१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यसपालि त मनै फाट्यो...

स्मृति
राजेन्द्र थापा

काठमाडौँ — एउटा यस्तो गीत जसलाई संगीतकार अम्बर गुरुङले एकै निमेषमा संगीत भरेका थिए, गायिका अरुणा लामाले आफूले गाउनैपर्ने गीत भनेर जिद्दी गरिरहिन् । गीत रेकर्ड गर्दा अम्बरको सर्त थियो– अरुणा, यो गीत गाउँदा ता स्टुडियोमा रुन पाउँदिनस् । यदि रोइस् भने तैंले यो गीत गाउन पाउँदैनस् ।

यसपालि त मनै फाट्यो...

रचना भएको दिनको हिसाबले भानु जयन्तीको ठीक एक दिनअघि यही असार २८ गते पैंतालीस वर्ष टेकेको एउटा गीतको नालीबेली भन्ने प्रयत्नमा छु यतिखेर । एउटा आधुनिक गीत जो झन्डै लोकगीत बनेको छ, यसबारे लेख्दै छु ।


अरुणा लामाले पति वियोगको कथा सुनाएपछि त्यही भावमा ‘राजेन्द्रले लेखेको’ भन्ने कथा व्याप्त भए पनि यो सत्य होइन । यो गीतमा ‘माया’ शब्द भए पनि यो माया जता पनि फिट हुने शब्द–अर्थ हो । चाहे राजनीतिक विपत् होस् अथवा जिन्दगीको आपत् † सदनमा उभिएर प्रधानमन्त्री यही गीतको माध्यमबाट राजीनामा दिनुको कारण बताउँछन्, एमाले फुट्दा अखबारको हेडलाइन हुन्छ— यसपालि त मनै फाट्यो । भुइँचालो या अन्य हरपीडामा पनि यही शीर्षक । तर संजोग, यो लेखिनु ६७ दिनअघि मात्र शरण प्रधानको मृत्यु भएको सत्य केही महिनाअघि मात्रै मैले थाहा पाएँ ।


रचना गर्भ
चौध वर्षमै कवितामा रजत पदक प्राप्त तथा १८ वर्षमै स्थापित हिट गीतकार र सेनाका लप्टनसमेत भइसकेको काठमाडांैको उच्च मध्यमवर्गको व्यक्ति थिएँ म । एकातर्फ महत्त्वाकांक्षाहीन मनस्थिति र व्यक्तित्वको विकास भए पनि मनमा सदैव एउटा प्रश्न उठेर दु:ख दिइरहन्थ्यो । जीवन, सफलता, कर्म, पद, धर्म सबै ‘निस्सार’ लाग्थ्यो । आफ्नै जीवनदेखि ब्रह्माण्डसम्म सबै अन्त्य हुन्छ भने ‘अन्त्य हुने कुरालाई नै अघि बढाउन’ किन हामी प्रयत्न गरिरहेका छौं त (?) भन्ने लागिरहन्थ्यो ।


यस्ता सम्यक् तर्कनाले विह्वल बनेपछि निकै अशान्त मनस्थितिमा मैले करिब एक महिनाको बिदा लिएँ र भर्खर बनेको राजमार्गबाट विराटनगर, धरान, धनकुटा भौतारिंदै इलाम लागेको थिएँ— एकदमै निरुद्देश्य । बिर्तामोडबाट सीधा उत्तर सोक्तिम लाग्यो जिप । तराई सकिएपछि जिप चुरेको ठाडो उकालो चढ्यो । मट्टीतेलका टिनहरू, चिनी र मसला तथा चुरोट, सलाई, साबुन आदिका बोरा र टिनहरू टन्न जिपमा । हामी १२/१३ जना थियौं सायद । कच्ची ढुंगे ठाडो उकालोमा हामी यात्रुहरू हातले डन्डी समातेको भरमा झुन्डिँदै उफ्रिँदै पिरो–कालो धूवाँ–धूलोमा रङमङिँदै असहनीय अवस्थामा थियौं, सोक्तिम पुगेर गाडी अड्यो । गाडी हामीभन्दा पनि बढी पीडित थियो । इन्जिन तातेर पानी भुकभुक उम्लेकाले खलासी फुच्चेले भन्यो— गाडी नसेलाएसम्म बस्नुस् । सोक्तिमको डाँडो, चिसो हावा, सुन्दरतम वातावरण † तनको थकाइ सुस्तिए, यात्राका पीडा भुलिए, घण्टौं झुन्डेर झर्नै लागेका हातको दु:खाइ निको भयो । अचानक कुरो खेल्यो मनले, ‘ए अघिको त्यो दु:ख साँच्चिकै हराएको कि हराएजस्तो अनुभूत भएको ? कसरी अनुभूत भयो त ? शरीरको दु:ख त त्यहीं छ नि ।’ आपैंmबाट जवाफ आयो, ‘दु:ख हराएको हैन, मनले त्यो दु:ख टालेको मात्र हो ।’


