२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

फर्सीडोल रिभिजिटेड

चर्चा
ललितपुर महानगरपालिका–२२ अन्तर्गत पर्ने डडीफाँट समथर भूभाग हो । कार्यविनायक मन्दिरका पुजारी ज्ञानुराज तुलाधारका अनुसार यही ‘डथी’ पछि अपभ्रंस भएर ‘डडी’ भएको हो ।
प्रशान्त माली

काठमाडौँ — मुलुककै बहुचर्तित योजना हो— फास्ट ट्रयाक । यसको काठमाडौं प्रवेशविन्दु फर्सीडोल, डडीफाँटमा राख्ने चर्चामा आएपछि यो ठाउँको नामले ख्याति पाएको छ—ख्यालख्यालमै । प्रवेशविन्दु सानो खोकनामा राख्ने विषयमा लामो समय विवाद चलिरह्यो । स्थानीयवासी, सांसद र सम्पदाप्रेमीले खोकना प्रवेशविन्दुमा चर्को विरोध जनाएपछि ५ किलोमिटर टाढाको फर्सीडोललाई रोजिएको छ । यो रोजाइपछि फर्सीडोल र डडीफाँटबारे धेरैको चासो बढेको छ ।

फर्सीडोल रिभिजिटेड

ललितपुर महानगरपालिका–२२ अन्तर्गत पर्ने डडीफाँट समथर भूभाग हो । साविक बुङ्मती–९ नम्बरमा पर्ने फाँटको पश्चिममा वाग्मती, उत्तर र पूर्वमा तामाङ बस्ती खौइबु र फर्सीडोल तथा उत्तरमा नेवारी बस्ती खैइचा छ । फाँट, खौइबु, खैइचा र फर्सीडोलमा केही पातलो बस्ती देखिन्छ । लगनखेल बसपार्कबाट झन्डै १० किलोमिटर दूरीमा रहेको फर्सीडोलमा पछिल्ला दिनमा बढेको चहलपहल आफैंमा रमितलाग्दो छ ।


नेपालभाषामा ‘डथी’ भन्नाले बीच भाग भन्ने बुझिन्छ । कार्यविनायक मन्दिरका पुजारी ज्ञानुराज तुलाधारका अनुसार यही ‘डथी’ पछि अपभ्रंश भएर ‘डडी’ भएको हो । यो अनुमान मात्रै पनि हुन सक्छ । यो फाँट भटमासका लागि निकै उर्वरभूमि मानिन्छ । पहिला दायाँबायाँ मकै, बीचमा भटमास रोप्ने गरिन्थ्यो । २०२६ सालमा डडीफाँटमा पहिलो घर बनाउने पुजारी तुलाधरका अनुसार, अहिले आएर डडीफाँट बुङ्मतीवासीको वैकल्पिक बासस्थानजस्तै बनेको छ ।


डडीफाँटका १४ मध्ये सबैजसो घर भत्काइएको थियो, तीनवटा ढलान घर मात्र ढलेनन् । घर भत्केर अलपत्र बनेकाहरू अझै टहरामै छन् । अझ अब फास्ट ट्रयाक चर्चाले भूकम्पपीडितहरू घर बनाउने/नबनाउने भन्नेमा अन्योलमा छन् । फाँटको बीचमा करिब ३ रोपनी कुमारी चौर छ । यसको महत्त्व खोकनाको सिकाली चौरजत्तिकै छ ।


