जवाफ नआएको प्रश्न

पुस्तक
दीपक अधिकारी

काठमाडौँ — २०६१ भदौ १६ गते । हूलका हूल निस्किएका अराजक जत्थाले काठमाडौँ र पूर्वी नेपालका म्यानपावरका कार्यालय, मस्जिद, पसल र सञ्चारगृहमा आक्रमण गरेका थिए । अनेक स्वार्थ समूहहरूले तोडफोड गर्ने र विध्वंस मच्चाउने एउटा बहाना भएको थियो त्यो दिन । काठमाडौमा प्रशासनले कफ्र्यु लगाएको थियो त्यस दिन ।

जवाफ नआएको प्रश्न

‘अन्सर अल सुन्ना’ नामको एक आतंकवादी समूहले जोर्डनबाट इराकस्थित अमेरिकी सैन्य अखडामा काम गर्न लगिँदै गरेका १२ जना नेपालीलाई बन्धक बनाई हत्या गरेको थियो । त्यो नरसंहारको भिडियो उक्त आतंककारी समूहले सार्वजनिक गरेको थियो । विदेशी भूमिमा नेपालीमाथि भएको सबैभन्दा ठूलो नरसंहारको भिडियो सीडी र अनलाइनका माध्यमबाट सर्वत्र छाएपछि त्यसले नेपाली युवालाई आक्रोशित बनाएको थियो । र, त्यो आक्रोश तोडफोड र आगजनी मार्फत व्यक्त भएको थियो ।


ती १२ जनामध्येका एक गोरखाका जितबहादुर थापामगरकी पत्नी कमला थापामगरको कानमा त्यो खबर रेडियो मार्फत पुगेको थियो । दुई वर्ष पनि नपुग्दै आफ्नी आमा गुमाएकी कमलाले किशोरावस्थामै छिमेकी गाउँका जितसँग विवाह गरेर छोरीसमेत जन्माइसकेकी थिइन् । बाबु गुमाएका सुरिलो स्वरका धनी जितबहादुर लाखौं नेपाली युवाझैं खाडीमा श्रम गरेर परिवारमा सुख ल्याउने सपना पछ्याउँदै थिए । माओवादी हिंसा र बेरोजगारीको दोहोरो मारमा परेका उनीजस्ता सयौं युवालाई खाडी मुलुक पठाउने भन्दै सरकारले प्रतिबन्ध लगाएको, अमेरिकी आक्रमणमा परेको अत्यन्त जोखिमपूर्ण मुलुक इराकमा अवैध रूपमा लैजाने नेपालदेखि जोर्डन हँुदै इराकसम्म फैलिएको मानव तस्कर गिरोह सक्रिय रहेछ भन्ने उक्त घटनाले उजागर गर्‍यो ।


विश्वको एउटा गरिब मुलुकका युवा कसरी विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको सेनाको सेवा (खाना पकाउने, सरसफाइ गर्ने र गाडी हाँक्नेलगायत काम) का लागि जाने क्रममा आतंकवादीद्वारा मारिए ? यो प्रश्न सिकागो ट्रिब्युनका संवाददाता क्याम सिम्पसनको दिमागमा घुमिरह्यो । जवाफको खोजीमा उनी नेपाल आए, जोर्डन गए र शृङखलाबद्ध रिपोर्ट प्रकाशित गरे जसले अमेरिकामा पुरस्कारसमेत हात पार्‍यो । उनै सिम्पसनले झन्डै एक दशकपछि उक्त घटनाका पीडितको संघर्षको कथा खासगरी जितकी पत्नी कमला मगरको जीवनलाई ‘द गर्ल फ्रम काठमान्डु : टुवेल्भ डेड मेन एन्ड अ वुमन्स क्वेस्ट फर जस्टिस्’ शीर्षकमा गैरआख्यान पुस्तकका रूपमा प्रकाशित गरेका छन् ।


विश्वव्यापीकरणलाई पुँजीवादको एउटा खम्बाको रूपमा व्याख्या गरिन्छ । तर, त्यही विश्वव्यापीकरणले कसरी गरिब मुलुकका अर्धप्रशिक्षित युवालाई वस्तुझैं धनी राष्ट्रका थ्रीडी (डर्टी, डेन्जरस, डिफिकल्ट) काममा जोतिन बाध्य बनाउँछ भन्ने कुराको उदाहरण हो वैदेशिक रोजगार जसमा त्यो व्यवसाय गर्ने ‘दलाल’ र रोजगारदाता कम्पनीले बढीजसो फाइदा उठाउँछन् । कामदारहरूको जीवन (खासगरी उनीहरूको परिवारमा) केही झिनो सुधार आए पनि त्यसबाट गुणस्तरीय जीवन पाउन सकेका छैनन् उनीहरूले । हाल ‘ब्लुमबर्ग बिजनेस विक’ पत्रिकाको लन्डनस्थित वरिष्ठ अन्तर्राष्ट्रिय संवाददाता रहेका दक्ष खोज पत्रकार सिम्पसनले पुस्तकको ‘द बडी सप्स’ शीर्षक खण्डमा यो तथ्यको वर्णन गरेका छन् ।