ओहो, अचानक मस्तिष्कमा भुइँचालो हल्लियो । हो त नि, यही मन भएकैले त मानव जात जीवित रहेको हो नि । पशुभैंm हामी पनि आहार, विहार र मैथुनमा अडेका हौं । परन्तु हामीमा अर्को कुरा बढी छ, विचार । हो, यही विचारले गर्दा हामी बढी सोच्छौं, सोचेकैले घोच्छ, सवालहरू उठ्छन् । व्यथा र वेदनाहरू उत्पन्न हुन्छन् र नैराश्यले छोप्छ । त्यो तत्त्वचेतना हो । यही चेतनाले हामीलाई बढी निराश बनाउँछ, हामी मर्न खोज्छौं, प्रियजनको चितामा हाम फाल्न खोज्छौं, परन्तु यही चेतनासँगै प्रकृतिले मानवसित मन पनि विकास गरेको रहेछ । यही मनले सम्झाउँछ— जिन्दगी यस्तै हो, जे हुनु भइसक्यो, गएको फर्काउन सकिन्न । अगाडिलाई भने सच्याउन सकिन्छ । जबसम्म छांै, तबसम्म छौं, नभएपछि सकियो । ओहो गजब, यो मन † फेरि प्रश्न उठ्यो । ‘यदि यो मन नभइदिएको भए, मान्छेसित ?’ उत्तर आयो, ‘सायद हरेक दु:खमा मान्छे आत्मघात गरेर मर्थे होलान् । प्रकृतिले अँध्यारोसँग उज्यालो, गुलियोसँग तीतो, जीवनसँग मृत्यु र मान्छेको चेतनासँग मन आदि संयुक्त रूपमा विकास गरेको रहेछ । अनि हामी पो खाली कालो पक्षलाई मात्र सोच्ने रहेछौं ।’


अनि यही भाव गीतमा उब्जन थाल्यो एकाएक । यसलाई गद्य कवितामा त लेखिन सहज थियो । तर, गीतमा भने यस्तो कडा कुरा कसरी लेख्ने ? उपाय आयो, यदि यो मन नभइदिएको भए ? अहा † बाटो खुल्यो । अनि गीति प्रविधिमा कवितालाई ढालें । यदि यो मन फाटे ? यो विम्ब प्रभावशाली हुने सोचें । टिनको थुप्रो र पोकापोकीबीच झोलाबाट कागत कलम झिक्ने कुरा भएन । सुत्केरी मन † यो बुद्धत्वको जन्म रोक्ने कुरा पनि भएन । कसैसँग कागत–कलम रहेन । फूलमार चुरोटको बट्टा एक यात्रुले फाले । त्यहीं टिपें । बच्चा पाउने व्यथाले पागल भइसकेको थिएँ । खलासीले सिसाकलम दियो, टुप्पो नभएको । दाँतले टोकें र लेखें हतारहतार... । गजलजस्तै उत्सुकता जगाउँदै अघि बढ्ने शैलीमा लेखें । त्यसबेला न त गाउँले कुराकानीको भाषाशैलीमा, न त तीन पंक्तिमा गीत लेखिन्थ्यो । तर, यो लेखियो । जवाफ पाएँ । जवाफलाई प्रश्नमा राखें । पहिलो दुईमा मनको शक्ति परिभाषित गरें । अनि अन्तमा झट्का दिएँ— यदि यो सम्झाउने मन मान्छेमा नभएको भए ? अर्थात् सम्झाउने मनै फाटेपछि...

पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें
तेही साल माया फाट्यो तेस्लाई पनि मनले टालें
यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने (हो)
(२०३१ असार २८)

केही महिनापछि राजाका सवारीमा पोखरामा अरू चार अन्तरा लेखें र गीत पूरा गरें ।

आँसु झारी कोही रुन्छन् वेदनालाई धोएँ भन्छन्
धुँदाधुँदै मन फाटी आँखाभरि रोएँ भन्छन्
आँखाभरि रोएँ भन्छन् मुटुभरि रोएँ भन्छन्
आँखा फाटे सिउँथें बरु तर मन सिउने केले ?
(नसमेटिएको, २०३१ कात्तिक ८, पोखरा)
ऽऽऽ