दसैंमा बुङ्मतीबाट खड्ग ल्याएर खैइबुस्थित महाँकालस्थानमा स्थापन गरिन्छ । महाँकालस्थान र उक्त चौरमा एकैपल्ट विधिवत् पूजा गरेपछि मात्र बुङ्मतीमा दसंै सुरु हुने परम्परा छ । प्रत्येक गराका किसानले रोपाइँ र धान काट्न दाजुभाइ एकैसाथ हाँस बलि चढाउँदै पूजा गर्नुपर्ने चलन पनि छ । बलिको शिर–पुच्छर छुट्टयाएर प्रसादग्रहण गर्ने चौर पनि यही हो । प्रत्येक वर्ष आमाको मुख हेर्ने औंसीमा देवीचौरस्थित कटुवाल दहबाट मत्स्येन्द्रनाथलाई कलश साधना गरेर ल्याउँदा पाटन लैजाने परम्परागत रुट पनि यही फाँटमा पर्छ । तर, द्रुतमार्ग योजनाको ट्रयाक बनाउने जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी भने प्रवेशविन्दु हेरफेर गरिएको बारे माथिल्लो निकायबाट लिखित पत्र आइनसकेको बताउँछन् ।
फर्सीडोलको माथिल्लो भागमा ‘डोल’ छ । ख्यालख्यालमा धेरै फर्सी फल्ने डोल भएकाले पछि ठाउँको नाम नै फर्सीडोल रहन गएको जनविश्वास छ । फर्सीडोल गाउँमा तीनवटा गुठी छन् । पहिला एउटै थियो । पछि छुट्टिएको हो । बस्तीभन्दा माथि महाँकाल र पूर्वमा बाघभैरव देवस्थल छ । चैतेदसैंमा महाँकालमा मेला लाग्ने गर्छ ।

काठमाडौं निजगढ दु्रतमार्गअन्र्तगत ललितपुरको डुकुछापमा निर्माणाधीन सडक ।


फर्सीडोल स्थानीयवासीको मुख्य पेसा कृषि हो, यहाँ ७ सय जनसंख्या छ । गाउँबाट ८५ जना युवा भने बिदेसिएका छन् । तामाङ भाषा बोलिने यो गाउँका बासिन्दा अहिले व्यावसायिक तरकारी खेती र कुखुरापालनमा अग्रसर देखिन्छन् ।


वाग्मती किनारामा बाखेल कुमारी आधारभूत विद्यालय छ, द्रुतमार्गको सम्भावित रुटमा स्कुल पर्छ । फर्सीडोलका स्थानीय शिक्षक तुलाबहादुर लामा भन्छन्, ‘सरकारले यो विद्यालय कहाँ स्थानान्तरण गर्ने भन्नेबारेमा केही बोलेको छैन ।’


‘फास्ट ट्रयाकले फर्सीडोल बस्तीलाई भने छुँदैन । चक्रपथ आएमा भने बस्ती जोखिममा पर्छ,’ शिक्षक लामा भन्छन्, ‘विकासको नाममा आउन लागेको आयोजनाबारेमा अझै अन्योल भएकाले स्थानीय सरोकारवाला, कृषक, बुद्धिजीवी बसेर छलफल गर्नु जरुरी छ ।’


खैइबुका तामाङ बौद्ध र हिन्दु धर्म मान्छन् । गाउँका अधिकांश युवा बिदेसिएका छन् । खैइबुवासी हरीशचन्द्र लामा भन्छन्, ‘ज्याला मजदुरी काम गर्ने स्थानीयवासीलाई फास्ट ट्रयाकबारेमा अन्योलमा छन् ।’ उनले पनि जनप्रतिनिधिले स्थानीयस्तरमा छलफल गर्नुपर्ने बताए । खैइबुमा औषधि फयाक्ट्रीसमेत छ, इन्जिनियरिङ कलेजको तालिम केन्द्र छ ।


खैइचामा भने मत्स्येन्द्रनाथ रथ बनाउँदा काठ लिन जाने ‘बोसी’ खलक बस्छन् । परम्पराअनुसार यहाँ मत्स्येन्द्रनाथसँग प्रत्यक्ष सरोकार राख्ने १२ बोसी खलक छन् । गुठी संस्थानले काम गरेबापत एउटा बन्चरो बराबार १२ रोपनी र १२ वटा बन्चरो बराबर एक सय ४४ रोपनी जग्गा दिएको इतिहास छ । खैइचावासी मंगलकृष्ण श्रेष्ठ भन्छन्, ‘बुङ्मतीमा हुनमानजात्रा गर्न देवता लिनका लागि खैइचामा अनिवार्य आउनैपर्छ ।’ यो सिंगो बुङ्मती सम्पदाभित्र पर्छ । उपत्यकाका गाउँमध्ये भिन्न संस्कृति भएको ठाउँसमेत हो यो । करुणामय, चुनदेवी, भैरव, कार्यविनायकको वासस्थान भएको ठाउँमा फास्ट ट्रयाक ल्याउन सरकारले सोच्नुपर्ने बुङ्मतीवासी मंगल माली बताउँछन् ।

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?