कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

डाक्टर आरोही

पर्यटन
ख्यालख्यालमैं डा. निमा नामग्याल शेर्पाले आइल्यान्ड पिक चढे । लोबुचे पनि चढे । आमादाब्लाम चढे । सन् २०१३ मा संसारकै सर्वोच्च शिखर सगरमाथा चढे, त्यसपछि मनास्लु पनि उक्लिए ।
मनबहादुर बस्नेत

काठमाडौँ — डा. निमा नामग्याल शेर्पा, एमबीबीएस, चीन ताइनजिन मेडिकल विश्वविद्यालयबाट सन् २००९ मा एमबीबीएस सकाएपछि निमाको परिचय यस्तै बन्यो । तर, ठमेलस्थित उनको कार्यकक्ष छिर्दा मेडिकलसम्बन्धी केही देखिंदैन । हिमाली चुचुरा । आइस–क्रु बोकेका मानिस । कम्मरमा डोरीले आपसमा बाँधेका व्यक्ति । हिमाललाई नेपथ्यमा राखेर चरिरहेका याक र चौंरीका बथान । हिमाल चढिरहेका मानिसको लर्को । यस्ता ठूल्ठूला तस्बिर भित्तैभरि छन् ।

डाक्टर आरोही

नेपाल प्रहरी अस्पताल, बीएन्डबी, कान्ति बाल, वीर अस्पतालमा ‘इन्टर्न’ गरेपछि मेडिकेयर अस्पतालका जागिरे थिए, निमा । दुई वर्ष अस्पतालमा बिताएपछि उनी जागिरमा रमाउन सकेनन् र राजीनामा दिए ।


आफ्नो जन्मथलो खुम्बुको गोक्यो री र सगरमाथा आधारशिविरमा उनले दुई महिना नि:शुल्क ‘मेडिकल क्याम्प’ चलाए । त्यो क्याम्प उनका लागि आई–ओपनर बन्यो रे । ‘अनकन्टार भूगोल र असह्य ठन्डी,’ चिउँडोमा हात अड्याएर निमा सम्झन्छन्, ‘शेर्पा, गाइड, ट्रेकिङवाला, पर्वतारोहीहरूको कहिले चट्टानमा ठोक्किएर घाउ हुने त कहिले चिसोले अंग खाइदिने । यसले उनीहरूको काममा ठूलो बाधा, पीडा दिन्छ । मैले सामान्य उपचार गरिदिएँ ।’ अस्पतालमा गरिने ठूला अप्रेसनले भन्दा ‘स्पट’ कै यो कामले उनलाई बढी आनन्द दियो रे ।


अस्पतालमा मानिस दु:ख परेपछि आउँथे । दुईवर्षे चिकित्सकीय सेवामा उनले मानिसका अनुहारमा खुसी विरलै देखे । थियो त केवल दु:खका ठूल्ठूला खोपिल्टा । ‘गम्भीर बिरामी निको हुँदाबाहेक अस्पतालमा मानिस हाँसेको देखिन्नथ्यो,’ डा. निमा सम्झन्छन् । कस्तो उल्टो, उनले हिमाली भेगका मुहारमा भने हाँसो र खुसीबाहेक अर्थोक देखेनन् । ‘जो हेर्‍यो त्यही हाँसिरहेको छ । यता फर्किन्छन् वाह भन्छ उता फर्किन्छन् वाह भन्छ । चारैतिर खुसी,’ उनलाई लाग्यो, ‘खुसीको बाटो त यो पो रहेछ ।’ यही तोडमा उनले तत्कालै ५,६०० मिटर अग्लो गोक्यो री चढे र डाक्टरी पेसा त्यागिदए । ‘सेतो कोट नलगाएको पनि सात वर्ष भइसकेछ,’ हिसाब निकाल्दा आफैं छक्क पर्छन् । सेतो कोट छोडेर उनी सेतो हिमालसँग नजिकिए ।
प्रतिष्ठित र सुरक्षित पेसा छोडेर हिमाल चढ्ने जोखिमपूर्ण कामतिर लागेकोमा निमाको परिवार आगो भयो । छोरालाई डाक्टर, इन्जिनियर बनाउन खुम्जुङ माविमा ४ कक्षा पढेपछि निमालाई परिवारले काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा पढायो । डाक्टर पनि बने । तर, डाक्टरी गरेनन् । ‘सबैले मलाई बहुलाइस् भन्थे,’ निमा हाँस्छन् । त्यत्रो पढेर पनि आखिरीमा हिमालै चढ्यो भनेर कतिले गिज्याए पनि । निमाका अनुसार अझै पनि पर्वतारोहण गाइड (शेर्पा) मा ९९ प्रतिशत अशिक्षित छन् जो बाध्यताले जोखिमपूर्ण पेसामा लागेका हुन् ।


आरोहीहरूलाई हिमालमै पुगेर उपचार गर्ने रहर थियो, डा. निमालाई । संयोग इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनरिङ फेडरेसन (यूआईएए), इन्टरनेसनल सोसाइटी अफ माउन्टेन मेडिसिन (आईएसएमएम) र इन्टरनेसनल कमिसन फर अल्पाइन रेस्क्यु (आईसीएआर) ले डिजाइन गरेको उच्च क्षेत्रमा गरिने औषधोपचारसम्बन्धी पढाइ नेपालमा समेत थालिएको थियो । यहींबाट ‘डिप्लोमा इन माउन्टेनरिङ मेडिसिन’ को एकवर्षे कोर्स गरे । बेलायतबाट प्रि–हस्पिटल इमर्जेन्सी मेडिसिन, एअर एम्बुलेन्स रेस्क्यु, इटालीबाट माउन्टेन इमर्जेन्सी मेडिसिन र अमेरिकाबाट डिप्लोमा इन आउटडुअर एडुकेसन/लिडरसिपको तालिम लिए । अनि, डा. निमा हिमाल चढ्ने टोलीसँगै मिसिएर उपचारमा संलग्न नेपालका एक मात्र चिकित्सक बने । डिप्लोमा कोर्स गर्दा पर्वतारोहणबारे पढाइ हुन्थ्यो । ‘पढ्दा मलाई पनि हिमाल चढूँचढूँ लाग्न थाल्यो,’ उनी भन्छन् ।


त्यसपछि उनले सोलुखुम्बुको फोर्चेस्थित खुम्बु क्लाइम्बिङ सेन्टर (केसीसी) मा पर्वतारोहणसम्बन्धी आधारभूत तालिम लिए । तालिम लिएपछि उनमा आँट पलायो, अनि एकपछि अर्को शिखर चुम्न थालिहाले ।


सन् २०१२ मा आइल्यान्ड पिक चढे, परिवारलाई थाहै नदिई । ‘जनसम्पर्क बढाउन हिमाली भेगतिर हिंडेको’ उनले परिवारलाई भनेका थिए । यसरी ६,१८९ मिटरको पिक चढे । सगरमाथा आधार शिविरमा एक हप्ता बसेर काठमाडौं ताकेर फर्कंदै थिए । दिङबोचेमा लोबुचे हिमाल चढ्न जाँदै गरेको चिनारु टोली भेटियो । त्यही टोलीमा मिसिएर उनले ६,१५० मिटरको लोबुचे पनि चढे ।


यही बेला निमाले न्युजिल्यान्डका प्रख्यात आरोही रसेल ब्राइस (जो पर्वतारोहण कम्पनीसमेत चलाउँछन्) लाई भेटे । आफू उच्च भेगमा औषधोपचार जान्ने मेडिकल डाक्टर र पर्वतारोही भएको बताएपछि रसेलले सन् २०१२ को सेप्टेम्बरमै निमालाई मनास्लु हिमालको आरोहण दलको सदस्यमा सामेल गराए । ‘जनसम्पर्कको लहरो खोज्दै गएको मैले त जागिरै पाएँ,’ निमा प्रफुल्लित बने ।


तर, पहिलो गाँसमै ढुंगा लाग्यो । क्याम्प १ मा पुगेपछि आँधीबेहरी आयो । आधारशिविरबाटै आरोहण व्यवस्थापन गरिरहेका रसेलले तल झर्न भनेपछि टोली ओर्लियो । त्यही राति क्याम्प ३ मा हिमपहिरो खसेर १२ जनाको ज्यान गयो । निमाको टोली आधारशिविरमा केही दिन अनुकूल मौसम कुरेपछि पुन: शिखर चढ्यो । निमा उक्लेनन् । मनास्लु संकटपछि परिवारमा हिमालाहोरण पेसा त्याग्ने दबाब पुन: बल्झियो ।


अहँ, निमा पग्लिएनन् । बरु, उनको पदचाप खुम्बुतिर लम्कियो, अर्को हिमाल नाप्न । मनास्लुबाट काठमाडौं ओर्लनासाथै परिचित माउन्टेन गाइड ल्हाक्पा शेर्पा आमादाब्लम चढ्न आरोही दल लिएर नाम्चे पुगिसकेको चाल पाए । ‘दाइ म नि आउँछु,’ निमाले ल्हाक्पालाई फोनमै आग्रह गरे । अन्तत: निमाले आरोहण दलका सदस्यको स्वास्थ्य रेखदेख गरिदिने र ल्हाक्पाले आरोही सदस्य बनाउने सहमति बन्यो । ‘गिभ एन्ड टेक,’ निमा भन्छन् । प्राविधिक रूपमा कठिन मानिने ६,८१२ मिटर उचाइको आमादाब्लम चढे, उनले ।


सन् २०१३ मा संसारकै सर्वोच्च शिखर सगरमाथा चढे, उही आमादब्लम चढेकै ‘गिभ एन्ड टेक’ शैलीमा एसियन ट्रेकिङको ४० जना आरोही टिमसँगै । यसपछि निमाको नाममा सगरमाथा चढ्ने पहिलो नेपाली डाक्टरको रेकर्ड रह्यो, जुन अहिलेसम्म उनीबाट फुत्किएको छैन । सोही वर्ष उनी अघिल्लो वर्ष हिमपहिरोको चपेटामा परेको मनास्लु आरोहण दल लिएर गए, रसेलसँगै । यो खेप भने चुचुरामै पुगे ।


एसियन ट्रेकिङले उनलाई पर्वतारोहण दलको सरदार बनाइदियो । सन् २०१४ र २०१५ मा सरदार निमा आरोहण दल लिएर सगरमाथा हिंडे । तर, प्राकृतिक विपत्तिका कारण दुवै साल आरोहण रद्द भयो । २०१४ मा खुम्बु आइसफलको हिमपहिरोमा परी १६ जना नेपाली पर्वतारोहण गाइडको मृत्यु भएपछि आरोहण बन्द भयो भने पछिल्लो सिजन भूकम्पका कारण ।
लगातार दुई वर्ष सगरमाथा आरोहण बन्द भएपछि यी मेडिकल डाक्टर सन् २०१६ मा आइसफल डाक्टर बने । हिमाल चढ्ने ट्रयाक बनाउनेलाई आइसफल डाक्टर भनिन्छ । नेपाल, पाकिस्तान र चीनका हिमालय शृंखलामा फिक्स रोप (डोरी टाँगेर निर्धारित गरिएको बाटोमा आरोहीहरू समातेर अगाडि बढ्ने) विधि अपनाइन्छ भने अन्यत्र आरोही आफैंले डोरी टाँग्ने/कस्ने (अल्पाइन गाइडिङ वा सर्ट रोप विधि) गर्नुपर्छ । सगरमाथाको क्याम्प २ सम्म नेपाल सरकार र नेपाल पर्वतारोहण संघ (एनएमए) का आइसफल डाक्टर टोलीले यस्तो बाटो बनाइदिन्छ भने त्यसभन्दा माथि उक्त सिजनमा आरोहण गर्ने टिमहरू मिलेर । डा. निमा, आङजाङ्बु शेर्पा र रसेल पछिल्लो खालका आइसफल डाक्टर टोलीका हुन् । डा. निमाका अनुसार ट्रयाक बनाउन चुचुरासम्म ८० भारी सामान लैजानुपरेको थियो । सगरमाथा आरोहण बन्द भएकाले नेपालमा विदेशी पर्यटकको संख्या स्वात्तै घटेको बेला थियो, त्यो । सगरमाथा आरोहण सफल भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा दिन सके नेपालको पर्यटन क्षेत्रले पुन: स्वाभाविक गति लिने थियो ।


सन् २०१७ को आरोहण याममा समेत एसियन ट्रेकिङबाटै दुईवटा आरोहण दल लिएर सगरमाथा पुगे, निमा सरदार र डाक्टरको हैसियतमा । त्यसपछि त उनको माग जतात्यतै भयो । ‘तर, मलाई सगरमाथा चढ्न अवसर दिएकाले गुण तिर्न एसियनलाई छोडिनँ,’ उनी भन्छन् ।


स्वदेशमा नेपथ्यमै बिलाएका यी पात्र विशेदमा भने सेलिब्रेटीसरह छन् । नेसनल जोग्राफी, एचबीओ, बीबीसी, डिस्कभरी, अस्ट्रेलियन च्यानल १०, हङकङको टीभीबीजस्ता टेलिभिजन च्यानलले उनीबारे वृत्तचित्र बनाइसकेका छन् । ‘मैले यसो गर्दै छु, उसो गर्दै छु भनेर प्रचार गर्ने समय नै पाइनँ,’ उनी भन्छन्, ‘काम मात्रै गरिरहें ।’


अन्तर्राष्ट्रिय ख्याति कमाएका डा. निमाले युरोप, अमेरिकाका हिमालमा समेत पाइला चालिसकेका छन् । सन् २०१२ मा स्कटल्यान्डको केइर्नगर्म हिमशृंखला, २०१४ मा इटालीको ३,३४३ मिटरको डोलोमाइट्स र सन् २०१६ मा उत्तर अमेरिकाको सबैभन्दा अग्लो ६,१९० मिटरको माउन्ट डेनाली चढे । ‘ती देशको आरोहण संस्कृति बुझ्न हिमाल चढेको हुँ,’ उनी प्रस्ट्याउँछन्, ‘त्यहाँको संस्कृति बुझियो भने नेपाल आउँदा उनीहरूलाई कस्तो व्यवहार गर्ने भन्ने सजिलो हुन्छ ।’


यसअघि जागिरे बनेर आरोहणमा लागेका डा. निमा अहिले भने काइ–टु एक्सपेडिसन नामक कम्पनीका मालिक बनेका छन् । यस सिजनदेखि आफ्नै कम्पनीको आरोहण दल लिएर हिमाली टाकुरा पुग्छन् । अर्थात् उनी पूर्णकालीन आरोही बने । ‘पैसा कमाउन कम्पनी खोलेको होइन,’ उनी खुलाउँछन्, ‘यो क्षेत्रमा सुधार गर्नुपर्ने देखेकाले ।’ उनले यो क्षेत्रमा थुप्रै सुधार्नुपर्ने सूची देखेका छन् । कम्पनीले हिमाल चढ्न सघाउने शेर्पा र विदेशी पाहुनालाई खानेकुरा, आरामलगायतका कुरामा गरिने भेदभाव नजिकबाट नियालेका छन् । ‘शेर्पाहरूको दोहोरो जिम्मेवारी हुन्छ, आफू पनि चढ्ने र अरूलाई पनि चढाउने,’ उनी भन्छन्, ‘त्यसैले शेर्पाहरू खुसी भएनन् भने आरोहण सफल हुँदैन । यसका लागि समान व्यवहार गर्नुपर्छ ।’
उनको आउटडुअर एड्भेन्चर सेन्टर पनि छ, जहाँ ट्राभल, ट्रेकिङ, पर्वतारोहणदेखि खेलकुदसम्म सिकाइनेछ । उनले हिमालबाट सिकेको कुरा हो, किताबले ज्ञान सिकाउँछ,
प्रकृतिले सीप । ‘म यहाँ किताबी ज्ञानलाई व्यवहारमा उतार्ने सीपले जोड्न चाहन्छु,’ उनी भन्छन् ।


बुढेसकालसम्मै हिमाल चढ्न उनले हेलिकप्टर पाइलट सिक्ने योजना बनाएका छन् । ‘यहाँसम्म म आफैं बाटो पहिल्याएर आएको हुँ,’ उनी आत्मविश्वासी देखिन्छन्, ‘अबको बाटोसमेत आफैं खोज्नेछु ।’

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?