फर्सीको झोल

निबन्ध
लेखनाथ पौड्याल

काठमाडौँ — पहिले गोरखाको डाँडोमा गोरखनाथले एउटा लाम्चे फर्सी फलाएर गोरखकालीलाई पकाउन दिएका थिए, उनले पकाएको झोल पृथ्वीनारायण शाहले निकै पिए, गोरखकाली अन्तर्धान भएपछि त्यो फर्सी पृथ्वीनारायणका सन्तानको हात पर्‍यो, उनीहरूले पकाउन लागे, मौका पारेर हिन्दुस्तानबाट आएका गोराले त्यो फर्सी उडाउन खोजेका थिए ।

केही दिनअघि पश्चिम ३ नम्बर पोखराको नजिकै शुक्ला गण्डकीको घाटमा एक बाबा बसेका थिए । उनको रहनसहन सबै बेढंगी थियो । रुखासुखा जो मिल्थ्यो सो खान्थे, नमिलेमा भोकभोकै लडिरहन्थे । जाडो, गर्मी, वर्षा जहिले पनि कन्थामा गुट्मुटिन्थे । उनको कन्था देख्दा जस्तै फोहोरीले पनि घिनाउनुपथ्र्यो । उनी प्रायश: बोल्दैनथे, बोलिहाले पनि अनौठो ढंगसित । तर, तिनको त्यो बोलाइमा आकर्षण थियो, रोचकता थियो, दूरदर्शिता थियो । त्यसो गर्दा धेरैजसो मानिस सदा उनको वरिपरि घेरा लाग्थे ।


कहिले भन्थे— पापीहरूले कश्मीरका मानिसलाई भेडा बनाएर लुछ्न लागे । कहिले भन्थे— काली माई मानिसका गिदीको साबुन दली कोरियाको समुद्रमा नुहाइरहेकी थिइन्, अब त किनारमा उत्रेर कोरी–बाटी गर्न लागिछन् । ऊ सेता, राता, पहेंला जुम्राका ढाडी पटयाकपटयाक पड्केको पनि सुनिन्छ । कहिले भन्थे— बम्बईबाट सोझै पश्चिमतिरको गाममा एक मुठी सेता जुम्राले दस मुठी काला जुम्रालाई चिमोटीचिमोटी खाएका छन् । कहिले भन्थे— नारीलाई जुँगा, नरलाई सारी, त्यसो भए पो राम्रो होला ब्रह्माको फूलबारी । कहिले भन्थे— देख्यौ अमेरिकी ठिटो सुनको पगरी लगाएर राजा परीक्षित बन्यो । हेर है अब त्यसले कुन ऋषिको घाँटीमा मरेको सर्प हालिदिन्छ... इत्यादि इत्यादि । गाउँलेहरू उनलाई लहडी बाबा भन्थे तर उनको सच्चा नाम थियो ‘दर्शनभट्ट’ ।

Yamaha


उनले बोलेको कुरा पट्टपट्ट पुग्थ्यो, मानिसहरू बडो चाख मानेर सुन्थे, कोहीकोही केही सोचिरहन्थे पनि । एक दिन ८/१० जना ठिटाका अगाडि मुसुमुसु हाँसेर उनले भने, ‘खायौ फर्सीको झोल ? फर्सी पकाउन त गाह्रो पो छ ।’ बाबा यति भनेर चुप लागे । एउटा मुखाले ठिटाले सोध्यो, ‘बाबा † खुलस्त आज्ञा होस् न हामीले क्यै पनि बुझेनौं ।’ बाबाले एक चिलिम
उडाएर भने—
उहिल्यै क्या, उहिल्यै धेरै नै पहिले भगवान् भोलानाथ कैलाशमा लडिरहनुहुन्थ्यो, सतीदेवी एउटा ठूलो भर्सी पकाएर त्यसको तातो झोल उहाँलाई पिलाउँथिन् । सतीदेवी माइत गएर यज्ञकुण्डमा होमिएपछि भोलानाथ आश्रममा लडेर रुन लाग्नुभयो, फर्सी पाक्न छोडयो । देवताहरू बारम्बार कैलाशमा गएर भोलानाथलाई सम्झाउन बुझाउन थाले ।
एक दिन सम्झाउन गएका इन्द्रको आँखा त्यही सतीदेवीले पकाउने गरेको फर्सीमा पर्‍यो, उनले त्यसमा हात्ती, घोडा, चमर, ऋद्धिसिद्धि सबै कुराको छापा देखेर आश्चर्यसाथ भोलानाथको मुख हेरे । उनको मन निकै चक्करायो, मुखबाट अलिकति र्‍याल पनि चुह्यो ।


