व्यक्ति एक जीवन अनेक

समीक्षा
राजकुमार हिरानी ‘मुन्नाभाई एमबीबीएस’ देखि निर्देशन, लेखनमा आए । त्यसपछि उनले ‘थ्री इडियट्स’ मा शिक्षा प्रणाली र ‘पीके’ मा धार्मिक विकृतिमाथि ठाडो प्रहार गरे । यस पटक उनी मिडियामाथि खनिएका छन्, तर्कसहित ।
सुशील पौडेल

काठमाडौँ — यस पटक निर्देशक राजकुमार हिरानी मिडियामाथि खनिएका छन्, तर्कसहित । त्यसो त कलाकार, फिल्मकर्मीलाई सेलिब्रिटी बनाउने काम पनि मिडियाकै हो । तर, हिरानी मिडियालाई अहिलेको खोजी पत्रकारितामा भन्दा चटपटे बिकाउ समाचार उन्मुख फस्टाउँदो व्यवसाय भनी टिप्पणी गरेका छन् ।

व्यक्ति एक जीवन अनेक

बाप्पु र बाबा । बाप्पु उर्फ महात्मा गान्धी । बाबा अर्थात् म सञ्जय दत्त । हामी दुईको जीवनको ‘ग्राफ’ धेरै हदसम्म मिल्दोजुल्दो छ । जस्तो कि हामी दुईले नै यरवाडा जेलमा कैयन वर्ष बिताएका छौं । बाप्पु हिंसाको विरुद्ध लठ्ठी सधैं साथ राख्थे र कहिलेकाहीं चलाउँथे पनि । मैले पनि एके ५६ सधैं साथमा राख्थें । उनको सपना थियो, देशको मुक्ति र मेरो आफ्नैं मुक्ति ।”

अभिनेता सञ्जय दत्त जब मुम्बई बम हमलापछि अवैध हतियार राखेको र आतंककारीसँग सम्बन्ध रहेको अभियोगमा पक्राउ परे । अदालतको फैसलाबिनै मिडियामा सञ्जयलाई आतंककारीझैं गरी प्रस्तुत गर्न थालियो । दत्त परिवार भने घटनाको वास्तविकता जनस्तरमा ल्याउन चाहन्थ्यो र त्यसका लागि सञ्जयको आत्मकथा बाहिर ल्याउनु उपयुक्त ठानियो । यसका लागि गीतकार त्रिपाठीले ‘बाबागिरी’ शीर्षकमा पुस्तक तयार पारे जसको पहिलो अध्यायको सुरुआत नै सञ्जयलाई महात्मा गान्धीसँग तुलना गर्दै देवत्वकरण गरिएको थियो । तर, सञ्जयले यसलाई ठाडै इन्कार गरिदिए र जे हो त्यही बाहिर ल्याउनका लागि नयाँ लेखक खोजे, विन्नी (अनुश्का) ।


निर्देशक राजकुमार हिरानीले सञ्जुलाई एक लेखिकाको खोजी आधारमा बक्ररेखाबाट कथा भन्ने जमर्को गरेका छन् । कुनै बेला ‘लगे रहो मुन्नाभाई’ मा सञ्जयलाई गान्धीगिरी गर्ने मुख्य चरित्रमा चित्रण गराएका उनै हिरानीले सञ्जुमा भने सुरुआतमै यसको खण्डन गरिदिएका छन् । ‘सञ्जु’ सञ्जय दत्तको सपाट जीवनी हैन । बरु बाबु सुनील र साथीहरूबीचको सञ्जयको सम्बन्ध र दोस्तीको फेहरिस्त हो । अनि हो, उनको जीवनको कालो पक्षका रूपमा रहेको लागू औषधि दुव्र्यसनी, केही हदसम्म स्त्रीमोह अनि अन्डरवल्र्ड डनसँगको हिमचिम । अथवा, सञ्जु बाबु सुनील, साथी कमली र बाँबरी मस्जिद घटनाबाट सञ्जयलाई गरिएको वर्णन हो ।


राजकुमार हिरानी ‘मुन्नाभाई एमबीबीएस’ देखि निर्देशन, लेखनमा आए । पहिलो फिल्म नै ‘ब्लकबस्टर्स’ हिट दिएका उनले यसमा स्वास्थ्य क्षेत्रका विकृतिमाथि निर्मम व्यंग्य गरेका छन् । त्यसपछि उनले ‘थ्री इडियट्स’ मा शिक्षा प्रणाली र ‘पीके’ मा धार्मिक विकृतिमाथि ठाडो प्रहार गरे । यस पटक उनी मिडियामाथि खनिएका छन्, तर्कसहित । त्यसो त कलाकार, फिल्मकर्मीलाई सेलिब्रिटी बनाउने काम पनि मिडियाकै हो । तर, हिरानीले मिडियालाई अहिलेको खोजी पत्रकारितामा भन्दा चटपटे बिकाउ समाचार उन्मुख फस्टाउँदो व्यवसाय भनी टिप्पणी गरेका छन् । मुम्बई घटनाअघि के सञ्जयको घरमा विस्फोटक पदार्थको ट्रक थियो ? भनी प्रश्नवाचक शैलीमा लेखिएको समाचारले सञ्जयलाई कसरी सिध्याउन खोज्यो भन्ने पाटोमा फिल्मको दोस्रो भाग खर्चिइएको छ । मिडियाविरुद्ध त अझ फिल्म सकिएपछि आउने गीत, ‘बाबा बोल्ता है बस हो गया...’ मा अझ खनिएका छन्, हिरानी ।


