लन्डनमा खास्साम र मुन्धुम

संगीत
झुमा लिम्बू

काठमाडौँ — संगीत–संस्कृति पहिल्याउने हो भने संगीतको प्रयोग हुने परिवेश उतार्ने खालका वृत्तचित्रको खाँचो पर्छ । संगीतबारेका सिनेमाको आवश्यकता पर्छ । श्रव्यदृश्य क्षेत्रमा यति काम गरेपछि यसलाई संग्रह गर्ने अर्काइभ सेन्टर पनि चाहिने भयो । संगीत मात्रै नभई संगीत बनाउने मान्छे र यसको सामाजिक आधार (प्रवृत्ति) माथि अध्ययन गरेपछि बल्ल यसले पूर्णता पाउनेछ ।

लन्डनमा खास्साम र मुन्धुम

बेलायतको लन्डनस्थित सोआस युनिभर्सिटीमा बर्सेनि वल्र्ड म्युजिक फेस्टिवल आयोजना हुन्छ । सन् २०१६ मा त्यो फेस्टिवल अवलोकन गर्ने अवसर जुर्दा निकै उत्साहित हुन पुगेकी थिएँ । एक दर्जनभन्दा बढी देशका अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुति हेर्न पाउनु अद्भुत र दुर्लभ मौका थियो ।


फरक–फरक देशका कलाकारले आ–आफ्नो सांस्कृतिक पहिचान झल्काउने खालका सांगीतिक प्रस्तुति देखाइरहेको घडीमा खुसी लाग्नुपर्ने हो तर म दु:खी पो भएँ । अन्य देशको संगीत–संस्कृतिका क्षेत्रमा यति धेरै काम भइसकेको रैछ, तर खोइ हाम्रो नेपाली संगीत–संस्कृति ? यो जुनीभर काम गर्दा पनि हाम्रो संगीत कतै नपुग्ने हो कि भन्ने चिन्ता छाइरह्यो । त्यसमाथि विश्व संगीतमा नेपाली अनुहारको कुरा कहिले गर्न पाइने होला ?


हुन त, नेपाली संगीतको पहिचान के ? नेपाली संगीत सर्जकले हिँड्नुपर्ने बाटो कुन हो ? प्रश्नको जवाफ खोज्दै म नेपाली समाजमा आफ्नै पहिचान बोक्ने संगीत–संस्कृति खोज्दै हिँडिरहेको छु । कहिले पूर्व त कहिले पश्चिम ।


मुन्धुम यात्रा
सानैदेखिको संगीत सिक्ने रहर पूरा गर्न लोकभाकाका गीत गाएर यस क्षेत्रमा पाइला चालेकी थिएँ । गायनमा खारिन शास्त्रीय संगीतको शिक्षा अपरिहार्य रहेको बोध भएपछि गुरु थाप्दै हिँडेँ । यो क्रममा गुरु चन्दनकुमार श्रेष्ठ, अम्बर गुरुङ र चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीत सिकेँ । रसियन संगीतज्ञ भिक्टोरिया ओनुफ्रियभासँग झन्डै दुई वर्ष पाश्चात्य संगीतका आधारभूत कुरा पनि सिकेँ । जति सिकिंदै जान्छ, सिक्नुपर्ने कुरा अझै सामुमा देखिँदोंरहेछ बग्रेल्ती ।


गुरुहरूकै संगतका कारण म नेपाली संगीतमा ‘भाषा मात्रै नेपाली, संगीतचाहिँ आयातित’ भन्ने निष्कर्षमा पुगेँ । हामीकहाँ संगीतमा आफ्नो जरा मारेर अर्काले हुर्काएको संगीतको फल खाने काम भइरहेको रहेछ । यो यथार्थले मलाई निकै बिझायो । नेपालमा शास्त्रीय संगीतको भरपर्दो आधार नभएकाले हाम्रो संगीतको पहिलो आधार ‘लोक वा रैथाने संगीत नै हो’ भन्ने बुझेपर्यन्त म लोक–संस्कृति अन्तर्गतको संगीतमा केन्द्रित छु ।


