाई क्यान्सरको आशंका भएको कुरा आम जनमानसमा शंकाकै रूपमा रहे पनि चिकित्सक समाजमा चाहिँ धेरैजसोले थाहा पाइसकेका रहेछन् । त्यही पनि पुष्टि गर्न फोन गरीहेरें । उहाँ परिवारसहित बेलायत जाने तयारीमा लागिसक्नुभएको रहेछ । धेरै बोल्ने कुरै भएन ।


क्यान्सर पनि यस्तो दुर्लभ प्रकारको क्यान्सर पर्‍यो कि नाम सुन्नेबित्तिकै मृत्युबाहेक अरू केही सोच्नै सकिंदैन । ‘कोल्यान्जियो कार्सिनोमा’ अर्थात् पित्त थैलीबाट आन्द्रातर्फ पित्त लैजाने नलीको क्यान्सर । यो क्यान्सर किन र कसरी हुन्छ भनेर विस्तारमा लेख्नु यो लेखको दायराभन्दा बाहिर पर्न जान्छ । तर यतिचाहिँ पक्कै भन्नुपर्ने हुन्छ कि डा. उपेन्द्रलाई जस्तो लागेको क्यान्सर म आफैंले चिनेजानेका अरू दुई जनालाई भएको थियो । ती दुबै बाँचेनन् । सन् २०१४ मा प्रकाशित एक खोजपत्रमा प्रसिद्ध क्यान्सर सर्जन केभिन सोरेसले लेखेका छन्— कोल्यान्जियो कार्सिनोभाको सम्भावना मानव शरीरमा हुन सक्ने सबै क्यान्सरहरूको तुलनमा २ प्रतिशतभन्दा पनि कम रहेको छ । हुन त यो पश्चिमा देशहरूमा भन्दा एसियन देशमा धेरै पाइएको रिपोर्ट गरिएको छ । तर वर्तमान अनुसन्धानले यसको दायरा बढ्दै गएको देखाएको छ । एसियाली मुलुकका बासिन्दामा पुरुषको हकमा एक लाखमा ११३ जनालाई र महिलाको हकमा एक लाखमा ५० जनालाई यो क्यान्सर हुन सक्ने बताइएको छ । त्यसमाथि यसै त दुर्लभ मानिने र लक्षणबाट मात्रै सुरुमै पत्ता लगाउन धेरै नै कठिन हुन्छ ।


जब पत्ता लाग्छ, त्यति बेलासम्म धेरै ढिला भइसकेको हुन्छ । हुन त डा. उपेन्द्र देवकोटा सकेसम्म उपचार आफ्नै देशमा गराउनुपर्छ भन्नेमा जोड दिने व्यक्ति तर, उहाँ आफैंको उपचार देशमा सम्भव थिएन । बाँच्न असम्भव छ भन्ने थाहा हुँदाहुँदै पनि सास रहेसम्म आस रहन्छ भनेझैं सम्भावना खोजी गर्दै देवकोटा दम्पती बेलायतका लागि उडे । म अमेरिकातिर लागें । बीबीचमा भाइवर/म्यासेन्जर मार्फत कुरा हुन्थ्यो । के कस्तो छ, त्यति मात्र । डा. उपेन्द्रको उपचार चलिरहेको थियो । हुन त यो रोगको निदान रेडियो विज्ञानबाटै पनि गरिन्छ तर पुष्टीकरणका लागि ‘बायोप्सी’ अपरिहार्य हुन्छ । मलाई मेरो मेडिकल कलेज (कलकत्ता) का प्रिन्सिपलको याद आयो । म सायद एमबीबीएस तेस्रो वर्षमा थिएँ होला । उनलाई फोक्सोको क्यान्सरको शंका गरियो । हुन पनि उनी सिगरेट असाध्यै पिउने, अफिसभित्रै पनि । मैले संगत गरेका र चिनेजानेकामा सबभन्दा धेरै सिगरेट पिउनेमा बंगालीहरू नै मैले पाएको छु । पछि भारत सरकारका तत्कालीन स्वास्थ्यमन्त्रीले सार्वजनिक ठाउँलगायत अफिसमा सिगरेट पिउन प्रतिबन्ध लगाउँदा पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य र केन्द्रीय स्वास्थ्यमन्त्रीबीच भनाभन नै भएको थियो, मिडियामा आएको थियो । प्रिन्सिपल सरको थप पुष्टीकरणका लागि बायोप्सी गरियो । रिपोर्टमा क्यान्सर नभएर टीबी (क्षयरोग) देखियो । पछि ६ महिना औषधि खाएर उनी मोटाघाटा, रातापिरा देखिए । म पनि मनमनै जहाजमा यही सोचिरहेको थिएँ— डा. देवकोटाको केसमा । के थाहा, डायग्नोसिस अर्कै पो हुने हो कि ?


