कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अम्बरलाई किन सम्झने ?

योगदान
सुसन मास्के

काठमाडौँ — अम्बर गुरुङका थुप्रै गीतसंगीत नोटेसनमा छन्, रेकर्डमा आएका छैनन् । यी सिर्जनालाई संरक्षण, कदर र स्थान दिन एउटा यस्तो अम्बर स्मृति घर बनोस् जहाँ अम्बर गुरुङको कला–सिर्जना बाँचिरहोस्, जहाँको सिर्जनशील ऊर्जाले आगामी पुस्ताका नेपाली सङ्गीत उपासकका लागि मार्गदर्शक गरोस् ।

अम्बरलाई किन सम्झने ?

एउटा नेपाली शब्द । कम्प्युटरको पर्दामा टाइप भएको छ । रोमनमा । गुगल सर्च अनि इन्टर । मैले खोजेको त्यो रोमन नेपाली शब्द कम्प्युटरको पर्दामा अनुवादित भएको छ । डेथ एनिभर्सरी भनेर । डेथ एनिभर्सरी अर्थात् मरण वर्षोत्सव अथवा मृत्युको जन्मदिन ? कि मृत्योत्सव ...अनि यस्तै भावसित मिल्दोजुल्दो केही नेपाली शब्दहरू मेरो मनभित्र उल्था हुन थालेको छ ।
हाम्रो पुण्यतिथिलाई पश्चिमाहरूले डेथ एनिभर्सरी भने पनि हाम्रो शब्दकोशको पुण्यतिथि कैयौं अधिक ओजपूर्ण लाग्यो मलाई । मनुष्यले भौतिक शरीरलाई छाडेर गएको दिनलाई पुण्यतिथि भनिनुजस्तो अधिक सम्मानजनक अनि अर्थपूर्ण अरू कुनै शब्द हुनै सक्दैन ।
अम्बर सर पनि अनन्तसत्तामा विलीन हुनुभएको आज ठीक दुई वर्ष भएको छ । सरको भौतिक शरीर छैन तर उहाँका सिर्जनाहरू हाम्रो वरपर जीवन्त छन् । राष्ट्रिय गीतको धुनमा सर हरेक नेपालीको मनमा हरनेपालीको गरिमामय अवसर र दिनचर्यामा गुन्जिनुहुन्छ । हरेक खालका मनको भाव र अवस्थाहरूलाई स्पर्श गर्ने उहाँले छोडेर जानुभएका अनगन्ती कालजयी गीतहरू छन् ।


अम्बर सरको शिष्यत्वमा रहँदा एक दिन एउटा साह्रै गहकिलो शब्द ‘बाग्गेयकार’ सित सरले मलाई परिचय गराइदिनुभएको थियो । सरले यो शब्द र यसको अर्थ मेरो साधना कापीमा लेखिदिनुभएको थियो । नेपाली शब्दकोशमा यो शब्द खोज्दा मैले भेटिनँ तर अम्बर सरले मलाई यसरी अथ्र्याउनुभएको थियो जो गीत गाउँछ जसले गीत पनि लेख्छ अनि सङ्गीत पनि भर्छ ऊ बाग्गेयकार हुन्छ । अम्बर सर यस युगको यस्तो बाग्गेयकार हुनुहुन्थ्यो जोसित तीनवटा प्रतिभाहरूले एकसाथ हुन रोजेका थिए । यी प्रतिभाहरूको सरले आजीवन उपासना गर्नुभएको छ यो उपासनाको सिद्घि अम्बर सरको हरेक कृतिहरूमा भेटिन्छ । गीतको गायनमा, गीतको लेखनमा, गीतको धुनहरूमा सरको जुन उच्चकोटीको सिर्जनशीलता भेटिन्छ जसको बखान गर्न खोज्नु सूर्यलाई दियो देखाउनुसरह हुनेछ ।