पूर्वी नेपालको ताप्लेजुङ, ढुंगेसाँघुको लिम्बू परिवारमा म जन्मेँ । लिम्बू परिवेशमै हुर्केँ । आफूले बोल्ने भाषा लिम्बू भएकाले यसै जातिअन्तर्गतको मुन्धुम संस्कृतिको अध्ययन गर्ने विचार मैंले गरें । त्यस भेगमा मुन्धुम मान्ने लिम्बू, राई, सुनुवार, याक्खा र धिमाल जाति हुन् । यसमध्ये मैले नेपालको सुदूर पूर्वमा बस्ने लिम्बू जातिले मान्ने मुन्धुम संस्कृतिअन्तर्गत गायन शैलीमा केन्द्रित भई अध्ययन गरेँ । गायनसँगै त्यहाँको सांस्कृतिक शैली, नाच र बाजाबारे पनि बुझ्ने प्रयास गरेँ । यो जातिले मान्ने मुन्धुम ‘थुथुरी वेद’ हो । फेदाङ्मा, येबा, साम्बा, तुम्याङहाङ र बूढापाकाले उहिलेका कुराहरू नयाँ पुस्तालाई सुनाउने चलन थियो जो अहिले पनि छ । यसरी सुनाउने चलन श्रुति परम्परा हो । लिम्बू जातिको मुन्धुम यही श्रुति परम्परामा जीवित छ ।


अनादिकालदेखि मौखिक रूपमा पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएको मुन्धुम लिम्बू समुदायको साझा अनुभवबाट जन्मिएको दस्तावेज हो । यही अलिखित दस्तावेजभित्र लिम्बू जातिको इतिहास, सामाजिक विकासक्रम र जीवन दर्शन पनि लुकेको छ । झन्डै दुई सय वर्षयता यसलाई लेख्य रूपमा राख्ने प्रयत्न भए पनि यसको पर्याप्त व्याख्या र विश्लेषण पनि त्यत्ति भएको छैन । लिम्बूजस्तै नेपालमा अनेक जातजाति र समुदायसँग आफ्नै विशिष्ट संस्कृति छ । तर, यसबारे गम्भीर अध्ययन–अनुसन्धान खासै हुन सकेको छैन ।


संगीत त धेरथोर मिहिनेत गर्दा जसले पनि बनाउन सक्ला । तर नेपालकै जरामा भिजेको संगीत बनाउन संस्कृति बुझ्नु अपरिहार्य छ । भाषाको ज्ञानबिना संस्कृति बुझ्न असम्भवप्राय: छ । हामीकहाँ एकपछि अर्को मातृभाषा धरापमा पर्ने क्रम बढेको छ । म लिम्बू समुदायमै जन्मे–हुर्केकाले लिम्बू भाषा आंशिक रूपमा बुझ्थे । भाषा सिक्न थप मिहिनेत गरेँ, यसरी लिम्बू भाषा लेख्न, पढ्न र बोल्न सहज भयो । त्यसपछि बल्ल नयाँ–नयाँ पत्र र रहस्य खुल्दै गए ।


नेपालको सुदूर पूर्वी भेगमा बसोबास गर्ने लिम्बूको संगीतलाई विश्व–संगीतमा लैजाने मेरो लोभ बढ्दै गयो । यस विषयका जानिफकारसँग बुझ्न सोध्दैखोज्दै मुन्धुमकै लागि नेपाल र भारतका विभिन्न ठाउँसम्म धाएँ । र, अन्तत: ‘खास्साम’ जन्मियो । ‘खास्साम’ संगीत र संस्कृति सिक्न बुझ्न चाहने मेरो सानो प्रयास थियो ।


आदिवासी–जनजातिको संस्कृति र संगीत क्षेत्रका केही गम्भीर सर्जकको ध्यान आकृष्ट भएपछि मेरो प्रयास खेर नगएको महसुस भयो, म थोरै हौसिएँ । संगीतसँग मुन्धुम जोड्ने त्यो प्रयासलाई बाहिरी देशका स्रोता र अध्येतासम्म पुर्‍याउने लालसा झनै बढ्यो । त्यही क्रममा ‘खास्साम’ बोकेर म लन्डन पुगेकी हुँ । २०१५ मा खास्सामको सिडी बोकेर बेलायत पुग्दै गर्दा मेरो खुट्टा भुइँमा थिएन । तर, जब त्यहाँका एथ्निक म्युजिकका विज्ञहरूलाई खास्साम सुन्न दिएँ, मलाई मेरो धरातल छर्लंग भयो । उनीहरूको प्रतिक्रिया थियो— ‘यो त भाषिक गीत र बाजाको रेकर्ड गरेजस्तो मात्रै भयो । यसलाई संगीतको रेकर्ड भन्न अलि मिल्दैन ।’


