कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चीनको आकाशे रेल

समृद्धि
चीन र भारतको रेल काठमाडौंमा ठोक्कियो भने के गर्ने भनेर ठट्टा गर्दै बाटो कटाइरहेका बेला सुरुङैसुरुङको यो यात्रा अघि बढिरहेको थियो । यसरी गुडेको धेरैपछि भर्खरै बसालिएको जस्तो देखिने एक चम्किलो सहर आइपुग्यो ।

काठमाडौँ — एकतमासले गाडी कुदिरहेको थियो, सयको गतीमा । तर, भित्र बस्दाको अनुभवचाहिँ बडो स्थिर थियो, कहीँ केही नहिल्लएजस्तो । कतिसम्म भने टेबलमाथि राखिएको पानीको बोतलसमेत पनि टसको मस भएको थिएन । नेपालका सडकमा बिस्तारै हाँक्दा पनि पुट्ठो थच्चारिएको अनुभवको पृष्ठभूमिमा चीनका फराकिला र चिल्ला सडकमा गुड्दाको अनुभूतिले सहयात्रीहरू रोमाञ्चित थिए ।

चीनको आकाशे रेल

हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले सी जिनपिङसँग रेल मागिरहेका बेला सवा दर्जन पत्रकारको टोली चीनको सिचुवान प्रान्तमा विकास र समृद्धिे अवलोकनरत थियो । दस–बाह्र लेनका सडकका दुई–तीनतले सञ्जाल, फ्लाइओभर र आकाशे रेल हेरिसकेपछि हामी जाँदै थियौं तिब्बत, सरर्र बस चढेर ।


फिटिक्कै नहल्लीकन यत्रो गतिमा कुदिरहेको बसको झ्यालपट्टि बसेर आउँदै सुलुत्त बिलाउँदै गरेका आकाशै छेडुँलाजस्ता अग्ला महलतिर आँखा लहसिएका बेला मनमा झट्ट एक भाव आयो, सय र त्योभन्दा बढीको गतिमा बसमा घण्टौं हुइँकिन पाउनु पनि लरतरो कुरो होइन रहेछ † यसका लागि खाल्डाखुल्डी नभएका एकतर्फी र फराकिला सडकको कोसौंकोसको विस्तार चाहिने रहेछ जो अचेल हामीले जपिरहेको ‘समृद्धि’ को गायत्री मन्त्र कुनै दिन सिद्ध भएछ भने नेपाला पनि यसरी तीव्र रफ्तारको नहल्लिने बस चढ्ने अवसर जुट्ला । नत्र भने हल्लिँदै, थचार्रिंदै र कहाँनिर खसिएला भनेर मुरमुर्रिंदै हाम्रा पहाडको बाटामा गुड्ने नियतिलाई नझेली धर छैन अहिलेलाई ।


चीनको अभूतपूर्व भौतिक उन्नति देखाउँदै कुदिरहेको बसको झ्यालबाट पर क्षितिजमा पहाडजस्तो केही घुर्माैलो आकृति देखा पर्‍यो । त्यो तीव्र रूपमा बढ्दै गयो र एक अजंगको पहराको रूपमा प्रकट भयो ।


नेपालभन्दा तीन गुणा ठूलो सिचुवानको मैदानमा विस्तारित सहरमा हप्ता दिन जति घुमघाम गरेपछि संसारको छानो भनिने तिब्बतको उच्च समस्थलिको फेदमा पुगेपछि लागेको थियो अब बाइरोडको बाटोमा झैं नागबेली हुँदै बस अघि बढ्छ ।


