कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

को सक्कली, के नक्कली

निर्माणको आधा शताब्दीमा ‘चोरी’ नेपाली फिल्मको नियति मात्र होइन, चिनारी बनेको छ । सुरुआतबाटै छिमेकमा बनेका सिनेमा रूपान्तरण गर्ने अखडा बन्यो नेपाल । कर्कश सुनिएला तर सत्य यही हो– चोरीको रामकहानी ।
गोकर्ण गौतम

काठमाडौँ — फिल्म रिलिज नै भएको थिएन, ट्रेलरकै भरमा ‘कोहलपुर एक्सप्रेस’ लाई चोरीको बात लाग्यो । नभन्दै हो रहेछ । सन् २००५ मा प्रदर्शित तामिल फिल्म ‘मुम्बई एक्सप्रेस’ सँग कथा, पात्र र कथावाचन हुबहु मिल्छ । सिर्फ केही पात्र र सम्बन्ध यता–उता पारिएको छ । विशाल भण्डारी निर्देशित यस फिल्मको पटकथाकारमा शान बस्न्यातको नाम उल्लेख छ । निर्मात्री हुन्— ‘ब्युटी विद ब्रेन’ मानिएकी केकी अधिकारी ।

को सक्कली, के नक्कली

तर कथा यत्तिमै सकिएन । ‘कोहलपुर एक्सप्रेस’ हलबाट नउत्रँदै ‘झमकबहादुर’ नामक फिल्मको ट्ेरलर बाहिरियो । यो फिल्म साउन १८ मा प्रदर्शन हुँदै छ । तर, अहिलेबाटै चोरेको आरोप लागेको छ । त्यो पनि अरू होइन, उही ‘मुम्बई एक्सप्रेस’ बाटै । ट्रेलर हेर्दा लाग्छ, ‘कोहलपुर एक्सप्रेस’ भन्दा अझ घनीभूत रूपमा चोरिएको छ, ‘झमकबहादुर’ जसका निर्देशक हुन्, भोमन कटुवाल । कल्याण अधिकारीचाहिँ कथाकार रे !


‘मुम्बई एक्सप्रेस’ आफैंमा सफल र अब्बल फिल्म होइन तर यसबाट कपी गरेर हामीकहाँ एकै समय दुई फिल्म बनाइन्छ । कस्तो लाजमर्दो ? यो पहिलो घटना भने होइन । सन् १९९९ को तामिल फिल्म ‘थुल्लाध मनमुम थुल्लुम’ हेर्नुस्, अनि नेपाली ‘पर्खी बसें’, ‘सरगम’ र ‘को होला मेरो मायालु’ । उस्तै–उस्तै होइन, उस्तै लाग्छ । ‘आफन्त’ र ‘पिँजडा ब्याक अगेन’ मा पनि खास भिन्नता पाइन्न । यस्ता उदाहरण अरू पनि छन् । नेपालमै नेपाली भाषामा फिल्म बन्न थालेको ५५ वर्ष बित्यो । यति लामो कालखण्डमा नेपाली फिल्मको मौलिक छवि निर्माण भइसक्नुपर्ने तर चोरी हाम्रो नियति मात्र होइन, चिनारी नै बनेको छ । यसबीच चोरेर बनाइएका फिल्म गनिसाध्य छैन । अग्र्यानिक फिल्म औंलामा गन्न सकिन्छ । ‘हामीकहाँ स्तरीय सिनेमा नबन्नुभन्दा प्राय: सबै फिल्म चोरेर बनाइनु चिन्ता र सरमको विषय हो,’ मौलिक फिल्मको पैरवी गर्ने निर्देशक मनोज पण्डित भन्छन्, ‘जबसम्म चोरिन्छ, तबसम्म नेपाली सिनेमाको स्वतन्त्र र सम्मानित अस्तित्व निर्माण हुन्न ।’


हविगत छ ‘भेट्रान’ हरूकै !