सञ्जुको पूर्वाद्र्ध सञ्जयको खराब साथीको संगत र लागूऔषध सेवन वरिपरि घुमेको छ । फिल्म हेर्दा यस्तो लाग्छ— तनावका कारण सञ्जयले ड्रग्स लिएको भन्दा ‘ड्रग्स लिएका कारण बढी तनाव उत्पन्न भएको’ छ । बिहेका लागि तयार युवतीले छाडेर जानु, काममा ध्यान नजानु र लगातार दर्जनौं फिल्म फ्लप हुनु सञ्जयका जीवनका दु:खद क्षण हुन् । तर, दु:खमा पनि अनवरत साथ दिने बाबु र बाघजस्तै गर्जन हिम्मत जुटाइदिने साथी कमली नै सञ्जयको जीवन बर्बाद हुनबाट जोगाउने दुई अभिन्न पात्र हुन् ।


‘खराब छनोटबाट नै असल कथा जन्मन्छ । तिमी त खराब छनोटका लागि राजा नै हौ,’ सञ्जयलाई पत्नी मान्यताले जीवनी लेखाउनका लागि प्रेरित गर्न भनेका यी कुरालाई लेखक हिरानीले समेत फिल्म बनाउने क्रममा आत्मसात् गरेको देखिन्छ । उनले बायोपिकको नाममा सञ्जयका गुणलाई मात्रै उठाएका छैनन्, बरु उनले जीवनमा गरेका खराब छनोटको फेहरिस्त पस्कने हिम्मत गरे । अन्तत: यही कालो पक्षले नै सञ्जयको उज्यालो पक्षलाई चम्काउन मद्दत गर्‍यो । फिल्मको अन्त्यमा सञ्जयले बाबुको पार्थिव शरीरसमक्ष स्वीकार गरेका छन्, ‘खासमा म तपाईंको लायकको छोरा थिइन् । तर, यो पनि हो, मैले जत्तिको माया तपाईंलाई अरू कुनै छोरा भएको भए पनि गर्न सक्थेन ।’


फिल्मका केही संवाद अति वजनदार छन् । सञ्जय लागूऔषधको दलदलमा आफूलाई फसाउँदै गएपछि साथी कमलीले सुनीललाई छोराको अन्तरद्वन्द्वबारे प्रस्ट्याउँदै भन्छ, ‘उसलाई केवल सामान्य मान्छे हुँदै ठीक छ भनिदिनोस् । उसलाई सञ्जय दत्तमै ठीक छस् भनिदिनोस् । उसलाई सुनील दत्तजस्तो बन्नु नै छैन ।’


सञ्जुबाट सञ्जयलाई नजिकबाट बुझ्न जति सहज हुन्छ, सँगसँगै सुनीललाई समेत दर्शकले असल बाबुको रूपमा चिन्छन् । बाबुको भूमिकामा परेश रावलले शतप्रतिशत न्याय गरेका छन् । र, सञ्जुको बागडोर सम्हालेका रणवीर कपुर फिल्ममा सर्वाधिक शक्तिशाली देखिएका छन् । उनले आफूलाई पूरापूर सञ्जयमा घुलमिल गरेका छन् । शारीरिक हाउभाउदेखि बोल्ने शैली, लवजमा समेत उनले खुबै मिहिनेत गरेको प्रस्टै हुन्छ । रणवीर सञ्जु मार्फत सञ्जय नै बनेर जन्मेका छन् । फिल्ममा अभिनय तारिफको दोस्रो हकदार कमलेश कपासी उर्फ कमलीको चरित्रमा रहेका विक्की कौशल हुन् । त्यसबाहेक नरगीशको भूमिकामा देखिएकी मनीषा कोइराला, लेखिका विन्नीको भूमिकामा रहेकी अनुष्का शर्मा, सञ्जयको प्रेमिका रुबीको भूमिकामा रहेकी सोनम कपुर, पत्नी मान्यताको भूमिकामा रहेकी दिया मिर्जा, ड्रग्सको लतमा फसाउने जुबिनको भूमिका निर्वाह गर्ने जिम सर्भलगायत सबै कलाकारबाट निर्देशक हिरानीले पूरापूर काम लिएका छन् भने लेखकका रूपमा सबै चरित्रलाई न्याय गरेका छन् । फिल्मको आर्ट, कस्ट्युम, छायांकनदेखि संगीत सबै प्राविधिक पक्षमा फिल्म अब्बल बनेको छ ।


सञ्जु ‘एक व्यक्ति : अनेक जीवन’ जीएका सञ्जय दत्तमाथि बनाइएको फिल्म त हो नै, त्योभन्दा बढी छोराको बाबु र परिवारसँगको सम्बन्ध, असल र खराब साथीबीचको अन्तर, मिडियाको निर्मम प्रहार र बाँच्नका लागि पात्रले गरेको संघर्ष हो । हिरानीले फिल्मलाई आफ्नो पुरानै शैलीमा मनोरञ्जनात्मक रूपमा शैक्षिक फिल्म बनाउन सफल भएका छन् । दर्शकका लागि सञ्जु फिल्म हेर्ने वा नहेर्ने प्रश्नमा अड्किनुभन्दा कहिले हेर्ने भन्नेमा उत्तर खोज्नु श्रेयष्कर हुनेछ । सञ्जय, सुनील र रणवीरका लागि भए पनि फिल्म हेर्न नछुटाउनुहोला ।

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?