२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विभूति र सपूतबारेको विमति

प्रतिक्रिया

काठमाडौँ — कान्तिपुर कोसेलीमा ‘विभूति कसलाई मान्ने (?)’ लेख छापिएपछि लगालग तीनवटा प्रतिक्रिया आए । त्यसमध्ये इतिहासकै विद्यार्थी भएको नाताले डा. प्रेमसिंह बस्न्यातले मेरो लेखाइलाई सही सुझावका रूपमा लिएका छन् ।

विभूति र सपूतबारेको विमति

प्रमुख विभूति मानदेवका पालाका नेपालका पहिला प्रकाण्ड विद्वान् वाजपेय यज्ञ गर्ने सबै विद्वान्ले मानिएका सम्राट् गृहपति प्रथम विभूति सुशोभित हुन लायक हुन् । तापनि यिनकी पत्नी विजय स्वामिनीले अभिलेखमा पतिको नाम नदिएकीले अनुपरमलाई प्रथम विद्वान्को रूपमा विभूति मानेको हुँ । त्रिवि सिनास जर्नलको संवत् २०३५, पुसको अंकमा यिनका बारे मैले लेखेको छु— विस्तारसँग । उनले बौद्धहरूलाई ‘कुमति, कुतार्किक, नास्तिक’ भन्दै निन्दा गरेकाले ‘यस्ता साम्प्रदायिक विद्वान्लाई विभूति मान्न सकिँदैन’ भनेर हाँडिगाउँकै एक चित्रकारले अध्येता धनवज्र बज्राचार्यकै उक्ति उद्धृत गरेर लेखेछन् । फेरि शास्त्रार्थको रूपमा खण्डन–मण्डन गर्ने परम्पराका रूपमा मात्र यो भावना सीमित थियो ।

‘जनतामा धार्मिक कलहले स्थान पाएको उदाहरण हाम्रोमा पाइँदैन’ भन्ने जनबज्रकै उक्तिचाहिँ हेरेनछन् ।
वास्तवमा मानदेवकै बाबु बाजेकै पालादेखि यहाँ शैव, वैष्णव, शाक्त, बौद्ध धर्म मान्ने राजा–प्रजा धेरै थिए । स्वयं अनुपरमकै छोराले शैव, वैष्णव एक बनाउने उद्देश्यले हरिहर संयुक्त मूर्ति स्थापना गरेर अभिलेख राखेका छन् । स्वयं बुद्धले पनि ‘कराउँदैको पशुलाई बाँधेर ल्याएर बलि दिने वैदिक सनातन धर्म निन्दनीय छ’ (क्रन्दत् पशु प्रसभ मारण गर्हणीय) भनेका छन् । अब बुद्धलाई के भन्ने ? अनुपरमले ब्रह्मसूत्र मात्र होइन, वार्हस्पत्य शास्त्र (शुकनीति, मनुस्मृति, यमस्मृति) आदि शास्त्र र महाभारत पनि पढेका–हेरेका थिए । खण्डन गर्ने कुरा हो भने पनि धेरै विद्वान्हरू पूर्ववर्ती शास्त्रको खण्डन गर्थे । अद्वितीय विद्वान् आचार्य विष्णुगुप्त चाणक्यले आफूभन्दा पहिलेका आठ–दस जना विद्वान्को मत खण्डन गरेका छन् । ब्रह्मसूत्रकै भाष्यकार शंकराचार्यले बौद्ध, जैन मतको मात्र होइन, सांख्य वैशेषिक मीमांसा आदि दर्शनको पनि खण्डन गरेका छन् ।


अर्का लेखक रामकृष्णराज कुँवर राणाले भने ‘पूर्वाग्रह राखी आफ्ना पुर्खा बलभद्र कुँवरको अनादर गरेको’ भनेर आफ्नो चित्त दुखाइ पोखेका रहेछन् । इतिहास लेख्ता पूर्व ऐतिहासिक पात्रको गुण–दोषको परीक्षा गरी समीक्षा गर्नुपर्दछ । सत्ताका पुजारीले गुण–दोष परीक्षा नगरी प्रशंसा मात्र लेख्ने हो भने त्यो प्रशस्तिपत्र हुन्छ, इतिहास हुँदैन । मेरा पुर्खाको प्रशस्ति भएन भनेर कोही रिसाउँछ भने इतिहास नलेखे हुन्छ ।


पहिले विभूतिबारेको समितिमा छलफल हुँदा भएको कुरालाई नमेट्ने अब नयाँ हुनेलाई सही सुझाव दिने भन्ने नै भएको थियो । त्यहीअनुसारै निक्र्योल गरिएको हो । वीर बलभद्र कुँवरलाई वीरतापूर्वक लडेका होइनन्, आफ्नो शौर्य वीर्य प्रकट गरेका होइनन् कोही भन्दैन, उनले शत्रु सेनापतिलाई रणभूमिमा मारेका पनि थिए । परन्तु शत्रुले सङ्कट खडा गरेपछि आफ्ना बचेका ७० जति संगी साथ लिएर उनी मुग्लान पसेर लाहुरे भएर रहे, केही वर्षपछि अफगान युद्धमा मारिए । योचाहिँ उनको आलोच्य विषय हो । उनको यो गल्तीलाई कसैले समर्थन गर्दैन ।


बूढा काजी अमरसिंह थापा पनि रणभूमि छोडेपछि सरासरी आएर राजाको दर्शनभेट गरेर स्वर्गारोहण बाटो लिए, हिमालको गोसाइँकुण्ड गुफामा गएर बसे, उतै बिते । यता कुमाउको रणभूमि छाडेर बम शाह पनि काली तरेर डोटीमा आएर बसे, पछि उनी पनि आकस्मिक घटनामा परी मरे । अंग्रेजले वीर बलभद्रको अति प्रशंसा गर्‍यो भन्ने कुरा पनि विचारणीय छ । वीर शत्रु सेनापतिको अति प्रशंसा गर्नु कौटल्य नीति हो । वीर शत्रुलाई पनि जित्ने भने विजयीकै महत्त्व बढ्छ । हारेका शत्रुको जति प्रशंसा गरे पनि त्यस्ता वीरलाई हराउने भनेर जित्नेलाई नै सो प्रशंसा फर्केर आउँछ । लेखक रामकृष्णराजले उनकै वंशज जंगबहादुर कुँवर राणाको नियम पढ्दा पनि धेरै कुरा थाहा लाग्छ । जंगबहादुरले आफ्नो देशको धन विदेशमा लान रोके । नेपालीलाई विदेशी पल्टनमा भर्ना हुन दिएनन् र सीमामा आफ्ना सुब्बालाई ‘नेपाली मुग्लान जान आए भने राम्रोसँग सोधीबुझी तीर्थ जाने रहेछन् भने छाड्नू, पल्टनमा भर्ना हुन जाने रहेछन् भने सम्झाईबुझाई फर्काउनू, जबर्जस्ती गर्न लागेमा तम्बी हाली हाम्रो हजुरमा दाखिला हाजिर गराउनू’ भनेका छन् ।


यहाँनेर एउटा कुरा पनि उल्लेखनीय छ । ब्रिटिस सरकारले बूढाकाजी अमरसिंह थापालाई तपाईं नेपालका राजासँग सम्बन्धविच्छेद गरेर हामीसँग मिल्नुभो भने तपाईंले जितेजति भूभागको राजा बनाउँछौ भन्दा अमरसिंहले ठाडै उक्त प्रस्ताव अस्वीकार गरी आफ्नो देशभक्ति, राष्ट्रियता प्रकट गरेका थिए । यहाँ प्रतिक्रिया लेखक राणाले अंग्रेजले गढवालको गवर्नर पद र करोडौं सम्पत्ति दिँदा वीर बलभद्रले अस्वीकार गरे भनेर के प्रमाणबाट लेखे, थाहा छैन ।


अर्को कुरा बलभद्रद्वारा मारिएका अंग्रेज सेनापति जिलेस्पी उनका साथीको सम्मानमा खलंगामा एक शिलालेख राखिएको छ । त्यसमा बलभद्रलाई कँुवर कतै पनि लेखिएको छैन । तीन–तीनपल्ट बलभद्रको नाउँ उल्लेख गरिए पनि थरचाहिँ तीनै ठाउँमा थापा नै लेखिएको छ । परिचय पनि अमरसिंह थापाका पौत्र भनेर जनाइएको छ । अंग्रेज सरकारको पुरातत्त्व विभागका पुरातत्त्वविद्को सर्वेक्षणमा राखिएको यस अभिलेखमा अशुद्ध कसरी भयो, जानीजानी अमरसिंहका छोरा नाति रणमैदानमा उत्रेकाले उनकै प्रमुखता देखाउन थापा लेखिएको हुनुपर्छ । जंगबहादुर पृथ्वीनारायणकै अनुसरण गर्ने राष्ट्रभक्त शासक थिए । नेपालमा जन्मेर विदेश पसेका आफ्नो सर्वांगीण भौतिक/बौद्धिक अवदान उतै देखाएका विदेशमै आफ्ना शाखा–सन्तान फैलाएर उतै भासिएका व्यक्तिलाई के मुखले हाम्रो हो भन्नु, केको नाताले नाक फुलाउनु ?


नेपालको इतिहास पृथ्वीनारायणले थालेको एकीकरणको अभियान एक युगान्तकारी घटना थियो । नेपाली जनताको आकांक्षाअनुरूपकै थियो । उनको र उनका कान्छा छोरा नायब बहादुर शाहको पालासम्म एकीकरण पूरा पनि भयो । भाइभाइमा राज्य भाग लाग्ने जेठा युवराजमा मात्र सीमित नहुने प्रथाले गर्दा यो विखण्डनको रोगले धेरै समयदेखि नेपालमा जरा गाडेको थियो । यस रोगलाई पृथ्वीनारायणले जरैसँग उखेलेर मेटाइदिए । यस एकतामा उनका सहयोगी गोर्खाली भारदार थिए, त्यसमा पनि इन्द्रवज्रजस्ता पाँडे, बस्नेत नै मुख्य थिए । उनैले भनेका थिए— यी मेरा ढाल तरबार नै हुन् । नभन्दै यिनले ज्यान फालेर एकीकरणको कार्य सिद्ध पारेका थिए । यिनमा मुख्य काजी कालु पाण्डे, शिवरामसिंह बस्नेत, तुलाराम पाण्डे एकीकरणकै कार्यमा होमिए । यस कार्यमा लागेका जगतजित दामोदर पाँडे, वंशराज पाँडे, अभिमानसिंह बस्नेत, धौकलसिंह, केहरसिंह बस्नेतहरू, प्रवल राना, शिवनारायण खत्री आदि कति हो कति काजी सरदार सिपाहीहरूले देशको एकताका लागि रगत बगाए ज्यान दिए । दुर्भाग्यले धराशायी अन्त: कलहका कारण काजी सर्वजित राना, काजी वंशराज पाँडे, नायब बहादुर शाह, काजी दामोदर पाँडे अकालमै मारिए । काजी भीमसेन थापाको उदय पछि उनीबाट ६३ सालको भयंकर र ठूलो पर्वमा गोरखाली भारदारहरूको समाप्ति नै पारियो । त्यसपछि पनि यिनैको मुर्खताले ठूलो शक्ति अंग्रेजसँग युद्ध गर्दा हात्तीसँग लाप्पा खेल्नुजस्तै भो । नेपाल अंग्रेज युद्धमा त वीर भक्ति थापाजस्ता कति हो कति नेपाली सपूतले ज्यान गुमाए । देशको अंगभंग भयो । वीर सपूत सहिद भए । यिनमा केही फोटाहरू म्युजियममा झुन्डिएका छन् । सबै विभूति सपूत वीरका सालिकसहित परिचय लेखी नारायणहिटी संग्रहालयमा राख्नुपर्छ ।


मैले यहाँ मातृभूमि नेपाल बनाउने जोगाउने केही वीर सपुतहरूको नाम उल्लेख गरेको हुँ, विदेशीले नेपाल–अंग्रेज युद्धमा हार्नेहरूको नाम धेरैधेरै उचाले । जित्नेको जिताउनेको रणनीति राजनीति चातुर्य भएका वकिल दीनानाथ उपाध्याय पाल्पामा आएको सेनापतिसहितको अंग्रेजी पल्टनलाई लखेटेर जितेर धपाउने उजीरसिंह थापा गौडपर्साबाट राजधानी आउन लागेको अंग्रेजी पल्टनलाई रणजंग पाण्डेको तकिलले जितेर धपाउने रणवीरसिंह थापाहरूको नामोनिसानै छैन । हार्नेको नाम बढाइचढाइ गरेको जताततै सुनिन्छ । यही हो अंग्रेज कूटनीति, रणनीति । यही नीतिअनुसार राखिएको खलंगाको जिलेसीको स्मारक हो । त्यसको प्रत्यक्ष पाठकलाई जानकारी होस् भनी अन्त्यमा प्रकाशित गरिदिएको छु । यस अभिलेखको फोटो मैले पूर्वमन्त्री एवं वर्तमान सांसद मुकुन्द न्यौपानेको सौजन्यबाट पाएको हुँ ।
—ज्ञानमणि नेपाल
कलंकी

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?