दुई युवतीबीचको प्रेम

प्रेम अपरम्पार छ । प्रेमको महिमा अलौकिक छ । जो–कोहीलाई जो–कोहीसँग जतिसुकै बेला पनि प्रेम हुन सक्छ । असली प्रेममा मान्छे स्वतन्त्र हुन्छ, चाहना र सन्तुष्टिको चरम आनन्दमा बिल्कुल मनमगन हुन्छ ।

काठमाडौँ — समाजको पाचनशक्ति निकै कमजोर हुन्छ । विशेषत: धर्म र यौन सम्बन्धित विषयवस्तुमा सानोभन्दा सानो कदम पनि समाजका निम्ति अपाच्य हुँदै आइरहेको देखिन्छ । आफूलाई आधुनिकताको पराकाष्टा ठान्ने पश्चिमी समाज पनि अझै यस मामलामा पूर्ण मुक्त छैन । बेलाबेलामा उठ्ने सवाल र विवाद यसका स्पष्ट प्रमाण हुन् ।

दुई युवतीबीचको प्रेम

अब्देलातिफ केसिसेको ‘ब्लू इज द वार्मेस्ट कलर’ यस्तै सामथ्र्य बोकेको फिल्म हो, जुन समग्र विश्वसमाजका लागि केही अपच भएर प्रस्तुत भइदियो । फिल्ममा मूलत: प्रेम, सम्बन्ध, स्वतन्त्रता, चाहना र सन्तुष्टिको नवीनतम आयामलाई एकदमै कलात्मक रङ्गमा प्रस्तुत गरिएको छ ।


लजालु अन्तर्मुखी स्वभावकी १५ वर्षीया स्कुले छात्रा एडेल आफू बिस्तारै एक पूर्ण महिला हुन थालेको महसुस गर्छे । पहिलो प्रेमको मिठो स्वाद चाख्ने अभिलाषाका साथ ऊ आफ्नै कक्षाको एक जना केटा साथीसँग हिँड्न थाल्छे । तर, अफसोस उसले त्यहाँ कुनै पनि शारीरिक सन्तुष्टिको अनुभूति गर्न सक्दिनँ । ऊ अझै बढी चाहना र सन्तुष्टिको सपना देख्न थाल्छे ।
यस्तैमा एक दिन लेसबियन बारमा उसको भेट कला पढिरहेकी एम्मासँग हुन्छ । उनीहरू साथी बन्छन् र बिस्तारै त्यसभन्दा अझ केही माथि पुग्न थाल्छन । एडेलका सपनामा अब नीलो कपालमा रङ्गिएकी एम्मा अनेक सुन्दर शारीरिक सन्तुष्टि लिएर आउन थाल्छे । उसको अन्तर्मुखी स्वभाव एम्मासामु पूर्णत: हराउन थाल्छ । अन्तत: सम्बन्धलाई अघि बढाउँदै उनीहरू सँगै बस्न थाल्छन् । के यो सम्बन्धबाट एडेलले खोजेको पूर्ण सन्तुष्टि पाउन सकिएला ? के उनीहरूको यो प्रेम घरपरिवार र समाजमा स्वीकार्य होला त ? फिल्म यसै सेरोफेरोमा बनेको छ ।
प्रेम अपरम्पार छ । प्रेमको महिमा अलौकिक छ । जो–कोहीलाई जो–कोहीसँग जतिसुकै बेला पनि प्रेम हुन सक्छ । असली प्रेममा मान्छे स्वतन्त्र हुन्छ, चाहना र सन्तुष्टिको चरम आनन्दमा बिल्कुल मनमगन हुन्छ । र, यो कुनै जरुरी छैन कि प्रेम, सम्बन्ध र सन्तुष्टि केवल विपरीतलिंगीसँग मात्र सम्भव छ । प्रेमसम्बन्ध समलिंगी पनि हुन सक्छ । फिल्ममार्फत केसिसेले प्रेमको यही विराट आयामलाई देखाएका छन् । किशोर प्रेमसम्बन्धी बनेका अन्य धेरै फिल्मभन्दा ‘ब्लू इज द वार्मेस्ट कलर’ केही फरक छ । कतिपयले यसलाई ‘लेसबियन फिल्म’ भने पनि यो मूलत: पहिलो प्रेम, यसले दिने रोमाञ्चकता, नैराश्यता र परमानन्दसँगै यसको स्मृतिले दिलाउने नोस्टाल्जियाको कथा हो । एडेलको जिन्दगीका अनुभूति र घटनाक्रमसँगै केसिसेले हामी सबैलाई हाम्रा प्रेमिल स्‍मृतिको विचरण गराइदिन्छन् ।


फिल्मका विशेष आकर्षण हुन्, यसका दुई अभिनेत्रीहरू एडेल एक्जाकुपोलस र लेया सेडुक्स । यिनको जीवन्त अभिनयले फिल्मलाई निकै भव्य तुल्याएको छ । इतिहासमै पहिलोपल्ट क्यान्स फिल्म फेस्टिभल, २०१३ मा निर्देशक सिसेको र दुई अभिनेत्रीलाई संयुक्त रूपमा पाल्मे’डिओर अवार्ड प्रदान गरियो । अवार्ड प्राप्त गरेसँगै एडेल र लेयाको पर्फमेन्सबारे सबैतिर वाहवाही चल्न पुग्यो । फिल्मको लोभलाग्दो सिनेमाटोग्राफीले सबैलाई चकित पार्छ । करिब १८० मिनेटको फिल्ममा देखाइएको समलिङ्गी यौन सम्बन्धको लङ सट सिनबारे संसारभर अनेक धारणा पाइन्छन् । कतिपयले यसलाई बोरिङ तथा अनैतिक भन्दै यौन चलचित्रकै उपमासमेत दिन भ्याएका छन् भने धेरैले यसलाई स्वाभाविक एवम् कलात्मक संज्ञा दिएका छन् । १० दिन सुट गरेर तयार पारिएको भनिएको उक्त यौन दृश्यबारे बोल्ने क्रममा निर्देशक केसिसेले भनेका छन्—‘मैले दुई महिला पात्रबीचको अन्तरंग सिनमार्फत केही कलात्मक पेन्टिङ एवं प्रतिमा कुद्ने प्रयास गरेको हुँ । सायद म केही हदसम्म सफल भए पनि ।’


फिल्ममा नीलो रङ्गको निकै धेरै प्रयोग गरिएको देखिन्छ । समलिंगी क्लबको लाइटिङदेखि एम्माको कपाल र आँखा हुँदै अन्तिममा एडेलले लगाउने कपडा सबै नीलो रङ्गमा सजिएका छन् । एडेलका लागि नीलो रङ्गले भावनात्मक गहिराइ, उत्सुकता, प्रेम र नैराश्यताको अर्थ राख्छ । धेरै दृश्यमा उसले पाब्लो पिकासोको प्रसंगसमेत झिकेकी हुन्छे जो स्वयम् कुनै बेला अवसादपूर्ण ब्लू पिरियडबाट गुज्रिएका थिए । अब्देलातिफ केसिसेको फिल्म ‘ब्लू इज द वार्मेस्ट कलर’ हाम्रो समयका केही थोरै मास्टरपिसमध्ये पर्छ, जो अद्भुत त छ नै, उत्तिकै सशक्त एवम् कलात्मक पनि ।
–राजन केसी प्रमोद

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?