एथ्निक म्युजिक ठाउँ र संस्कृतिको संगीत हो जुन सुन्नासाथ त्यो ठाउँको विशेषता र पहिचान झल्काउने संगीतअनुरूपको ‘इफेक्ट’ चाहिन्थ्यो । खास्साममा यसको अभाव थियो । मैले त्यही बेला मुन्धुम संगीतको साउन्ड प्रोडक्सन गर्ने काम संगीत प्रोड्युसर विश्व शाही र गंगा थापालाई सुम्पेर नेपाल फर्किएँ ।


झन्डै २ वर्षपछि सेप्टेम्बर, २०१७ मा म फेरि बेलायत पुगेँ । यसबीचमा शाही र थापासँग मेरो निरन्तर अन्तरक्रिया जारी थियो । काम सकिएपछि साउन्ड्स अफ द वल्र्ड फेस्टिवलमा मैले प्रस्तुति दिएँ । यही मेसोमा लन्डनको थेम्साइड थिएटरमा १८ मार्च, २०१८ मा खास्सामको परिष्कृत भर्सन साउन्ड्स अफ मुन्धुमको सिडी रिलिज भयो । मुन्धुम मान्ने समुदायको ध्वनि संगीतमा यसअघि यसरी आएको थिएन । यसको इफेक्ट, साउन्ड आदिमा लिम्बू समुदायको पहिचान झल्कने प्रयोग गर्न मैले जानेको, सकेको प्रयत्न गरेको छु । यो कालान्तरमा मुन्धम मान्ने समुदायको सम्पूर्ण धुन बनोस् भन्ने मेरो इच्छा हो ।


मुन्धुममा जन्मदेखि मृत्यु संस्कारसम्मको जीवन–चक्रलाई समेट्ने संगीत छ । अझ, हामीकहाँ गर्भवती हुँदादेखि मृत्यु संस्कारसम्मको कुरा समेट्ने संगीत अभ्यासमा छ । यस्तो कुरा गुरुङ, तामाङ, नेवारलगायतका जातीय संगीतमा पनि भेटिन्छ ।


अबको बाटो
संगीतमा आफू बाँचेको समाज र मान्छेको अन्तर्सम्बन्ध खोज्नेले रैथाने–संगीतमार्फत एउटा खास समूह वा समुदायको संगीत–संस्कृति बारेमा मिहिन ढंगले प्रशस्त काम गरेका छन् । संगीत फगत मनोरञ्जन होइन, तर हामी कलाकार आफैँले त्यसलाई मनोरञ्जनमै सीमित गरेका छौं । विश्व संगीतमा नेपाली संगीतको उपस्थिति बलियो बनाउन हामीले हाम्रो काममाथि गम्भीर समीक्षा गर्न ढिलो भइसकेको छ ।


नेपाली संगीतलाई विश्व संगीतमा लैजाने प्रयास यसअघि नभएको होइन । केही फ्युजन संगीत गर्ने काम पनि भएको छ । तर, ती सबै अपूर्ण प्रयास हुन् । विश्वका संगीत विज्ञमाझ हामीले ‘पर्फम’ मात्र गरेर पुग्दैन । नेपाली संगीत के हो भन्ने प्रश्नको उत्तर पनि दिनुपर्ने हुन्छ । विश्व संगीतमा नेपाली संगीतबारे बहस हुने वातावरण पनि सिर्जना गर्न सक्नुपर्छ ।
अझै पनि मूलत श्रुति परम्परामा बाँचेको हाम्रो संगीतको इतिहासलाई श्रव्यदृश्य माध्यमद्वारा दस्तावेजमा संग्रह गर्न नसक्दा यसबारे बौद्धिक विमर्श छेड्न सकिएको छैन । यस्तो अवस्थामा अन्यत्रजस्तो एक–एक समुदायको संगीतमा मिहिन अध्ययन गरेर कुनै निष्कर्ष निकाल्ने काम हुने कुरै भएन । हाम्रो रैथाने संगीत यस्तो छ भनेर कसले भन्दिने ? यो पूर्वको, यो मधेसीको, यो कथित दलितको संगीत भनेर कस्ले भन्दिने ? विश्व संगीतमा हाम्रो आफ्नै संगीतको अर्केस्ट्रा र सिम्फोनी कहिले हुने ? यति नगरेसम्म के हाम्रो संगीतको आफ्नै आधारभूमि बन्ला र ?


