१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रेसिडेन्ट सपना

व्यक्ति
चेतनाथ आचार्य

काठमाडौँ — दिनेश कण्ठ अहिले पोखरा, लुम्बिनी, चितवन र नगरकोट लगायतका चिनियाँ पर्यटकका लागि लोकप्रिय ठाउँमा होटल खोल्ने प्रयास गर्दै छन् । उनको अनुभवमा नेपालमा महँगा चिनियाँ पर्यटक गएकै छैनन् । मध्यम वर्गका केही र निम्न वर्गका चिनियाँ पर्यटक मात्र नेपाल जान्छन् ।

प्रेसिडेन्ट सपना

अफिसले तालिमका लागि चीन पठाउने बताएपछि ‘चीन जानुभन्दा त जागिर नै खान्न’ भन्दै राजीनामा दिएका वीरगन्जका दिनेश कण्ठले अन्तत: चीनलाई नै आफ्नो कार्यथलो बनाएका छन् । होटल बिजिनेसमा उनले सम्भवत: अरू कुनै पनि नेपालीले प्राप्त नगरेको सफलता पाएका छन् । उनी अहिले विश्वकै ख्यातिप्राप्त अस्ट्रेलियन चेन होटल समूह अज्र्यालको भाइस प्रेसिडेन्ट छन् ।


कोलम्बो प्लानको छात्रवृत्ति पाएर भारतबाट केमिकल्स इन्जिनियरिङ गरेका दिनेश कण्ठ २०४६ मा गोरखकाली रबर उद्योगमा प्रोडक्स स्ट्रक्चर डिजाइनिङमा काम गर्थे । जागिर खाएको तीन महिनापछि उनलाई अफिसले चीनमा ६ महिनाका लागि तालिममा पठाउने अवसर दियो । अरूका लागि निकै राम्रो अवसर भए पनि उनले तालिमका लागि चीन जाने भनिसक्दा जागिरबाटै राजीनामा दिए । हैट चाइना † न भाषा मिल्छ न संस्कृति † न खानेकुरा मिल्छ न त धर्म नै ! जहिल्यै पनि नुडल्स खानुपर्ने † तालिममा जानुभन्दा बरु जागिर नै खाँदिनँ’ भन्दै उनले राजीनामा दिए ।


हुन त उनले लोकसेवा आयोग दिएर उद्योग विभागका लागि अधिकृतस्तरको परीक्षा पनि उत्तीर्ण गरेका थिए । त्यतिबेला शाखा अधिकृतको तलब १४७० रुपैयाँ थियो । त्यसलाई छोडेर उनी गोरखकाली रबर उद्योगमा त्यसको दोब्बर २ हजार ९ सय रुपैयाँको जागिर खान गएका थिए । रबर उद्योग छोडेर उनले याक एन्ड यती होटलमा काम सुरु गरे । पाँचतारे होटलमा वाटर ट्रिटमेन्ट प्लान्ट (पानी सफा गर्ने विभाग), फुड एन्ड वेभरेज (खाना तथा पेय विभाग), लन्ड्री प्लान्ट (लुगा धुने विभाग) लगायतका क्षेत्रमा केमिकल इन्जिनियर आवश्यक हुन्छ । होटलमा उनको तलब ५ हजार थियो । त्यहाँ पनि उनले त्यति लामो समय काम गरेनन् । याक एन्ड यतीबाट उनी सोल्टी होटलमा पुगे । सोल्टी होटलमा उनले २०४९ देखि २०५२ सम्म काम गरे । सोल्टी होटलमा काम सुरु गर्दा उनको तलब ८ हजार थियो भने छाड्ने बेलामा १० हजार भइसकेको थियो ।


सोल्टी र याक एन्ड यती होटलमा काम गर्ने विदेशीको तलबचाहिँ त्यतिबेलै २ हजार अमेरिकी डलर थियो । ती विदेशीले एक वर्षमा पाउने तलबजति कमाउन त उनले २० वर्ष काम गर्नुपर्ने रहेछ । उनीहरूको दुई वर्षको पैसा कमाउन ४० वर्ष अर्थात् जीवनकै सबै ऊर्जाशील समय खर्च गर्नुपर्ने ।


त्यतिबेला सोल्टी होटल इन्टरकन्टिनेन्टल समूहमा थियो । इन्टरकन्टिनेन्टल समूहले चीनको एउटा होटलका लागि अन्तर्राष्ट्रिय विज्ञापन आह्वान गरेको रहेछ । उनले त्यसमा आवेदन दिए । अनि छनोट पनि भए । ‘चीन जानुभन्दा त जागिर नै खाँदिन’ भनेर राजीनामा दिएका उनै दिनेश त्यसको ६ वर्षपछि २०५२ सालमा चीनको चङचौ सहरमा काम गर्न आए । चीनमा काम थाल्दा नै उनको तलब २ हजार अमेरिकी डलर थियो ।


अब उनले पाँचतारे होटलको महाप्रबन्धक हुने सपना देख्न थाले । महाप्रबन्धक बन्नकै लागि उनले २०५७ सालमा अमेरिकाको कोलोनलबाट दुईवर्षे महाप्रबन्धकको कोर्स अध्ययन गरे । एक वर्ष अमेरिकामै बसेर पढे भने अर्को वर्ष चीनमा काम गर्दै स्वअध्ययन गरे । त्यसपछि उनले थाहा पाए चीनमा उनी कार्यरत होटल समूहबाटै पनि महाप्रबन्धकको कोर्स गर्न पाइनेरहेछ । उनले इन्टरकन्टिनेन्टल समूहबाट २०५८ सालमा फेरि महाप्रबन्धकको कोर्स गरे ।


केमिकल इन्जिनियर त छँदै थिए त्यसमाथि उनीसँग महाप्रबन्धकको दुईदुईवटा सर्टिफिकेट प्राप्त भयो । यी दुई पक्षबाट सक्षम व्यक्ति पाँचतारे होटलमा उत्कृष्ट मानिन्छ । उनी २०५९ सालमा चीनको चङचौबाट हाइनान प्रान्तको हाइखोमा सरुवा भए र सहायक महाप्रबन्धक पदमा बढुवा पनि भए । त्यसपछि उनी विभिन्न ठाउँमा काम गर्दै २०६३ सालमा साङहाई पुगेर महाप्रबन्धक भए । विश्वभरि इन्टरकन्टिनेन्टल समूहमा ५ हजार ५ सय होटलहरू छन् । चीनमा मात्र हजारभन्दा बढी छन् । त्यस्ता विभिन्न होटलमा उनले काम गरेका छन् । नयाँ होटल स्थापना गरेर सफल बनाएका छन् उनले । पछिल्लो समय उनले चीनको हपेई प्रान्तको सदरमुकाम सच्याच्वाङस्थित होलिडे इन पाँचतारे होटलमा डेढ वर्ष महाप्रबन्धक पद सम्हाले । घाटामा चलिरहेको त्यो होटललाई उनले छ महिनामै नाफामा पु‍र्‍याइदिए । चीनभरि रहेका इन्टरकन्टिनेन्टल समूहका पाँचतारे होटलहरूका महाप्रबन्धकहरूमा उनी उत्कृष्ट भएर अवार्ड पनि प्राप्त गरे । महाप्रबन्धक भएर उनले चीनकै आधा दर्जनजति होटलमा काम गरिसकेका छन् । पहिलोपटक चीनमा काम गर्न आउँदा जे जति चुनौती भोगे अहिले सबै कुरा सहज भएको छ । पहिले भाषाको चुनौती थियो । अहिले उनी फरर्र चिनियाँ बोल्छन् । पहिले उनको जिम्मेवारीमा टार्गेट कसरी पूरा गर्ने भन्ने चुनौती थियो पछिल्लो समय उनले जहाँजहाँ होटलको नेतृत्व गरे त्यहाँ टार्गेटभन्दा बढी उपलब्धि प्राप्त गरे । काम गर्दै गएपछि सहज परिस्थित हुनासाथ उनी त्यसलाई छोडेर चुनौतीको जोनमा प्रवेश गर्न चाहन्छन् । केमिकल इन्जिनियर भएपछिका उनका हेरक जागिरे जीवनले त्यही प्रतिविम्बित गर्छ ।


उत्कृष्ट महाप्रबन्धक भएर पुरस्कृत हुनासाथ उनले इन्टरकन्टिनेन्टल समूह छोडेर अर्को चुनौतीलाई स्वीकार गरेका छन् । अहिले उनी अस्ट्रेलियन चेन होटल अज्र्याल ग्रुपमा प्रवेश गरेका छन् । यसका अहिले चीनमा एक सय पचास होटल छन् । यसमा उनी भाइस प्रेसिडेन्ट अर्थात् दोस्रो उच्च तहमा रहेका छन् । पाँचतारे होटल समूहको चेनमा यो तहमा पुग्ने सम्भवत: उनी पहिलो नेपाली हुन् । यसभन्दा अगाडि उनी एउटा होटलको महाप्रबन्धक थिए । त्यो होटलको सम्पूर्ण जिम्मेवारी उनको काँधमा थियो । अब उनी मातहतमा एक सय पचास होटलका महाप्रबन्धक छन् ।


अहिले उनको मुख्य कार्यालय बेइजिङमा छ । दोस्रो कार्यालय क्वाङ्चौ र तेस्रो कार्यालय साङहाईमा छ । उनी ४० प्रतिशत मात्र कार्यालयमा रहन्छन् । ६० प्रतिशत समय त विभिन्न क्षेत्रका होटलको अनुगमन र नयाँ होटल खोल्नका लागि फिल्डमै बित्ने गर्छ । बुटिक र स्मार्ट होटलका चारतारे र पाँचतारे होटल भएको अज्र्याल समूहले नेपालमा पनि होटल खोल्न चासो राखेको छ । दिनेश अहिले पोखरा, लुम्बिनी, चितवन र नगरकोटलगायतका चिनियाँ पर्यटकका लागि लोकप्रिय ठाउँमा होटल खोल्ने प्रयास गर्दै छन् । उनको अनुभवमा नेपालमा महँगा चिनियाँ पर्यटक गएकै छैनन् । मध्यम वर्गका केही र निम्न वर्गका चिनियाँ पर्यटक मात्र नेपाल जान्छन् । चिनियाँको मानसिकता बुझेर पर्यटकका लागि त्यहीअनुसारको सेवा सुविधा उपलब्ध गराउँदा चिनियाँ पर्यटकले दैनिक २ हजार डलर सजिलै तिर्न सक्ने उनको अनुभव छ । त्यसकारण उनी चिनियाँ ब्रान्डको लग्जरिज होटल नेपालमा प्रवेश गराउने ध्याउन्नमा लागेका छन् ।


नेपालका पाँचतारे होटलमै भएका चिनियाँ रेस्टुरेन्टले पनि चिनियाँलाई आकर्षित गर्न नसकेको उनले बताए । सुरुमा एकदुई होटल खोलेपछि चीनबाटै जनशक्ति लानुपर्ने र पछि त्यही होटलबाट तालिम दिन सकिने उनी बताउँछन् । उनी भन्छन्, ‘चीनमा राजनीति र युनियनसँग कुनै चासो हुँदैन । हरेक कर्मचारीले समयको पूरै पालन गर्छन् । काममा दत्तचित्त भएर काम गर्छन् ।’


नेपालमा राम्रो होटल खोलेर पर्यटन सेवा गर्ने सोचाइ राखेका दिनेश कण्ठको सपनाचाहिँ अन्तर्राष्ट्रिय चेन होटल समूहको प्रेसिडेन्ट बन्ने रहेको छ । उनी भन्छन्, ‘पहिले चाइना जानेभन्दा जागिरबाटै राजीनामा दिएँ, अहिले यही चाइनाले सफलताको सिँढी चढायो । चीन बस्ताबस्तै अन्तर्राष्ट्रिय चेन होटलको प्रेसिडेन्ट बन्ने लक्ष्य छ ।’
[email protected]

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?