कथामा नाटकीय प्रस्तुति

समीक्षा
सुरुमा स्वादले पढ्दै गएका कथा अन्तमा गएर खल्लोमा परिणत हुन्छन् । लेखन प्रयोगको नाममा पाठकलाई जबरजस्ती पढाउन खोज्नु दुस्साहसबाहेक केही होइन ।
गंगा बीसी

काठमाडौँ — कथा झूट हुन्, जसको माध्यमबाट हामी सत्य भन्छौं,’ फ्रेन्च लेखक अल्बर्ट कामुले कथाबारे भनेका छन् । कथालाई जसरी भने पनि हुन्छ । सिधै, घुमाएर, ब्यंग्य गरेर, विम्ब प्रयोग गरेर, पछिल्लो समय चित्र बनाएर पनि कथा भन्ने चलन छ । कथालेखनमा बढी चलेको परम्पराचाहिँ ब्याख्या गरेर, संवाद बोलेर र त्यसमा केही विम्ब/अलंकार प्रयोग हो ।

भुइँखाटलेखक : महेशविक्रम शाहबिधा : कथाप्रकाशक : फाइन प्रिन्टमूल्य : ३१८/–

कथा र उपन्यास लेखनमा प्रतिस्पर्धा बढ्दै मात्र छैन, पाठक पनि बढ्दै छन् । खुसीको कुरा हो, लेखकको प्रतिस्पर्धा र पाठकको बढोत्तरीले बजार पनि तताएको छ । पछिल्लो समय कथा लेखन एउटा प्रयोगको रूपमा पनि आएको छ । प्रयोगवादी शैलीले पाठक तान्ने कसरत जारी छ । सबै प्रयोगले पाठकको रुचि बढाउँछ भन्ने पनि होइन । पाठकको मनमन्दिरमा बस्ने कथा लेखनको चुनौती बढिरहेको बेला स्थापित कथाकार महेशविक्रम शाहको ‘भुइँखाट’ आएको छ ।
भुइँखाट कल्पना गर्नका लागि बनाइएको थिएन । भुइँखाटमा सबै संसार अटाउन पनि सक्दैन, किनकि त्यो आफैंमा साँघुरो छ । यसमा आउने पात्रले पूरै दुनियाँको प्रतिनिधित्व गर्नुपर्छ भन्ने पनि छैन । जति पात्र र विषयवस्तु अटाएका छन्, ती पर्याप्त छ भन्ने पनि होइन । साँघुरो संसारमा सबै कुरा अटाउन खोज्नु कठिन काम हुँदै हो, प्रयास गर्नुचाहिँ सकरात्मक पक्ष हो । यसका पात्रहरूले केही सन्देश, निराशा, कुण्ठा, बाध्यता, आक्रोश आदि पोखेका छन् । ती पात्रको पछि दौडेर साध्य पनि छैन । किनकि ती कल्पनामा हराउने खालका छन् । पात्र यथार्थजस्ता लाग्छन् तर तिनका गतिविधि सोचभन्दा फरक, धरातलभन्दा टाढा पुगिसकेका हुन्छन् । जुन पाठकले भेउ पाउन कथाको अन्त्यतिर आइपुग्नुपर्ने हुन्छ । पाठकलाई पिंधसम्म पुर्‍याउने प्रयास कथाकारको गरेको हुनुपर्छ ।


कथासंग्रहको भुइँखाट पहिलो कथा हो, यसमा लोग्नेस्वास्नीबीच हुने खटपट र रात्रिकालीन मिलन चित्र यसमा छ । कोठामा एक ठूलो र अर्को भुइँखाट छ । एक सातादेखि श्रीमान् श्रीमती फरक–फरक खाटमा हुने अवस्था सिर्जना भएको छ । लोग्नेस्वास्नीबीच सम्बन्ध चिसिएको छ, जसका कारण न्यानो अंगालो अलग भएको छ । दुवैको मनमा चाहना गुम्सिएको छ । बोल्न चाहेर पनि सक्दैनन्, खुल्दैनन् । एक साता भयो, दुवैको मनमा यौनाच्छाको बादल मडारिएको । लोग्ने–स्वास्नीबीच हुने खटपटलाई उनले कथामा उतारेका छन् । यो कथामा यौनमनोवज्ञानलाई चित्रण गरेका छन् । लोग्ने–स्वास्नी अलगअलग पलङमा हुने अवस्थामा गरिएको कल्पना यस्तो छ ? ‘हामी एउटै पलङमा भएको भए सायद म उत्तानो परेको धरती हुन्थें र ऊ ममाथि घोप्टिएको आकाश हुन्थ्यो । उत्तानो पर्ने र घोप्टिएको क्रियाहरू पनि सधैँ एउटै अवस्थामा लागू हुँदा रहेनछन् ।’ एक सातापछि लोग्ने–स्वास्नीबीचको भुइँखाटको मिलन यति रोमाञ्चक भयो कि लेखकले टुंगोमा पुर्‍याउँछन्, ‘त्यो सानो भुइँखाटमा हामी लोग्नेस्वास्नी यसरी मच्चियौं, मानौ भर्खर मात्र हामी विवाहको पहिलो रात मनाइरहेका छौं ।’ लोग्ने–स्वास्नीबीचको यौनविज्ञान युद्ध यही समाप्त हुन्छ ।

