२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ज्ञानगुन शेषराज

कविगुरु रवीन्द्रनाथ टैगोरको भनाइ छ– हो, कसैले तिम्रो आवाज, तिम्रो आह्वान वा तिम्रो सन्देश सुनेनन् वा वास्ता गरेनन् भने पनि चिन्ता नगर । पछाडि फर्केर नहेर । तिमी आफ्नो बाटोमा, आफ्नो उद्देश्यमा एक्लै नै सही अगाडि बढिरहू ।
लेखनाथ भण्डारी

काठमाडौँ — नेपाली भाषा–संस्कृतिका स्वनामधन्य साधक र सेवकको नाम हो— शेषराज शिवाकोटी । नेपाली संस्कृतिका अनेकौं सयौं प्रेरणादायी अग्रज व्यक्तित्वको सम्मान र सम्झनामा एक्लै अहोरात्र खटिरहने कोही छ भने भनिदिए हुन्छ— शेषराज शिवाकोटी अर्थात ‘ज्ञान गुनका कुरा’ । ज्ञानगुनका कुरा, ज्ञानगुन कानुन प्रतिष्ठान वा ज्ञान गुन साहित्य प्रतिष्ठानका यी विविध मञ्च मार्फत ३ दशक लामो यात्रामा सयौं अनुष्ठान सम्पन्न भइसकेका छन् । यी सयौं अनुष्ठानका एक्लो सारथि हुन्— शेषराज ।

ज्ञानगुन शेषराज

साहित्यिक वा कानुनसँग सम्बन्धित कृति प्रकाशन, लेखक साहित्यकार, इतिहासकार, अन्वेषक आदि विभिन्न क्षेत्रका विद्वान्को विशेषांक प्रकाशनका साथै सम्मान पुरस्कार जन्मोत्सव मनाउने अग्रस्तरता यस प्रकाशनका प्राथमिक कार्य हुन् । यी कार्यको एक्लो सारथि शिवाकोटीले ‘ज्ञान गुन’ को झोला भिरेर हिँडेको बाटो त्यति सहज छैन, जति यो यात्रा परिणामले देखाएको बाटो सहज वा सुन्दर पनि छ ।


न्याय सेवाको सरकारी जागिरबाट प्राप्त जीविकाका लागि प्राप्त मानो मुठ्ठी परिवारजनका सामु नपुग्दै कागज, कलम र मसीमा गोजी रित्याउन पाउँदा खुसी देखिने शिवाकोटीका परिवारजनको साझा समर्पणको परिणाम हो— ज्ञानगुनका कुरा । नेपाली इतिहासका विद्वान् नयराज पन्तका सम्बन्धमा मात्र ३० वटा विशेषांक प्रकाशित गरिसकेको ज्ञानगुन प्रकाशन अर्थात् ‘ज्ञानगुनका कुरा’ मार्फत १ सय ९९ अंक पत्रिकाबाहेक विभिन्न व्यक्तित्व तथा कृतित्वसँग सम्बन्धित पनि ३ दर्जनभन्दा धेरै कृति प्रकाशित भइसकेका छन् । यसरी एउटै व्यक्तिको प्रयासमा ३ सय ५० को हाराहारीमा नेपाली भाषा संस्कृतिसँग सम्बन्धित ग्रन्थ प्रकाशित हुनु संख्याको दृष्टिले पनि कम होइन । व्यक्तित्व र कृतित्व छनोटमा गुणात्मक औसत १९–२० नै रहे पनि यी ग्रन्थहरूले नेपाली सांस्कृतिक उन्नयनमा एक से एक महत्त्वपूर्ण दस्तावेजको वजन बोकेका छन् ।


एउटा व्यक्ति वा एउटा सारथिले ओझेलमा परेका एउटै असल व्यक्तिलाई दुनियाँसामु आँखा खोलिदिन सके पनि धेरै महत्त्वपूर्ण कार्य मानिन्छ । त्यस्ता अन्य धेरै उदाहरण होलान् तर नेपाली साहित्यमा आदिकवि भानुभक्तको कृतित्व र व्यक्तित्वलाई उजागर गर्ने मोतीराम भट्टको भूमिका अतुलनीय मानिन्छ । अन्य कतिपय भानुभक्तजस्तै व्यक्तित्वलाई पनि अन्य मोतीरामजस्ता व्यक्तिले अँध्यारो कुनाबाट उज्यालो संसारमा पुर्‍याएका धेरै उदाहरणहरू हामी सम्झन सक्छौं । नेपाली वाङमयका विशिष्ट साधकहरू को कहाँ कसरी साधनारत छन् ? तिनका योगदानहरूलाई समेटेर सुन्दर कृति तयार गर्नु चानचुने कुरा हुँदै होइन ।


यस्तो असाधारण साधनामा दुई–चार दर्जन मात्र पनि होइन सयभन्दा पनि माथिको संख्याका व्यक्तित्व बारेमा कृति संकलन, सम्पादनको संयोजन ज्ञानगुनले गरेको छ । ज्ञानगुनका कुराले गरेको छ । ज्ञानगुन साहित्य प्रतिष्ठानले गरेको छ, ज्ञानगुन कानुन प्रतिष्ठानले गरेको छ । यी सबैको श्रेय यसको एक्ला सारथि शेषराजलाई जान्छ । सयौं भानुभक्तहरू समाजलाई चिनाइदिने ज्ञानगुन र शेषराज एकअर्काका पर्याय हुन् । एउटा व्यक्तिले यतिसम्म गर्न सक्ने हाम्रै समाजमा संघ संगठन वा समग्र राज्ययन्त्रले किन अपेक्षित उपलब्धि हासिल गर्न सकिरहेको छैन ? प्रश्न पनि यसैमा छ । समस्या पनि यसैमा छ । तर पनि खुसी यसैमा छ, अँध्यारोमा दियो यसरी बलिरहनु नै पर्छ !

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?