२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लन्डन रेजेन्ट पार्कतिर

नियात्रा
आफूलाई किताबसित रुचि भएर पनि होला, यहाँ जता गयो त्यतै किताब पढिरहेका मान्छे देख्दा दङ्गदास हुन्छु । हाम्रातिर अझै कसैले बाहिर किताब पढिरहेको देख्यो भने खुब पढन्ते भएको, फुर्ती लगाएको भन्ने चलन अझै छ ।
छविरमण सिलवाल

काठमाडौँ — क्यामडेन टाउन घुमिसकेपछि हामी रातो बस चढेर रेजेन्ट पार्कतर्फ लाग्यौ । रातो बसबाट ओर्ले पछि हामी दस मिनेट लन्डन जुको छेवैछेउ भएर भित्र पस्यौँ । तर चिडियाखानाभित्र हामी नपसी सीधै पार्कभित्र छिर्‍यौँ । मैले जीवनमा त्यति ठूलो पार्क कहिल्यै देखेको थिइनँ । पार्क यति विशाल थियो कि आँखाको दृष्टिभन्दा पनि पर परसम्म ।

लन्डन रेजेन्ट पार्कतिर

गुुगल गरेर हेरेको त पार्कको क्षेत्रफल नै ४ सय १० एकड रहेछ । हाम्रो हिसाबले झन्डै ३२८० रोपनी । पस्नेबित्तिकै काठका विभिन्न कलात्मक आकृति बनाएर सजाइएको सुन्दर दृश्य देखियो । काठका मूर्तिहरूमा वन्यजन्तुलगायत विभिन्न मानव आकृति थिए । प्रमाणका लागि केही फोटो खिच्यौँ, क्यामराको मेमोरीभन्दा पनि मेरो मानसपटलमा कैद भएका दृश्यहरू कहिल्यै नमेटिने गरी बसेका छन्, बसिरहने छन् ।


देब्रेतिर खेल मैदान देखियो । फुटबल, क्रिकेट, टेनिस खेल्नेहरू खेलिरहेका थिए । दौडिनेहरू विशेष खालको एथ्लेक्टस लुगा लगाएर दौडिरहेका थिए । पातलो लागेको घाममा घाँसमा पल्टिएकाहरू पनि देखिए । कोही त किताब पढेर बसेका पनि देखिए । साइकल चलाउनेहरू पनि थिए । यहाँ बैँकले आफ्नो लगानीमा ठाउँ–ठाउँमा साइकल भाडामा राखिदिएको हुँदोरहेछ । बाहिर खुला रूपमा पार्क गरिएका यस्ता साइकल कुदाउन रुचि हुनेले आफ्नो कार्ड मार्फत पैसा तिरी चलाउन पाउने रहेछ । मानिसहरू आ–आफ्नो हिसाबले मनोरञ्जन गर्दै थिए ।


हामी पार्कको बीचबाट नभई दाहिने छेउबाट हिँडिरहेका थियौँ । छेउमा असाध्यै सुन्दर तर खोलाजस्तै लामो आकारमा फैलिएको सुन्दर ताल देखियो ।


ठ्याक्कै पोस्टरतिर देखिनेजस्तै मनोरम थियो त्यो । त्यसको सुन्दरताले मलाई खिच्यो । तालमा डु्ङ्गा सवारी गर्नेहरू प्रशस्तै थिए । कोही त्यहाँका हाँसलाई खुवाइरहेका देखिन्थे । कोही गफ गरिरहेका, त कोही किताब पढिरहेका । आफूलाई किताबसित रुचि भएर पनि होला, यहाँ जता गयो त्यतै किताब पढिरहेका मान्छे देख्दा दङ्गदास हुन्छु । हाम्रातिर अझै कसैले बाहिर किताब पढिरहेको देख्यो भने खुब पढन्ते भएको, फुर्ती लगाएको भन्ने चलन अझै छ ।


गुलाब र अन्य रंगीबिरंगी फूलको सुन्दर दृश्य जताजतै देखिन्थ्यो । रूख र झाडीहरू पनि त्यही आकारमा मिलाएर काटिएका । साँच्चै, त्यसै बन्दैन सुन्दर पर्यावरण । त्यसका लागि प्रतिबद्धता, मिहिनेत र असल संस्कार पक्कै पनि चाहिन्छ । जता हेरे पनि हरियाली नै हरियाली † फोहोर कतै छैन । मैले नेपालका पार्कहरूको गतिविधि सम्झिएँ । हामी चेतनशील भएर पनि चेतना गुमिसकेका निरीह प्राणीजस्तो लाग्यो मलाई । हुन पनि हो, मैले कतै धूलोमैलो, धूवाँ देखिनँ लन्डनमा । चाउचाउ र बिस्कुटका खोल बाटोतिर कतै देखिनँ । कसैले बाटोमा हिँड्दा पान सुर्ती खाएर बाटोमा थुक्दै हिँडेको देखिनँ । समाज बदल्नका लागि हरेक मान्छे आफैंबाट बदलिनुपर्ने रहेछ भन्ने अन्तज्र्ञान मैले पाएँ । हाम्रा नेतृत्व वर्गहरू पनि धेरै पटक युरोप अमेरिका र बेलायत पुगेका छन् तर उनीहरूले त्यहाँको जस्तो यहाँ किन गर्न नसकेका हुन्जस्तो मलाई लाग्यो ।


अलिकति अगाडि गएपछि एउटा रमाइलो कुरा थाहा भयो । त्यहाँ पार्कभित्र एउटा थिएटर रहेछ, ओपन एयर थिएटर नाउँको । खुला आकाशमुनि बसेर नाटक हेर्न पाउने त्यो थिएटर गर्मी महिनामा मात्रै सञ्चालनमा आउने रहेछ । त्यसलाई टाढैबाट हेरेर चित्त बुझाइयो ।


फूल, रूखबिरुवा र तिनको कलात्मक संयोजनको सौन्दर्यलाई नियाल्दै हामी हिँडिरहेका छौँ । जता हेर्‍यो लोभलाग्दो दृश्य देखिन्छ । विभास र मेरो पोज पोजका फोटा खिच्दाखिच्दा विजय हैरान भइसकेका थिए । कम बोल्ने विजयको छोरो उनको ठीक विपरीत स्वभावको छ । उसको मुख र हातगोडा बराबरी चल्छन् । म केटाकेटीहरूसित अति रमाउँछु । उनीहरूसित गफ गर्न, खेल्न मलाई कति पनि झिँजो लाग्दैन ।


पार्कको सुन्दरतामा यति हराइएछ कि हामीले झन्डै चार घन्टा त्यहाँ बिताएछौँ । अघि एक छिन पिलिक्क देखिएको घाम छोपिइसकेको छ । तर आकाश धुम्मिएपनि फूलहरूको सौन्दर्यले पार्कचाहिँ उस्तै खुलेको छ । मलाई यो सुन्दर ठाउँबाट उठेर हिँडिहाल्न पटक्कै मन थिएन । तर अपराह्नको ४ बजिसकेको थियो । विभास पनि हिँड्दाहिँड्दा थाकिसकेको थियो । उसमाथि आज अलिकति चाँडै आउनू भन्ने बैनीहरूको आग्रह पनि थियो । त्यसैले हामी ट्रेन स्टेसन पुग्न हतारियौँ ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?