सुख के हो ? दु:ख के हो ? मनले खोज्ने खुसी के हो ?
भावीले निधारमा कर्म लेख्ने (लेखिदिने) मसी के हो ?
कर्म लेख्ने मसी के हो ? भाग्य तोक्ने कसी के हो ?
कर्म फुटे जोड्थें बरु तर मन जोड्ने केले (हो) ?
(समाविष्ट, २०३१ कात्तिक ८, पोखरा)
ऽऽऽ

सास फेरेंजस्तो लाग्छ तर भन्छन् मरिसकिस्
तेरो भाग (भाग्य) यत्ति नै हो भोगचलन गरिसकिस्
सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउँथें बरु तर मन सिउने केले (हो) ?
(समाविष्ट, २०३१ मंसिर ८ फेवाताल)

यसरी सलहको विम्ब मध्यमवर्गलाई गरेको थिएँ । ठूलो संख्यामा हुन्छ, सलहभैंm । उच्च वर्गसँग ‘भाग’ माग्छ । उच्च वर्गले तेरो भाग पाइसकिस् भन्छ । सलहझैं को मर्छ को बाँच्छ, थाहा नभए पनि । परन्तु, गाइँदा भागलाई हिन्दी भाग सम्झेर भाग्य गाइएछ ।

लुछिएको थिचिएको थिलोथिलो मान्छे म है
रगतपच्छे भई भई बाँच्न खोज्ने कस्तो म है
निष्कासित जीवनलाई सिकायतको हकै हुन्न
जीवन फाटे सिउँथें बरु तर मन सिउने केले ?
(समाविष्ट नभएको, २०३१ मंसिर ८ फेवाताल)
***

पोखरा रत्न मन्दिरमा ३१ साल असोजतिर सांस्कृतिक कार्यक्रममा आउनुभएका अम्बर गुरुङ दाजुसँग मेरो पहिलो भेट भयो । परिचय दिएपछि चिन्नुभयो, मेरा गीत र कविताहरू पढ्नुभएको रहेछ । ‘काठमाडौंमा भेटम् न’ भन्दै ठेगाना दिनुभयो ।


काठमाडांैमा पछि भेटें तर गीतको संजोग भने तत्काल जुरेन । ३३ सालतिर एकदुई दिनका लागि अमलेखगन्जबाट काठमाडांै आएको बेला अम्बर दाजुले खोजेकोबारे खबर पाएँ र गीत लिएर रेडियो पुगें । हरिभक्त कटुवालको पहिलो गीत ‘पोखिएर घामको झुल्का’ को रेकर्ड हुँदै रहेछ, पहिलोपटक अम्बर–नारायण सहकार्यमा । रेकर्ड सकेर ढोकामै भेट भयो, अम्बर दाजुसँग । गीत सुनाउनु भन्नुभयो । अम्बर दाइका पछाडिबाट नारायण दाइ पनि सुनिरहेका थिए । फेरि सुनाऊ भनियो, फेरि सुनाएँ । हातमा गीतको कागत लिए, केही नभनी फटाफट हिंडे अम्बर त । पछिपछि लम्के नारायण पनि— ए अम्बरजी ए अम्बरजी भन्दै । केही हप्तापछि फेरि पुगें, दाइका डेरामा । दुवैलाई गीतले घोचिसकेको रहेछ, त्यहीं ढोकैमा । मैले वाचन गर्दागर्दै एक धुन समातिएछ, आफसेआफ, अनि हिंड्या रैछन् बूढा त । पछि पनि २०/२२ वटा लय सोचे पनि सुरुमा आएकै मन परेको रहेछ । नारायणगोपालले पनि यो गीत आफूले गाउने भनेका रे ।


त्यसपछि म भारत गएँ तालिममा । यता अरुणा लामाले गाउनुभएछ । गीत भाइरल बनेछ । ३३ सालको संजोग एकेडेमीमा पनि कवितामा रजत पदक पाएछु । परन्तु आफू पर कतै, दस महिनासम्म ।


पछि दाइले भन्नुभएको कथा यसप्रकार छ :
‘भाइ, अचानक अरुणा आइपुगिछ । शरणलाई सम्झेर मेरोसामु धेरै रोई । भनी— दाइ, गीत गाउनै छोडें, शरण गएपछि । उसको मुड ल्याउन मैले ल यो गीत सुन्, मनको बाँध फुटेर हलुका होला भनें । सुनेपछि अरुणाको आवाजै निस्केन, ‘बेसुध’ जस्तो भई । यो गीत गाउँछु भनेर कराई । यो गीत तँलाइं दिनै सक्दिनँ भनें । भोलिपल्ट बिहानै अँधेरैमै अरुणा आएर जिद्दी गरी । फेरि गीत सुनाउन लगाई, फेरि रोई । भाउजूलाई पावर लाई । मनमा लाग्यो, कतै यही गीतबाट यसले पुनर्जीवन पाउँछे कि ? यसको मनले नयाँ बाटो लिन्छ कि ? अन्तमा सर्त राखें, अरुणा, यो गीत गाउँदा तँ स्टुडियोमा रुन पाउँदिनस् । यदि रोइस् भने तैंले यो गीत गाउन पाउँदैनस् । नभन्दै भोलिपल्टै अरुणाले एक थोपा आँसु नझारी यो गीत गाई, बरु मलाई रुवाई, संसारभरका नेपालीलाई रुवाई, तेल्ले ।’