प्रकाश थापा, तुलसी घिमिरे र शम्भु प्रधान नि:सन्देह नेपाली फिल्मका ‘लिजेन्ड’ निर्देशक हुन् । घिमिरेले जति हिट फिल्म त आजसम्म अर्को निर्देशकले दिएको छैन । तर, दुर्दशा यो छ कि, यति सम्मानित निर्देशकका अधिकांश फिल्म कपी हुन् । अर्थात्, कपी, चोरी वा प्रभावित जे भने पनि मौलिक थिएनन् । जस्तो : थापाको चर्चित फिल्म हो, ‘कन्यादान’ । ऋषि कपुरको ‘प्रेमरोग’ हेर्नुस्, ‘कन्यादान’ को स्रोत थाहा हुन्छ । जुही चावलाको ‘साजन की घर’ बाट ‘नाता रगतको’ कथा सारिएको हो । ‘जीवनरेखा’ चाहिँ राजेश खन्नाको ‘आराधना’ सँग मिल्छ । थापाको ‘सिन्दूर’ असीको दशकका हिन्दी फिल्मकै तानतुन हुन् । घिमिरेको ‘कुुसुमे रुमाल’ हाम्रो हकमा माइलस्टोन मानिन्छ तर यो पनि उतैबाट आयात गरिएको हो । नपत्याए, सुनील दत्त र नूतनको ‘मिलन’ हेर्नुस् । ‘चिनो’ आफैंमा ‘शोले’ झैं लाग्छ । जय र वीरु बनेका छन्— शिव श्रेष्ठ र भुवन केसी । ठाकुरभन्दा खास भिन्न लाग्दिनन्— सुभद्रा अधिकारी । अनि राते काइला त गब्बर सिंह भइहाले । ‘दर्पणछाया’ सन् १९९६ मा प्रदर्शित तब्बुको ‘काधल देशम’ कै वरपर लाग्छ ।


शम्भु प्रधानको ‘सरस्वती’ बन्नुअगाडि उही कथामा भारतमा एन. चन्द्रले ‘तेजस्विनी’ बनाइसकेका थिए । ‘सपना’ श्रीदेवीको ‘सद्मा’ सँग नजिक छ । बंगाली फिल्म ‘श्रद्धाञ्जली’ बाट लिइएको हो, ‘सम्झना’ को प्लट । प्रधानका ‘बेहुली’, ‘स्वर्ग’ लगायतका फिल्म हिन्दी र बंगाली फिल्मको ह्यांगबाट प्रताडित नै छन् । यहाँ भुल्न नहुने पक्ष, यी तीनै निर्देशक बलिउडबाट दीक्षित हुन् । फिल्म मेकिङको प्राविधिक ज्ञान मात्र लिएर आएनन्, यिनीहरू कथा र कथ्य संरचनामा पनि उतैको धङधङीबाट मुक्त हुन सकेनन् । परिणाम हाम्रैसामु छ । तर, चोरेर बनाइएका अधिकांश फिल्म दर्शकले रुचाए । कतिले त प्रदर्शनको सय दिन र ५१ दिने रेकर्ड नै बनाए । कारण के होला ? निर्देशक पण्डितको बुझाइ यस्तो छ, ‘भारतमा प्रशिक्षित निर्देशकले नेपालमा आएर त्यहाँ सफल र अर्धसफल भएका फिल्मका कथा लिए । त्यो पनि चोरी हो । तर, तत्कालीन अवस्थाको रोचकता कायम भएकाले चोरी भन्ने विषय प्राथमिकतामा रहेन । दर्शकले मन पराए ।’


त्यतिबेला न धेरै सिनेमा बन्थे, न हिन्दी वा अन्य भाषाका भारतीय सिनेमासम्म दर्शकको पहुँच नै थियो । भारतीय समाजसँग हाम्रो संस्कार, व्यवहार र चालढाल पनि मिल्ने । अनि त, भारतका फिल्म हाम्रा निर्देशकलाई वरदान भइहाल्यो । उनीहरूले नेपाली माटोको कथा र न्यारेटिभ खोज्ने कष्टै गरेनन्, सजिलो बाटो रोजे । कतिसम्म भने बीएस रानाको ‘माइतीघर’ को प्लट ‘मदर इन्डिया’ बाट लिइएको रहेछ ।


