कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

त्यो १५ असार

संस्कृति
असार १५ मा दही–चिउरा खानैपर्छ भन्ने संस्कार विकास भइसकेको छ । यही भएर सहर–बजारमा समेत दही–चिउरा जोहो गरेर खाने गरिन्छ । सरकारले असार १५ लाई ‘धान दिवस’ का रूपमा समेत मनाउन थालेपछि पर्वकै रूपमा रौनक बढ्दै छ ।
रामकृष्ण भण्डारी

काठमाडौँ — असार १५ का कुराहरू आज कथाझैं बनेका छन् । सहर पसेपछि पनि केही वर्षसम्म म असार १५ ताकमै गाउँ पुग्ने गर्थें तर अचेल भने काठमाडौंमै खुम्चिएको छु । हिजोआज त धानखेतमा कृषिमन्त्रीको चर्तिकला हेरर अथवा सिंहदरबारभित्र गमलामा धान रोपेरै यो उत्सव मनाउन थालिएको छ ।

त्यो १५ असार

त्यो बेला गाउँको असार १५ सम्झेर अहिले पनि मन फुरुङ्ग हुन्छ । ती दिन कम रोचक थिएनन् । असारमा स्कुल पनि बिदा हुन्थ्यो, एकमहिने बर्खे बिदा । एकातिर खोला बढेर स्कुल जान नसकिने अर्कातिर कामको चटारो । यसकारण बर्खे बिदाले खेती किसानीलाई निकै सघाउँथ्यो । हामीलाई लाग्थ्यो— रोपाइँ गर्न र कोदो रोप्न छुट्टी दिएका होलान् । बूढापाकाहरू भन्थे— लासलाई एक छिन दलानमा राखेर भए पनि असारे भेल छोप्नुपर्छ, नत्र वर्षभरि भात खान पाइन्न ।

असारको महत्त्व सानैदेखि थाहा पाउँथ्यौं हामीले । तर ‘मौसमी खेती’ मा भर पर्ने भएकाले सधै १५ असारमै धान रोप्न पाइन्थेन । पानी छिटो परे रोपाइँ अघि सर्ने र ढिला भए असार अन्तिम सातासम्म कुर्नुपर्ने भएकाले सधैंजसो बादल हेरेर कुलो सफा गर्नुपथ्र्यो । त्यो एउटा वर्ष भने समयमै पानी पर्‍यो । अनि ठ्याक्कै असार १५ का दिन खेत रोप्ने तयारी भयो । बुवाले अघिल्लै दिन १४ गते जोत्ने हली र आली लगाउन ठेँगार (बाउसे) खोज्नुभयो । गोरु घरमै थिए । आमा रोपाहारको खोजीमा निस्कनुभो । साँझपख रेडियोले प्रजातन्त्र, अन्तरिम सरकार र निर्वाचनका धेरै समाचार भन्यो । त्यसमा भन्दा ‘आजको मौसम’ मा के भन्ला भन्ने सबैको अड्कल थियो । सुखद कुरा, समाचार अन्त्यमा देशभरि मौसम बदली भई पानी पर्ने रेडियोले बतायो । त्यसैमा हामी खुसीले नाच्यौं ।


२०४७ असार १५ को त्यो दिन । बिहानै बुवा र म खोलामा गएर कुलो मिलाउँदै खेतसम्म आइपुग्यौं । केही बेरमा खलेगरोमा दुई हल गोरु नारिए । घरबाट टाढा हुनेले खेतमै खलो बनाएर धान स्याहार्ने तरतिब मिलाउँथे । त्यसलाई खलेगरो भनिन्थ्यो । ठेँगारहरूले आली लगाउने र छेउकुना खन्ने काम थाले । हामी केटाकेटीको काम भने कि बीउ पुर्‍याइदिने कि पानी डोल्याउने काम हुन्थ्यो । अनि हलीलाई खुसी पार्न सके खेत सम्याउने बेला खोकमा बस्नसमेत पाइन्थ्यो । पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले सामाजिक एकता गज्जबकै लाग्थ्यो । अझ कतै ठूला खेतीवालले रोपाइँ गर्दा बेठी लगाउने र पञ्चेबाजा बजाएर धुमधामका साथ रोपाइँमा नाचगान गर्ने, भोज खुवाउने चलन हुन्थ्यो । असार र रोपाइँका कथा सुनेर हामी दंग पथ्र्यौं ।


वारिपारि तलमाथि सबैतिर सबैलाई रोपाइँकै चटारो देखिन्थ्यो । धान रोप्ने रोपाहारमा छिमेकी वा आफन्त महिला मात्रै हुन्थे । कसैले ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो मिलाउन ब्यस्त । मुख्य खेती भएकाले होला— धान रोप्दा धेरै प्रक्रिया पुर्‍याइन्थ्यो । एउटा गरो हिल्याइसकेपछि रोप्न सुरु हुनुअघि आमाले खलेगरो बीच पारेर एक मुठो बीउ र पातीका दुईवटा हाँगा गाड्नुभयो । त्यसमा रातो र सेता धजा बाँधेर पूजा गर्नुभयो । अनि देवतालाई बीउ चढाउँदै भन्नुभयो, ‘हे परमेश्वर, धान राम्रो होस्, रोग नलागोस् । मानोको
मुरी फलोस् ।’


