बागदरबार के छ, के छैन ?

सम्पदा
भत्काएपछि बनाउनै नसकिने कला छन् राणाकालीन दरबारमा । यस्ता कलामध्ये हो– स्टुको आर्ट । दरबारको भित्री भागमा मिहिन बाटोले बनेका छन् यस्ता आर्ट । माटोका यी मिहिन चित्र बनाउन कसले जाँगर लगाउँछ अब ?
दामोदर न्यौपाने

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबै राणाकालीन दरबार जोगाउन सकिने सूचीमा राखेको छ । यश आराम , सुरक्षा, र वातावरणको दृष्टिले पनि उच्चकोटीका मानिन्छन् दरबारहरू । गाह्रो ठूलो र मोटा छन् । १ मिटरदेखि डेढ मिटरसम्म चौडा छन् गारो । भित्ताको ठाउँठाउँमा हावा प्रवाह हुने करिडर राखिएका छन् । दरबारभित्र पनि ठाउँठाउँमा चोक छन् ।

बागदरबार के छ, के छैन ?

रेट्रोफिटिङ गरेर जोगाउन सकिने सम्भावना हुँदाहुँदै राष्ट्र बैंक रहेको थापाथली दरबार भत्काइयो । राष्ट्रबैंक नै भएको बालुटारको ललिता दरबार पनि मासियो । चन्द्रशमशेरले बनाएको त्रिचन्द्र मेलिटरी अस्पताल मासेर नेपाली सेनाले व्यावसायिक भवन बनाइरहेको छ । नेपालकै पहिलो स्कुल दरबार हाइस्कुल भत्काएर आधुनिक भवन बनाउन पुरातत्त्व विभागले अनुमति दिइसकेको छ । प्राचीन दरबार मास्ने पछिल्लो शृंखलामा अब बागदरबार परेको छ ।


रेट्रोफिटिङ गर्ने तयारी भइरहेको बागदरबार भत्काउन महानगरले अनेक उपाय लगाइरहेको छ । विशेषत: मेयर विद्यासुन्दर शाक्यको इच्छाले अहिले धेरै काम गरिरहेको छ । कोही बेला यो नेपाली वास्तुकला होइन, यसलाई भत्काएर नेपाली शैलीको बनाउँछु भन्दै उनी नेवार समुदायबीच गइरहेका छन् । कहिले यो बागदरबार होइन हरि भवन हो, सय वर्ष नपुगेकाले यसलाई भत्काइनुपर्छ भन्दै उनी हिंडेका छन् ।


‘बागदरबारमा त्यस्तो के छ र जोगाउनुपर्ने ?’ सात महिना पहिला बागदरबार भत्काउन टेन्डरसमेत आह्वान गरेपछि काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत धनीराम शर्मा पौडेलले बताएका थिए । पुरातत्त्वविद् भीम नेपालका शब्दमा बागदबार जोगाउनुपर्ने कारण धेरै छन् । ‘बागदरबार मास्नुपर्ने कारणचाहिं के हो ?’ उनी भन्छन्, ‘जोगाउनुपर्ने थुप्रै कारण छन् । सबभन्दा महत्त्वपूर्ण कारण यो दरबार भत्काएपछि यस्तो बनाउनै सकिंदैन ।’


भत्काएपछि बनाउनै नसकिने कला छन् राणाकालीन दरबारमा । यस्ता कलामध्ये हो, ‘स्टुको आर्ट’ । दरबारको भित्री भागमा मिहिन बाटोले बनेका छन् यस्ता आर्ट । नेपाल भन्छन्, ‘माटोका यी मिहिन चित्र बनाउन कसले जाँगर लगाउँछ अब ?’