अरू पनि के कम ?
भनिहालियो— नेपाली फिल्मको ‘स्कुलिङ’ नै बलिउड हो, त्यसमा पनि नाचगान, रोनाधोना, फाइट र रोमान्स मिसाइएको मसलेदार फिल्म । घिमिरेको समूहले झन्डै–झन्डै त्यही प्रवृत्तिलाई आत्मसात् गर्‍यो । खासमा इतिहासबाटै छिमेकी देशमा बनेका फिल्मको रूपान्तरण गर्ने अखडा बनिरहेको छ नेपाल । अलि कर्कश सुनिएला तर सत्य यही हो । इतिहासलाई तथ्यपरक र आलोचनात्मक दृष्टिले विश्लेषण गरिएन भने वर्तमान र भविष्यमा अझ क्रूर नियति भोग्नुपर्छ । नेपाली फिल्म यो ‘भाइरस’ बाट मुक्त देखिन्न । निर्देशक तथा पटकथाकार कुमार भट्टराई स्विकार्छन्, ‘स्वतन्त्र तवरबाट नभई बलिउडको चर्को प्रभावबाट नेपाली फिल्म बन्न सुरु भयो । त्यसैले प्रभावित वा चोरी जे भने पनि हाम्रो इतिहासमा खोट छ ।’


भट्टराईले भनेजस्तै हामीकहाँ क्राफ्टमा आफ्नोपन खोज्दै खोजिएन । भारतमा जुन कथा जसरी भनिएको थियो, उही शैली र रंगरोगनमा यता भित्र्याइयो । जनमानसमा सिनेमा साक्षरता शून्य समान थियो, यस्तो प्रवृत्तिविरुद्ध सवाल कसले उठाउने ? सोही कारण घिमिरेको समूहलाई जानी/नजानी आदर्श मानेर फिल्म मेकिङ सुरु गरेकाहरू पनि चोरीको मनोरोगमाथि उठ्न सकेनन् । अनि चोर्दै फिल्म बनाउने कुसंस्कारले क्रमश: जरा गाड्दै गयो । उदाहरण अनेकौं छन् । जस्तो : जितेन्द्र अभिनीत ‘सन्तान’ को कथा लिएर विश्व बस्नेतले ‘नाता’ र उज्ज्वल घिमिरेले ‘गोठालो’ बनाए, सगर्व । घिमिरेकै ‘किस्मत’ मध्यान्तरअघि सुवास घईको ‘ताल’ र पछि मिथुनको ‘प्रेमप्रतिज्ञा’ को कपी हो । त्यस्तै, उनको ‘छोडिगए पाप लाग्ला’ हेर्दा इम्त्याज अलीको ‘जब वी मेट’ को झल्को आउँछ ।


राजेश हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’ र आमीर खानको ‘कयामत से कयामत तक’ उस्तै–उस्तै लाग्छ । ‘करोडपति’ मा गोविन्दाको ‘कुल्ली नम्बर वान’ र ‘स्वर्ग’ मिसाइएको छ । ‘नेपालीबाबु’ मा ‘राजा हिन्दुस्तानी’ र ‘दिल’ को प्लट लिइएको छ । अंग्रेजी फिल्म ‘अ वाक इन द क्लाउडस्’ बाट नेपालीमा ‘बादलपारि’ बनाइयो । शाहरूख खानको ‘दिवानापन’ बाट यहाँ ‘दिवाना’ बन्यो । दीपक श्रेष्ठको ‘हिम्मत’ चाहिं ‘सीता और गीता’ र ‘चालबाज’ को मिश्रण हो । राजेश खन्नाको ‘रोटी’ को नेपालीमा ‘युद्ध’ बन्यो । नरेश पौड्यालको ‘धड्कन’ हिन्दी फिल्म ‘इश्क’ सँग दुरुस्तै मेल खान्छ । गुरुदत्तको ‘प्यासा’ सँग युवराज लामाको ‘जीवन संघर्ष’ र्‍याङको ठ्याङ मिल्छ । लामाले नै यश चोपडाको ‘आइना’ बाट ‘प्रतिज्ञा’ बनाए । राजेश हमाल अभिनीत ‘घायल’ दक्षिण भारतीय फिल्म ‘मेरी जंग’ बाट उतारिएको हो ।


प्रतिष्ठित मानिएका निर्देशक शिव रेग्मी पनि अछुतो रहेनन् । उनले अमिताभ बच्चनको ‘हम’ को प्लटमा ‘हामी तीन भाइ’ र ‘दो आँखे बाह्र हात’ मा ‘मानिस’ नामक फिल्म बनाए । चिरञ्जीवी बस्नेतको एउटा फिल्म छ— चोर । तर यो न चोरको कथा हो, न चोरीको । खासमा यो फिल्म गोविन्दाको ‘अनाडी’ बाट चोरिएको थियो, त्यसैले नामै ‘चोर’ राखियो । ल हेर्नुस त, हाम्रो फिल्मी विगतको हविगत † के फिल्म मजाक हो ?


विकास आचार्य त्यही समयका व्यस्त पटकथाकारमा पर्छन् । तीनताका बन्ने अधिकांश फिल्म बाहिरबाटै आयात गरिएको भन्न खास धक मान्दैनन् । पटकथाकारको रूपमा उनको त्यो चाहना वा रहरभन्दा बाध्यता थियो । पटकथाकारबाट निर्देशक बनेका आचार्य भन्छन्, ‘प्राय: निर्माता/निर्देशक फलानो फिल्मजस्तै लेख्नुपर्‍यो भन्थे । कति शुभचिन्तक त डीभीडी थमाएर यसलाई मिलाइदिनुपर्‍यो भन्थे । कतिलाई दुईतीन फिल्मबाट उडाएर नयाँ लेखिदिनुपथ्र्यो ।’ उनी अगाडि थप्छन्, ‘रोजीरोटीको बाध्यता थियो । जस्तो भन्यो, त्यस्तै लेख्नुपरिहाल्यो ।’


कतिपय फिल्मका स्क्रिप्ट नै हिन्दीमा आउँथ्यो, सुटिङको दुईचार दिनअगाडि नेपालीमा अनुवाद हुन्थ्यो । निर्माताहरू पहिले चलिसकेका फिल्म बोकेर स्क्रिप्ट राइटरकहाँ पुग्थे । निर्देशकले ‘हो मा हो’ मिलाउँथे । कतिसम्म भने, त्यतिबेला स्क्रिप्ट लेख्ने होइन, उडाउने वा छाप्नेजस्ता शब्दावली प्रचलित थिए । साँच्चैभन्दा सिनेमालाई सिर्जना र साहित्यको रूपमा लिने चेष्टै गरिएन । सिनेमा सोचेरभन्दा दौडेर बनाउने प्रवृत्ति हावी भयो ।


चोरीको कोरिया यात्रा
साठीको दशकबाट नेपाली फिल्मले केही ‘फ्रेस’ महसुस गर्न थाल्यो । चहकिला दृश्य देखिन थाले । प्रोडक्सन भ्यालु बढ्यो । सुदर्शन थापा, आलोक नेम्बाङजस्ता सहरिया युवापुस्ताको प्रेमलाई पर्दामा पस्कने निर्देशकहरू देखा परे, जसले पहिलेका निर्देशक झैं बलिउडलाई ‘आदर्श’ मानेनन् । तर विडम्बना यो भयो कि, उनीहरूले पनि मौलिकतालाई पछ्याएनन् । बलिउड छोडेर कोरियन फिल्मको कपी गर्न थाले । जतिबेला नेपालमा भर्खर–भर्खर कोरियन फिल्म हेर्ने संस्कार बसिरहेको थियो । अर्थात्, नयाँ प्रकृतिको वठ्याईं जन्मियो । जस्तो : आलोकको डेब्यु फिल्म ‘सानो संसार’ लाई कोरियन सिनेमा ‘माई स्यास्सी गर्ल’ को फोटोकपी भन्दा हुन्छ । सुदर्शनले ‘मिलिनियर्स फस्ट लभ’ लाई जस्ताको त्यस्तै उतारे, ‘मेरो एउटा साथी छ’ मा । ‘ओल्ड ब्याई’ बाट ‘मधुमास’ बनाए । उनकै ‘प्रेमगीत’ चाहिँ मध्यान्तरअघि ‘जब वी मेट’ र पछि ‘कयामत से कयामत तक’ जस्तो लाग्छ । ‘चंखे शंखे पंखे’ हेर्दा ‘रङ दे वसन्ती’ को झल्को आउँछ । आर्यन सिग्देलको ‘दबाब’ भने अल्लु अर्जुनको ‘परुगु’ सँग ठ्याक्कै मिल्छ । हेमराज बीसीको ‘सम्बोधन’ चाहिँ कोरियन फिल्म ‘मेमोरिज अफ मर्डर’, कमल हसनको ‘हिन्दुस्तानी’ र ब्राड पिटको ‘सेभेन’ को घोलघाल हो ।