बादकहरू भने कोही नआएकाले क्यान्सिल गर्ने बेला त्यसबेलाका सर्वोत्कृष्ट भायोलिनवादक मदन परियार आइपुगेकाले मदनले भायोलिन, अर्का मेन्डोलिनका जादुगर सीके रसाइली, अम्बरपुत्र किशोर गुरुङले गिटार, एक तवलावादक तथा स्वयं अम्बर दाइले हारबिन बजाएर हतारहतार रेकर्ड भएछ । नारायण दाइले गाउने सहमति भए पनि आसामकी गायिका अञ्जुदेवी गोठेलाई पनि अभ्यास गराइरहनुभएको थियो रे । परन्तु गीतको भाग्य अरुणाले गाउनु कि अरुणाको भाग्य यो गीत गाउनु ? आफ्ना पतिबाहेक कसैको गीत नगाइरहेकी अरुणा लामाले पतिको मृत्युपछि घरसमस्यामा जेलिएपछि गायन त्याग्नु र अचानक निजी कामले काठमाडौं आइपुग्नु र यो गाउने जिद्दी गर्नु र गाउनु तथा त्यसैपश्चात् नारायणगोपाल, नातिकाजीलगायतको संगीतसहित नेपालका अन्य गीतकार र संगीतकारसँग थुप्रै गीतहरू गाएर कहिले नमर्ने ख्याति प्राप्त गायिकाका रूपमा अंकित हुनु पनि संजोग कि भाग्यको खेल ?
***

तैपनि अरुणासँग मेरो त भेट भएको थिएन । एक वर्षपछि म बसेको ब्यारेकको पर्खाल उतातिर खेलकुदको अफिसअगाडि १२ बजेको घाममा भेटें, नमस्कार गर्दै भनें, ‘दिदी म राजेन्द्र थापा ।’ ‘ए, अँ अँ’ भन्नुभयो । बाल दिनुभएन । फेरि भनें, ‘दिदी त्यो पोहोर साल खुसी फाट्दा गीत लेखेको मैले ।’


दिदी हाँस्नुभो, तलदेखि माथिसम्म हेर्नुभयो, नपत्याएको देखियो, सोध्नुभयो, ‘साँच्चै हो भाइ नै राजेन्द्र थापा ?’


मैले ‘मै हुँ’ भनेर विश्वास दिलाएपछि भन्नुभयो, ‘मैले त यो गीत लेख्ने मान्छे हरिभक्त दाजुजस्तो बूढो, विक्षिप्त, मैलो, थकित मान्छेको पो कल्पना गरेको गीत सुन्दा र गाउँदा । भाइ त बम्बईको सिनेमा हिरोजस्तो भर्खरको कलिलो ह्यान्डसम... ।’


पछि हामी दिदीभाइ सहोदरभैंm बन्न पुग्यौं । संजोगले धेरै वर्षपछि दिदीको अन्तिम गीत बन्न पुगेको मेरो गीत ‘यो मन त तलाऊ हो’ रेकर्डिङमा मनै फाट्यो कालको कप्तानबाट फूल कर्णेल भइसकेकाले म आपैंm हाँकेर हरियो मारुतीमा दिदीलाई स्टुडियो लगिरहेको थिएँ । लैजाँदै गर्दा दिदीले भन्नुभयो, “मेरो गीतलाई फेभरेट मान्ने धेरै छन् तर मेरो फेभरेट भने प्रेमध्वज दाइले गाउनुभएको । जुन गीत सुन्दा भिनाजुको यादले विह्वल हुन्छु, ‘पर लैजाऊ फूलहरू...’ । तर, रचनाकार को, थाहा छैन ।”


मैले भन्नैपर्‍यो, ‘रचनाकार मै हुँ दिदी’ । त्यसको केही मासपछि दिदी स्वयं भिनाजुलाई भेट्न जानुभयो । सायद त्यहाँ दिदीको मन पनि फाट्दैन होला । दिदीले भन्नु पनि पर्दैन होला, ‘पर लैजाऊ फूलहरू, छोपिदेऊ ताराजून, बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चीजहरू... ।’
[email protected]

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?