‘म अघोरी कवि हुँ’

कुराकानी
गद्य कविता नेपालकै मात्रै होइन, संसारकै निम्ति अधोगतिको सिर्जना हो भन्ने मेरो बुझाइ छ ।
देवेन्द्र भट्टराई

काठमाडौँ — सानो आन्द्राबाट भएको रक्तश्राव रोक्न दुई साताको अन्तरमा दुई पटक भारतको हरियाणास्थित मेदान्त अस्पताल लगिएका कविवर अहिले उपचारपछिको थकान र कमजोरीमाझ आराम गरिरहेका छन् । यो साता कवि माधवप्रसाद घिमिरे लैनचौरस्थित आफ्नै निवासमा आफू वरपर कुनै भीड र कोलाहल नराखी बसिरहेका भेटिए ।

सानो आन्द्राबाट भएको रक्तश्राव रोक्न दुई साताको अन्तरमा दुई पटक भारतको हरियाणास्थित मेदान्त अस्पताल लगिएका कविवर अहिले उपचारपछिको थकान र कमजोरीमाझ आराम गरिरहेका छन् । यो साता कवि माधवप्रसाद घिमिरे लैनचौरस्थित आफ्नै निवासमा आफू वरपर कुनै भीड र कोलाहल नराखी बसिरहेका भेटिए । दिन बिराउँदै र छोटोछोटो समय मागेर घिमिरेसँग गरिएको कुराकानीमा उनी सधैंझैं जीवन–जगत्प्रति धेरै आशावादी र सकारात्मक भेटिए । आउँदो असोज ७ गते १०० वर्ष उमेर टेक्न लागेका कविवरले कुराकानी सुरुमै सोधे,
‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको समय (युग) कहिले अरे बाबु ?’
‘त्यही अढाई शताब्दी अघि होला...’, जवाफ फर्काएँ ।


“हत्तेरी, त्यो त मेरा लागि अस्तिको दिनजस्तै हो । म नि एक शताब्दी उमेर पुगिसकें । त्यो ‘अढाई’ भनेको हिजो छाडी अस्ति न हो । ७ साल, ७ साल भन्नुहुन्छ नि तपाईंहरू । त्यो त झन् हिजै हो मेरा लागि । कस्तो अचम्म— मेरा लागि अतीत भन्ने चीज केही होइन, केही छैन ।”
यसरी कविवरसँगको अन्तर्संवाद समेटियो यो पटक, कुराकानी थालियो— तपाईंको उपचार पनि विदेशबाटै सम्भव भयो नि, अरू नेता–राजनेताजस्तै ?

Yamaha

हो यो प्रश्न एकदमै स्वाभाविक हो । मलाई राज्यले आफ्नै खर्चमा पठाएको हो । एउटै कुरा, राष्ट्रलाई तल पारेर र हारगुहार गरेर म उपचारमा गएको होइन । अब स्वास्थ्य निदान केन्द्रको कुरा गरौं । हामीकहाँ नर्भीक, ग्रान्डी र अहिले मेडिसिटीजस्ता ठूला र सक्षम अस्पताल खुलेका छन् । वीर अस्पताललाई पनि डा.उपेन्द्र (देवकोटा) जीले निकै भरपर्दो बनाउनुभएको सुनेको छु । मेरो बिमारको कुरामा भने अन्तिम अवस्था र कठिन बेलामा भने जे जता लैजाने भनियो, परिवारले पनि त्यतै भन्ने रहेछ । त्यसबेला बहसले काम नगर्ने रहेछ । एउटा कुरा, मलाई के लाग्यो भने ज्ञान, सीप र दक्षतामा हाम्रा अस्पताल, चिकित्सक पनि एकदमै सवल छन्, सफल छन् । तर, यहाँ त्यसलाई क्रियान्वयन गर्ने बेलामा भने अलिक ढिलाइ हुने गरेको हो कि जस्तो लाग्यो । यो पक्षमा भने निर्णयमा आइहाल्न अझ बाँकी छजस्तो लाग्यो, मैले यो ‘चार्ज’ लगाएको होइन, यो मलाई लागेको कुरा हो ।