नेपाल मात्र हैन, श्रीलंका होस् वा बंगलादेश, पाकिस्तान, भारत नै किन नहोस्, आफ्ना नागरिक निर्यात गर्नमा दक्षिण एसियाली देशहरू निकै अगाडि छन् । रेमिट्यान्सले धानेको अर्थतन्त्र दिगो नहुने मात्र हैन, त्यसका सामाजिक असरहरू निकै दूरगामी र घातक हुन सक्छन् भन्ने कुराको उदाहरण यत्रतत्र छन् । अब नेपालमा पनि के बुझिन थालेको छ, माओवादी द्वन्द्वताका अर्थतन्त्र छिन्नभिन्न हुनबाट जोगिन यो कारक भए पनि अब समाधान देशभित्रै खोजिनुपर्छ । खाडीको भूराजनीति र त्यहाँको परिवर्तन (साउदीमा महिलालाई गाडी हाँक्न दिइनु) आदिले पनि वैदेशिक रोजगारको विकल्प खोजिनुपर्ने देखिन्छ । मलेसियाजस्ता दक्षिणपूर्वी एसियाली देशसमेत नेपाली कामदारका लागि कति उपयुक्त भन्ने प्रश्न उठेको छ । यसबाहेक वैदेशिक रोजगारीका सिलसिलामा हुने ठगी, भ्रष्टाचार र शोषण त आम नै भइहाल्यो ।


एउटा पत्रकारले आफ्नो करिअरमा कैयांै दु:खदायी कथा लिपबद्ध गरेको हुन्छ । यस्तोमा सिम्पसनले एक दशकसम्म १२ नेपाली, तिनको परिवार र खासगरी अमेरिकी ल फर्म कोहेन मिल्स्टेन हस्फेल्ड एन्ड टोलका वकिलहरू म्याथ्यु हेन्ड्ली र अज्निस्का फ्रेज्मेनसँग कैयौं चरणका भेट, अन्तर्वार्ता अनि अदालती रेकर्डको अध्ययन विश्लेषण गरेर एक जीवन्त दस्तावेज तयार पारेका छन् । कमजोर र शक्तिशालीबीचको लडाइँको कथा ‘डेभिड भर्सेस गोलियाथ’ को झल्को दिने कानुनी लडाइँमा यी मानवअधिकारवादी वकिल (म्याथ्यु केही वर्षपहिले पिसकोर स्वयम्सेवकका रूपमा नेपाल आएका रहेछन्) ले केबीआर हलिबुर्टन (जसले इराकमा अमेरिकी सेनाको व्यवस्थापनको ठेक्का पाएको थियो) जस्तो अमेरिकाकै सबैभन्दा शक्तिशालीमध्येको कम्पनीलाई न्यायको कठघरामा ल्याए भन्ने जीवन्त वर्णन छ, ‘द गर्ल फ्रम काठमान्डु’ मा ।


कथाको केन्द्रमा कमला, उनकी छोरी कृतिका र उनको परिवार रहे पनि अन्य पात्रहरू खासगरी अमेरिकीलाई जीवन दिएका छन् सिम्पसनले । पुस्तकका पानामा केही यस्ता पात्र भेटिन्छन् जो मानवीयताले ओतप्रोत छन् । टेक्सासका न्यायाधीश केथ एलिसन, वर्कोहोलिकझैं लाग्ने म्याथ्यु जसले सम्भवत: यो मुद्दामा बढी खटेकाले श्रीमतीसँग खटपट (र, पछि पारपाचुके) भोग्नुपर्‍यो । भूकम्प गएपछि कमलाले क्षतिपूर्ति पाएको रकमबाट बनाएको घरमा सहयोग गर्न आउने उनका गाउँले सूर्य भुजेल, समाजबाट तिरस्कृत भएका बेला कमलालाई शरण दिने गान्धीवादी तुल्सी मेहर आश्रम । समाजशास्त्री गणेश गुरुङले लेखकलाई ठूलो गुन लगाएका छन्, उनलाई १२ जनाको सम्पर्क पत्ता लगाइदिएर । त्यस्तै पत्रकार युवराज घिमिरेबाट पनि सहयोग लिएका छन् सिम्पसनले ।


‘द गर्ल फ्रम काठमान्डु’ को सबैभन्दा बलियो पक्ष यसको लेखकले गरेको खोजी र त्यसमा आधारित न्यारेटिभ हो भने लेखकको दृढताले यो सामग्रीलाई यस रूपमा पस्किन सम्भव तुल्याएको छ । नेपालको ग्रामीण पहाडी जीवनको सजीव वर्णन गरेका छन् उनले । तर, कतिपय नेपाली पाठकलाई स्वाभाविक लाग्ने घटनाको मिहिन वर्णनले गर्दा पट्यारलाग्दो पनि भएको छ । नेपाली विधवाले भोग्नुपर्ने सामाजिक तिरस्कारको मार्मिक वर्णन छ । तर, कतिपय विवरणहरू दोहोरिएका छन् जसले एउटा राम्रो सम्पादकको फेला परेको भए ३८५ पृष्ठको यो मोटो पुस्तक सायद केही पातलो हुन सक्थ्यो ।


इराकमा १२ जना नेपाली मारिएको एक दशकपछि २ वर्षअघि मात्र अफगानिस्तानको राजधानी काबुलमा क्यानडाली दूतावासको सुरक्षार्थ खटिएका १३ नेपाली सुरक्षाकर्मी आतंककारीको आक्रमणमा परी मारिए । १२ वर्षपछिको अर्को नरसंहारले त्यति चर्चा पाएन । तर, मृतकका आफन्तले क्षतिपूर्तिका लागि अझै संघर्षरत छन् । फेरि पनि प्रश्न उठ्छ, यो दुश्चक्र कहिलेसम्म ? कहिलेसम्म रोजगारीका लागि नेपाली युवाले युद्धग्रस्त मुलुकमा ज्यान हत्केलामा राखेर जानुपर्ने ? ‘द गर्ल फ्रम काठमान्डु’ का लेखक यस्तै प्रश्नको जवाफ खोज्न १२ वर्षअघि नेपाल आएका थिए । अहिले हामीले यी प्रश्नको जवाफ आफ्नै देशभित्र खोज्नुपर्ने भएको छ ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?