फिल्म : लोकतान्त्रीकरण कि चीरहरण ?

एकथरी भन्छन्, फिल्म हेर्दाको खास आनन्द हलमै मात्र आउँछ । फिल्मको रंग, प्रकाश र ध्वनिको खास मात्रा थाहा पाउनका लागि हलको प्रोजेक्टर नै चाहिन्छ । फिल्म भनेको कथा मात्र होइन ।
यज्ञश

काठमाडौँ — फिल्म हेर्ने तरिका र अनुभूतिमा पछिल्ला वर्षहरूमा ठूलो परिवर्तन आएको छ । केही दशकअघिसम्म फिल्म हेर्नु एउटा उत्सवजस्तै मानिन्थ्यो । तर, जब टेलिभिजनको व्यापकता बढ्यो, फिल्म हेर्ने अनुभवमा यसले नयाँ आयाम ल्यायो । जब भीसीआर र डीभीडी प्लेयर आए, त्यसपछि त फिल्म पनि बैठक कोठामै हाजिर हुन थाल्यो । जब स्मार्टफोनले बजार पिट्यो, फिल्म परिवारबाट व्यक्तिमा खुम्चियो । प्रश्न यहींबाट सुरु भयो— स्मार्ट फोनले फिल्मको लोकतान्त्रीकरण गर्‍यो कि चीरहरण ?

फिल्म : लोकतान्त्रीकरण कि चीरहरण ?

मलाई लाग्छ अबको ५० वर्षपछि सिनेमाहलहरू खालि संग्रहालयमा मात्र हुनेछन् । मानिसहरूलाई पहिले सयौं, हजारौं मानिसहरू एकसाथ हलमा फिल्म हेर्न आउँथे, कसरी पपकर्न किन्थे र लहरै सिटमा बसेर फिल्म हेर्थे भनेर संग्रहालयमा देखाइनेछ,’यो भनाइ विख्यात भारतीय अभिनेता नसिरुद्धिन शाहको हो । भारतका श्रेष्ठ अभिनेतामध्ये गनिने शाह भन्छन्, ‘भविष्य कम्प्युटर र वेबको हो, यसमा फिल्म हलका लागि कुनै स्थान हुनेछैन ।’


भारतभरि अहिले करिब ९ हजार सिनेमाहल छन् । के ५० वर्षमा ती सिद्धिएलान् ? वा चीनका ३० हजार सिनेमाहल सबै बन्द होलान् ? फिल्म हेर्ने कुरामा के त्यस्तो ठूलो परिवर्तन आउँदै छ, जसले यसको भविष्यलाई नै चुनौती दिइरहेको छ ? फिल्मको भविष्यलाई लिएर यस्तो चिन्ता व्यक्त गर्ने नसिरुद्धिन मात्र छैनन् । हलिउडका ठूलो निर्देशकहरूदेखि लिएर न्युयोर्क टाइम्सका फिल्म समीक्षकसम्म यसमा चिन्तित छन् ।


संसारभरका फिल्म उद्योगमा आइरहेका परिवर्तन र भइरहेका प्रयोगहरूलाई हेर्दा नसिरुद्धिन शाहको आशंका जायज लाग्छ ।


केही उदाहरण हेरौं । संसारको फिल्म बजारमा सबभन्दा ठूला दुई फिल्म उद्योग हलिउड र बलिउडको कब्जा बढ्दै गइरहेको छ । अमेरिकापछिका ठूला फिल्म बजार चीन, जापान, हङकङ, कोरिया र भारतमा हलिउडका फिल्मले ठूलो व्यापार गरिरहेका छन् । पछिल्लो समयमा चीनसमेत थुप्रै देशमा बलिउड फैलिइरहेको छ । २०१८ मा भारतमा सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा सञ्जय भन्सालीको फिल्म ‘पद्मावत’ (३०० करोड) पहिलो स्थानमा छ । दोस्रोमा हलिउड फिल्म ‘एजेन्जर्स : इन्फिनिटी वार’ (२२२ करोड) छ । बलिउड फिल्म ‘दंगल’ले नयाँ बजार चीनमा मात्रै करिब १३ सय करोड भारुको कमाइ गरेको छ, जबकि यो फिल्मले पूरै भारतभरमा ३ सय ८७ करोडको व्यापार गरेको थियो । हलिउड र बलिउड दुवै उद्योगको मुख्य लक्ष्य धेरै व्यापार गर्ने फिल्म बनाउनु नै हो । दुवैले त्यसमा सफलता पनि पाइरहेका छन् । तर, यी दुवै उद्योगका ठूला निर्माता र प्रतिभाशाली मानिएका निर्देशकहरू अहिले वेब सिरिजतिर आकर्षित भएका छन् जुन फिल्म हलमा चल्दैनन् ।