गणेशदेव पाण्डेको ‘मञ्जरी’ सन् २००७ मा प्रदर्शित बंगाली फिल्म ‘चिरोदिनी तुमी जे अमर’ बाट पूरापूर सापटी लिइएको हो । अनमोल केसी स्टारर ‘ड्रिम्स’ अंग्रेजी फिल्म ‘इफ वन्ली’ सँग मिल्छ । अनमोलकै ‘कृ’ हेर्दा धेरै हिन्दी फिल्मको जोडजाडझैं लाग्छ । ‘कृ’ कै लेखक प्रदीप भारद्वाजको ‘लिलीबिली’ को हालत उस्तै छ । अघिल्लो वर्ष प्रदर्शित ‘शेरबहादुर’ चाहिँ हलिउड फिल्म ‘डन्ट ब्रिद’ बाट फ्रेम–वाई–फ्रेम कपी गरिएको छ जसको क्रियटिभ निर्देशक हुन्, ‘जात्रा’ बनाएका— प्रदीप भट्टराई । कहाँसम्म भने, विदेशी फेस्टिभलमा वाहवाही कमाएको ‘कालो पोथी’ ले समेत सन् २००८ को हिन्दी फिल्म ‘ताहान’ बाट प्रभावित भएको आरोप खेप्नुपर्‍यो । यो थिति–बेथितिमाथि निर्देशक/पटकथाकार आचार्य भन्छन्, ‘फरक धार भनिएकाहरू पनि नयाँ बोतलमा पुरानो रक्सी भनेजस्तै हो । उनीहरूले पनि आयात नै गरेका छन् । पूर्ण मौलिक फिल्म असाध्यै कम बन्छन् ।’


त्यसो त ‘भर्जिन’ फिल्म बन्दै नबनेका होइनन् । ‘नुमाफुङ’, ‘मुकुन्डो’, ‘मुनामदन’, ‘परालको आगो’ जस्ता सीमितलाई मौलिक फिल्मका रूपमा गर्व गर्न सकिन्छ । मनोज पण्डित ‘दासढुंगा’ लाई समेत मौलिक मान्दैनन् । भन्छन्, “दासढुंगा बनाइरहँदा ‘अ ब्युटिफुल माइन्ड’ को ह्याङमा थिएँ । फिल्ममा त्यसको प्रभाव परेको छ ।” पुरानामध्ये कथा र कथ्य संरचनामा आफ्नोपन खोज्ने निर्देशकहरू प्रताव सुब्बा र नीर शाह हुन् । सुब्बाको ‘परालको आगो’ अनि शाहको ‘वसन्ती’, ‘वासुदेव’ उदाहरण हुन् । पछिल्लो प्रहरमा बनेका ‘सेतो सूर्य’, ‘हरि’, झोला, ‘भोर’ लाई यही कोटीमा राख्न सकिन्छ । नत्र त हामीकहाँ हुबहु नउतारे पनि पात्र, प्लट, क्लाइमेक्स वा कुनै सिन नचोरी चित्तै नबुझ्ने फिल्मकर्मीको बाहुल्य छ ।


नियतै हरितन्नतम
दुनियाँलाई थाहा छ, यति धेरै फिल्म कपी भएका छन् । आज त संसारको जुन भूभागमा बनेको फिल्मबाट एउटै सिन चोर्दा पनि पत्ता लाग्ने अवस्था छ । नेपालीले संसारभरका फिल्म हेर्न थालेका छन् । तर विडम्बना † आधिकारिक रूपमा स्वीकृति लिनु त परको कुरा, फलानो फिल्मबाट प्रभावित भनेर ‘क्रेडिट’ सम्म दिइन्न । ढाँट्ने वा छक्काउने प्रपञ्च रच्छन् । कोही ठाडै भन्छन्, बलिउडले हलिउडबाट चोर्न हुने, हाम्ले किन नहुने ? कति मेकरलाई चोरेको थाहा हुन्न भन्ने भ्रम हुन्छ । सकेसम्म लुकाउँछन्, बाहिर आए लाज पचाउँछन् । बहाना अनेक हुन्छन् ।


