कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्को स्पर्धा

फुटबल
रुसमा भइरहेको २१ औं विश्वकप फुटबलमा ठूला र साना टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ ।
राजु घिसिङ

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरीयता हेर्ने हो भने २१ औं विश्वकपको सबभन्दा कमजोर टिम आयोजक रुस र साउदी अरेबिया हुनुपर्ने हो । वरीयतामा रुस ७० र साउदी ६७ औं स्थानमा छन् । उस्तै टिम भएकोले यी दुईको खेल प्रतिस्पर्धात्मक वा साँघुरो अन्तरको हार–जित हुनुपर्ने थियो । तर यी दुईको खेल रुसले एकतर्फी रूपमा ५–० ले जित्यो ।

चर्को स्पर्धा

त्यति मात्र कहाँ हो र ? यो विश्वकपमा सहभागीमध्ये सबभन्दा तल्लो वरीयताको रुसले घरेलु भूमिको रवाफ दिंदै इंग्लिस क्लब लिभरपुलका सुपरस्टार मोहमद सलाहको टिम इजिप्टलाई पनि हराएर विश्वकपको अन्तिम १६ को यात्रा पनि सुरक्षित गर्‍यो । प्रतियोगितापूर्व भ्लादिमिर पुटिनको देशलाई समूह चरणबाट माथि उक्लिन नसक्ने टिमको रूपमा लिइएको थियो तर ती अनुमान अहिले गलत सावित भएको छ ।


दुईपल्टको विजेता उरुग्वेले समूहको अन्तिम खेलमा ३–० ले हराएर विश्व राजनीतिमा अमेरिकालाई टकराव दिइरहेको पुटिनको देशलाई फुटबलमा मैदानमा उसको हैसियत भने छर्लंग पारिदियो । लुइस स्वारेज र एडिन्सन कभानीको दक्षिण अमेरिकी टिमले विपक्षीलाई गोलको कुनै अवसर नदिएर समूह ‘ए’ मा तीनै खेल जितेर नकआउट चरणमा पुग्यो । समूह चरणबाटै घर फर्किने निश्चित भएपछि साउदीले सलाहको टिम इजिप्टलाई हरायो । समूह ‘ए’ को यस्ता नतिजाले पनि विश्वकप रोमाञ्चक भइरहेको देखाउँछ ।


विगतमा पनि महारथीहरूलाई कमजोर मानिएका टिमहरूले दु:ख दिने गरेको थियो । त्यसैले विश्वकपमा दुई–चार अनपेक्षित नतिजा आउनु अस्वाभाविक थिएन । पछिल्ला संस्करणहरूमा नसोचिएका नतिजा निस्कने क्रम बढेको छ । सन् १९९८ को च्याम्पियन फ्रान्सलाई २००२ मा पहिलोपल्ट विश्वकप खेलेको सेनेगलले समूह चरणबाटै घर फर्काइदिएको थियो । विश्वकप २००२ को विजेता ब्राजिल त्यसको चार वर्षपछि क्वाटरफाइनल पुगेको थियो । तर, च्याम्पियनहरू इटाली (२००६) र स्पेन (२०१०) भने उपाधि रक्षाको अभियानमा समूह चरणबाट उक्लिन सकेका थिएनन् । यसपालि जर्मनीको नियति पनि त्यस्तै रह्यो ।


डिफेन्डिङ च्याम्पियन जर्मनीको रुसको यात्राको तयारी खासै राम्रो थिएन । मैत्रीपूर्ण खेलहरूमा जोचिम लोको टिमको प्रदर्शन फितलो नै थियो । वरीयताको नम्बर १ मा रहेको जर्मन विशेषता भनेकै प्रतियोगितामा सानदार खेल देखाउने हो । गत वर्ष दोस्रो रोजाइको टिम लिएर पनि उसले कन्फेडेरेसन्स कपको उपाधि जितेको थियो । त्यसैले विश्वकपमा जर्मनीले राम्रो गर्छ भन्ने अनुमान गरिएको थियो । तर पूर्वी युरोपमा पहिलोपल्ट आयोजित विश्वकपमा त्यस्तो भएन ।


जर्मनीलाई पहिलो खेलमै मेक्सिकोले हरायो । दोस्रो खेलमा मार्को रिउसको सहयोगमा अन्तिम क्षणमा टोनी क्रुजले लोभलाग्दो गोल गरेर स्वीडेनविरुद्ध जिताएर जर्मनीको उपाधि जोगाउने आशा कायमै राखेका थिए । तर, समूहको अन्तिम खेलमा दक्षिण कोरियाले जर्मनीलाई २–० ले स्तब्ध पारिदियो । जर्मनीलाई नकआउटमा पुग्न जित्नैपर्ने खेलमा कोरियाले इतिहास रचिदियो । समूहको अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई परािजत गरेपछि अन्तिम १६ मा पुग्ने कोरियाको ढोका पनि बन्द भयो ।


इटालीले लगातार दुईपल्ट (सन् १९३४ र १९३८) मा विश्वकप जितेको थियो । पेलेको युगमा ब्राजिल १९५८ र १९६२ मा विश्व विजेता बनेको थियो । अरू टिमले फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको उपाधि रक्षा गर्न सकेको छैन । तर, जर्मनी विश्व फुटबलमा सदावहार शक्ति मानिन्छ । उसले १९५४ देखिका १६ संस्करणमध्ये आठमा फाइनल खेलेको छ । सन् १९३८ को विश्वकप नकआउटको आधारमा भएको थियो । त्यसको पहिलो खेलमै जर्मनीलाई स्विटजरल्यान्डले सिकार बनाएको थियो । त्यसयता जर्मन टिम विश्वकपको पहिलो चरणबाटै बाहिरिएको यसैपालि हो ।