चाइना आउनुअघि ‘तपाईंलाई लेक लाग्छ कि नाइँ ?’ भनेर सोध्ने संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको सम्झना मलाई त्यस क्षण झट्ट आयो । तर, बस पहाड चढेन, बरु आँ मुख बाएर बसेको ओढारजस्तोमा सुत्त पस्यो । उत्ति नै गतिका साथ त्यो भित्र छिर्‍यो । केही मिनेटमा फेरि फुत्त निस्कियो, केही बेर कुदेपछि फेरि अर्काे सुरुङ उसैगरी मुख खोलेर बसेको थियो । बस फेरि त्यसैभित्र छिर्‍यो । घण्टौंसम्म यसरी भित्र पस्दै र निस्कँदै गर्दा हामीले असंख्य पहाड छिचोल्यौं । आश्चर्य लाग्दा यी सुरुङ दुई लेनका र एकतर्फी थिए । हरेक पहाडको फेदमा दुई ठूला भ्वाङ पारिएका रहेछन् । एउटा भ्वाङबाट तिब्बत जाने मात्रै र अर्काेबाट आउने मात्रै ।


चीन र भारतको रेल काठमाडौंमा ठोक्कियो भने के गर्ने भनेर ठट्टा गर्दै बाटो कटाइरहेका बेला सुरुङैसुरुङको यो यात्रा अघि बढिरहेको थियो । यसरी गुडेको धेरैपछि भर्खरै बसालिएको जस्तो देखिने एक चम्किलो सहर आइपुग्यो । तिब्बती क्षेत्रका केही चिनियाँ अधिकारी र पत्रकार हामीलाई पर्खिबसेका रहेछन् । गधापच्चिसे उमेरका एक मंगोल अनुहार हाम्रा ठट्टाहरूमा हाँस्ने गरी छिट्टै नै घुलमिल हुन पुग्यो । उनी रहेछन् स्थानीय आवा दैनिकका संवाददाता पाडन । गोजीमा हटस्पट बाईफाई बोकेर हिँड्ने पाडनसँग हाम्रा साथी बबिन शर्माले पहिले र पछि हामी सबैले इन्टरेनटको साँचो लियौं । तिब्बती उच्च समस्थलीमा सुरुङहरूभित्र कुद्दै गर्दा पहिरो गएर मुग्लिङभन्दा पर फेरि पनि गाडी चल्न छाडेको समाचार पढ्दा मुटु त्यसै फुलेर आयो ।


छिमेकले यो भयावह सुरुङ खनिसक्दासम्म हामीचाहिँ पहिरो गई नै रहने ठाउँमा ढिपी गरीगरी बाटो बनाएको बनायै छौं । आजपर्यन्त नजाने कति धन यो पहिरोले लगेको बाटो जस्तातस्तै पार्न खर्च गर्‍यो होला हाम्रो मुलुकले ? अझै कति खर्च हुने हो कुन्नि † हिसाबै गरिल्याउँदा मुग्लिङदेखि नारायणगढसम्म यस्तो सुरुङ खन्ने पैसा त हामीले उहिल्यै खर्चिसक्यौं होला । तर पनि बाटो स्थिर भएको होइन, पहिरो खसेको खस्यै छ, यात्रु रोकिएका रोकिएकै छन् मुग्लिङमा । परारका वर्ष काठमाडौंदेखि नारायणगढसम्मको १ सय ४६ किलोमिटर सडक छिचोल्न पूरै १४ घण्टा लागेको थियो । छेन्दुदेखि हामीलाई चार सय किलोमिटर पर तिब्बतको आवा क्षेत्रमा आइपुग्न चारै घण्टाभन्दा बढी लागेन ।


‘हामी खाली रेल र पानीजहाज भनिरहेका छौं,’ ठूलठूला पहाडको यति सुगम यात्रा गरेको अनुभूतिले भावुकजस्तो देखिएका सहयात्री पत्रकार शम्भु कट्टेल फुसफुसाए, ‘बरु सुरुङ खन्नु नि मुख्यमुख्य ठाउँहरूमा !’