उपचारमा मेदान्त जाने कुरामा वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आफैं ग्रान्डी आउनुभएछ, म भर्ना भएको सातौं हो कि आठौं दिनमा । प्रधानमन्त्रीले ग्रान्डीका डाक्टरसँग सल्लाह लिनुभयो । र, तत्कालै निर्णय सुनाउनुभयो— तपाईंलाई म बाहिर उपचारमा पठाउँछु, जति खर्च लाग्छ चिन्ता नगर्नुहोस् । सरकारले बेहोर्नेछ । राम्रोसँग उपचार गरेर आउनुहोस् ।


सरकारका प्रमुखले यसरी एउटा कविमाथि देखाएको यो कृतज्ञता सानो थिएन, निकै सम्मानजनक कुरा लाग्यो । यसअघि प्रधानमन्त्री ओलीजीले संगीतज्ञ अम्बर गुरुङजीलाई पनि त्यही मेदान्त अस्पतालमा उपचारमा पठाएर सम्मान गरेको थाहा पाएँ । यता ग्रान्डी अस्पतालमा पनि डाक्टर चक्रराज पाण्डेसहितको टिमले निकै स्वागत र सहयोग गरेकै हो । अहिले पनि ‘फलोअप’ मा म ग्रान्डी नै धाइरहेको छु । मेरो सामान्य सिद्धान्तको कुरा गर्नुहुन्छ भने राष्ट्रभित्रै सम्भव हुने उपचार वा अन्य कुरामा बाहिर जानु ठीक होइन । यत्ति हो, जीवनको प्रश्नमा जोडिएर उपचार खोज्दै कोही बाहिर जान्छ भने के बहस गरिरहनु ?


भारतको बसाइ र उपचार कस्तो लाग्यो ?
मलाई भारत बसाइ कस्तो लाग्यो भने सभ्य, शिष्ट, कृतज्ञतासहितको भिन्न अनुभव भयो । अझ मेदान्त अस्पतालमा त भीआईपी बिरामीका रूपमा निकै आदरणीय रूपमा मलाई डाक्टर/नर्सले साथ–सहयोग दिए । मैले पनि सबै डाक्टरहरूलाई शिष्टता देखाएँ । किनभने म नेपाल–नेपालीको प्रतिनिधि भएर गएको थिएँ, राज्यले पठाएको प्रतिनिधि भएर गएको थिएँ । राज्यले, सरकारले खर्च बेहोरेर पठाएको एउटा नेपाली कवि भन्ने होस राखेरै म बसेको थिएँ । दिल्लीको नेपाली दूतावासले पनि राम्रो र समन्वयकारी साथ दियो,
खुसी छु ।


स्वास्थ्य उपचारअघिको सन्दर्भ निकालौं । तपाईंलाई नेपाली सेनाले मानार्थ सहायक रथी उपाधि दिएकोमा र तपाईंले स्वीकार गरेकोमा निकै निन्दा भयो नि ?
हेर्नुहोस्, नेपाली सेना भनेको राष्ट्रको अंग हो । देशभित्र र बाहिर पनि नेपाली सेनाले काम देखाएको छ, नाम राखेको छ । हाम्रो सेनाको म प्रशंसक छु । सेनाले एउटा कविलाई सम्मान गर्ने भनेर आएको प्रस्ताव मैले सहर्ष स्विकारेको हुँ । भारतमा र अन्यत्र पनि त्यहाँको सेनाले आफ्नो मुलुकका अग्रज स्रष्टा, कवि, कलाकारलाई सम्मान गर्ने गरेकै छ । अरूले के भन्छन्, के निन्दा चल्यो भन्नेतिर म जान चाहन्नँ । नेपाली सेनाले एउटा कविलाई सम्मान गर्न चाह्यो, म सम्मानित भएको छु, यसैमा खुसी छु ।