हलिउडले केही पहिलेदेखि नै ‘गेम अफ थ्रोन’ जस्ता सिरिजहरू बनाएको छ । अहिले ‘नेटफ्लिक्स’ जस्ता वेब प्लेटफर्महरूले बलिउडी निर्देशक र स्टारलाई पनि तानेको छ । चाहे सुवासचन्द्र बोसमाथि बनेको राजकुमार रावले अभिनय गरेको ‘डेड अर अलाइभ’ होस् वा हालैको ‘लस्ट स्टोरिज’, ठूला नामहरू सानो माध्यमतिर तानिएका छन् ।


‘लस्ट स्टोरिज’ को प्रसंग अझै रोचक छ । सन्, २०१३ मा बलिउडका चार चर्चित निर्देशकले एउटा प्रयोग गरेका थिए । अनुराग कश्यप, करण जौहर, जोया अख्तर र दिवाकर बनर्जी मिलेर चारवटा छोटा फिल्म बनाए, जसलाई एउटै फिल्म ‘बम्बै टकिज’ का नाममा हलहरूमा प्रदर्शन गरिएको थियो । एउटै विषयमा धेरै कविका कविता जम्मा पारेर पुस्तक निकालिएजस्तो यो एउटा ‘एन्थोलोजी’ थियो । पाँच वर्षपछि तिनै कश्यप, जौहर, अख्तर र बनर्जी अर्को एन्थोलोजी बनाउन एकजुट भए । तर, यो फिल्म सिनेमा हलका लागि थिएन । नेटफ्लिक्सका लागि थियो ।


कामवासना कथालाई केन्द्रमा राखेर यी चारै जनाले यो फिल्म बनाए, जसरी ५ वर्षपहिले मुम्बई सहरको जीवनलाई केन्द्रमा राखेका थिए । यो फिल्म फम्र्याटमा मात्र होइन, विषयमा पनि ठूलो परिवर्तन बोकेर आएको छ । लामो समय बलिउडमा वर्जित विषयका रूपमा हेरिएको यौनका विषयमा अहिले बलिउड खुलिरहेको छ । र, यसमा स्वतन्त्रता दिएको छ, फम्र्याटले । वेबमा केही निश्चित दर्शकका लागि बनाइने भएकाले यी फिल्मका दर्शक थोरै हुने मानिएपनि यसमा अभिनय गरेका कलाकार हेर्दा त्यस्तो लाग्दैन । यी चारवटा छोटा फिल्ममा मनीषा कोइराला, सञ्जय कपुर, नेहा धुपिया, विक्की कौशल, राधिका आप्टे, भूमि पेडनेकर, कियरा आडवाणीजस्ता स्टारले अभिनय गरेका छन् ।


के यस्ता सिरिजहरू बन्दैमा सिनेमा हल हराउलान् त ?
हराउन पनि सक्छन् । किनभने, फिल्म हेर्ने तरिका र अनुभूतिमा पछिल्ला वर्षहरूमा ठूलो परिवर्तन आएको छ । केही दशक अघिसम्म फिल्म हेर्नु एउटा उत्सवजस्तै मानिन्थ्यो । सहर बजार बीचमा रहेको ठूलो हलमा धेरै मान्छे एकै ठाउँमा बसेर एउटै भावनासँग साक्षात्कार हुनुलाई फिल्म हेर्नुको आनन्द मानिन्थ्यो । एकै पटकमा धेरै मानिसलाई एउटै भावमा डुबाउने र बगाउने क्षमता भएको माध्यमका रूपमा फिल्म एउटा सामाजिक र सामूहिक अनुभूति थियो । साथीभाइ, परिवार वा टोलछिमेक मिलेर फिल्म हेर्न जाने चलन पनि थियो ।