भोलानाथमा विरहभन्दा विवेक ठूलो थियो, उहाँले उतिखेरै लोभी इन्द्रलाई भन्नुभयो, ‘के त्यो फर्सीमा इच्छा लाग्यो ? लैजाऊ, म त्यो खुसीसित दिन्छु । तर त्यो फोर्न हुन्न है, सिङ्गै पकाएर झोल झिक्नुपर्छ । यहाँ मेरी सतीदेवी छैनन् । अब त्यो कसले पकाओस् ?’ भोलानाथको कुरामा इन्द्र अलमलिए । पहिले उनको मर्म बुझेर भोलानाथले फेरि आज्ञा भयो, ‘तीनचम्के चुलोमा ठूलो झ्याँगा बसाल्नु र त्यसमा त्यो फर्सी हाल्नू अनि इन्द्राणीलाई डाडुले चलाउन लगाउनू, आगाको आँच पुगेपछि फर्सीबाटै तातो झोल निस्कन्छ र झ्याँगा भरिन्छ । कुरा बुझ्यौ ? त्यो तातो झोल जसले पियो त्यो अजरामर पनि हुन्छ । तर इन्द्राणीले मरमसला चलाई पकाई सबै कुराको तारतम्य राम्रो मिलाउन सक्नुपर्छ, यो कुरा पनि याद राखे । नत्र...’
इन्द्र लोभी थिए । भोलानाथको कुरा सुन्नासाथ उनको जिब्रो सर्र रिसायो । उनले हात जोरेर भने, ‘कुनै एउटा भूत–प्रेतलाई आज्ञा भए बोकाएर लाने थिएँ ।’ भोलानाथ हाँसेर भन्नुभयो, ‘भूतप्रेतले त छोए पनि कुहुन्छ, जसोतसो गरी आफैं लगी जानुपर्छ ।’ अलिबेर देवराजको मनमा लोभको लज्जाको कुस्ती पर्‍यो, आखिर यता लोभले लज्जालाई पछार्‍यो, उता महाराज इन्द्र ‘प्रभुको आज्ञा शिरोपर’ भन्दै सकीनसकी फर्सी काँधमा हालेर कुलेलम भए । थोरै कालमा फर्सीको भारीले कुप्रिएर इन्द्र आफ्नो रंगमहलको ढोकामा पुगेर चिच्याउन लागे— इन्द्राणी † इन्द्राणी †† चाँडो आऊ यो फर्सी झट्टै समात । (सुस्केरा)


इन्द्राणी इन्द्रको हतपते स्वर सुनेर ढोकामा आइथिन् । उनको अवस्था देख्दा शचीको मन चक्करायो । इन्द्रले फर्केर भने, ‘किन पक्क पछर्यौ ? यो भगवान् भोलानाथको प्रसाद हो, राम्रोसँग राख, अरू कुरा थकाइ मरेपछि भनुँला ।’ इन्द्राणीले फर्सी जतनसँग राखिन् । इन्द्रले एकान्तमा सबै बेलिविस्तार लगाए ।


भोलिपल्टदेखि फर्सी तीनचम्के चुलोमा बसालियो । इन्द्राणी डाडु लिएर वर्काउन फर्काउन थालिन् । झोल पिउन देवताहरूको ताँती लाग्यो । सब जना मस्तामस्ती भए । म सुन्थें— कहिलेकाहीं त्यो झोल पिउने कपहर पखालेको मैलो पानी पृथ्वीतलका पान गोष्ठी ‘भट्टी, क्लब, होटल’ हरूमा पनि फैलिन्थ्यो अरे ।


एक दिन कुरैकुरामा इन्द्र र इन्द्राणीको टकरार भयो, इन्द्राणीले डाडु छाडिन् र हाँस्न थालिन् । इन्द्र कमर कसेर आफैं डाडु घुमाउन लागे । त्यो दम्पतीको कलहवृक्ष चाँडै नै फल्यो र शुम्भ र निशुम्भ नामक दैत्यले इन्द्रलाई गलहत्याएर त्यो फर्सी कुदाइहाले । स्वर्गमा हाहाकार भयो, सारा देवताहरू फर्सी फर्काउनका निम्ति दौडे । धेरै कालसम्म देवता–दैत्य दुवैमा घोर संग्राम भयो । आखिर दैत्यहरूको पिटाइले थिलोथिलो भएका देवताहरू आफ्नाआफ्ना घरमा आएर ओठ चाट्न थाले । त्यसै बेला इन्द्रतिर हेरेर इन्द्राणीले भनिन्, ‘खाएनौ के फर्सीको झोल ?’