हुन त डिफेन्डिङ च्याम्पियनको रूपमा प्रतियोगिता सुरु गरेका इटाली १९५०, ब्राजिल १९६६, फ्रान्स २००२, इटाली २०१० र स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएका थिए ।
विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाँचपल्ट जितेका लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई समूह चरण पार गर्न भाग्यको साथ नै आवश्यक पर्‍यो । पहिलो खेलमा विश्वकपमा डेब्यु गरेको आइसल्यान्डसँग बराबरी खेलेको उसलाई दोस्रोमा क्रोएसियाले ३–० ले हराएको थियो । ल्युका मोडरिच र राकिटिचको टिमविरुद्ध मेसीसहित अर्जेन्टिनी खेलाडी मैदानमा उभिएजस्तो मात्र देखिएको थियो । त्यो उनीहरूको आन्तरिक समस्याको उपज हुन सक्छ तर यति ठूलो अन्तरको नतिजा कल्पनाबाहिरकै थियो । त्यसैले नाइजेरियाविरुद्ध डिफेन्डर मार्कोस रोहोले ८६ औं मिनेटमा निर्णायक गोल गर्दा अर्जेन्टिनी टिमले उपाधि नै जितजस्तो खुसियाली मनाएका थिए । समूह ‘डी’ को अर्को खेलमा पहिलो रोजाईका नौ खेलाडीलाई आराम दिएर पनि क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेर पनि नकआउटमा पुग्ने अर्जेन्टिनाको बाटो सजिलो बनाइदिएको थियो ।


नेयमरको पुनरागमन र उत्कृष्ट खेलाडीहरूको सम्मिश्रणले पाँचपल्टको च्याम्पियन ब्राजिलले यसपालि विश्वकप जित्ने अनुमान गरिएको थियो । तर, उसको प्रदर्शन त्यस्तो उत्कृष्ट छैन । पहिलो खेलमा स्विटजरल्यान्डसँग बारबरी गरेको ब्राजिलले कोस्टारिका र सर्वियाविरुद्ध ३–३ अंक जोड्दा पनि पूर्णत: लय समात्न सकेको छैन । तर विस्तारै लयमा फर्किएको संकेत भने दिएको छ ।


खेलाडीको व्यक्तिगत कौशल हेर्ने हो भने फ्रान्स, बेल्जियम र स्पेन उत्कृष्ट टिम हुन् । फ्रान्सले समूहमा पहिलो हुनलाई पनि डेनमार्कसँग दबाबमा खेल्नुपर्‍यो । पउल पोग्बाको टिमलाई ३६ वर्षपछि विश्वकपमा फर्किएको पेरुलाई हराउन पनि हम्मेहम्मे परेको थियो । बेल्जियमले दुई खेलमा आठ गोल गरे पनि उसको डिफेन्स खुकुलो देखिएको छ । इस्को, डिएगो कोस्टाप्रेरित स्पेनले पनि मोरक्कोसँग अंक बाँड्नुपर्‍यो । सुपरस्टार क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई समूहको अन्तिम खेलमा इरानविरुद्ध हार टार्न गाह्रो परेको थियो । मेसी र रोनाल्डो पेनाल्टीमा चुक्दा पनि ठूला टिम कति दबाबमा थिए भन्ने अनुमान गर्न सकिन्छ । क्रोएसियाले लोभलाग्दो फुटबल खेलिरहेको छ । इंग्ल्यान्डको युवा टिम पनि सुरुका दुई खेलमा राम्रै लयमा देखियो । स्वीडेन अपत्यारिलो तवरले समूह ‘एफ’ विजेता भयो । सबभन्दा कमजोर उत्तर तथा मध्यअमेरिकी क्षत्रेको टिम पनामा देखियो । उसलाई इंग्ल्यान्डले टेनिस स्कोर (६–१) मा हराएको थियो । त्यसअघि उसले बेल्जियमसँग ३–१ को हार बेहोरेको थियो । कुनै न कुनै अफ्रिकी टिमले विश्वकपमा तहल्का मच्चाउने गरेका थिए । तर, यसपालि बुधबारसम्म त्यस्तो टिम देखिएन ।


विश्व फुटबलमा एसियालाई सबभन्दा कमजोर महादेश मािनन्छ । तर यसपालि अस्ट्रेलियाबाहेकका एसियाली टिमहरू इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबियाले कम्तीमा एक जित हात पारे । विश्वकै एक उत्कृष्ट फरवार्ड रोबर्ट लेवन्डोब्स्कीको टिम पोल्यान्डको एक खेलअघि नै समूह चरणबाट घर फर्किने टुंगो लागेको थियो । त्यसैले फुटबलमा ठूला टिम र साना टिमबीचको दूरी घट्दै गएको छ ।


विश्वकपमा सहभागी ३२ टिममध्ये धेरै देश यस्ता देखिएका छन् कि प्रतिस्पर्धामा जसले जसलाई पनि पारजित गर्न सक्छन् । त्यसैले ठूलो लगानी, तीव्र विकास, प्रविधिको उपयोगसँगै फुटबलमा आएको परिवर्तनले विश्वकपलाई थप रोमाञ्चक बनाएको छ । पहिलोजस्तो ठूलो टिमले सजिलै खेल जित्ने अनुमान अब गलत सावित हुन थालेको छ । चारपल्टको विश्वविजेता इटाली, अर्को बलियो टिम नेदरल्यान्ड्स, कन्काकाफ गोल्डकप विजेता अमेरिका, दक्षिण अमेरिकी च्याम्पियन चिली, अफ्रिका कप अफ नेसन्सको विजेता क्यामरुन विश्वकपको छनोटमै रोकिनुले पनि फुटबलमा प्रतिस्पर्धा बढेको देखाउँछ ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?