तर, जब टेलिभिजनको व्यापकता बढ्यो, फिल्म हेर्ने अनुभवमा यसले नयाँ आयाम ल्यायो । टेलिफिल्म र सिरियलले गर्दा फिल्म अब घरमै बसेर हेरिने चीज बन्यो । परिवार र छिमेक बसेर आफ्नै घरको टीभीमा मनोरञ्जन लिन थालियो । जब भीसीआर र डीभीडी प्लेयर आए त्यसपछि त फिल्म पनि बैठक कोठामै हाजिर हुन थाल्यो । यसले फिल्मलाई सामाजिक उत्सवबाट परिवारमा झारिदियो । र, जब स्मार्टफोनले बजार पिट्यो, फिल्म परिवारबाट व्यक्तिमा खुम्चियो । हरेकका हातमा स्मार्ट फोन । र, तिनमा जोडिएका इन्टरनेट र एपहरूले फिल्म हेर्न न हल, न टीभी, केही पनि नचाहिने बनाइदियो । संसारका चर्चित फिल्मदेखि भर्खर रिलिज भएका फिल्मसम्म मोबाइलमा हेर्न सक्ने दिन आए । आफ्नो रुचिअनुसार, स्थानअनुसार, फुर्सदअनुसार । न टिकट किन्ने लफडा, न सिरियल हेर्ने कि फिल्म भन्नेमा घर झगडा † फिल्मको पूर्ण लोकतान्त्रीकरण भयो । त्यसमाथि सामाजिक सञ्जालको विकासपछि त फिल्मबारे जान्नका लागि फिल्म समीक्षकहरूको राय कुर्नु पनि नपर्ने भयो । सामाजिक सञ्जालमा आउने छोटा (प्राय: सटीक) टिप्पणीले त्यो काम पनि गरिदिने भए ।
अनि, प्रश्न यहींबाट सुरु भयो— स्मार्ट फोनले फिल्मको लोकतान्त्रीकरण गर्‍यो कि चीरहरण ?


यो अहिलेको जल्दोबल्दो प्रश्न हो । मे ८ मा न्युयोर्क टाइम्सले एउटा ठूलो फिचर प्रकाशित गर्‍यो— फिल्म घरमा हेर्दा र थियटरमा हेर्दा के फरक पर्छ ? न्युयोर्क टाइम्सका दुई फिल्म समीक्षक बेन केनिजवर्ग र ज्यासन बेलीले यसमा एक–एकवटा पक्ष लिएका छन् । फिल्म भनेको हलमै हेर्ने चीज हो, घरमा हेर्दा त्यसको आनन्द आउँदैन भन्ने पक्षमा केनिजवर्ग देखिए भने, आनन्द आउँछ भने एक्लै हेर्दा पनि केही फरक पर्दैन भन्ने पक्षमा बेली । संसारभर फिल्म समीक्षकहरू अहिले यसमा विभाजित छन् । एकथरी भन्छन्, फिल्म हेर्दाको खास आनन्द हलमै मात्र आउँछ । फिल्मको रंग, प्रकाश र ध्वनिको खास मात्रा थाहा पाउनका लागि हलको प्रोजेक्टर नै चाहिन्छ । किनभने, फिल्म भनेको कथा मात्र होइन । तर, अर्काथरी भन्छन्, प्रविधिमा भइरहेको विकासलाई आत्मसात् गर्नैपर्छ । उनीहरू भन्छन्, टीभी र कम्प्युटर आउँदा पनि यस्तै भनिन्थ्यो, अहिले मोबाइल र ट्याबलाई त्यस्तै भनिएको हो ।


लगातार दुई वर्षदेखि संसारको सबभन्दा ठूलो फिल्म फेस्टिभल क्यान्सले यो विषयलाई झन् ठूलो चर्चा दिलायो । फेस्टिभलको सबभन्दा ठूलो चर्चा क्यान्स भर्सेस नेटफ्लिक्सका रूपमा भइरहेको छ । यसको मुख्य कारण के छ भने क्यान्सले २०१७ र २०१८ का दुवै फेस्टिभलमा नेटफ्लिक्सका फिल्मलाई ‘फिल्म’ मान्न अस्वीकार गर्‍यो । २०१७ मा भएको ७० औं क्यान्स फिल्म फेस्टिभलका लागि नेटफ्लिक्सका दुई फिल्म बोन जु होको ‘ओक्जा’ र नोहा बाउमासको ‘द मेरोइट्ज स्टोरिज’ छनोट गरिएका थिए । तर, जुरी प्रमुख प्रसिद्ध स्पेनी फिल्ममेकर पेड्रो आल्माडेभोरले तिनलाई प्रतियोगी मान्न अस्वीकार गरे । उनले भने, ‘जुन फिल्म हलमा चल्दैन, त्यो मेरा लागि फिल्म होइन ।’ यस वर्ष पनि त्यस्तै भयो । यस वर्षकी जुरी प्रमुख हलिउड अभिनेत्री केट ब्लान्चेटले पनि पत्रकार सम्मेलनमा पेड्रौकै मतमा सहमति जनाइन् । र, क्यान्सले नेटफ्लिक्सको फिल्म देखाएन ।


उसो भए के क्यान्सले नयाँ प्रविधिलाई अस्वीकार गरेको हो ? हो भने कतिन्जेलसम्म यसलाई रोक्न सक्ला ? केही वर्षपहिले नेपालमा डिजिटल क्यामेराले फिल्म खिच्दा वितरकहरूले ती फिल्मलाई भिडियो फिल्म भनेर चलाउन अस्वीकार गरेका थिए । अहिले नेपालबाट ‘रिल’ मा खिचिने फिल्म करिब उन्मूलन भइसकेका छन् । यो पनि त्यस्तै द्वन्द्व हो त ?
प्रसिद्ध इरानी फिल्ममेकर अब्बास किरुस्तामी डिजिटललाई फिल्म मान्दैनथे । तर, एउटा फिल्मको सम्पादनका क्रममा उनले खिचेको फुटेज उडेको फेला पारे । जब उनकै छोराले डिजिटल क्यामेरामा त्यो दृश्य खिचेको बताए, उनले त्यही दृश्य जोडेर फिल्म पूरा गरे । त्यसपछि किरुस्तानी रिलवाला फिल्मतिर फर्किएनन् ।


एकातिर फिल्ममेकरहरूलाई वेबसेरिजले दिने स्वतन्त्रताले तानिरहेको छ भने दर्शकलाई पनि सेन्सरसिप र होहल्लाबाट छुट्कारा पाइने भएकाले चुपचाप यसले तानिरहेको छ । रह्यो कुरा ठूलो हलमा हेर्ने, त्यसको कमी एचडी र ब्लू रेले पूरा गरिरहेका छन् । थ्रीडी फिल्म पनि अहिले टीभीमा हेर्न मिल्छ । खाली रियल थ्रीडी र आइम्याक्स थिएटर तथा लार्ज फम्र्याटका लागि फिल्म हल रहलान् भन्ने पनि छन् ।


***


पछिल्ला केही वर्षमा मैले नेपालबाहेकका देशमा पनि हलमा गएर फिल्म हेरेको छु । गत वर्ष मात्रै कतारको दोहा र थाइल्यान्डको बैंककका हलमा म पुगेको थिएँ । यी दुवै ठाउँमा मैले हलिउडका नयाँ रिलिजहरू हेरेको थिएँ । दुवै सोको खास विशेषता के थियो भने यी लगभग खाली थिए । हलमा फिल्म हेर्न आउने मानिसको संख्या निकै कम थियो । तर, नेपाल, भारतजस्ता भर्खरै ठूलो संख्या सहरी र अर्धसहरी मूलधारमा आइरहेका ठाउँमा सिनेमाहल, अझै मल्टिप्लेक्सको संख्या बढ्दो छ । हलको संख्या बढ्दा पक्कै व्यापार पनि बढ्ला । जसरी विकसित देशहरूमा पत्रपत्रिकाका ग्राहक घटेर अनलाइनतिर आकषर््िात भइरहेका छन् तर हाम्रो क्षेत्रमा अझै पनि प्रिन्टको बजार घटेको छैन, फिल्ममा पनि त्यस्तै देखिएको छ ।


संसारको फिल्म बजारका लागि नेपाल एउटा निकै सानो एकाइ हो । यहाँको जनसंख्या, फिल्महल र हुने कमाइको हलिउड, बलिउडजस्ता अर्बौंका उद्योगका लागि खासै अर्थ छैन । हाम्रा लागि भने हलिउड बलिउडको अर्थ छ । नेपालमा बन्ने अधिकांश फिल्मका कथादेखि, कथा भन्ने शैली र अर्थहरूको विस्तार यिनै दुई उद्योगले गरिरहेका छन् । सही अर्थमा भन्ने हो भने यिनै हाम्रा गुरु हुन् । तैपनि, यी उद्योगले निर्माण गर्ने सबभन्दा राम्रा फिल्महरू हाम्रा हलमा चल्दैनन् । पछिल्ला वर्षमा ओस्कर पाइसकेपछि केही फिल्म क्यूएफएक्समा चलेका छन् । तिनलाई अपवाद मान्ने हो भने बलिउडकै पछिल्ला राम्रा फिल्महरू ‘ग्यांग्स अफ वासेपुर’, ‘न्युटन’ र पछिल्लो ‘अक्टुबर’ जस्ता फिल्महरू काठमाडौंका हलमा चलेनन् । अब हामीले के फिल्म हेर्न हल नै चाहिन्छ भनेर यी फिल्म नहेर्ने ?


संसारभरको विवादलाई नेपाली फिल्म प्रदर्शन व्यवस्थाले यसरी पनि चुनौती दिँदो रहेछ । क्लासिक भनेर संसारभर चिनिएका ट्याक्सी ड्राइभर, रेजिङ बुलदेखि हालैका ‘गेट आउट’देखि ‘द ग्रेट ब्युटी’ सम्मका सबैजसो सुन्दर फिल्महरू मैले कि त टीभीमा कि ल्यापटपमा हेरेको हुँ । यी कुनै पनि फिल्म हलमा हेर्ने सुविधा हामीले पाइएन । तपाईंहरूको पनि यस्तै होला । तर, यी फिल्म हलमै हेर्ने मौका पाएको भए नी ? के तपाईं हलमा हेर्न जानुहुन्थ्यो ?


यसै वर्षको ओस्कर विजेता ‘सेप अफ द वाटर’ र हालै आएको डेनीको फिल्म ‘बाइस्कोपवाला’ले काठमाडौंमा गरेको व्यापार हेर्दा त कोही पनि हलमा गएजस्तो लाग्दैन । मैले ‘बाइस्कोपवाला’ त्यस्तो सोमा हेरेको थिएँ, जुन सो चलाउनका लागि पुग्ने दर्शक नभएर झन्डै क्यान्सिल भएको थियो । तर, त्यही हलमा जब सलमान खानको रेस–३ चल्यो, हलमा दर्शकको वर्षा भयो ।


‘छक्का पञ्जा’ देखि ‘जात्रा’ सम्मका पछिल्ला नेपाली फिल्म युट्युबमा आएपछि निकै धेरैले हेरे । किनभने, युट्युबमा आएपछि सामाजिक सञ्जालमा यिनको चर्चा ह्वात्तै बढेको थियो । जबकि, छक्कापञ्जा नेपालका हलहरूमा कीर्तिमानी व्यापार गरेको फिल्म थियो । यसरी हेर्दा नेपालमा हल र घर दुवै ठाउँमा फिल्म हेर्ने दर्शकको उल्लेख्य रहेछ ।
अन्तिममा सवाल उही पुरानै दोहोरिन्छ, यी दर्शकको बौद्धिक मनोरञ्जनको खोजलाई पूरा गराउन सक्ने फिल्मचाहिँ कति बनिरहेका छन् ? मनोरञ्जनका नाममा सस्ता बलिउडी फिल्मको नक्कल गरिएका फिल्मको यहाँ कुरा गरिएको होइन । तिनका लागि बलिउड र दक्षिण भारतीय उद्योग काफी छन् । शैक्षिक, बौद्धिक र कलात्मक रुचिको स्तर बढिरहेका दर्शकको भोक हलमा चल्ने फिल्मले पूरा गर्न सक्दैनन् भने नेपालमा पनि वेब सिरिज वा अन्य प्लेटफर्मले हलको बजारलाई धक्का दिनेछ । ढिलो–चाँडोको कुरा हो । दर्शकको स्तरसम्म फिल्म पुग्न सकेन भने दर्शकले आफ्नो स्तर घटाउँदैनन् । आफ्नो स्तरको विकल्प खोज्न थाल्नेछन् । यस्तो बेला हल कि घर, टीभी कि मोबाइल भन्ने प्रश्नको खास अर्थ रहनेछैन ।

प्रकाशित : असार ९, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?