कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘मेरो अब सुत्ने बेला भयो...’

श्रद्धाञ्जली
स्वरूप आचार्य

काठमाडौँ — ‘डा. उपेन्द्र देवकोटाले स्क्र्याचबाट सुरु गरेर न्युरो सर्जरीको अम्पायर नै खडा गर्नुभयो । उहाँको त्यो योगदानका कारण धेरै नेपालीले नेपालमा नै गुणस्तरीय उपचार पाउने वातावरण बनेको छ । उनले यो प्राप्तिका लागि निकै लड्नुपर्‍यो । हामीले त्यसको सम्मान गर्नुपर्छ ।’
–डा.गोविन्द केसी

‘मेरो अब सुत्ने बेला भयो...’

गोरखाको पण्डित गाउँमा कविराजको घरमा जन्मिएको बालक करिब ६ दशकपछि पृथ्वीबाट सदाका लागि बिदा हुनुभन्दा केही साताअघि पुन: त्यही पिँडीमा सुस्ताउन पुग्यो । कविराजको छोरा उपेन्द्र देवकोटा आधुनिक चिकित्सा विज्ञानको पनि निकै कठिन मानिएको स्नायु प्रणालीका शल्यचिकित्सक यानि न्युरोसर्जन बनेर फर्किएका थिए ।


एउटा सानो गाउँको कविराजको छोराले जसरी संघर्ष गरेर सहर काठमाडौंमा आफ्नो विशिष्ट पहिचानसहित आफूलाई वरिष्ठ स्नायु शल्यचिकित्सक (न्युरोसर्जन) प्राध्यापक डाक्टर उपेन्द्र देवकोटा भनेर चिनाए, त्यो चानचुने उपलब्धि पक्कै होइन । गाउँको कन्दरामा खेलेर, सिस्नेधाराको पानी कलकल पिएर हुर्किएको एउटा केटोले बेलायतका नामुद मानिएका अस्पतालमा प्रदर्शन गरेको विशिष्टतम क्षमताबाट जो कोही नेपालीले पनि गौरव गर्नुपर्छ ।
प्राध्यापक देवकोटाले जीवनमा धेरै यस्ता उपलब्धि हासिल गरे जुन त्यतिबेलाको समाजका लागि निकै दुर्लभ थियो । तर, उनलाई सदैव आफूमाथि अन्याय हुने गरेको गुनासो भनूँ वा असन्तुष्टि भने थियो । उनी भन्थे, ‘मेरो मूल्यांकन कहिल्यै पनि सही ढंगबाट भएन ।’ उनले सदैव महसुस गरेको त्यो अन्यायले उनको जीवनपर्यन्त पिछा छोडेन । अन्त्यमा उनको जीवनले नै उनीमाथि अन्याय गर्‍यो । उनी यो लोकबाट ‘केही’ चाँडै बिदा हुनुपर्‍यो ।


डा. देवकोटाले सधैं ‘फिल’ गरेको त्यो ‘अन्यायभाव’ ले कहिल्यै उनलाई नछोडे पनि, त्यसलाई पैतालाले कुल्चिएर आफ्नो क्षमताको तगारो भने बन्न दिएनन् । साँचो अर्थमा उनी एक यस्ता सफल व्यक्ति हुन् जो अगाडि बढ्न कहिल्यै अर्काको काँध चढेनन् ।


आफ्नै संघर्षले एउटा चुचुरोमा पुगेकाले होला, उनको स्वभावमा केही ‘दम्भ’ भने झल्कन्थ्यो । बेलायतमा मात्रै नभई विश्वमै सुप्रख्यात उनका कुनै समयका सहपाठी/सहकर्मी डा. हेनरी मार्सले कहीं कतै भनेको भनाइ प्रा. देवकोटासँग हुबहु मिल्छ । डा. मार्स भन्छन्, ‘न्युरोसर्जन हुन ठूलो दम्भ, निर्णायक क्षमता र धेरै आत्मविश्वास चाहिन्छ । किनभने न्युरोसर्जरीमा धेरैजसो शल्यक्रिया एक्लो प्रदर्शन नै हो ।’


उनको उतारचढावलाई नजिकबाट नियालेकाहरू यो कुरामा सहमत पनि होलान् । उनले चिकित्सा क्षेत्रमा जे जति हासिल गरे, त्यो धेरै हदसम्म एक्लो प्रदर्शन नै थियो । डा. दिनेशनाथ गंगोलले रोपेको बिरुवालाई उनले ठूलो सुन्दर वृक्ष बनाए । आफ्नो समयका नामुद शल्यचिकित्सक डा. गंगोलको सोच, अनुशासन र कर्तव्यपरायणबाट दीक्षित भएका डा. देवकोटासँग संघर्षले पौंठेजोरी खेल्न कहिल्यै छोडेन । उनले कहिले वीर अस्पतालमा आफ्नो दरबन्दीका लागि लड्नुपर्‍यो त, कहिले आफ्नो कामलाई यथोचित स्थान दिलाउनकै लागि संघर्ष गर्नुपर्‍यो ।


प्राध्यापक देवकोटा भनेर सम्बोधित हुन रुचाउने ती न्युरोसर्जनका चिकित्साशास्त्र अध्ययन गर्दाका बखतका सुरुआती दौंतरी डा. गौरीशंखर अधिकारी उनको जुझारु र लक्ष्यप्राप्तिप्रतिको एकाग्रतालाई नजिकबाट नियालेका पात्रमध्येका एक हुन् । उनका अनुसार कोलम्बो प्लानअन्तर्गत भारतको आसामस्थित डिब्रुगडमा रहेको आसाम मेडिकल कलेजमा अध्ययन गर्दाको बखत नै उनमा चिकित्सा क्षेत्रमा क्रान्ति नै गर्ने एक प्रकारको ‘जुनुन’ थियो ।


‘उपेन्द्र पहिलेदेखि नै एकदम फोकस्ड मान्छे हो,’ अमेरिकाको मिसिगन विश्वविद्यालयको मेडिकल स्कुलमा अध्ययपनरत डा. अधिकारीले भने, ‘सायद उनी त्यति दत्तचित्त र एकाग्र भएर नलागेको भए आज जुन सफलता उनले प्राप्त गरे, त्यो सम्भव थिएन । किनभने नेपालमा जुन बेला न्युरोसर्जरी भन्ने विषय नै थिएन, त्यतिबेला उनले त्यसलाई रोजे । यो विषय फेरि सजिलो विषय पक्कै पनि होइन ।’


डा. अधिकारीका अनुसार त्यति एकाग्रताले गर्दा पनि कतिपय बेला देवकोटालाई आफ्ना सहकर्मीमाझ एक्लो बनायो । ‘उनी आफ्नो काम र लक्ष्यप्रति ध्यानमग्न भएकैले होला, उनी कतिकति बेला भीडमा एक्लै उभिएको जस्तो देखिन्थे,’ उनले भने, ‘ध्यानमग्न योगीलाई कसैले अनावश्यक रूपमा जिस्काउन जाँदा उनको रिसको वेगले आक्रान्त भएकाको धेरै कथाहरू हामीले सुनेका छौं । हो, उनी त्यस्तै प्रकारले आफ्नो काममा ध्यानमग्न थिए । उनी आफ्नो एकाग्रता भंग हुने कुनै पनि विषयलाई इन्टरटेन नै गर्दैन थिए ।’


प्रा. देवकोटाको समाजका विभिन्न पाटाहरूको सुधारका लागि आवश्यक रहेको संघर्षको बुझाइमा टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. गोविन्द केसी सहमत छन् । आफूभन्दा केही वर्ष ‘सिनियर’ रहेका प्रा. देवकोटा सच्चा राष्ट्रभक्त भएको बताउँदै डा. केसी भन्छन्, ‘डा. देवकोटाले स्क्र्याचबाट सुरु गरेर न्युरोसर्जरीको अम्पायर नै खडा गर्नुभयो । उहाँको त्यो योगदानका कारण धेरै नेपालीले नेपालमा नै गुणस्तरीय उपचार पाउने वातावरण बनेको छ । उनले यो प्राप्तिका लागि निकै लड्नुपर्‍यो । हामीले त्यसको सम्मान गर्नुपर्छ ।’


डा. केसीका अनुसार देवकोटालाई पनि नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि राजनीतिज्ञहरूले प्रयोग गर्ने शब्दझैं ‘आमूल परिवर्तन’ को आवश्यकता रहेकोमा कुनै द्विविधा थिएन । ‘उहाँले मेरो अभियानमा निरन्तर ऐक्यबद्धता जनाउनुभयो । अन्तिम समयमा उहाँलाई भेट्न जाँदा पनि उहाँले त्यस्तै ऐक्यबद्धता दोहोर्‍याउनुभयो र हामीलाई संघर्ष गर्न नछोड्न आग्रह गर्नुभयो,’ डा.केसीले भने, ‘यहाँका नेताहरूलाई पैसा बटुल्नसँग मात्र छ, राजनीति गरेर सेवा गर्न हो धन कमाउन होइन भन्ने सुझबुझ रत्तिभर पनि छैन । त्यही बुझाइ देवकोटाको पनि थियो ।’


प्रा. देवकोटाको क्षमता, अध्ययनशीलता र कुशलताको बयान नेपालमा मात्रै नभएर उनले अध्ययन तथा काम गरेका बेलायतका अस्पतालसम्म पनि सुनिन्छ । आसामबाट पढाइ सकाएर फर्कंदा नै उनको ज्ञानको स्तर आफ्ना सहपाठी र सहकर्मीभन्दा निकै अगाडि पुगिसकेको बताउँछन्— वरिष्ठ थोर्‍याक्सिक सर्जन डा. प्रकाश सायमी । डा. सायमी देवकोटाका अस्कल क्याम्पस पढ्दा बखतका साथी हुन् ।