जस्तो : रिलिजअगाडि ‘कोहलपुर एक्सप्रेस’ युनिटले ‘मुम्बई एक्सप्रेस’ को नामसमेत लिएन । पछि पर्दाफास भइसक्दा पनि गल्ती स्विकारेर इमानदारी देखाइएन, बरु चोख्याउन यावत् कुतर्कहरू सुनिए । जबकि उक्त फिल्म हुबहु चोरिएको भन्न कत्ति पनि संकोच मान्नुपर्दैन । यो हर्कत ‘मुम्बई एक्सप्रेस’ का लेखक/निर्माता/अभिनेता कमल हसनले थाहा पाइगएमा के हुन्छ ? पक्कै पनि केकी अधिकारी, विशाल भण्डारी वा कुनै अमूक व्यक्तिले होइन, नेपालले चोरेको भन्नेछन् । साख फिल्मवृत्तको मात्र होइन, देशकै धुमिलिनेछ । अझ ‘कपिराइट क्लेम’ भयो भने के हालत होला ? त्यसका लागि अरू पर्दैन, ट्विटरमा ओरिजिनल फिल्ममेकरलाई कसैले ‘मेन्सन’ गरिदिए पुग्छ । ‘कोहलपुर एक्सप्रेस’ मात्र होइन, हरेक चोरिएका फिल्मको हकमा यही हो । ‘शेरबहादुर’ ले पनि ‘डन्ट ब्रिद’ लाई बाल दिएन । न ‘झमकहादुर’ ले ‘मुम्बई एक्सप्रेस’ बाट लिइएको उल्लेख गरेको छ । यस्तो प्रवृत्तिले फिल्ममेकरको नियत नै तन्नम देखाउँदैन र ? अर्कातिर, चोरीलाई हतोत्साहित गर्न फिल्मकर्मीहरूबीच बहस–विमर्श भएको कहिल्यै सुनिन्न ।


यहाँनेर सवाल उठ्छ, कपी फिल्मको महामारी अनि मौलिक फिल्मको खडेरी किन ? बाध्यता, रहर वा लत ? कि हाम्रा फिल्ममेकरको क्षमता नै नभएर हो ? यो चालाले विश्व सिनेमामा नेपाली फिल्मको स्वतन्त्र अस्तित्व कहिल्यै उभिएला त ? निर्मातासमेत रहेका विकास आचार्य चोरी हुनुका पछाडि विभिन्न कारण औल्याउँछन् । आजकल हिरोलाई पचास लाखसम्म दिइएको चर्चा छ । हिजोका दिनमा पनि स्टारको पारिश्रमिक लोभलाग्दो नै थियो । वास्तविक हिरो त स्क्रिप्ट हो । तर, त्यहीँ लगानी कम हुन्छ । पटकथालाई मेरुदण्डको रूपमा आत्मसात् गरिन्न । त्यसमाथि निर्माता/निर्देशकलाई आजको भोलि स्क्रिप्ट चाहिन्छ । न पैसा, न पर्याप्त समय । अनि, कसरी राम्रा र मौलिक सिनेमा बन्छन् ।


यहींनेर अर्को सत्यलाई बेवास्ता गर्न मिल्दैन । एकाधलाई छाड्ने हो भने फरक वा मौलिक कथाभन्दा हामीकहाँ आयातित मसलेदार फिल्म नै हिट भएका छन् । भट्टराई सुनाउँछन्, ‘नेपाली फिल्ममा नयाँपन आएन भनेर गुनासो गरिन्छ तर जब त्यस्ता फिल्म बन्छन्, हलमा दर्शकको खडेरी लाग्छ ।’ पछिल्लो सिकार ‘हरि’ हो । अनि विवश भएर फिल्ममेकरले सेफसाइड खोज्छन् र बजारमा जे चलेको छ, त्यसकै पछाडि लाग्छन् । उनी अगाडि थप्छन्, ‘तर जबसम्म हाम्रो दृश्य भाषा र कथा भन्ने शैलीमा नेपालीपन आउँदैन, तबसम्म नेपाली कथानक चलचित्र भन्नु आत्मरति मात्र हो ।’

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?