आमाले प्रकृतिको पूजाआजा गर्दै रोपाइँ श्रीगणेश गरेपछि दिदीबैनी र छिमेकी भाउजूहरूले रोप्न थाल्नुभयो । अनि सुरु भयो बाआली अर्थात् असारे गीत—
असारे मासको दबदबे हिलो छि: मलाई घिन लाग्यो ।
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो ।
असारलाई भनी कुटेको च्युरा म कति साँचुँला
सौताका हात दुई कुड्की भात म कति बाँचँुला ।
महिलाहरूले गाउने असारे गीतमा पुरुष ठेँगारहरूले लय छोप्थे । कस्तो अचम्म, असारे भाकाले थकित वातावरणलाई आनन्दमयी बनाइदिन्छ । पानी कम लाग्ने टारी खेतमा मार्सी धान रोपिन्थ्यो तर हाम्रोमा पोखरेली, थापाचिना, वासमती जातका धान हुन्थे । गुन्द्री बुन्न लामो पराल हुने भएकाले पोखरेली र भात खान बासमती रोजाइमा पर्ने गर्थे ।
मध्यदिनमा कामले लखतरान परेका बेला आली डिलमा बसेर दिउँसोको अर्नी (खान्की) खाने प्रचलन पनि कम्ती रमाइलो हुन्न । गोरुलाई मकैका डाँठ कान्लामा राखिदिएर दही–चिउरा खाँदा मनै आनन्द हुने । त्यसबाहेक घीउ राखेर भुटेको चामलको पिठो (चाम्रे) र अचारका रूपमा भुटेर पिसेको तोरी, फर्सीका बियाँ, मसला, भाँगोमा नुन, खुर्सानी राखेर तेलमा भुटेपछि चुक राखेर बनाएको कालो नुन अर्थात् छोप खाँदाको स्वाद भुलिनसक्नु ।


पछिल्ला वर्षमा असार १५ मा दही–चिउरा खानैपर्छ भन्ने संस्कार विकास भइसकेको छ । यही भएर सहर–बजारमा समेत दही–चिउरा जोहो गरेर खाने गरिन्छ । सरकारले असार १५ लाई ‘धान दिवस’ का रूपमा समेत मनाउन थालेपछि पर्वकै रूपमा रौनक बढ्दै छ । तर, त्यो बेला गाउँमा दही–चिउरा खाने चलन भए पनि अहिलेजस्तो थिएन । अलिक पढे–गुनेपछि पो थाहा भो— दहीमा कार्बोहाइड्रेट, चिनी र बोसोको मात्रा कम हुने भएकाले धेरै आलस्य गराउँदैन, काम गर्नमा स्फूर्ति कायमैं रहन्छ ।


दिउँसोको खाजा खाएपछि फेरि रोपाइँ सुरु भयो । कुलो र खेतका गरा–आलीबाट झरेको पानीको छङछङ आवाजसँगै ठेँगार र रोपारहरू एक–अर्कामा हिलो छ्यापाछ्याप गरिरहेका थिए । दिन घर्किंदै गए पनि सबै आफ्नै काममा जोतिएकै थिए । म भने हली दाइलाई फकाएर खोक (पटाहा) मा चढेँ । साँझ मेलो सकेपछि बल्ल आमासँग घर फर्कें ।
यसरी कैयौं वर्ष असारे चटारो र खोकसँग पौंठेजोरी खेल्दै हुर्केकाले होला— असार १५ भन्नेबित्तिकै खेत र खोक अनि दही–चिउरा सम्झन्छु । बाँसको चोयाले बुनेर भित्र भोर्लाका पात राखेर तयार पारिएको सेउँ पानीबाट बच्ने घरेलु छाता (घुम) को याद पनि उस्तै छ । यसरी रोपेको धान कात्तिक/मंसिरमा स्याहारेपछिको हुने कमाइ र जोहोले उच्च शिक्षा पढाउन बामाआले हामीलाई सहर पठाउनुभएको थियो । त्यो धानखेती, दही–चिउरा, बाउसेसँग हामी धेरै गाउँलेको जीवन र भविष्य यसरी पनि जोडिएको थियो— असार १५ सम्झँदा यस्तै लाग्छ ।


तर, यी कुरा आज कथा बन्दै गए । सहर पसेपछि पनि केही वर्षसम्म म असार १५ ताकमै धान रोप्न गुल्मी पुग्ने गर्थें तर अचेल भने काठमाडौंमै खुम्चिएको छु । अझ हिजोआज त असार १५ का अवसरमा धानखेतमा कृषिमन्त्रीको चर्तिकला हेरेर अथवा सिंहदरबारभित्र गमलामा धान रोपेरै यो उत्सव मनाउन थालिएको छ ।
[email protected]

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?