‘त्यतिबेला कलेजमा हामी ४/५ जना अत्यन्तै पढ्ने, लगनशील विद्यार्थीमध्ये पथ्र्यौं । त्यसमा बाबुराम भट्टराई पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘हामी केही अंकले मात्रै अगाडि–पछाडि थियौं । त्यहाँबाट पास भएपछि हामीले कोलम्बो प्लानअन्तर्गत भारतमा अध्ययन गर्‍यौं । मैले दिल्लीमा नै पढ्न पाएँ । उहाँ आसाम जानुभयो ।’


डा. सायमीले एकै ब्याचको प्रतिस्पर्धी साथी भए पनि देवकोटा आसामबाट फर्केर आउँदा पढाइको हिसाबले आफूहरूभन्दा निकै अगाडि बढिसकेको बिनासंकोच बताए । ‘एमबीबीएस पढेर फर्किंदा वास्तवमै उहाँलाई त्यतिबेला हामीलाई भन्दा धेरै नै ज्ञान भइसकेको थियो,’ उनले भने, ‘त्यसपछि उहाँले जसरी डा. गंगोलसँगै काम गर्ने अवसर पाउनुभयो, त्यो अर्को ठूलो उपलब्धि भयो ।’


सायमीका अनुसार उनले जुन प्रकारले विदेशमा हासिल गरेको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गरे, त्यसले पनि उनको सम्झनालाई अमर बनाएको छ ।
प्राध्यापक देवकोटाले नयाँ पुस्तालाई छोडेर गएको विरासतलाई उनीहरूले कुन दिशातर्फ लैजान्छन् त्यो भविष्यको गर्भमा छ । तर, लगभग दिनहुँजसो जीवन र मृत्युबीचको लुकामारीलाई नजिकबाट देखेका चिकित्सकलाई आफ्नो सहकर्मी र सहपाठीको मृत्युले भने शोकाकुल बनाएको छ ।


डा. अधिकारीले फोनमा भन्दै थिए, ‘हामी धेरै जनाको मृत्युको साक्षी बसेका हुन्छौं । तर, जब कुनै आफ्नो नजिकको मान्छेको मृत्युको साक्षी बस्नुपर्छ, हामी सकेसम्म त्यो नभइदिए हुन्थ्यो भन्ने कामना गर्न थाल्दछौं । देवकोटाको हकमा पनि मलाई त्यही महसुस भयो ।’


डा. सायमी पनि आफूले देवकोटालाई अन्तिम पटक भेट्न जाँदा गरेको कुराकानी सुनाउँदै गर्दा केही भावुक देखिए । उनको आँखाका गहहरू रसिला भएर आए ।


“अब उहाँलाई के हुँदै छ भन्ने सबै थाहा थियो । केही लुकाउन सकिने विषय पनि थिएन । उहाँले सुरुमा नै ‘अब मेरो सुत्ने बेला भयो’ भन्नुभएको थियो,” उनले भने, ‘त्यो दिन हामीले कलेज दिनका पुराना कुराहरू गर्‍यौं । पुराना यादहरूलाई ताजा बनायौं । करिब १५ मिनेट जति कुरा गरेपछि उहाँले आफू थाकेको र केहीबेर आराम गर्ने बताउनुभयो । अनि म निस्कें ।’


नभन्दै केही दिनपछि असार ४ गते डा. सायमीलाई भनेझैं उनी सदाका लागि चीरनिद्रामा सुते । उनी त्यसका लागि धेरै हदसम्म मानसिक रूपमा तयार भइसकेका थिए । देवकोटा लामो समय बेलायतको किंग्स अस्पतालमा आफूलाई भएको पित्तनली क्यान्सरको उपचार प्रयास विफल भएपछि मृत्युलाई स्वीकार गर्दै वैशाख १५ मा काठमाडौं फर्किएका थिए ।
डा. देवकोटामा रहेको देशप्रतिको लगाव उनको शरीरमा चेतना रहेसम्म देखियो । गोरखाको पण्डित गाउँको त्यो ठिटो अन्तत: पुन: एक पटक त्यही पिँडीमा अन्तिम पटक सुस्ताउन पुग्यो, जहाँ उसले पहिलो पाइला टेकेको थियो ।


उनी त्यहाँ पुग्दा उक्त पिँडी जति नयाँ थियो, त्यति नै नयाँ थियो उनी अन्तिम बिदा माग्न पुगेको परिवेश । तर, संयोग भनौं वा नियति उनले पहिलो पटक गाउँ हवाई मार्गकै प्रयोग गरेर छोडेका थिए । उनी एसएलसी दिएर पालुङटारबाट एनएसीको विमान चढेर काठमाडौं ओर्लिएका थिए । त्यसको लगभग ४ दशकपछि उनले सदाका लागि गाउँ छोडेर बिदा हुँदा पनि हवाई मार्ग नै प्रयोग गर्नुपर्‍यो ।

प्रकाशित : असार ९, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?