स्त्री जातिको मनजस्तो कठोर हुन्छ, उस्तै कोमल पनि । देवताहरूको रुन्चे मुख देख्दा प्रत्येक देवीहरूको मन पग्लेर आयो । ब्राह्मी, वैष्णवी, माहेश्वरी, इन्द्राणी, कौमारी, वाराही आदि सम्पूर्ण देवीहरू एकसाथ गएर शुम्भ–निशुम्भलाई पछारीकन त्यो फर्सी फर्काइछाडे । सृष्टिको सुरुदेखि आजसम्म फर्सीको झोलका बारेमा जो जति झमेला उठेको छ, त्यसमा स्त्री जातिको नै प्रधानता छ । एक पटक दैत्यले कुदाएको फर्सी फर्काउनका निम्ति इन्द्रले राजा दशरथलाई गुहारे । त्यो बेला कैकयी साथमा नगएकी भए न त्यो फर्सी फर्कन्थ्यो न दशरथको ज्यानै बच्दथ्यो । मानिसहरू भन्छन् त्यो बेलादेखि पृथ्वीमा पनि त्यही फर्सीको बियाँ ल्याएर रोपियो ।


कैकयीले फर्सीको मर्म स्वर्गमा नै बुझेकी हुनाले पृथ्वीमा आएर अयोध्यामा फर्सीको झोल आफ्ना छोरा भरतलाई पियाउन तयार पारेकी थिइन् । लाछी भरत दाजुलाई नख्वाई खान्न भन्दै चित्रकूटतर्फ दौडयो । रावणले सीता फर्सी पकाउन जान्दछिन् भन्ने सुन्यो र उनलाई लङ्कामा पुर्‍यायो । सीताले फर्सी त पकाइन् तर झोल खोन विभीषण भयो । ताराले कहिले बालीको फर्सी पकाइन् कहिले सुग्रीवको, डाडु हातबाट कहिल्यै छुटेन, उनका हातमा त्यो नभएर अंगद मर्ने थियो ।


गान्धारी कौरवको फर्सी पकाउँथिन्, कुन्ती पाण्डवको, लुछाचुँडी हुँदाहुँदै बुहारी द्रौपदी छिर्के लगाइन् हस्तिनापुरे फर्सी पाण्डवका निम्ति पाक्यो । श्रीकृष्णले द्वारकामा ठूलो फर्सी फलाएका थिए, त्यसलाई उनका सोह्र हजार एक सय आठ पटरानीहरू पकाउँथे, झोल पिउने यादवको संख्या छपन्न करोड थियो रे । सुनिन्छ सोह्र हजार एक सय आठ पटरानीहरू पकाउँथे, झोल पिउने यादवको संख्या छपन्न करोड थियो रे । सुनिन्छ सोह्र हजार एक सय आठमा पनि आठवटीले त फर्सीको काममा तक्मा पनि पाएका थिए अरे ।


धेरैपछि हिन्दु राजा पृथ्वीराजकी महारानी संयोगिताले हिन्दुस्तानको फर्सी पकाउँथिन् नूरजहाँ । शाहजहाँको पालामा फर्सी पकाउँथिन् मोमताज बेगम । पछि औरङ्गजेबले आफैं डाडु घुमाउन लाग्दा फर्सी उफ्रन लाग्यो, केही वर्षसम्म त्यसमा धेरै जनाको हानालुछी चल्यो, अन्त्यमा इस्ट इन्डिया कम्पनीले उछिन्यो र सात समुद्रपारिका गोरा र गोरीलाई तातो झोल पिलाउन सुरु गर्‍यो । यता झाँसीकी रानी प्रभृति पाकविद्यामा सिपालु आइमाईहरू त्यै झोलका निम्ति उत्पात मच्चाउन लागे, त्यो देखेर बलियी र बाठी बेलायतकी महारानी भिक्टोरियाले आफैं अघि सरेर त्यो फर्सीको झोल सबैलाई बाँड्न थालिन्, डेढ सय वर्षसम्म गोरा गोरीले ओकल्नसम्म ओकले । हिन्दुस्तानी भोकभोकै सुकेर मौका हेरिरहेका थिए । दोस्रो महायुद्धमा अंग्रेजहरूको घाँटी समाते र गान्धी बाबाले त्यो फर्सी फिर्ता गराए । सिराजिनी नायडू, विजयालक्ष्मी पण्डित, फर्णिमा ब्यानर्जी, राजकुमारी अमृतकौर आदि बुद्धिमती महिला नभए उहिल्यै त्यो फेरि अर्कैले कुदाउँथ्यो तर तिनीहरूले डेग चल्न दिएका छैनन्, सुनिन्छ कि विजयालक्ष्मीले त रुस, अमेरिकाको फर्सीमा पनि मसला दिइन् रे ।
यति भनेर लहडी बाबा हाँसे । एउटा ठिटोले बालचुरको चिलिम टक्रयायो ।