डा. देवकोटाको मामलामा बाँच्नुको दुईवटा मात्र उपाय थिए । कि त पहिले शंका गरिएको डायग्नोसिस नै गलत स्थापित हुनुपर्‍यो या त कुनै चमत्कार नै हुनुपर्‍यो । दुर्भाग्यवश, दुबै हुन सकेन । जे नहोस् भनेको, त्यही भइदियो । त्यसमाथि पनि अप्रेसन गरेर फाल्न नसकिने खालको क्यान्सर । हुन त, अपरेसन सम्भव भएको केसमा पनि जीवित रहने सम्भावना जम्मा २५–३० प्रतिशत मात्रै रहन्छ भने अपरेसन सम्भव नभएको खण्डमा धेरैमा ६ देखि १० महिना बाँच्न सकिन्छ । यो क्यान्सरमा दिइने केमोथेरापी पनि त्यति प्रभावकारी देखिंदैन । यदि भयो भने पनि ५ देखि १० प्रतिशतमा मात्र प्रभाव देखिन्छ ।
...


म अमेरिकाबाट फर्कने क्रममा न्युयोर्क विमानस्थलमा आइपुगेको थिएँ । अचानक खबर आयो— काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा यूएस बाङ्गला एयरको विमान दुर्घटना जसमा अधिकांश मेडिकल छात्रछात्राहरू परेका थिए । मान्छे मृत्युदेखि कति डराउँदो रहेछ भन्ने कुरा त्यहाँ थाहा भयो । समाचार हेर्दाहेर्दै विमान खरानी भयो । विश्वका एक दर्जनभन्दा बढी मुलुक विमानबाटै घुमेको म, त्यो दिन भने धेरै डर लाग्यो । त्यसमाथि झन्डै १५ घण्टा लामो न्युयोर्क–नयाँ दिल्ली उडानको ठीक अगाडि त्यस्तो दृश्य देख्नुपरेको समाचारमा । विमानमा छिर्नुभन्दा ठीक पहिले अर्को दु:खद खबर आयो— ‘डा. देवकोटा इज डायग्नोज्ड विथ नन रिसेक्टेवल कोल्यान्जियो कार्सिनोमा’ अर्थात् माथि उल्लेख गरेको मध्ये अपरेसन गरेर निको पार्न नसकिने क्यान्सर । अब त छर्लंगै भयो । त्यसपछिको मेरो विमान यात्रा कस्तो रह्यो होला, अनुमान गर्न सकिन्छ । तीन पटकको केमोथेरापीपछि सुधार नदेखिएपछि डा. देवकोटाले जीवनको अन्तिम बुद्धिमानी निर्णय गर्नुभयो— स्वदेश फर्कने । मैले उहाँको यो विचारलाई डा. अतुल ग्वान्डेको चर्चित पुस्तक ‘बिइङ मोर्टल’ अर्थात् ‘मरणशील’ मा व्यक्त गरेका कुराहरूसँग दाँज्न थालें । उक्त पुस्तक चिकित्सा पेसामा लागेका धेरैले पढेको पुस्तक मानिन्छ । अमेरिकावासी डा. ग्वान्डेका माता–पिता पनि दुवै जना डाक्टर । ७० वर्षको उमेरमा उनका पितालाई मेरुदण्डको ठूलो नसाको ट्युमर हुन्छ र, उनी थला पर्छन् । परिवारका तीनै सदस्य मिलाएर उनीहरूसँग १२० वर्षको अनुभव थियो, त्यही पनि केही उपाय लागेन । केमोथेरापीको पुष्टि केही फाइदा थिएन, बरु साइड इफेक्ट थाम्न नसक्ने डर धेरै थियो । हामी चिकित्सा पेसामा लागेका डाक्टरलाई थाहा हुन्छ कि कतिपय क्यान्सरको पूर्ण निक्र्योल वर्तमान उपलब्ध साधनबाट पनि सम्भव छैन । तैपनि मेडिकल इथिक्स र त्यसमाथि आफन्तजनको इच्छाको कारणले घर जाऊ भन्न सकिंदैन । तर त्यस्ता क्यान्सरहरूमा केमोथेरापी चलाए पनि मृत्युभन्दा अगाडिको जीवन बिरामीले अस्पताल धाउँदैमा जान्छ । टेस्टहरू गर्न होस् या केमोथेरापीका साइड इफेक्टको उपचार गराउन । थाहा छ— बिरामी बाँच्न असम्भव छ, तैपनि फलोअपमा आइरहनुस् भनेर बोलाइरहनुपर्छ ।


डा. अतुल ग्वान्डे आफ्नो पुस्तकमा आफ्नै अनुभव लेख्छन् । जब मृत्यु हुने निश्चित भएपछि उनी आफ्ना पितालाई सोध्छन्—‘तपाईंको अन्तिम इच्छा के छ ? तपाईं के चाहनुहुन्छ ?’
पिताजी भन्छन्, ‘मेरो अन्तिम इच्छा तँसँगै समय बिताउनु हो, म तेरो समय चाहन्छु ।’


हो, जब मृत्यु नजिक आउँछ, अझ पनि विकल्पहरू हुन्छन् जसले मानिसलाई आफ्नो अन्तिम दिनमा पनि राम्रो जीवन बिताउने प्रेरणा दिन्छ । त्यो हो— आफ्ना परिवारजन, आफन्त र नजिकका व्यक्तिको साथ र समय । डा. अतुलले केही अनुसन्धानलाई उद्धृत गर्दै लेखेका छन्, ‘यस्तो विधि अपनाएको खण्डमा कतिपय केसमा बिरामीको आयु ३५ प्रतिशतसम्म लम्बिएको पाइयो ।’ रोगअनुसार पनि फरक फर्ला तर मृत्यु अवश्यंभावी भएको खण्डमा डा. देवकोटाको स्वदेश आगमनले पक्कै पनि एउटा सन्देश दिएको छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ लाई चरितार्थ गरेको छ । उहाँ स्वदेश मात्र फर्कनुभएन, देशको माटोले आफ्नो निधार रंग्याउन पाउनुभयो । आफू जन्मेको ठाउँको धाराको पानी पिउन पाउनुभयो । आफन्त, शुभेच्छुकहरूको माया आफ्नै आँखाअगाडि देख्न पाउनुभयो ।


यसैबीच एक दिन साँझ दु:खद खबर आयो । डा. देवकोटाले आफ्नो अन्तिम सास लिनुभयो । थाहा पाउनेबित्तिकै फोन गर्ने आँट आएन । मोबाइलमा सन्देश पठाएँ— दिदी मधुलाई । उताबाट एकतमासको सन्देश जवाफमा आयो— ‘अब त न रोपाइँ, न लाखे नाच, न चुट्का । सबै समय–समयको कुरा रहेछ ।’
हार्दिक श्रद्धासुमन, हजारौं–लाखौं नेपालीका प्रिय डाक्टर उपेन्द्र !

प्रकाशित : असार ९, २०७५ ११:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT