२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सम्झनामा भूषण

पुण्यतिथि

काठमाडौँ — काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’ भन्दै राजधानीबाहिर बसेर राजधानीलाई खुलेरै हाँक दिने एक जना कवि थिए— कृष्णभूषण वल । वल ६५ वर्षे उमेरमा २०६९ असार ११ मा बितेका थिए, यो साता उनको स्मृति सप्ताहान्त मनाइँदै छ । पुख्र्यौली घर इलाम र कर्मथलो विराटनगर भएका वल साथीभाइमाझ ‘भूषणजी’ मात्रै थिए, निकटता र आत्मीयताको नाममा । उनको असली नाम भने टीकाराम तामाङ थियो ।

सम्झनामा भूषण

२०३१/३२ तिरको कुरा हो, विराटनगरमा एउटा कल्कलाउँदो (अ)संस्थागत साहित्यिक जमात थियो । जमातमा अशेष मल्ल, मुकेश मल्ल, कृष्णभूषण वल, तोया गुरुङ, महेश प्रसाईं, इन्दिरा शर्मा, प्रमोद प्रधान, लक्ष्मी नेबटियाजस्ता युवा पुस्ताका कविहरू थिए । यी स्रष्टाले विराटनगरमा प्रत्येक साता कवि गोष्ठी आयोजना गर्थे । अहिले विचार गर्दा पूर्वाञ्चलको साहित्यिक इतिहासमा उर्वर समय रहेछ त्यो । त्यस जमातका धेरैजसो सदस्यहरू अहिले उचाइमा पुगेका छन् आ–आफ्नो क्षेत्रमा । त्यतिबेला भूषणजी साहित्यमा खुबै चाख राख्दै कविता कोरेर साथीभाइलाई सुनाउने गर्थे । साहित्यमा त्यस्तो प्रसिद्धि पाइसकेको अवस्था थिएन, सिकारु बेलाझैं थियो । भूषणजीको कवितावाचन गर्ने ओजपूर्ण, लयात्मक शैली र कवितामा पाइने परिवर्तनका आशा–आकांक्षाका प्रतिनिधि आवाज ईष्र्यालाग्दा थिए । नभन्दै भविष्यमा त्यस्तो पनि हुँदै गयो । भूषण दिनप्रतिदिन लोकप्रियताको शिखर चढ्दै गए । भूषणजीको सक्रियता, सबैसँग हेलमेल गर्न सक्ने नरम–भद्र स्वभाव, आफूभन्दा अनुभवी र वरिष्ठ साहित्यकारसँगको सम्पर्क–आदरभाव तथा भावी पुस्तालाई हौस्याउने सामथ्र्यले गर्दा भूषणजी छिट्टै सफल भए, देखिए ।


कृष्णभूषणका ‘दाजु तिम्रो हात चाहिन्छ’ (खण्ड काव्य, २०३३) र ‘भोलि बास्ने बिहान’ (कवितासंग्रह, २०४१) गरी दुई कृति प्रकाशित छन् । उनलाई चर्चाको शिखरमा पुर्‍याउने कृतिचाहिं ‘भोलि बास्ने बिहान’ नै हो । सुनाखरी लामाका नाउँमा देशान्तर साप्ताहिकमा व्यंग्यात्मक लेख लेख्ने भूषणजी कवितावाचन गर्न मञ्चमा उभिँदा सारा श्रोतागण आफ्ना प्रिय र आदर्श कविको उत्सुकतावश प्रतीक्षामा बसेका हुन्थे । कवि हरिभक्त कटुवालको वाचन शैलीझैं कृष्णभूषण वलको पनि कवितावाचन गर्नेे आफ्नै लोभलाग्दो शैली थियो ।
‘काठमाडौं एकलैले अब काठमाडौं बोक्न सक्दैन’ जस्ता सशक्त र कालजयी कविताका सर्जक वल नेपाली साहित्यका एक चम्किला तारा हुन् । उनका कवितामा सरल अभिव्यक्तिका साथै जीवनका सुन्दर विम्बको प्रयोग र चेतनायुक्त परिवर्तनकारी शक्ति पाइन्छ । थोरै लेखेर पनि धेरै शक्तिशाली कविका रूपमा कृष्णभूषण चिनिएका छन् । भूषणजी अत्यन्त संवेदनशील थिए, कहिलेकाहीं निकै आवेगमा पनि आउँथे । भूषण रिसाएका बेला गल्ती गर्ने मानिसहरू उनीसँग डराउँथे । चित्त नबुझेका कुराहरू सहेर बस्नै नसक्ने † मन दुखेको बेला अथवा आत्मसम्मानमा चोट लाग्दा तरर्र आँसु झारिदिने † त्यस्तो अवस्थामा निकटस्थ साथीभाइले सान्त्वना दिदैं स्थिति मत्थर पार्नुपथ्र्यो । अनि भूषणजी एकै छिनमा शान्त देखिन्थे । साथीभाइलाई धेरै विश्वास गर्ने स्वभावमा आफूले विश्वास गरेको कसैले धोका दियो भने भूषण निकै अशान्त देखिन्थे । पछिल्लो समय भूषणजी विराटनगरस्थित वाणी प्रकाशन
सम्बद्ध रहे ।


२०४१ तिर भूषण काठमाडौं, ठमेलतिर कोठा लिएर लय संग्रौलासँगै बसेका थिए । भूषण नेपाल राष्ट्र बैंकअन्तर्गत घरेलु तथा साना उद्योग परियोजना कार्यालय, बालुवाटारतिर कामकाजी थिए भने लय संग्रौला रेडियो नेपालतिर । त्यो बेला नै भूषणजीलाई उच्च रक्तचापको समस्या बल्झिसकेको रहेछ, पछि मात्रै थाहा भयो ।


बिशेषत: प्रयोगवादी धार र नबुझिने लेखनको मुस्किलको चरणबाट नेपाली कविता बिधा गुज्रिरहेका बेला एक सशक्त गद्य कविको उदय मोफसलतिरबाट भएको थियो । सँगै उदाएका कवि–लेखकहरू कोही कतै हराए, कोही राजधानी काठमाडौंमै आएर मिसिए । तर, कवि भूषणजी भने घुमिफिरी मोफसलमै पुगे, बिराटनगरमै उनको अन्तिम चोला उठ्यो । कवि गोपालप्रसाद, बैरागी काइँलाझैं ‘थोरै लेखेर धेरै नाम कमाउने’ अब्बल स्रष्टा भूषणजीलाई सतत स्मरण गर्न चाहन्छु ।
–योगेन्द्र तिमिल्सिना

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?