पुरातत्त्व विभागले सात महिनाअघि पत्र थमाएपछि मेयर शाक्य ‘भत्काइहाल्न’ हच्किएका थिए । पुरातत्त्व विभागले पत्र दिएपछि भत्काउने प्रक्रिया अघि बढाइने महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् । विभागले प्राचीन स्वरूप नबिगारी, प्राचीन निर्माण सामग्री प्रयोग गरेर पुनर्निर्माण गर्न सहमति दिएको छ । मास, चाकु, सरेस, सुर्की, पिना, चुनजस्ता प्राचीन निर्माण सामग्रीको जडान बनाएर इँटाको गाह्रोले बनेको हो यो दरबार । ‘अब यी निर्माण सामग्री जम्मा गर्न पनि मुस्किल छ,’ नेपाल भन्छन्, ‘उही रूपमा निर्माण गर्न सम्भवै छैन । उस्तै रूपमा बनाऊ भन्नु भनेको अगाडि ज्याकेट लगाऊ, भित्र जेसुकै लगाऊ (अथवा नाङ्गै बस) भन्नु मात्रै हो ।’


यहाँ प्रयोग भएका बाहिरी र भित्तासँगै जोडिएका ‘पिल्लर’ पनि बनाउन नसकिने नेपाल बताउँछन् । यस्ता दरबार मास्नु भनेको ‘निओ–क्लासिकल आर्किटेक्ट’ मास्नु पनि हो । अठारौं शताब्दीको मध्यतिर विकसित भएको आर्किटेक्ट हो यो । ग्रीसबाट विकसित भएको हो यो वास्तुकला । यही शैली नेपालमा पनि भित्रियो । शैली भित्र्याउने जस भीमसेन थापालाई जान्छ । थापाले नेओ क्लासिकल शैलीको धरहरा, बागदरबार, छाउनीलगायत संरचना बनाए । पछि जंगबहादुरले यो शैलीलाई अझ व्यापक रूपमा भित्र्याए । वीरशमशेरले, चन्द्रशमशेरलगायतले नेओ क्लासिकल शैलीका थुप्रै दरबार बनाए । ‘यो शैली अब इतिहास भइसक्यो,’ नेपाल भन्छन्, ‘यी विगतका प्रमाण हुन् अब । संरक्षणको सिद्धान्त भनेकै विगतको प्रमाण जोगाउनु हो ।’


इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार राणाकालीन समयमा ४५ वटा भवन बनेका थिए । त्यसमध्ये ३० वटा दरबार विशेष आकर्षक र कलात्मक तरिकाले बनेका थिए । यी दरबारमध्ये कुनै सरकारले अधिकरण गर्‍यो, कुनैचाहिं राणाहरूले बेचे । बेचिएपछि धेरैजसो दरबारमा कलाकृति संरक्षण भएनन् । यहाँ राखिएका झल्लर बत्तीको संरक्षण भएनन् । युरोपबाटै ल्याइएका गलैंचा थिए । फर्निचर उतैबाट ल्याइएका थिए । तीमध्ये केहीमा जोगिएका छन् । केहीमा मासिएका छन् । कला र सामान संरक्षण नभएको दरबारमध्येमा पर्छ बागदरबार पनि । सामान जोगिएका दरबारमध्ये टंगालको सीता दरबार पर्छ । दरबारको संरक्षणमा रहेकाले यहाँका कलाकृति, सजावटका सामान सबै जोगिएको राणकालीन दरबारको अध्ययन गरिरहेकी चन्दा राणा बताउँछिन् ।


‘राणाकालीन सोख र क्षमताको अध्ययन पनि गर्न सकिन्छ यी दरबार मार्फत । अहिले जस्तो आयातनिर्यात सहज नभएको बेलामा युरोपियन शैली कसरी भित्रियो ? त्यहाँबाट कसरी सामान ल्याएर यहाँ फिटिङ गर्न सम्भव भयो ?’ जनहित संरक्षण मञ्चका निर्देशक अधिवक्ता प्रकाशमणि शर्मा भन्छन्, ‘यी सबै अध्ययन गर्न पनि बागदरबार भावी पुस्ताका लागि जोगाइदिनुपर्छ ।


तर, बलमिच्याइँबाट भवन मास्न खोजिंदै छ । यो दुर्भाग्यपूर्ण हो ।’