Yamaha


माओवादी युद्धले केही टाठाबाठा नेता तथा कार्यकर्ताका लागि ‘क्रान्ति’ गर्‍यो । धेरै कमरेडहरू सिंहदरबार पसे, नियुक्ति खाए, सरकारी पदमा बसे, उनीहरूको साँचो अर्थमा क्रान्ति भयो । केही कमरेडहरूले शक्तिको आडमा राम्रै व्यवसाय गरे, उनीहरूको पनि क्रान्ति भयो । युद्धमा लागेका अधिकांश कमरेडहरूको अवस्था झल्काउने युद्धको घाइते योद्धाको कथा हो, सिंहदरबार । सहिद, घाइते, बेपत्ताहरूको बलमा सिंहदरबार भेट्न पुगेका घाइते लडाकु सिंहदरबारमा आफ्ना कमरेडलाई भेट्न सिंहदरबार पुगेका छन् । सिंहदरबार देख्दैमा दंग छ, कमरेड भेट्दैमा खुसी छ । युद्ध समाप्त भएपछि हजारौं लडाकु बिदेसिए, समर्थक निराश भए । युद्धमा घाइतेहरूको अवस्था अहिले पनि दयनीय छ, जसका कारण कतिपयको मनस्थितिसमेत बिग्रिएको कथाले भन्छ । ‘ऊ युद्ध अभिघातले विक्षिप्त बनेको छापामार लडाकु हो । उसलाई यहाँ उपचारका लागि ल्याइएको हो । उसलाई यो कुरा थाहा नहोस् कि यो सिंहदरबार नभएर ट्रमा सेन्टर हो र म कुनै कमरेड वा सिंहदरबारमा आसीन व्यक्ति नभएर उसको मनोचिकित्सक हुँ ।’


वर्षा लागेको छ, तराई डुबानमा पर्ने खतरा यो वर्ष पनि छ । टेपरीगाउँको कथाले डुबान क्षेत्रमा लैजान्छ । रहमलाल डुबानको चिन्ताभन्दा राहतको पर्खाइमा छ । किनकि उसको आफ्नो भन्नु सानो झुप्रो छ नदीको किनारामा । तर विडम्बना बाढीले ऊबाहेक झुप्रो, स्वास्नी र छोरोसमेत बगाउँछ । राहतको चाउचाउ खाने सपना लिएको छोरा र श्रीमती बाढीले बेपत्ता पारेपछि रहमलालको अवस्था साँच्चिकै चिन्ताजनक छ । ‘राप्तीले सम्पूर्ण घरखेत बगाएर मजदुर बन्न बाध्य भएको रहमलालका मरुस्थल बनेका आँखाहरू झरी बनेर बर्सिन थाले’ लेखकले डुबान कथाब्यथा उतारेका छन् ।


डुबनाजस्तै हिउँदे याममा आउने शीतलहरको समस्याले तराईका गरिब वर्ग पीडित हुन्छन् । शीतलहरकै कारण मर्नेहरूको दशालाई ‘शीतलहर’ कथामा उतारिएको छ । तर, कथालाई बढी नै नाटकीय ढंगले प्रस्तुत गरिएको छ । गरिबीका कारण छोराले बिरामी बुवालाई घरबाहिर सुताएर मर्न बाध्य बनाएको घटनाले ती गरिबलाई व्यंग्य गरेजस्तो गरी लेखकले प्रस्तुत गरेका छन् । बुवाको मृत्युमा पाएको राहतले खुसी हुने विषय नलेखेकै भए बेस हुन्थ्यो । जसको मृत्यु हाँसोको विषय हुन सक्दैन ।


‘थाक्पा’ गजबको कथा छ । दुर्गम क्षेत्रमा हेर्ने हो भने थाक्पाहरू धेरै भेटिन्छन्, जो खुसीका लागि सहर पस्दैनन्, विदेश जाँदैनन् । आफ्नो कर्मलाई औधी माया गर्छन् र चरम खुसीमा बाँचेका हुन्छन् । मुस्ताङको कागबेनीतिर च्याङ्ग्रा चराउने थाक्पा आफ्नो कर्ममा यति विश्वास गर्छ कि त्यहाँ जाने सुकिला पर्यटकलाई उसले ब्यंग्य गर्छ । ‘म यी च्याङ्ग्राको साथ छोड्न सक्तिनँ । जुन आनन्द म च्याङ्ग्राको साथमा पाउँछु, त्यो अन्त कतै पाउन सक्तिनँ । म गोठालो नै ठीक छु’ खुसी र सुख खोज्दै हिँड्नेका लागि यो नै सही जवाफ हो ।


केही वर्षअघि मधेसमा राजनीतिक आडमा अपहरण र असुली मच्चाउने समूहको कथा हो नवाबगन्ज । नेपाल–भारत सीमा क्षेत्रलाई आधार बनाएर मोटो रकम असुली गर्ने समूहहरू अन्तत: भारतीय पक्षबाट मारिन्छन् । नेपालगन्ज सीमाक्षेत्रको यो कथामा क्लाइमेक्सले ‘जस्तो कर्म उस्तै फल’ सन्देश दिएको छ । राजनीतिक सन्दर्भको अर्को कथा ‘बडा डन’ ले राजनीतिक आडमा सहरमा मौलाएको डनगिरी देखाएको छ । कतिपय राजनीतिक नेताहरू नै बडा डन भएको यसको निष्कर्ष छ । यसले राजनीतिक अपराधीकरणलाई चित्रण गर्न खोजेको छ ।


सुपारी अर्थात् रकम लिएर हत्या गर्ने पेसेवर व्यक्तिको कथा हो, ‘सुपारी’ । विगतमा नेपालमा परिचित व्यक्तिको हत्या भएको सन्दर्भमा कथाकारले अन्तत: सुपारी दिएर अर्काको हत्याको योजना बनाउने ब्यक्ति नै मारिन्छन् । ‘जस्तो कर्म उस्तै फल’ यसको मर्म हो ।


मधेस आन्दोलनसम्बन्धी दुई कथा छन्, रु. दस लाख र पचास बिडा पान । दुवै कथाको सन्देश हो, मधेस आन्दोलन निम्न गरिब वर्गका लागि बलिदान दिनु, केही राहत पाउनुमा सीमित भयो । आन्दोलनका नेताहरूको स्वार्थका कारण उनीहरूले खास अधिकार पाउन सकेनन् । मधेस आन्दोलन अधिकारका लागि भएको थियो भन्ने कुरा कथाकारले आँखा चिम्लेका छन् । समावेशी अधिकार पाउन मधेस आन्दोलनको हात छ । यो बिर्सन मिल्ने विषय होइन ।


रु. दस लाख कथामा मुकेश स्थानीय नेता हो, जसले थुप्रै मान्छेलाई आन्दोलनमा होमिन भूमिका खेल्यो । आन्दोलन सम्झौतामा स्थगितपछि जनताको प्रश्नको जवाफ दिन नसकेर हैरान भयो । उसको गरिबी झन् बढ्यो । फेरि आन्दोलन सुरु हुने तयारी भयो, त्यसबेला भने उसले आफ्नो परिवारको गरिबी हटाउन ‘सहिद’ भएर आफू प्रहरीको गोली खाने मनस्थिति बनाउन तयार हुन्छ । ‘पचास बिडा पान’ कथामा पनि गरिखाने वर्गमाथि आन्दोलनले पारेको प्रभावको चित्र छ । कथाको मुख्य पात्र जग्गु पान पसले हो, जो नचाहेर पनि आन्दोलनको सहिद हुन पुग्छ । ऊ पसल खोल्न गएकै बेला दबाबमा आन्दोलनमा सहभागी भएर ‘सहिद’ बन्छ । ‘जग्गु मारिएको एक महिनापछि बन्द फिर्ता भयो । सारा मधेस खुल्यो तर जग्गुको पानपसल कहिल्यै खुलेन’ यो नै आन्दोलनमा मारिएका निरीह व्यक्तिको यथार्थ हो । यो मधेसकेन्द्रित दलका नेताप्रति तिखो ब्यंग्य पनि हो ।


‘प्रभुको सालिक’ तानाशाहप्रति ब्यंग्य प्रहार हो । तानाशाहले नाम नभनी आफ्नो सालिक बनाउन कलाकारलाई निर्देशन दिएपछि जोकरको सालिक बनाउँछ । अन्तत: कलाकारको हात काटिने अवस्था आउँछ । यो इतिहासको एक झलक हो ।


सुन्दर सपना बोकेर अमेरिका पुगेकी एक युवतीको देहव्यापारको कथा हो, मध्यरातमा म्यानहटन । मधेसका कतिपय गाउँमा शौचालय नहुँदा भोगेको दु:ख देखाएको छ, बिजुलीदेवी कथाले । नेपालमा २०७२ को भूकम्प ल्याउने युरोसियन र इन्डियन प्लेटलाई लिएर लेखिएको कथा युरो र इन्डियानोमा गजबको प्रेम प्रसंग छ । विज्ञान कथा ‘मिस्टर एनोड र मिसेज क्याथोड’ हो । गुलाफ कथाले लेखकले भनेझैं हाम्रा भावी सन्ततिलाई कसरी सुरक्षित समाज दिने भन्नेबारेमा शिक्षा दिन खोजेको छ । गोल्डफिसमा अक्वारियम र नदीमा हुने स्वतन्त्रताको राम्रो प्रस्तुति छ । निना कथामा दुई सहरले बिथोलेका दुई महिलाले एक अर्काका लोग्नेलाई केटा साथी बनाएको भद्दा नाटक छ ।


कथाकारले प्राय: सबै कथामा नाटकीय रूप दिन खोजेका छन् । केहीमा कथाभन्दा नाटक बढी छ । सुरुमा स्वादले पढ्दै गएका कथा अन्तमा गएर खल्लोमा परिणत हुन्छन् । लेखन प्रयोगको नाममा पाठकलाई जबरजस्ती पढाउन खोज्नु दुस्साहसबाहेक केही होइन । यसो गर्नु भनेको ‘भुइँखाट’ मा सुतेर दुनिया हल्लाउँछु भनेजस्तै हो । कथाकारले भनेझै ‘भुइँखाट’ ले मानव र मानव समाजका यिनै भित्री र बाह्य पाटाहरूलाई उधिन्ने जमर्को गरेको छ ।’ फ्रेन्च लेखक कामुले भनेजस्तै लेखकले झूटको माध्यमबाट सत्य बोल्ने प्रयास गरेका छन् ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थ गौतमका सारथि

धर्म
सारिपुत्र र मौदगल्यायनलाई बुद्ध प्रमुख अग्रश्रावक मानिन्छ । एक समय छन्नका उपस्थापकले उनका लागि विहार बनाउने चाहना गरे । यसका लागि छन्नले नगरवासीहरूले पूजा गर्दै आउको चैत्यवृक्ष नै काटिदिए ।
हिमेश

काठमाडौँ — भनिन्छ, सिद्धार्थ गौतमको जन्मसँगै सात व्यक्ति अथवा वस्तुको जन्म भएको थियो, अथवा उत्पत्ति । त्यसमा कन्थक घोडा र सारथि छन्न त भयो नै, अरू थिए, मंगल हात्ती, यशोधरा, कालुदायी मन्त्री, बोधिवृक्ष र सुनका चार घडा । पछि सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरे र गौतम बुद्ध भए ।

बौद्ध धर्मको इतिहासमा असार पूर्णिमाको ठूलो महत्त्व छ । यही दिन सिद्धार्थ गौतमले गर्भ धारण गरेका थिए, धर्मचक्र परिवर्तन पनि यही दिन गरेका थिए । सबैभन्दा ठूलो सिद्धार्थ गौतमले असार पूर्णिमाकै दिन महाभिनिष्क्रमण गरेका थिए । महाभिनिष्क्रमणको अर्थ गृहत्याग हो । उनले २९ वर्षको उमेरमा गृहत्याग गरे । यसरी गृहत्याग गरेको बेला सिद्धार्थ गौतमले चढेको घोडाको नाम कन्थक थियो । सारथि भने छन्न थिए । यो पालिमा नाम भयो ।


उनलाई छन्दक पनि भनिन्छ । त्यति बेला सिद्धार्थ गौतम मात्र होइन, कन्थक र छन्न तीनैको उमेर २९ वर्ष थियो । भनिन्छ, सिद्धार्थ गौतमको जन्मसँगै सात व्यक्ति अथवा वस्तुको जन्म भएको थियो अथवा उत्पत्ति । त्यसमा कन्थक घोडा र सारथि छन्न त भयो नै, अरू थिए, मंगल हात्ती, यशोधरा, कालुदायी मन्त्री, बोधिवृक्ष र सुनका चार घडा । पछि सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरे र गौतम बुद्ध भए । उनले संघ पनि स्थापना गरे ।


छन्न पछि आपंैm भिक्षु बने र संघमा प्रवेश गरे । बौद्ध धर्मको इतिहासमा एक महत्त्वपूर्ण बुद्धकालीन पात्रका रूपमा अगाडि आउँछन्, छन्न । सिद्धार्थ गौतमले गृहत्याग गर्दाका एक मात्र साक्षी थिए, छन्न । फेरि सिद्धार्थ गौतमलाई चार निमित्तसँग परिचित गराउने पनि त उनी थिए । राजकुमारका रूपमा उनी वृद्ध, रोगी र मृत व्यक्ति देखेर विचलित भएका थिए । त्यसो त यी घटनाको चर्चा पालि साहित्यमा पाइन्न । यसबारे बलियो जनविश्वास भने छ ।


यी सबै अनित्यबारे सिद्धार्थ गौतमलाई देखाउने र बताउने छन्न नै थिए । छन्नले भिक्षु भएपछि के कस्तो गरे, त्यसबारे भने पालि साहित्यमा प्रचुर मात्रामा चर्चा पाइन्छ । जुन आपंैmमा रोमाञ्चक र ऐतिहासिक भने छ । खासमा छन्नलाई महाभिनिष्क्रमणका बेला आफू सारथि भएकोमा निकै ठूलो दम्भ थियो । यसले उनलाई घमण्डी बनायो, यसै क्रममा उनले सबैलाई अपहेलना गर्न थाले । उनी अरू कसैको सुन्दैन थिए । आफूले जे भन्यो, त्यही होस् भन्ने चाहन्थे ।


हुँदाहुँदा उनी अरूलाई दु:ख दिने पनि भए । उनी अनुशासन तोड्नमा खुसी हुने खालमा समेत भए । तर, छन्नको योगदानका कारण अरू सबै भिक्षु उनलाई आदर भने गर्थे, उनीसँग बोल्ने हिम्मतसमेत नगरेको अनुभव पाइन्छ, पालि साहित्य पढ्दा । यही कारणले उनी थप उक्सिए । स्थिति कस्तोसम्म भयो भने गौतम बुद्धले भन्दा पनि उनी अटेरी गर्ने खालका भए । छन्नले बुद्धलाई हायलकायल गरेको देखिन्छ । सम्भवत: बुद्ध आपैंm उनको व्यवहारबाट दिक्क मान्थे ।


पछि स्थिति कस्तोसम्म बन्यो भने गौतम बुद्ध स्वयंले महापरिनिर्वाण अगाडि आफ्ना प्रमुख सेवक आनन्दलाई छन्नमाथि ब्रह्मदण्ड दिने आदेश दिनुपरेको थियो । बौद्ध धर्म र संघको प्रारम्भिक इतिहासमा यसरी ब्रह्मदण्डको कठोर सजाय दिनुपरेको प्रसंग विरलै पाइन्छ, छैन भन्दा पनि हुन्छ । छन्नले गरेका दुव्र्यवहारका अनेक उदाहरण पाइन्छ । उनको सबैभन्दा ठूलो दोष थियो, बुद्धका अरू दुई प्रमुख सारिपुत्र र मौदगल्यायनलाई अपहेलना गर्ने, होच्चाउन खोज्ने ।


जबकि सारिपुत्र र मौदगल्यायनलाई बुद्ध प्रमुख अग्रश्रावक मानिन्छ । एक समय छन्नका उपस्थापकले उनका लागि विहार बनाउने चाहना गरे । यसका लागि छन्नले नगरवासीहरूले पूजा गर्दै आएको चैत्यवृक्ष नै काटिदिए । यसले नगरवासीहरू दु:खित र क्रुद्ध भए । कौसाम्बीमा छन्नले अनाचार गर्दा संघले उनीमाथि सोधपुछ गर्नुपरेको थियो । छन्नले जवाफ पनि दिएनन् । कौशाम्बीमा विहार मर्मत गर्ने बेला छन्न जौ खेतको बीचमा गएर उभिन्थे ।


त्यसले गर्दा किसानहरू रिसाउँथे । कौशाम्बीमा भिक्षु छन्न अनाचार गर्थे । सम्झाउँदा पनि अनादारपूर्वक अनाचारमै लिन हुन्थे, उनलाई अरूको फिटिक्कै पर्वाह हुँदैन थियो । जति बेला अरूले उनलाई सल्लाह दिन्थ्यो, उनको उत्तर हुने गथ्र्यो, ‘म यो कुरालाई त्यति बेलासम्म मान्ने छैन, जति बेलासम्म कुनै विनयधरसँग सोध्ने छैन ।’ उनको यस्ता कारणले अरू भिक्षुहरूलाई ठूलो समस्या भएको थियो । प्रथम संगायनाको अन्त्यतिर उनलाई आखिरमा ब्रह्मदण्ड दिइयो नै ।


गौतम बुद्धको महापरिनिर्वाणको तीन महिनापछि प्रथम संगायना भएको थियो । बुद्ध वचनलाई चिरकालसम्म स्थायी राख्ने उद्देश्यले नै यो संगायना भएको थियो । यो संगायना गर्नुपछाडि अरू पनि कारण छन् र त्यसमा एक हो, यिनै छन्नलाई ब्रह्मदण्ड दिन । आनन्द आपैंmले छन्नलाई सजाय दिन तथागतले आदेश दिएको बताएका छन् । तर, छन्न साँच्चै क्रोधी र कटुभाषी भएको हुँदा ब्रह्मदण्डलाई पनि टेर्ने हो अथवा होइनमा आनन्दमा शंका थियो ।


आनन्दले स्थविर भिक्षुहरूलाई भने, ‘भन्ते, भगवान्ले महापरिनिर्वाणका बेला यस्तो भनेका थिए, आनन्द, म नरहेपछि संघले छन्नलाई ब्रह्मदण्ड दिनु ।’ ‘ब्रह्मदण्ड के हो भनेर सोध्नुभएन ?’ ‘भन्ते, मैले सोधेको थिएँ । भगवान्ले भन्नुभएको थियो, आनन्द, छन्न जस्तो चाहन्छन् उस्तै बोल्छन् । अरू भिक्षुले उनलाई नबोल्नू । उपदेश नदिनू । अनुशासनमा पनि नराख्नू ।’ ‘यस्तो भए, आनन्द, तपाईंले नै छन्न भिक्षुलाई ब्रह्मदण्डको आज्ञा दिनू ।’ आनन्दको यसमा उत्तर थियो, ‘भन्ते, मैले छन्नलाई ब्रह्मदण्डको आज्ञा दिनेछु तर यी भिक्षु असाध्यै चण्ड पुरुष छन् ।’


त्यसपछि आनन्द छन्न रहेको स्थानमा गए र भने, ‘छन्न, संघले तपाईंलाई ब्रह्मदण्डको सजाय आज्ञा गरेको छ ।’ छन्नले प्रश्न गरे, ‘ब्रह्मदण्ड के हो आनन्द ?’ ‘छन्न तिमीले भिक्ष्ुाहरूलाई जे चाहन्छौ, बोल्न सक्छौ । तर, भिक्षुहरूले तिमीलाई बोल्ने छैनन् । अनुशासनमा बस्नू भनेर भन्ने पनि छैनन्,’ आनन्दले प्रस्ट पारे । छन्नले गम्भीर भएर प्रतिक्रिया दिए, ‘आनन्द, अरू भिक्षुहरूले मसँग नबोल्ने हो भने म मरे बराबर हुनेछु ।’ यति भनेर उनी मूच्र्छा परे । यसरी छन्न ब्रह्मदण्डबाट पीडित भए । उनलाई अरहत प्राप्त भयो ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT