कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चित्रकलाको इतिवृत्ति

पुस्तक

काठमाडौँ — नेपाली भाषामा लेखिएका ललितकला विषयसम्बन्धी पाठ्यसामग्रीहरूको सर्वथा अभावलाई दृष्टिगत गर्दै सिर्जना कलेज अफ फाइन आर्टस्ले ‘चित्रकला’ शीर्षकको अत्यन्तै उपयोगी पुस्तक प्रकाशन गरेको छ । यस पुस्तकमा चित्रकलाका तत्त्वहरू, कलाका आधारभूत नियमहरू तथा यस विधामा प्रयोग हुने सामग्री तथा माध्यमहरूबारे जानकारीहरू चित्रसहित समेटिएका छन् । यस अतिरिक्त सुप्रसिद्ध स्वदेशी तथा विदेशी चित्रकारहरूसँग सम्बन्धित विविध जानकारीहरू पनि यसमा समाविष्ट छन् ।

चित्रकलाको इतिवृत्ति

कलाबारे सामान्य चर्चा, दृश्यकलाका तत्त्वहरू, कलाका आधारभूत नियमहरू, चित्रकलाका माध्यम तथा औजारहरू गरी जम्मा चारवटा परिच्छेदहरू यस पुस्तकमा रहेका छन् ।
पाषाणयुगीन गुफा चित्रहरूबाट सुरु भएका कलाको इतिहास इजिप्ट, मेसोपोटामिया, सिन्धुघाँटी, ग्रीस, रोम आदि प्राचीन मानव सभ्यताहरू हुँदै युरोप र एसियाका शास्त्रीय युगसम्म आइपुग्दा विकासको उत्कर्षमा पुगिसकेको र विभिन्न समयमा प्रतिपादित विविध वाद, शैली एवम् कला आन्दोलनहरूले कलालाई सर्वथा नौलो र आधुनिक स्वरूप प्रस्तुत गरिसकेका उदाहरणसहित कलाका औपचारिक पक्षहरूबारे कसरी मनन गर्ने र कलाको रसास्वादन कसरी गर्ने भन्नेबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।


विभिन्न कालखण्डका विश्वप्रसिद्ध कलाकारहरू तथा नेपालका अग्रज एवम् मूर्धन्य कलाकारहरूबाट सिर्जित चित्रलाई सन्दर्भअनुसार उदाहरणका रूपमा प्रस्तुत गरिनुलाई यस पुस्तकको प्रमुख विशेषताका रूपमा लिन सकिन्छ ।


त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातक तह (बीएफए) को चित्रकला विषयको पाठ्यक्रमका आधारमा तयार पारिएको यस पुस्तकबाट चित्रकलाका विद्यार्थीलाई पाठ्यक्रमद्वारा निर्दिष्ट समता हासिल गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यस अतिरिक्त चित्रकला बारेमा जानकारी लिन चाहने व्यक्तिहरूसमेत यसबाट लाभान्वित हुने विश्वास गर्न सकिन्छ ।


यसका लेखक समूहमा नवीन्द्रमान राजभण्डारी, अशोकमान सिंह, कृष्णगोपाल श्रेष्ठ तथा विजय महर्जन रहेका छन् । पुस्तकको सम्पादन नवीन्द्रमान राजभण्डारीले गरेका हुन् । सुन्दर डिजाइनसहित स्तरीय कागजमा मुद्रित १२४ पृष्ठको यस पुस्तकको मूल्य आठ सय रुपयाँ रहेको छ ।

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?