गायक, गीतकार अनि सङ्गीतकार अम्बर सरको पुण्यतिथिको संघारमा यो पंक्तिहरू लेखिरहँदा दशकौं अघि रफीले गाएको यो मधुर गीत मेरो मनको अन्त:स्करणमा गुन्जिरहेको छ—
तिमी मलाई त्यसै बिर्सिन सक्ने छैनौ
जब जब सुन्ने छौ गीतहरू मेरो
सँगसँगै तिमी पनि गुन्गुनाउने छौ...
के यी महान् सङ्गीत साधकले छोडेर गएको सिर्जना र कृतिहरूले तपाईं हामीलाई यसो भनिरहेको जस्तो लाग्दैन ? तर, यस गीतको भावजस्तो अम्बर सरलाई गीत सुनेर मात्र सम्झिने साँघुरो ठाउँ छैन । यस युगका बाग्गेयकार अम्बर सरलाई सम्झिने घेरा त धेरै–धेरै फराकिलो र विराट छ । सरले गाउनुभएको गीतहरूमा मात्र होइन सरले लेख्नुभएको गीतहरूमा अनि सरको सङ्गीतमा अरूले गाएको गीतमा पनि सरको अविरल स्मृतिहरूको आनन्दधारा बग्छ ।


तर, समय परिवर्तनशील छ नेपाली सङ्गीतको क्षेत्र पनि अपवाद छैन । पुराना गीतहरू कुन मौलिक स्वरूपमा थिए यसको निकै खोजीनीति गर्ने अवस्थामा पुगेको छ । कालान्तरमा सरको गीतहरू पनि मिसावट हुन सक्छ वा कपिराइटको अभावमा चोरी सिकार हुन सक्ने सम्भावनाहरू पनि एकातिर छ । तसर्थ नेपाली माटोका महान् सङ्गीत साधकले छोडेर गएको सिर्जना र कृतिहरूले एउटा सम्मानपूर्ण स्थान पाउनुपर्छ ।


अम्बर सरका लागि एउटा यस्तो स्मृति घर बनोस जहाँ मौलिक र अम्बरपन खोज्नेहरूलाई सहज सुलभ रूपमा सरका कृतिहरू उपलब्ध हुन सकून् । उहाँको स्मृतिमा एउटा यस्तो संगीतमय संग्रहालय बनोस् जहाँ अम्बरपन बुझ्ने कुनै पनि स्वदेशी–विदेशी नेपाली मौलिक सङ्गीतका जिज्ञासु र अनुसन्धानकर्तालाई कुनै सामग्रीहरूको अभाव नहोस् । जहाँ उहाँलाई आदर झल्काउने उहाँलाई दिइएका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू, ताम्रपत्र, एवार्ड तथा कदरपत्रहरू आदि सम्मानहरूको समुचित व्यवस्थासाथ संरक्षणमा राखिन सकियोस् । जहाँ नेपाली महान् सङ्गीत साधकको सिर्जनशील जीवनको आजीवनसाथी बनेका तानपुरा, हार्मोनियम तवला अनि बाजागाजाहरूको ममता र सम्मानसाथ हेरचाह होस् ।


नोटेसनहरूको रूपमा रहेका तर रेकर्ड हुन नसकेका गीतसङ्गीतहरूको संरक्षण, सही कदर र स्थान दिन एउटा यस्तो अम्बर स्मृति घर बनोस् जो अम्बर सरको कलाकारिताको प्रशंसकहरूका लागि तीर्थजस्तो पावन स्थल बनोस् । जहाँको सिर्जनशील ऊर्जाले आगामी पुस्ताका नेपाली सङ्गीत उपासकहरूका लागि मार्गदर्शक गरोस् ।


मानिस कहाँबाट आउँछ अनि कहाँ जान्छ ? यो सवालको शतप्रतिशत जवाफ सायद कसैसित नहोला । तर, मान्न मन लाग्छ हामी एउटा यस्तो अनन्त यात्रामा छौं जहाँ हामी कतैबाट आउँछौं अनि कतै जान्छौं । अन्तत: हामी सबैको पुण्यतिथि हुन्छ र हुनेछ तर पुण्यतिथि कसैकसैको मात्र मनाइन्छ । जस्तो आज एउटा बाग्गेयकारको आजीवन कर्मको आधारमा पुण्यतिथि मनाइँदै छ तर यो दिनलाई तब मात्र साँचो श्रद्धाञ्जली होला जब हामी संवेदनशील हुनेछौं र समय रहँदै संरक्षण गर्ने दायित्व बोध गर्नेछौं ती सिर्जना र कृतिहरूप्रति जुन बाग्गेयकारको रूपमा अम्बर सरले हामीलाई छोडेर जानुभएको छ ।

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?