नेपाली संगीतको आधार बनाउनका लागि सबैभन्दा पहिले पर्फमेन्स आर्टभित्र भएका कामको मूल्यांकन र विश्लेषण हुनु जरुरी छ । नेपाली स्थानीय वा व्यावसायिक कलाकारले गाउँदा, बजाउँदा कस्तो बाजा बजाउँछन् भन्ने सामान्य प्रश्नबारे पनि सोधखोज भएको छैन । ती बाजा काठका छन् कि बाँसका भनेर सोचिएको छैन । हामीकहाँ छालाका बाजा काठहरू बाँसका बाजाभन्दा अलि बढी प्रयोगमा आएका छन् भन्न सकिन्छ । तर यस्तो निष्कर्षमा पुग्न सकिने ठोस आधार अनुसन्धानबिना कसरी बन्ला ?


बाजा कसरी बन्छ भन्ने बुझेपछि बल्ल पर्फमेन्सको कुरा आउँछ । पर्फमेन्सबाट एक हिसाबले संगीतबारे बुझ्ने आधार दिन्छ । तर पर्फमेन्स भइसकेपछि पनि सोच्नुपर्ने कुरा संगीत त समाजसँग जोडिएको हुन्छ । कस्तो समाजबाट कस्तो संगीत उठ्छ त ? कसले कसरी बजाइरहेछन् ? जो संगीतको पेसामा लागेका छन्, तिनले त्यसको प्रयोग गरेका छन् कि छैनन् ? हामीले हाम्रै गाउँठाउँबाट उठेको संगीत प्रयोग गरेका छौं कि छैनौं ? मननीय मुख्य कुरा यही हो ।


संगीतको उठान यस्ता ठाउँका मान्छेले यसरी बनाउँछन्, बजाउँछन् भन्ने बुझेपछि पनि केही कुरा बाँकी हुन्छ । त्यस्तो अभाव पूरा गर्न संगीतको प्रयोग हुने परिवेश उतार्ने खालका वृत्तचित्रको खाँचो पर्छ । संगीतबारेका सिनेमाको आवश्यकता पर्छ । श्रव्यदृश्य क्षेत्रमा यी पक्षबारे काम गरेपछि त्यसलाई संग्रह गर्ने अर्काइभ सेन्टर पनि चाहिने भयो । संगीत मात्रै नभई संगीत बनाउने मान्छे र यसको सामाजिक आधार (प्रवृत्ति) माथि अध्ययन गरेपछि बल्ल यसले पूर्णता पाउनेछ ।


घाटु संस्कृति–संगीत
नेपालभित्रका जातजातिबीचको संगीत संस्कृतिमा धेरै कुरामा समानता भेटिन्छन् । तर भाषा फरक हुँदा संस्कृति पनि स्वभावत: बेग्लै बन्छ । फरक भाषाले जन्माउने ‘टोन’ नै फरक हुन्छ । भूगोलले पनि फरक पारिहाल्छ । त्यसैले मुन्धुममा काम गर्दैगर्दा मैले यस्तै अर्को कुनै समुदायको, फरक भूगोलमा बस्ने जातजातीको संगीत संस्कृतिबारे काम गर्ने सोच बनाएकी थिएँ । यही क्रममा मुन्धुमपछि मैले लमजुङको नाल्मा गाउँको प्रचलित घाटुमा काम गर्ने अठोट लिएँ ।


घाटुमै केन्द्रित भएर काम गर्ने खास कारण छ । संसारमा संगीतका विविध विशेषता र पाटाबारे अनेक उदाहरणीय काम भएका छन् । संगीतलाई मनोरञ्जन अलावा मेडिटेसन/रिल्याक्सेसनका लागि, हिलिङका रूपमा, स्मरण शक्ति बढाउने सहायक माध्यमका रूपमा विश्वभर अनेक अध्ययन गरी त्यसको व्यावहारिक प्रयोग हुँदै आएको छ । बालबालिकालाई कस्तो खालको संगीत सुनाउने भन्नेसम्मको कुरामा ध्यान दिएर काम भइरहेको छ । विश्वविख्यात अस्ट्रियन संगीतकार मोजार्टको संगीतबारे भएको अनुसन्धानको उदाहरण लिऊँ । मोजार्ट संगीत सुन्दा कुन उमेर समूहका श्रोतामा कस्तो असर पार्छ भन्नेसम्मको अध्यन भएको छ ।