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबै राणाकालीन दरबार जोगाउन सकिने सूचीमा राखेको छ । यश आराम, सुरक्षा र वातावरणको दृष्टिले पनि उच्चकोटीका मानिन्छन् दरबारहरू । गाह्रो ठूलो र मोटा छन् । १ मिटरदेखि डेढ मिटरसम्म चौडा छन् गारो । भित्ताको ठाउँठाउँमा हावा प्रवाह हुने करिडर राखिएका छन् । दरबारभित्र पनि ठाउँठाउँमा चोक छन् । चोकको वरिपरि बरन्डा राखिएका छन्, प्रत्येक कोठामा जाने बाटो जोडिएका छन् ।


ढोकाका शैली पनि उस्तै किसिमका छन् । भित्रपट्टि र बाहिरपट्टि दुई किसिमका ढोका राखिएका छन् । एउटामा सिसा राखिएका छन् । सिसा भएको ढोका बन्द गर्दा प्रकाश आउँछ । प्रकाश पनि आउने, चिसो पनि नपस्ने हिसाबले यी ढोकामा सिसा राखिएका हुन् ।


अर्काे काठको बतासी ढोका हुन्छन् । यो ढोका लगाएपछि तल के भइरहेको छ भनेर हेर्न मिल्छ । माथि के भइरहेको छ भनेर तलबाट भने हेर्न मिल्दैन ।
बीचमा ढुंगा छापिएको आँगन छ । यही आँगनमा बसेर राणाहरू न्याय निसाफ दिने काम गर्थे । बी–बीचका चोकमा पनि बस्ने स्थान बनाइएका छन् । वास्तुविज्ञ डा. प्रेमराज न्यौपानेका अनुसार जाडोमा घाम ताप्न आनन्ददायक होस् भनेर चोक बनाइएका हुन् ।


दरबारको अर्काे विशेषता भनेको डिजाइनदार बगैंचा हुन् । बोटबिरुवा कलात्मक पाराले रोपिएका छन् । लिची, कपूर, आँप, निबुवा, भोगटेलगायतका मौसमअनुसारका फलफूलका रूख छन् ।


दरबारका मुख्य ढोका एउटै हुन्छन् । चारैतिर कम्पाउन्ड वालले घेरिएका छन् । ठूला कर्मचारी, साना सेवक, भाइ भारदार बस्ने छुट्टाछुट्टै कोठा र चोक छन् । माथि उक्लन काठको भर्‍याङ छन् । कुनै भवनमा फलाम प्रयोग गरेर घुम्ने भर्‍याङ पनि बनाइएका छन् । छाना कतै टिनको र कतै झिंगटीका छन् । भवनका बाहिरी भागमा सेतो रङ लगाइएका छन् । ‘जुनसुकै कालखण्डको भए पनि यी महत्त्वपूर्ण सम्पदा हुन्,’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘यिनको जर्गेना गर्नु हाम्रो दायित्व हो ।’


बागदरबार भएको थलो राष्ट्रिय विभूति अमरसिंह थापाको हो । इतिहासकार राणाका अनुसार अमरसिंहका छोरा भीमसेन थापा शक्तिमा आएपछि जग्गा थपेर १ सय २० रोपनी पुर्‍याइयो । बागदरबार, सुन्धरा र धरहरा उनैले बनाउन लगाए । विसं १८९४ मा भीमसेनको पतन भएपछि उनको सम्पत्ति सरकारले हडप्यो । १९०१ मा भीमसेनका भतिज माथवरसिंह प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएपछि थापामाथि लगाइएका अभियोग फिर्ता भए । थापाका हरण गरिएका सम्पत्ति पनि फिर्ता आयो । त्यही क्रममा बागदरबार पनि फिर्ता आयो । बागदरबारको नामचाहिं माथवरसिंहको पालामा बाघ पालिएपछि नामकरण गरिएको हो । प्रधानमन्त्री भएको एक वर्षपछि भान्जा जंगबहादुरले माथवरिसिंहको हत्या गरे । माथवरको हत्यापछि बागदरबार फेरि सरकारीकरण गरियो । राजेन्द्रविक्रम शाह, सुरेन्द्रविक्रम शाह हुँदै दरबार जुद्धशमशेरका छोरा हरिशमशेरको स्वामित्वमा आयो । १९९० सालको भुइँचालोले बागदरबार भत्काइदियो । अनि पुनर्निर्माण गरिएको थियो ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?