नेताहरू महिनैपिच्छे भनेजस्तो विदेश उडिरहन्छन्, हाच्छिउँ आयो भने सिंगापुर, जापान र अमेरिकामा पुगेर अदुवा–पानी खान्छन् तर पनि त्यहाँको विकास र समृद्धिको ढाँचाचाहिँ किन नपच्छ्याएका होलान् भनेर सहयात्री मित्रहरू सबले थकथकी मानिरहे ।


तिब्बतका पठारहरू हेर्दै एक हप्तासम्म बसमा सननन्न कुदेर गरेको यो यात्राका दौरान बन्दै गरेका अरू ठूलठूला परियोजना थुप्रै देखिए । सन् २००६ मै ल्हासासम्म लिक विच्छ्याएर लगेर संसारकै अग्लो भूभागमा रेल चढ्न संसारभरिका पर्यटक निम्त्याइसकेको चीनले छिन्दुदेखि सिचुवान प्रान्तभित्र पर्ने चिङघाई–तिब्बत उच्चसमस्थलीमा पुलैपुलको राजमार्ग बनाउँदै रहेछ । अहिले हामी हुइँकिएर आएको बाटो लामो र सानो भयो रे चीन सरकारलाई † अग्ला न अग्ला पहाडका चेपमा अर्काे वर्ष झनै तीब्र गतिका आवागमन सुचारु हुनेछ भन्ने चिनियाँ अधिकारीहरूको उद्घोष सुन्दा हाम्रा मित्रहरू तीन छकथिए । चीनलाई पुरानो भएको बाटो मात्रै पनि हाम्रा पहाडमा बिच्छ्याउन पाए कति जाति हुँदो हो भन्ने कल्पनाको बादलमा हामी केही बेर अलमल्यिौं पनि ।


उच्चसमस्थलीको यात्रा सुरु गर्नुअघि सिचुवान विश्वविद्यालयमा वान बेल्ट वान रोडका बारे हामीसँग छलफलमा जुटेका थिए प्राध्यापक दाइ योङहाङ । संसारलाई नै व्यापारिक मार्गको एउटै सूत्रमा जोड्न हिँडेको चिनले नेपाल हुँदै भारतसम्म रेल लैजाने योजना बनाइसकेको कुरो उनले गरेका थिए अनि भनेका थिए, ‘हुन त नेपालभन्दा १९ गुना ठूलो तिब्बतीको विकट पहाड छिचोलेर काठमाडौंमा रेल ल्याइरहनु चानचुने कुरा होइन । र, पनि तपाईंहरू चाहनुहुन्छ भने चीन सघाउनचाहिँ तयारै छ ।’


भारतबाट पनि काठमाडौंसम्म रेल ल्याउने सम्झौता गरेर चीनतिरबाट पनि त्यसै गर्ने सम्झौता ओलीले बेइजिङमा गरिरहेका बेला प्रोफेसर दाइले केही व्यङ्ग्य पनि गरे, ‘तर नेपाललाई त पहाडको बाटोभन्दा तराईकै बाटो भएर भारतको रेल काठमाडौंमा ल्याउँदा फाइदा छ, त्यसै गर्न हामी सल्लाह दिन्छौं ।’


तिब्बतका पठारहरूमा भएको यो सुगम यात्राले चाहिँ हामीलाई के अनुभूति दिलायो भने चाइनासँग साँच्चै नै सहकार्य हुन सक्यो भने सिगात्सेसम्म आइसकेको रेल केरुङ हुँदै रसुवाबाट ओरालेर काठमाडौं र त्यहाँबाट लुम्बिनी पुर्‍याउन चीनलाई कुनै आइतबार छैन । कुनै मामुली कुरोलाई जनाउन अंग्रेजहरू एउटा पदावलीको पयोग गर्छन्, पिन्च अफ साल्ट । नेपालमा ल्याउने भनेको यो रेलबाटो चीनका लागि त्यही पिन्च अफ साल्ट नै हो । तर, यसका लागि त उसले चाहेर मात्रै हुँदैन, हाम्रो आफ्नै क्षमता र दक्षता पनि हुनुपर्छ । त्यो के हामीसँग छ त ? चीनको यो चमकधमक हेरेर आइसकेपछि काठमाडौं ओर्लनेबित्तिकै सडकका खाल्डाहरूमा जमेको पानी र त्यहाँ भासिएका बाहनहरू हेरेपछि घरीघरी प्रश्न उठिरहेको छ, रेल ध्याउन्नमा कतै सरकार सडकमा जताततै परेका खाल्डै नदेख्ने गरी व्यस्त त भइसकेको छैन ?

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?