नेपालको रैथाने संगीत पनि मेडिटेसन, रिल्याक्सेसन वा हिलिङका रूपमा र स्मरण शक्ति बढाउने सहायक माध्यमका रूपमा वर्षौंदेखि प्रयोगमा आइरहेकै छ । तर, हाम्रोमा संगीतको यो पाटोबारे बुझेर व्याख्या गरिदिने, अर्थ निर्माण गरिदिने भरपर्दो व्यक्ति वा संस्था भएन । जस्तै : हाम्रा घरघरमा गाइने ‘लोरी’ बच्चालाई सुताउन प्रयोगमा आउने संगीत हो । प्रयोगमा आइरहे पनि संगीतले ‘यो वा त्यो काम गर्‍यो’ भन्नलाई पनि अनुसन्धान हुनुपर्छ । अनुसन्धान अभावमा बौद्धिक विमर्श र चिन्तन खड्किएकै अवस्थामा छ ।


घाटु नाच्दानाच्दै घण्टौं बेहोस भएको मान्छे एउटा खास किसिमको संगीत बजाएपछि अचम्मसँग ब्यँुतिन्छ । तर, हाम्रोमा यस्तो अभ्यास र प्रयोगलाई अनुसन्धान गरेर व्याख्या गर्ने अनि त्यसलाई विश्व समुदायमा लैजाने काम भएकै छैन । यो कुरालाई हामीले विश्वमाझ लैजाँदा संगीतमै अनुसन्धानरत विज्ञले यसको अर्थ खोज्ने सम्भावना बढ्छ । संगीतको कुन शक्तिले तिनीहरू ढले र फेरि ब्युँतिए भन्ने जिज्ञासा भएकाले मैले घाटु छानेँ । कस्तो खालको संगीत कस्तो समुदायमा कसरी बन्छ र बज्छ (?) भन्ने कुरा अभिलेख राखिनु जरुरी छ । यस पटक घाटुको जग र दर्शन के हो भन्ने बुझ्न त्यसलाई मैंले दृश्यमा कैद गरेँ ।


नेपालमा परम्परागत रूपमै गाएर, बजाएर र नाचेर मात्रै जीवन धान्ने केही जातिहरू पनि छन् । वादी जाति तिनैमध्ये पर्छ । हाम्रो संगीतको दरिद्र हाललाई म वादी समुदायको नाजुक अवस्थासँग जोडेर हेर्छु घरीघरी । वादीहरू बागीना (बाजा, गीत र नाच) मा निपुण छन् । उनीहरू मादल र सारंगी बनाउँछन् । विगतमा कुमाउ, गढवालतिरबाट गाना बजानाकै लागि झिकाइएको यो जाति सीपमा सम्पन्न छ तर आर्थिक रूपमा हरितन्नम ।


बागीनालाई सस्तो मनोरञ्जन र तल्लो दर्जाको कामका रूपमा मात्रै बुझ्ने समाजको चिन्तनका कारण दक्ष भएर पनि दुई गाँस राम्रो खान र राम्रो लाउन नपाउने अवस्थामा छन्— बहुसंख्यक वादीहरू । न उनीहरूसँग आफ्नो भन्नलाई जग्गाजमिन नै छ । यहाँनेर हाम्रो संगीत र वादीको अवस्था समान लाग्छ मलाई । आफ्नो सीप छ, इतिहास छ तर त्यसलाई समाजले दुत्कारेको छ । सम्पन्न भएर पनि तन्नम बनाएको छ । यही विरोधाभासको कथा खोज्न, इतिहास बुझ्न बझाङलाई अब मेरो अनुसन्धान थलो बनाउँदै छु । नेपालकै पिछडिएको ठाउँ सुदूरपश्चिमको समाजभित्र पसेर सम्पन्न भएरै पनि पछाडि पारिएका वादी समुदायजस्तै अरू धेरै समुदाय अझै अध्ययन–अनुसन्धानको दायराबाट पाखा परेका छन् । प्राज्ञिक तहको संगीत एकेडेमी वा यस्तै संस्थागत र स्रोत–साधन भएका निकायको ध्याउन्न के–कता छ, यो पनि सोधीखोजीको अर्को विषय बनेको छ ।

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?