२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आरती उज्यालो

पर्यटन
स्वच्छ जनकपुर महाअभियान सञ्चालन गरिरहेका रामाशिषलाई जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरूभन्दा बढी समय लिएर कुरा गरे ।
वेदराज पौडेल

काठमाडौँ — विराटनगरका जयस बोहोरा जनकपुरको गंगासागरमा आयोजना हुने गंगा आरतीमा सहभागी हुन पुगे । उनले आरतीबारे सुनेका थिए तर प्रत्यक्ष भने देखेका थिएनन् । कामको व्यस्तता र तनावबीच गंगा आरतीमा सहभागी भएका उनी आरती सकेर निस्कँदा आफ्नो छोटोमीठो अनुभव सुनाउँदै थिए, ‘वास्तवमा निकै आनन्द र मन हलुका भयो ।’

आरती उज्यालो

बोहोरा मात्र होइन, जनकपुरको शिवचोकनजिक रहेको गंगासागरमा प्रत्येक साँझ सात बजेबाट सुरु हुने आरतीले सयौंलाई आनन्दन दिने गरेको छ । ऐतिहासिक र धार्मिक दृष्टिले पवित्र जनकपुरधामको फोहोरका कारण बढ्दै गएको समस्या समाधानका लागि स्वच्छता अभियान लिएर सडकमा ओर्लिएका रामाशिष यादवको अभियानले साँच्चिकै सार्थकता पायो ।

नगरभरिको फोहोर फ्याँकिएको गंगासागरबाट सरकारी सहयोगबिनै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सर्वसाधारणको प्रयासमा एक सय ट्याक्टर फोहोर बाहिर निकालिएपछि गंगासागरले आफ्नो पुरानो चमक पायो । त्यसको निरन्तर सफाइ र स्वच्छताका लागि रामाशिषकै पहलमा बनारसबाट तीन पण्डित झिकाइए अनि २०७१ साल जेठ २५ गतेबाट आरती सुरु भयो ।


गंगा आरती केहो भन्ने सवालमा रामाशिषले छोटो जवाफ दिए, ‘जलको संरक्षण र प्रकृतिको पूजा नै हो गंगा आरती ।’ जलकी देवी गंगा र जमिनकी देवी जानकीको संयुक्त पूजा हुने आरती स्थलमा प्रत्येक बेलुका हजारभन्दा बढी मानिसको भीड लाग्छ । झन्डै दुई घण्टाको संगीतमय आरतीको अन्त्यमा प्रसाद समेत बाँडिन्छ । भक्तहरूले चढाएको भेटी र दानबाट नै यो चार वर्षदेखि आरतीले निरन्तरता पाइरहेको छ भने यहाँबाट सिकेर जनकपुरका अन्य तालहरू पनि सफा राख्नुपर्छ भन्ने सचेतना बढेको छ । बनारसबाट आएका पण्डितले यहाँका सात जनालाई आरती गर्न सिकाएपछि अहिले हरेक सोमबार जलेश्वर महादेव मन्दिरमा समेत महाआरती गरिंदै आएको छ । २०७० फागुन ११ बाट सफाइ सुरु गरेको गंगासागरको विगतमा बार्षिक रुपमा एकपटक मात्रै सफाइ हुन सकेको थियो ।


स्वच्छ जनकपुर महाअभियान सञ्चालन गरिरहेका रामाशिषलाई जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरूभन्दा बढी समय लिएर कुरा गरे । मोदी १२ बिघामा बनेको मञ्चमा उक्लनुअघि करिब २ सय जना मञ्चपछाडि उनको स्वागतमा लामबद्ध थिए । उनी पनि त्यो लाममा सहभागी थिए । हुन त दुई नम्बर प्रदेशको प्रदेशसभा सदस्य भए पनि उनले मोदीको अगाडि ‘म एउटा स्वच्छताको अभियन्ता’ भनेर परिचय दिए । मोदी सांसद हुँदा नै बनारसमा गंगा सफाइ अभियान सुरु गरेदेखि उनको कामबाट प्रभावित भएर रामाशिषले जनकपुरको गंगासागर सफाइ अभियान सुरु गरेका थिए ।


मन्त्री, संसाद, नेता, उद्योगी, व्यापारीको नमस्कारमा हात मात्र जोडेका मोदीले रामाशिषको अघि पुगेर तीन मिनेटजति उभिएरै कुरा गरे । मोदीअगाडि उनले भने, ‘मै एक स्वच्छता अभियन्ता आपका शिष्य एकलव्य ।’ स्वच्छता अभियन्तालाई भेट्दा मोदी अडिएर उनका कुरा सुने । रामाशिषले पनि मोदीलाई आफूले चालेको अभियानबारे सविस्तार बताए । मोदीले उनीसँग हात मिलाउन हात अघि बढाए । रामाशिषले ‘गुरुसँग चेलाले हात मिलाउने सामथ्र्य राख्दैन’ भनेर नमस्कार मात्र गरिरहे । मोदीले उनका दुवै हात प्रेमले समातेर उनलाई धाप मारे ।


सबैको नमस्कार फर्काउदै अघि बढेका प्रधानमन्त्री मोदीले निकैबेर उभिएर रामाशिषलाई के भने होलान् ? स्वभावत सबैतिर चासोको विषय बन्यो । अझै चासोमै छ यो कुरो ।

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?