केही बेरपछि उही ठिटोले सोध्यो, ‘बाबा ! हाम्रो यहाँ के त्यो फर्सीको बीउ आएको छैन ? यहाँ फल्दैन ?’ बाबाले भने—किन फल्दैन फलेकै छ, पाक्तै छ, गुड्दै छ । पहिले गोरखाको डाँडोमा गोरखनाथले एउटा लाम्चे फर्सी फलाएर गोरखकालीलाई पकाउन दिएका थिए, उनले पकाएको झोल पृथ्वीनारायण शाहले निकै पिए, गोरखकाली अन्तर्धान भएपछि त्यो फर्सी पृथ्वीनारायणका सन्तानको हात पर्‍यो, उनीहरूले पकाउन लागे, मौका पारेर हिन्दुस्तानबाट आएका गोराले त्यो फर्सी उडाउन खोजेका थिए, कसोकसो गरेर उनकी कान्छी महारानीले जोगाइन् । पछि राजेन्द्रकी कान्छी महारानीले त्यसको तातो झोल सौताका छोराको मुख मोसेर आफ्ना छोरालाई मात्र पिलाउन खोज्दा कोतको अर्कै रातो झोलको मूल फुटयो । फर्सी उछिट्टियो र जंगबहादुरको हातमा पुग्यो, उनले मर्म बुझेको हुनाले हत्त र पत्त त्यो फर्सीमा डाडु घुमाउने काम मैयाँ महारानीको गलामा झुन्डयाए । त्यसपछि जो जति राणा शासक भए सबैले फर्सी पकाउने अभिभारा कान्छी महारानीकै जिम्मामा राखे पनि एक दोटाले आफैं पकाउँछौं भन्दाभन्दै हुर्दुङ्गा कांग्रेसी ठिटा आएर फर्सी दौडाए, उनीहरूले पनि आफ्ना श्रीमतीहरूका हातमा फर्सी पकाउने काम सुम्पन नजानेको हुनाले फर्सी गुड्दै गएर सल्लाहकारहरूको हातमा पुग्यो । नजाने अब यो कसले पकाउँछ ? कसरी पकाउँछ ? कसको झोल निस्कन्छ ? कसले त्यो पिउँछ ? त्यसको क्यै पत्तो छैन । भगवान गरून् खेलाँची गर्दागर्दै त्यो अनमोल फर्सी फुत्केर काला लङ्गुरका हातमा नपरोस् ।
(कविशिरोमणि रचनावली, भाग–४ बाट साभार)

प्रकाशित : असार २३, २०७५ १०:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिया बारीमा हो...

फोटो
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा चिया खेतीको इतिहास करिब डेढ सय वर्ष मानिन्छ । यो चिया उद्यमका आ–आफ्नै पीडा छन् । न्यूनतम ज्याला नपाएको पीडा श्रमिकसँग छ भने उद्यमीलाई अनावश्यक सेवा सुविधा दिनुपर्दाको समस्या पनि छँदैछ ।

सरकारले चिया श्रमिकका समस्यालाई श्रम ऐन मार्फत सम्बोधन गरेको छ । गत वर्ष नै ऐन पनि लागू भयो । तर, चिया उद्यमीले ऐन कार्यान्वयनमा आलटाल गरिरहेका छन् । श्रमिकहरू सरकारले तोकेको सेवा सुविधा पाउनुपर्ने अडानमा छन् । तर, उद्यमी सरकारले तोकेबमोजिम गर्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् । श्रमिक अभावका कारण प्लकिड मेसिनको प्रयोग पनि चिया बगानहरूमा बढ्दो छ । चारजनाले आठ घण्टामा गर्ने काम एक मेसिनले दुई तीन घण्टामै गर्छ । चिया क्षेत्रमा हाल करिब ३० देखि ४० हजार श्रमिकहरू आश्रित रहेको अनुमान गरिन्छ । तर, श्रमिकको यो संख्या बर्सेनि घट्दो छ । चियामा श्रमिक अभाव हुन थालेपछि भारतबाट श्रमिक मगाएर पनि उद्यमीहरूले काम लगाइरहेका छन् । त्यसो गर्दा उनीहरूलाई फाइदै छ । ‘भारतीय श्रमिकलाई न्यूनतम पारिश्रमिक या सरकारले तोकेको सेवा सुविधा दिनु पर्दैन,’ चिया उद्यमी कुमार गिरी भन्छन् ।

शब्द/ तस्बिर: पर्वत पोर्तेल

प्रकाशित : असार २३, २०७५ १०:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT