कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्विटजरल्यान्ड सपना

यात्रा
समुद्र र अमेरिकासँग जोडिएको मेक्सिकोमा दिनहुँ हजाराँैको संख्यामा अमेरिकी सपना देखेका मानिस थुप्रो गर्छन् जो आफ्नो सपनाका लागि लाखौँ खर्च गरेर गैरकानुनी बाटोबाट पुगेका हुन्छन् ।
नारायणी देवकोटा

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बेलाबेला जनतालाई देखाउने पानीजहाजको सपनालाई लिएर धेरैले हाँसोको विषय बनाउने गरेका छन् । नेपाल गरिब हुनुको एउटा मुख्य कारण ‘भूपरिवेष्ठित भएर हो’ भन्ने सानैदेखि पढ्दै आएकी थिएँ । तर, जेनेभामा भेटिएका धेरै साथीहरू समुद्रसँग टाँसिएका देशका, समुद्री जीवन शैलीमा हुर्केका र समुद्रले जोडेका दु:खसँग जोडिएका थिए ।

स्विटजरल्यान्ड सपना

धेरै पहिलादेखि नेपालको राजनीतिक वृत्तमा मुलुकलाई स्विटजरल्यान्ड बनाउने भन्ने कुरा सुनिँदै आएको हो । भौगोलिक रूपमा स्विटजरल्यान्ड र नेपाल उस्तै रहे पनि विकासको कुरा गर्दा यी दुई देशबीच धेरै गहिरो खाडल रहँदै आएको भन्ने आधारमा त्यस्ता सपना बाँड्ने काम हुन्थ्यो । विकासका सपना छोड्ने हो भने सामाजिक न्यायको क्षेत्रमा काम गर्नेका लागि स्विजरल्यान्डको जेनेभा ‘तीर्थस्थल’ जस्तै हो । छिमेकीले हेप्दा, देशभित्र नै न्याय नपाएका विषयलाई बोकेरै सयौँ मुलुकका हजारौँ मानवअधिकार रक्षकहरू न्यायका लागि जेनेभा जाने गरेका छन् । अन्यायको फेहरिस्त र न्यायका लागि गरेका कदमको विषयमा मानवअधिकार परिषद्को ३८ औँ सत्र चल्दै गर्दा म पनि कसरी मानवअधिकारका उल्लंघनका घटनालाई अन्तर्राष्ट्रिय रूपमा उठाउन सकिन्छ भन्ने सिक्न जेनेभा जाँदै थिएँ ।


पहिलो पटक युरोप जाँदै थिएँ, अलिअलि घुम्न मन थपिएपछि कार्यक्रमभन्दा तीन दिन बढी समय राखेर प्लेन टिकट काटिएको थियो । पेरिसमा बस्ने साथी पनि भेट्ने, पेरिस जेनेभाबाट धेरै टाढा नभएको हुँदा बीचमा पर्ने ठाउँ हेर्दै बसमा जान चाहन्थेँ म । पेरिस बस्ने साथी भन्दै थिए, ‘खेतै खेतको बाटो छ, पूर्वपश्चिम राजमार्गजस्तो, प्लेन वा ट्रेनको टिकट काटिदिन्छु तिम्रो समय बच्छ ।’


अमेरिका युरोपमा समयको धेरै नै महत्त्व हुन्छ भन्ने सुन्थे । कुनै बेला सरस्वती क्याम्पसमा बिहान छ बजेदेखि बेलुका नौ बजेसम्म राजनीतिक गफ गरेर बस्ने मेरा साथी पनि त्यो जीवनशैलीमा अभ्यस्त हुन थालेछन् । जानुभन्दा एक हप्ताअगाडि उनले गुनासो गर्दै फोन गरे ‘पेरिसदेखि जेनेभासम्मको प्लेन र ट्रेनको टिकट पाउन सकिएन ।’ प्लेन र ट्रेनको नपाएर के भयो र बसको टिकट छँदै थियो । अनि मैले फ्रान्सको व्यवस्थित खेतीपाती र स–साना घरहरूको बस्ती हेर्दै यात्रा गर्ने मौका पाएँ ।

आकाशको भाषा
सानैदेखि नीलो आकाशसँग मेरो प्रेम छ । शरद ऋतुको खुलेको नीलो आकाशलाई घण्टौँ लियालेर बसौँ जस्तो हरेक वर्ष लाग्छ । योपटकको यात्रा बिहान साढे सात बजे सुरु भएको थियो । झ्यालको सिटमा बसेर मैले १२ घण्टा अनन्त आकाश र आकाशबाट देखिने धर्ती नियालेर हेरेँ । हेर्दै जाँदा लाग्यो— बादलको उपस्थितिले बादलमुनिको जमिनको व्याख्या गर्न सक्दोरहेछ । पोहोर युगान्डा जाँदा र आउँदा मैले याद गरेकी थिएँ, केन्याको कुनै ठाउँको आकाशमा प्राय: बाक्लो कुहिरो लाग्ने रहेछ । यो पटकको यात्रामा टर्कीको आकाशमा सुकिला स–साना बादलका टुक्राहरू छरिएको देखेपछि लाग्यो, ‘मरुभूमिमाथि प्राय: बादल लाग्दो रहेनछ । अनि हिमाल, पहाड र जंगल भएको सितलो ठाउँको आकाशमा बादल लाग्ने फाट्ने भइरहनेरहेछ ।’


जुन महिना युरोपमा घुम्ने मुख्य महिना हो भन्ने थाहा थियो । तर, त्यो किन घुम्नलायक हो भन्ने कुरा जेनेभाको नीलो आकाशले बताउँथ्यो । हिमाल र जेनेभा ताल हुँदै बहने हावामा भएको आद्रता र खुलेको नीलो आकाश र उक्त आकाशमा जहाज हो कि रकेट हो उड्दा बन्ने अनन्त बाटो । बेला बेलामा जेनेभाको आकाशमा माकुराको जालोजस्तो बन्थ्यो, सायद यसैले लोभ्याउँछ धेरै मानिसलाई ।

अंग्रेजी भाषाको कुरा
भाषाको विषय कुरा हुँदा म प्राय: बेनेड्रिक एन्डरसनको ‘इम्याजिन कम्युनिटी’ सम्झन्छु । जसमा एन्डरसन भन्छन्, ‘भाषा एउटा हतियार हो, राज्यसत्ता हो ।’ काठमाडौं छिरेदेखि अल्ली जान्ने बुझ्नेले दिएको सुझाव हो— अग्रेजी सिक, अझ राम्रो बनाऊ, अंग्रेजीमा लेख । अलिअलि कामचलाउ अंग्रेजी त मेरो पनि थियो । टर्कीको स्तानबुल पुगेपछि अंग्रेजी भाषाले बिस्तारै काम गर्न कम गर्दै थियो । टर्किसहरू आफ्नै भाषामा कुरा गर्न चाहन्थे, सकेसम्म अंग्रेजी बोल्न खोज्दैनथे ।


जेनेभा गएपछि थाहा भयो— युरोपमा बरु अंग्रेजी नबोलेर वा नजानेर केही हुन्न रहेछ, फ्रेन्च भाषा नजानी हुँदैन । दोस्रो दिन पेरिस जाँदा मैले पहिलो पटक भाषाको कारण दु:ख पाएँ । बसका ड्राइभरले आउँदै गरेको ठाउँ, रोकिने ठाउँ र समय बताइरहेका थिए फ्रेन्च भाषामा जुन म बुझ्दिनथिएँ । सँगैको सिटमा भएका साथी कसोकसो अंग्रेजी र फ्रेन्च दुवै बुझ्थे, उनले डाइभरले के भनेको छ भनेर बताइदिन्थे । हरेक पटकको यो मुस्किलको अनुवाद र बुझाइ देखेर केही बेरमा ड्राइभरले नै अंग्रेजीमा पनि बताउन थाले । बस, पसल वा रेस्टुरेन्ट जहाँ पनि अंग्रेजीभन्दा अरू नै भाषाको प्रयोग देख्दा लाग्यो, ‘संसारमा अंग्रेजी भाषा अहिले मुख्य सञ्चारको भाषा त हो । तर, सबै ठाउँमा यसले काम गर्दैन ।’

यातायात र शौचालय
जेनेभा जानुभन्दा अगाडि आयोजक संस्थाकी हेलेनले जेनेभासम्बन्धी गाइडलाइन पठाएकी थिइन् । जसमा जेनेभा एयरपोर्ट झरेपछि लगेज लिने ठाउँको छेउमा रहेको मेसिनबाट एक घण्टा तीस मिनेटसम्मका लागि सार्वजानिक यातायातका लागि नि:शुल्क टिकट पाइने ठाउँदेखि घुम्ने ठाउँ, रुटका बस, राम्रो र सस्ता रेस्टुरेन्ट, पसलबारे लेखिएको थियो । र, साथमा सल्लाह थियो— एउटा छाता, स्पोर्ट सुज अनि हलुका न्याना कपडा ल्याउनुपर्ने । सकेसम्म ट्याक्सी नचढ्न सल्लाह दिइएको थियो । जेनेभामा बिहान पाँच बजेदेखि राति १२ बजेसम्म बस र मेट्रो चल्ने, कति समयमा कुन नम्बर यातायात आउँछ भन्ने कुरा बस स्टप राखिएको बोर्डमा आउने हुँदा सामान्यतया कसैलाई ट्याक्सी चढ्ने आवश्यकता पर्दैन रहेछ ।
नेपाल फर्कनुअगाडि लुजान विश्वविद्यालयमा भूगर्भ विज्ञानमा पीएचडी गरिरहेका पर्वतका शिव सुवेदीसँग लुजान र मोन्थ्रो जाने मौका मिल्यो । शिवले एक जना बूढा मान्छे चढ्न लागेपछि भने, ‘याद गर्नु है’ बस अलिकति कोल्टियो । बूढा चढे र सिटमा बसे अनि मात्रै बस हिँड्यो । लगभग एक किलोमिटरको दूरीमा पुगेपछि बस रोकियो र, त्यसैगरी ढल्किएपछि ती बा सिटबाट उठेर बिस्तारै झरे अनि मात्रै बस अगाडि गयो । वृद्ध, केटाकेटी, अशक्तहरू चढ्दै वा झर्दै भए ड्राइभरले हतार गर्दैन थिए । (खासमा बसहरू चढ्न–झर्न यताको बसभन्दा सजिला हुन्छन्, ठूला ढोकाहरू हुन्छन् । बूढाबूढी, अपांग र बच्चाहरू चढ्ने बेलामा उनीहरूलाई सजिलो होस् भनेर बसहरू बाटो र पैदलयात्रीहरूको बाटो समानान्तर हुनेगरी ढल्किन्छन्, निकै सहज लाग्नेगरी ।)


यो सबै देख्दा म पछिल्ला छ वर्ष आफूले हरेक दिन थानकोट यातायातमा कोचिएर गरेको यात्राको याद आउँथ्यो । हरेक बासिन्दासँग स्थानीय यातायात कार्ड हुने रहेछ । कार्ड नभएकाहरूले यातायातमा चढ्नभन्दा अगाडि मेसिनबाट टिकट किन्नुपर्ने रहेछ । सितिमिति टिकटको चेक हुँदैन तर कहिलेकाहीं हुने छड्केका बेला बिनाटिकट चढेको पाइएमा सरकारी रेकर्डमा त्यो विषय पनि जोडिने हुँदा सबै जना टिकट लिएरै चढ्ने रहेछन् ।


एकखुट्टे कुर्सी
जेनेभामा तालिमको पहिलो दिन मेरो ध्यान तालिम भइरहेको ठाउँको झ्यालबाट देखिने ठूलो कुर्सीमा गइरन्थ्यो । तालिमपछि सबै जना साथीहरू उक्त कुर्सीलाई फ्रेममा पार्दै फोटो खिच्न चाहन्थे । नजिकै गएपछि थाहा भयो— उक्त कुर्सीको एउटा खुट्टा रहेनछ । संसारभर युद्ध क्रममा जमिनमुनि राखिने विस्फोटक पदार्थले पारेको प्रभाव सम्झाउन र ल्यान्डमाइन नबिछ्याउने ओट्वा सन्धिमा हस्ताक्षर गर्न प्रेरित गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्अगाडि राखिएको यो कुर्सी स्वीस कलाकार डानियल बेर्सेटले बनाएका रहेछन् । अहिले पनि यो कुर्सी मानवअधिकारको विषयमा ‘रहर र बाध्यता’ दुवै बोकेर संयुक्त राष्ट्रसंघ आउने मानिसलाई ओट्वा सन्धि सम्झाइरहेको छ । साथै अपांगता भएका मानिसप्रति संवेदनशील हुन सम्झाइरहेको छ । हामीले त्यसलाई पुन:व्याख्या गर्यौं— जसरी एउटा खुट्टा नभए पनि यो कुर्सी सुन्दर छ, त्यसैगरी संसारका धेरै अपूर्ण कुराहरू सुन्दर हुन्छन् ।

भातको भोक
नेपालबाट जेनेभा पुगेको बेलुका मुना अधिकारी दिदीले ‘तपाईं आउनुहुन्छ भनेर कालो दाल, चिकेन र भात पकाएकी छु’ भन्नुभयो । तालिम सुरु भएको दिन बिहान ब्रेकफास्ट थियो, दिउँसो लन्चमा पिज्जा खाइएको थियो, डिनरका लागि गएको रेस्टुरेन्टमा भातवाला खाने कुरा केही थिएन । मैले डिपार्टमेन्ट स्टोरबाट कुकिज र जुस किनेर खाएँ । भोलिपल्ट लन्च समयमा हामी थाई रेन्टुरेन्टमा गुलियो बनाएर पकाएको कुखुराको मासु र भात खायाँै । थाई खानाको स्वाद यस्तै हुने रहेछ भन्ने लाग्यो । त्यसपछिका दिनमा पेरुकी लुइसा र म मात्रै कुन रेस्टुरेन्टमा भात पाइएला भनेर खोज्न थाल्यौं । एकपटक भात र कुखुराको मासु मागेको त कुखुराको मासुमा गाजर, गोलभेंडा र पाकेको भुइँकटहर हालेर फतक्क पकाएको तरकारी ल्याएर दिए । त्यो तरकारी खान नसकेर मैले फुक्कै भात मात्रै खाएँ ।


जेनेभामा भएका पुराना नेपाली रेस्टुरेन्ट बन्द भएको भन्ने सुनेपछि मैले कतै नेपाली रेस्टुरेन्ट होलान् भन्ने सोचेकी थिइनँ । तालिम सकिने अघिल्लो दिन लेखक मोना श्रेष्ठ दिदीले खाना खान बोलाउनुभएको थियो । भेट भएपछि भन्नुभयो, ‘यहाँ नजिकै नेपाली रेस्टुरेन्ट छ, मोमो खाने हो ?’ थाहा भयो— क्याफे नेपाल हामीले निरन्तर डिनरका लागि आउने ठाउँको पल्लो गल्लीमा थियो ।


दुई जना नेपाली दाइहरूले डिसेम्बरमा खोलेको रेस्टुरेन्टको विशेषता नेपाली खाना र मोमो हो । जेनेभामा चार सयका हाराहारीमा बस्ने नेपालीहरू र हामीजस्तो बेला कुबेला दालभात खोज्दै हिँड्ने यात्रुलाई आफ्नो देशको खानाको स्वाद चाख्नका लागि उपयुक्त थलो । होटलमा मैले नेपाली रेस्टुरेन्ट भेटेको बताएपछि सम्भव भएका साथीहरू अन्तिम दिन खाना खान गायाँै । फर्किने बेलामा लुइसाले भनिन्, ‘हामीले सुरुमा नै नेपाली रेस्टुरेन्ट नभेटेर ठीकै भएछ । तिमीले यतिका धेरै खाना चाख्ने मौका पाउने थिइनौँ ।’ पन्ध्र दिनको बसाइमा हामीले जम्मा सात देशको खाना चाखेका रहेछौँ । तर, नेपाली दालभातजस्तो ती सातै देशको खाना लागेन ।

फर्मल ड्रेस ‘स्कट’
मानवअधिकार परिषदमा जाँदै गर्दा पुरुषहरू सुट र महिलाहरू स्कटमा हुन्थे धेरैजसो । तालिम समापनको अघिल्लो दिन मानवअधिकार परिषद्की डेपुटी हाई कमिस्नर केट गिल्मोर हामीसँग कुरा गर्न आउँदै थिइन् । साथै, परिषद्अगाडि समूह फोटो खिच्ने कार्यक्रम थियो । साथीहरूले भने— सबैले फर्मल ड्रेस लगाउँm है । मैले काठमाडौंबाट साडी त लिएर गएकी थिएँ तर साडी लगाएर दिनभर हिँड्ने अवस्था थिएन । लुइसालाई मैले आफ्नो फर्मल ड्रेस अल्ली अप्ठेरो छ भनेपछि ‘एक छिन है’ भन्दै उसले आफ्नो स्कट ल्याइदिइन् । मैले ‘यो फर्मल ड्रेस हो ?’ भनेर सोधेँ, पछि साथीहरूले भने ‘मानव अधिकार परिषद्मा देखिनौँ ? सबैले कसरी फर्मल ड्रेस लगाएका छन्’ ।


केही महिनाअगाडि एक कलाकारले लगाएको छाटो लुगाको विषयलाई लिएर एक स्थापित सञ्चारगृहले ती कलाकारको उमेरसँग पहिरन दाँजेर हुर्मत लिएको मैले झलक्क सम्झेँ ।

आखामा आँसुआँसु
हाम्रा प्रधानमन्त्री केपी ओलीले बेलाबेला जनतालाई देखाउने पानीजहाजको सपनालाई लिएर धेरैले हाँसोको विषय बनाउने गरेका छन् । यो जहाज सपना भर्खर–भर्खरको भए पनि नेपाल गरिब हुनुको एउटा मुख्य कारण ‘भूपरिवेष्ठित भएर हो’ भन्ने सानैदेखि पढ्दै आएकी थिएँ । जेनेभामा भेटिएका धेरै साथीहरू समुद्रसँग जोडिएका देशका, समुद्री जीवनशैलीमा हुर्केका, समुद्रले जोडेका दु:खसँग जोडिएका थिए । समुद्रसँग जोडिनुका तमाम दु:खको नमुना मुलुक मेक्सिकोबाट आएकी मारियाना पनि हाम्रो समूहमा थिइन् जसले आप्रवासी क्षेत्रमा काम गर्थिन् । समुद्र र अमेरिकासँग जोडिएको मेक्सिकोमा दिनहुँ हजाराँैको संख्यामा अमेरिकी सपना देखेका मानिस थुप्रो गर्छन् जो आफ्नो सपनाका लागि लाखौँ खर्च गरेर गैरकानुनी बाटोबाट पुगेका हुन्छन् ।


अमेरिकाको सपना देखेका मानिसले मेक्सिकोमा शरणार्थी हुन नचाहे पनि मेक्सिकोलाई विभिन्न तनावमा पार्ने रहेछन् । हप्तौंअगाडि घरबार छोडेका, राम्ररी खान–बस्न नपाएका र गन्तव्य पुग्ने ठेगान नभएका मानिसको वृद्धि साँच्चिकै मुुलुकका लागि गाह्रो काम हो ।


मारियाना पक्का क्रान्तिकारी थिइन् ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भन्ने भावना भएकी र मानवअधिकारप्रति प्रतिबद्ध । विश्व पुँजीवाद अर्थव्यवस्था, विशेषगरी दलाल पँुजीवाद, मानव तस्करी, अमेरिकी आप्रवासी नीति, मेक्सिकोमा भइरहेको मानवअधिकार उल्लंघनका घटनाविरुद्धमा लेखे बोलेको कारण सन् २०१७ युद्ध नभएर पनि पत्रकार मारिने पहिलो मुलुकमा मेक्सिकोले आफ्नो नाम दर्ज गराएको छ । यसरी मारिने पत्रकारमा मारियानाका साथीहरू पनि थिए । उनले संयुक्त राष्ट्रसंंघमा अमेरिकी सपनामा डुबेर गैरकानुनी तरिकाले र जसरी भए पनि अमेरिका छिर्न पाए हुन्थ्यो भन्ने सोचमा मेक्सिको पुगेका आप्रवासीको मानवअधिकार पक्षमा आवाज उठाइन् ।


आफ्नो देशबाट अमेरिका हिंडेका तर मेक्सिकोमा कष्टप्रद जीवन बिताइरहेकाका लागि पनि त्यो आवाजले बाटो दिन्छ भन्ने कुराले मारियानाप्रति हामी सबै आभारी थियौँ ।
तालिमको अन्तिम दिन अब हामीले के गर्छौं भन्ने योजना सुनाइरहेका थियौँ । देशमा बसेर मानवअधिकार क्षेत्रमा काम गर्ने वातावरण भएका हामीहरू आफ्ना भावी योजना सुनाइरहेका थियौँ । तर, सबै साथीभाइको देशमा फर्कने र खुलेर काम गर्न सक्ने वातावरण थिएन । म्यानमारकी अधिवक्ता एई, चाइनाकी पत्रकार फुजुन र मेक्सिकोकी मारियानाले आफ्नो कुनै भावी योजना नभएको बताए । कहालीलाग्दो नरसंहारबाट निस्केको म्यानमारकी अधिवक्ता एईले आफ्नो वकालती धर्म जारी राख्ने भए पनि ‘अबका दिनमा यसै गरेर अगाडि बढ्ने भन्ने अवस्था नभएको’ बताइन् । त्यसैगरी देश फर्किने सम्भावना नभएकी चाइनाकी फुजुन पेरिस बसेर पत्रकारिता गर्ने योजनामा थिइन्न । मारियानाले संयुक्त राष्ट्रसंघमा बोलेको विषयलाई लिएर धम्कीपूर्ण इमेलहरू आउन थालेका थिए । गत महिना मात्रै आफ्ना पत्रकार साथीको हत्या देखेकी मारियानाले आँसु मात्रै झारिरहिन् र निकै बेरपछि भनिन्, ‘नमारे त धेरै कुरा गर्ने मन छ । तर, अब मलाई बाँकी राख्ने सम्भावना कम छ ।’

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?