३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भिन्न बाह्रखरीको बोट

पुस्तक प्राप्ति

काठमाडौँ — ‘बाह्रखरीको छहारी खोज्न मैले जीवनमा निकै संघर्ष गरें । त्यसैले मलाई काशी पुर्‍यायो । बनारसको गल्लीतिर भौंतारिएँ अलि समय । बाटोमा भरियाका साथ बास बसें । भरियाले नुन, तेल, मरमसला, लत्ताकपडा खिर्चीमिर्चीको भारी बोकें । मैले त्यसमा बाह्रखरी र ठूलो वर्णमालाको बोझ थपें ।’

भिन्न बाह्रखरीको बोट

यसरी, सधैंजसो आवरणमा खरो देखिने कमरेड दीनानाथ शर्माको भावना र संवेदना भने एकदमै भिन्न लाग्छ— सुकोमल र संवेदनायुक्त । साझा प्रकाशनबाट प्रकाशित यो ‘बाह्रखरीको बोटमुनि’ निबन्धसंग्रहले दीनानाथको अर्को सिर्जनशील पाटोलाई बाहिर ल्याएको छ । समीक्षक राजेन्द्र सुवेदीका शब्दमा यो संग्रह ‘चेतना र संवेदनाको सटीक बाह्रखरी’ हो । सुवेदीले भूमिकामा लेखेका छन्—‘केही खस्रा आख्यान कणहरूलाई र केही ठोस राजनीतिक आग्रहलाई बिर्सिदिने हो भने शर्माका निबन्धहरू सफल सिर्जना बनेका छन् ।’ २१ वटा निबन्ध समेटिएको संग्रह यो वर्ष साझाबाट निस्किएका कृतिमध्ये उल्लेख्य त छ नै । तर, कुनै हरफ र वाक्यांश दीनानाथजस्ता प्रखर क्रान्तिकारी नेताको निबन्धमा नआइदिए हुन्थ्योजस्तो पाठकले अनुभूत गर्न सक्छन् । ‘बादलभित्रको विश्वास’ निबन्धमा आत्मलोचना शैलीमा शर्मा लेख्छन्, ‘सहिदका टुहुरा छोराछोरीका ओठमा कलेटी परेको छ आमाबाबु गुमाएर । आमाका अनुहार सुकेका छन् काखका छोराछोरी गुमाएर । कतिका शरीरभित्र छर्राको पीडा उस्तै छ । साउने झरी बनेर बगेको छ पीडितहरूको आँसु...’


त्यही मैलाधैलाबाट सुकिलामुकिलामा रूपान्तरित भएका नेताको सिर्जनशील चेत आफैंमा सराहनीय छ तर पाठकले भने विरोधाभास सम्झेर निबन्ध पढ्न सक्छन् । शर्माका यसअघि ‘जीवनयात्रा र जीवन’, ‘अक्षरको खेती’, ‘यात्रा र अनुभूति’, ‘हिउँ फुलेको रात,’ ‘कुलङ्गारकी आमा’ लगायतका निबन्ध तथा संस्मरण प्रकाशित छन् । १३१ पृष्ठको ‘बाह्रखरीको बोटमुनि’ निबन्धसंग्रहको मूल्य २२५ रुपैयाँ राखिएको छ ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?