नेपाली समाज अलिक बढी निन्दामा रमाउने गर्छजस्तो लाग्छ ? अथवा छिद्रान्वेषी स्वभाव हो कि ?
होइन, त्यसरी सामान्यीकरण गरेर म भन्दिनँ । कसैले बोकेको, उचालेको बेलामा मनमा लागेको दन्काइहाल्नुपर्छ भन्ने सोच बढी हावी भएको देखिन्छ । आफ्नो मनको र हृदयको बोली एकदमै कमी भएर गएको हो कि जस्तो लाग्छ । यो संक्रमणकालीन कुरा होला । यो कुरामा हामी अझै संक्रमणमै छौं कि जस्तो लाग्छ । विश्वका सामु उदार शासन, व्यवहार भने पनि केही कुरामा हामी अलिक चञ्चल र अस्थिर छौं कि जस्तो लाग्छ । राष्ट्रभाषा, राष्ट्रिय भाषा, सम्पर्क भाषाकै कुरा हेरौं न । ल, राष्ट्रसंघले कुनै दिन सोध्ला— तिमीहरूको राष्ट्रभाषा के हो भनेर ? जवाफमा, ‘हाम्रो, हामीकहाँ भए जति सबै राष्ट्रभाषा’ भन्ने ? बरु, तपाईंले मेरो गीत सुन्नुभएकै होला-
‘गाली गरौं आफ्नै ध्वनि अपवित्र हुन्छ,
त्यसै बसौं असत्यको त्यसै जित हुन्छ ।’


तपाईंलाई सबै समय, अवसर र अवस्थामा ‘मिल्न सक्ने’ कवि भन्छन् नि ?
म कविलाई होइन, मेरो कवितालाई सर्वकालिक भनिएको हुनुपर्छ । मूल कुरा त राजा, राजनीति, लोकतन्त्र वा गणतन्त्रभन्दा माथि एउटा कवि हुन्छजस्तो मलाई लाग्छ । कविको आफ्नै दृष्टिकोण हुन्छ । कविले राजा महेन्द्रलाई मान्न पनि सक्छ, नमान्न पनि सक्छ । तर, मलाई कहिले महेन्द्रमाला पुस्तकमा तान्न खोजिन्छ, कहिले ‘मालती मंगले’ र ‘राष्ट्रनिर्माता’ भित्रको कुरा र अन्तर्यमा अनावश्यक तानिन्छ । मलाई अचम्मै लाग्छ । मेरा रचनाले के भन्छ, त्यो महत्त्वपूर्ण हो । अरूले गरेको निन्दा वा तान्ने/पछार्ने कुराले म व्यक्ति र एउटा कविका लागि त्यति दिगो अर्थ राख्दैन ।


आफूले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ? अहिले भइरहेका काम के छन् ?
म एउटा अघोरी कवि हुँ । कुनै सिर्जना स्फुरण भयो भन्दैमा म लेख्दिनँ । अथवा, लेखेर पनि प्रकाशमा ल्याउँदिनँ । अरूले बुझ्ने भएपछि, सहज लागेपछि मात्रै लेख्छु र बाहिर ल्याउँछु । कतिपय गीत पनि कैयौं दिन लगाएर लेखेको छु । ‘लाग्दछ मलाई रमाइलो’ गीत पनि ४ दिन लगाएर लेखेको हुँ । उसबेलाको फुलमार चुरोट धेरै उडाएपछि मात्रै यो गीत टुंगिएको थियो । ‘ऋतम्भरा’ महाकाव्यमा अब दुई सर्ग बाँकी छ, सोचाइ आइसकेको छ । अब केही महिनामा सायद शताब्दी उमेरको छेउछाउमा लेखिसक्छु होला । तत्काल भने अस्ति भर्खरै आएको लेखनाथ पौड्यालजीको जस्तो खण्ड–खण्ड रचना निकाल्ने सोचाइ (योजना) छ, साझा प्रकाशनले सहयोग गर्छु भनेको छ । यसमा ७ गीति नाटक, ७ काव्य, फुटकर रचनाहरू समेटिनेछन् । कवि घनश्याम कँडेल र वासुदेव त्रिपाठीले यो कृतिमा संयोजन/सम्पादन गर्नुहोला भन्ने छ ।


अर्को बाहिरी विश्वले मलाई चिन्न सक्ने अबको कृति भनेको ‘अश्वत्थामा’ महाकाव्य पनि हो । यसको हिन्दी अनुवाद सकिएको छ । बाहिरी जगत्लाई पढाउनुपर्ने किताब हो यो । आजको अणु होड र शस्त्रअस्त्रको बारेमा मैले कवि चिन्ता सार्वकालिक हुनेगरी लेखेको छु । भाषविद् सनतकुमार वस्तीजीले यसको अनुवादलाई हेर्दै हुनुहुन्छ । यो कृति नेपाल–भारत बीपी कोइराला फाउन्डेसनबाट आउला भन्ने छ । विश्वप्रति एउटा कविको दृष्टकोण के हो भन्ने झलक यो काव्यले दिनेछ । अहिलेको विश्वको निम्ति सबैभन्दा ठूलो भय भनेको अणु आतंक हो । अणु विज्ञानबाट उपलब्धि पनि असाध्यै ठूलो भयो, आतंक र भय पनि उत्तिकै छ । अहिलेको समाज र वरपर प्रविधि केन्द्रित बन्दै गएको हो कि जस्तो लाग्छ । हृदय पक्ष शुष्क बन्दै पो गएको हो कि ? आज सबैतिर मस्तिष्क सक्रिय भयो तर हृदय भने निष्क्रिय । आजको प्रविधि र आधुनिकतामाझ हाम्रो अध्यात्म, नैतिकता, आचरण, संस्कृति कहींकतै हराइरहेको हो कि जस्तो लाग्छ । धेरैजसो बाहिरै दौडिएजस्तो लाग्छ, भित्र बिर्सेर । आफूलाई बिर्संदाको स्थिति यहाँ छ । देश, गाउँ, समाज छाडेर बाहिरीया बन्नेहरू देख्दा अझै दु:ख लाग्छ ।


लेखाइमा कवि घिमिरेको निजीपन के हो ? घिमिरेको शैली के हो ?
हो, अरूभन्दा एकदमै अलग र भिन्न शैली मैले आफ्नो सिर्जनामा हुर्काएको छु । मेरो यही विशेषता हो— रहस्यवाद । मैले लेखनाथलाई गुरु थापेकै हुँ, लक्ष्मीप्रसादको ‘मुनामदन’ राम्रो लागेको हो । पछि बनारसमा परीक्षा दिन जाँदा रवीन्द्रनाथ टैगोरको हिन्दी कविताको संग्रह भेटियो । त्यो पढेर म वशीभूत भएँ । रवीन्द्रभन्दा पनि अझ संक्षेपमा भावना अभिव्यक्त गर्ने भनेको कवि कालिदास हो । कासिदास र संस्कृतका अरू कविहरूका कारण मेरो कविता शैली बनेको हो ।


टैगोरलाई पढेपछि मैले ‘कविता भनेको यो रैछ’ भन्ने थाहा पाएको हुँ । संस्कृतको पढाइ आधार भएकाले मैले कालिदासलाई पनि खुबै पढें । एक पंक्तिपछि अर्को पंक्तिमा तुक मिलाएर, क्रमबद्धता राखेर लेख्ने शिल्पी मैले कवि कालिदासबाट पहिल्याएँ । ‘गौरी’ काव्यमा त्यस्तै एकपछिको अर्को सिलसिला र ‘क्लाइमेक्स’ लाई मैले जोडेको छु । ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ मात्रै भन्नु त एउटा सुक्ति मात्रै हो । त्यहाँबाट जोडिंदै ‘बिम्झौंला कहाँ पूर्वको पैलो उज्यालै नरहे’ भनेपछि मात्रै सिलसिला जोडियो, क्रमबद्धता पनि देखियो । यो ‘क्लाइमेक्स’ हो, अनि शैलीगत शृंखला पनि । सुक्तिमा अलिक अलंकार भर्‍यो र शब्दको लचकता थप्यो भने कविता हुन्छ । फेरि लेखाइ र बुझाइ दुवैमा ‘नेपाली हामी रहन्छौं कहाँ’ जस्तो अथवा ‘तराई हाम्रो सुनको टुक्रा, हिमाल हीराको’ जस्तो सामान्य र सरल हुनुपर्छ भन्ने मलाई लाग्छ । तर, गहिराइ भने अलग्गै हुनुपर्छ । कवितामा यो क्रम र सचेतता हुनैपर्छ सदैव ।


तपाईंलाई त गद्य–कविताविरोधी कवि भन्छन् नि ?
हो, गद्य कविताबारेमा एउटा आम बुझाइ बनेको छ, कवि माधव घिमिरे गद्य कविताको विरोधी हो भन्ने । म त्यस्तो उग्र विरोधी होइन । तर, एउटै कुरा— निबन्धको बीचमा पनि ‘कवितात्मकता’ हुन्छ, कथामा पनि हुन्छ । यसो भन्दैमा निबन्ध वा कथालाई त ‘कविता’ भन्न मिल्दैन नि । गद्य कविता नेपालकै मात्रै होइन, संसारकै निम्ति अधोगतिको सिर्जना हो भन्ने मेरो बुझाइ छ । कवितालाई नष्ट पार्ने उपाय हो, गद्य कविता । हामीकहाँ अनेक जातजातिका लोकभाका र छन्द छन् । तर, यसलाई लिने कोही छैन । मैथिली, भोजपुरी, अवधी, तामाङ, लिम्बु अनेकका भाका र छन्द छन् । यसमा अलंकार थप्ने कोही छैन । खालि अमूर्त, दुर्बोध्य कुरा लेखेर हुन्छ त ? नबुझिने कुरा किन गर्नु ? एक पटक मैले कवि मोहन कोइरालालाई सोधेको थिएँ— तपाईं किन दुर्बोध्य लेख्नुहुन्छ ? नबुझिने किन लेख्नुभएको ?


कोइरालाको जवाफ थियो, ‘मैले अहिलेलाई लेखेको होइन, ५ सय वर्षपछिलाई लेखेको हुँ ।’


ए बाबा, ५ सय वर्षपछि त नेपाली भाषा, भाषिका अथवा या थिति के होलाहोला नि । विश्वका अरू भाषाहरू पनि कहाँ, के हुन्छन् ? भन्न गाह्रो छ । ‘कविता’ पत्रिकाको सम्पादन गर्दा नबुझिने कविता छाप्ने चाङमा आएपछि मैले सम्पादकमण्डलका लक्ष्मीप्रसाद देवकोटालाई सोधेको थिएँ— के गर्ने कविजी ?


उहाँले भन्नुभएको थियो, ‘यसरी नबुझिनु के बहादुरी हो र ?’


कविताको परिभाषाभित्र ‘लय’ पर्छ । छन्द र विम्ब चाहिन्छ । अलंकार चाहिन्छ । आदिम समाजले लोकलयमा त्यो कवितालाई गायो । म गाई चराउने मान्छे हुँ, गोठालो छँदा मैले लय गाएँ, गीत गाएँ, कविता गाएँ । एउटा देश जसमा कविताको लय छैन भने त्यो के देश ? के कविता ? यसो भन्दैमा गद्यलाई मैले पूरै दुत्कारेको होइन । गद्यमा पनि लय पाउन सकिन्छ भने स्वागत छ । जस्तो— ‘आमा त्यो आउँछ ?’ रिमालको कविता । अथवा, लक्ष्मीप्रसादको ‘हो साथी, म जरुर पागल’ ।


आफूले बुझेको मात्रै सही, अरूले बुझेको गलत भन्ने तपाईंको शैली पनि ठीक हो र ?
त्यसो भनेर मेरै ठीक भनेको पनि होइन । समालोचक यदुनाथ खनालले एक ठाउँमा भन्नुभएछ, ‘कविता त समको जस्तो पो हुनुपर्छ, आगो र पानी ।’
मैले जवाफ दिएको थिएँ, ‘यदुनाथजी तपाईं यत्रो लेखक, दार्शनिक हनुहुन्छ । तर, कविता कस्तो हुनुपर्छ भनेर तपाईंले जानेको रहेनछ ।’
फेरि कवित्व शक्ति गद्य कवितामा पनि हुन्छ तर लय र ध्वनि बिचार्नैपर्छ । आजभोलिको गद्य कविता भनेको निबन्धभित्रको टुक्रा हो । समजीसँग मेरो यसबारे बहस चल्थ्यो । म भन्थें— गद्य कवितालाई म कवितै मान्दिनँ ।

सम भन्नुहुन्थ्यो— तपाईंले नमानेर के हुन्छ ? विश्वले मानेकै छ ।
म भन्थें— विश्वले जे गरोस्, म मान्दिनँ ।

मेरो धारणामा के छ भने कविता आफैंमा एउटा व्यक्तित्व हो, ह्दयमा असर गर्ने । एकेडेमीमा कविता महोत्सव सधैं हुन्छ । एकपालि कविताको शीर्षक राखिएको थियो— आधारभूत आवश्यकता । अब यो कसरी कविताको शीर्षक भयो ? तैपनि कविहरूले कविता पठाए । मैले नि लेखें—
‘पल्लो घरको धुरीबाट धूवाँ आको छैन
मैले खाइ के सार भयो, भाइले खाको छैन
कस्तो हुन्थ्यो एकएक गाँस सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दु:खे ।’

अब जीवनको मनोकामना के छ ?
जीवन सत्क्रियाशील हुनुपर्छ, सधैंसधैं । म अब धेरै बाँच्छु भनेर फुर्ती गर्नु पनि हुँदैन । म गर्दिनँ पनि । मैले कति सृजनकर्मको गहिराइमा भित्रै पुगेर समुद्रको लहर छोएँ होला, त्यो त पाठक, शुभेच्छुक र विज्ञले भनिदिने कुरा हो । म सधैं सम्झिरहेको हुन्छु—
दूरका सितारा भी बहुत होता है
आँखका इसारा भी बहुत होता है
मझधार में जानेका इरादा क्यों ?
किनारा में डुब्ना ही बहुत होता है... ।

प्रकाशित : असार २३, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काला : एक विद्रोहचेत

फिल्म
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय सिनेमालाई विश्वकै ठूलो चलचित्र उद्योगका रूपमा लिइन्छ । तर, भारतीय समाजका सबैभन्दा पछाडि पारिएका समुदायका सरेकार ती फिल्महरूले खासै उठाउन सकेका छैनन् । अझ भारतीय भूमिमा नै विकसित भएको क्रूरता जात व्यवस्थाबारे भारतीय मूलधारका फिल्म खासै बन्ने गरेका छैनन् ।

छुवाछूत–भेदभावलाई सामान्य रूपमा उठाएर केही फिल्महरू बनेका छन् तर विषयवस्तु उठान र प्रस्तुतिका हिसाबले त्यति बलिया छैनन् । हालै परम्परागत जातव्यवस्थाको मानकलाई चुनौती दिँदै पा रंजिथले निर्देशन गरेको चलचित्र ‘काला’ प्रदर्शनमा आएको छ, एउटा सशक्त फिल्मको रूपमा ।


रजनीकान्त, नाना पाटेकर, हुमा कुरेसी, ईश्वरी राव, पंकज त्रिपाठी आदि अभिनीत चलचित्र ‘काला’ मा दलित समुदायलाई प्रस्तुत गर्ने परम्परागत सौन्दर्य मूल्यलाई परिवर्तन गर्ने प्रयत्न गरिएको छ । पुँजीवादी विकासको बाटोमा लम्किरहेको भारतको जातव्यवस्थामा आधारित क्रूरता र त्यसप्रतिको विद्रोह चलचित्रमा समावेश गरिएको छ । परम्परागत नायकत्वको मानकलाई भत्काउँदै आफ्नै सामाजिक व्यवस्था र विषयवस्तुलाई उत्कृष्ट विम्बका रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ । अम्बेडकरले धर्म, सामाजिक हैसियत र सम्पत्तिलाई शक्तिका मुख्य स्रोत मानेका छन् । यिनका माध्यमबाट एउटा मान्छेले अर्कोको स्वतन्त्रतालाई नियन्त्रण गर्छ । कपडा धोएर जीविकोपार्जन गर्ने दलितसँग सम्पत्तिको नाममा धारावीको धोबीघाटबाहेक केही हुँदैन । मुम्बईमा अवस्थित धारावी एसियाकै सबैभन्दा ठूलो झोपडपट्टी मानिन्छ । कालाले धारावीका तामिलहरूको नेताको भूमिका निर्वाह गरेका छन् । धुर्त राजनीतिकर्मी तथा भूमाफियाको नाइके हरिदाले धर्म र राजनीतिको आडमा धारावीमा कालाको वर्चस्वलाई नष्ट गर्न कुनै पनि कसुर बाँकी राख्दैन । सिङ्गो चलचित्रको कथावस्तु यसकै वरिपरि घुमेको छ । कालाले भूमाफिया हरिदाका विरुद्ध आफ्नो समुदायको नेतृत्व मात्रै गर्दैन बरु गरिबी, सत्ताको दुरुपयोग, भ्रष्टाचार, साम्प्रदायिकता र जातीयताविरुद्ध पनि दह्रो उभिन्छ ।


माक्र्सवादलाई सर्वहारा, गरिब र शोषितपीडित समुदायलाई मुक्ति गर्ने विचार वा दर्शनका रूपमा लिइन्छ । शोषणमुक्त वर्गविहीन समाज निर्माण यसको मुख्य उद्देश्य हो तर माक्र्सवादीहरूले सही अर्थमा जातीय विभेद र छुवाछूत अन्त्यका लागि केही नगरेको कुरा पनि फिल्ममा देखाइएको छ । मुख्य पात्र कालाले आफ्नो छोराको नाम लेनिन राखेको हुन्छ र पढेर ठूलो मान्छे भएपछि समाजका लागि केही गर्छ भन्ने अपेक्षा राखेको हुन्छ । लेनिन शिक्षित र हिंसा नचाहने अभियानकर्ता हुन्छ र, प्रणालीगत त्रुटिहरूलाई प्रणालीभित्र रहेर सच्याउन सकिन्छ भन्ने कुरामा विश्वास गर्छ । लेनिनलाई माध्यम बनाएर निर्देशकले काला मार्फत यो महत्त्वपूर्ण वाक्य बोलेका छन्, ‘दुई चार पुस्तक पढ्दैमा कोही क्रान्तिकारी बन्दैन, त्यसका लागि आफ्नो समाज र समुदायका बारेमा बुझ्नुपर्छ र उनीहरूसँग जोडिनुपर्छ ।’


केही पढेर आर्थिक आर्जन गरी मध्यम वर्गको हैसियत बनाएका दलित समुदाय, जो कथित माथिल्लो जातिसँग सहजै घुलमिल हुन सक्दैनन् र आफ्ना समुदायका मान्छेहरूबाट पनि टाढा हुन खोज्छन्, त्यस्ता मान्छेहरूको मनोवैज्ञानिक सन्त्रासलाई पनि सुन्दर तरिकाले देखाइएको छ । शक्तिका अगाडि झुक्नु हुँदैन, अन्याय सहनु हुँदैन र आफ्नो अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने कुरा देखाउँदै चलचित्रमा दलितको आत्मसम्मान, आत्मबल, आत्मविश्वास र आत्मगौरवलाई जगाउन खोजिएको छ र दलितहरूका बीचमा भ्रातृत्वको भावना सञ्चार गर्न खोजिएको छ । लेनिन र जरिना चलचित्रको अन्त्यमा कालाको आन्दोलनमा जोडिनु यसैको उदाहरण हुन् ।


भारतीय सिनेमामा महिलाहरूको भूमिकालाई प्राय: कमजोर पात्रका रूपमा नै प्रस्तुत गरिन्छ । तर, कालामा प्रस्तुत महिला पात्रहरू आफ्नै अनुभवले खारिएका, विद्रोहचेतले भरिएका सशक्त लाग्दछन् । तुफानी (अन्जना पाटिल) यस्तै एउटा पात्र हो । शक्तिशाली मान्छेहरूका अगाडि पुरुषहरू नै बोल्न नसकेको बेला तुफानी ठूलोठूलो स्वरमा आफ्ना कुराहरू राख्छे र हरेक दमनविरुद्धको लडाइँमा अग्रपंक्तिमा खडा हुन्छे । अन्याय, अत्याचारका विरुद्ध आफूलाई हरदम खरो रूपमा उतार्ने तुफानी साँच्चै तुफानजस्तै लाग्छे । आफूलाई बलात्कार गर्न खोजिराखेका प्रहरीसँग डटेर सामना गर्छे ।


यो चलचित्रको एउटा मुख्य विशेषता भनेको दलितलाई धेरै सशक्त र सकारात्मक रूपमा देखाइएको छ । जमिन, शिक्षा र स्रोत प्राप्तिका लागि निरन्तर अवरोध भई व्यक्तिगत नोक्सानी बेहोर्दा पनि उनीहरू आफ्नो लक्ष्यबाट कहिल्यै विमुख हुँदैनन र अधिकारका लागि निरन्तर लडिरहन्छन् । धारवीमा कालाको एक छात्र राज देखिन्छ र उसको इसारामा मान्छेहरू मर्न र मार्न तयार हुन्छन् । जरिनाले भूमाफिया हरिदाको खुट्टा ढोग्न अस्वीकार गरेको दृश्य त्यहाँ स्थापित सामाजिक—सांस्कृतिक मान्यताको बर्खिलाप हो । यसरी दलित समुदायलाई विद्रोही र सशक्त भूमिका प्रदान गर्नुका पछाडि विभिन्न कारणहरू छन् । त्योमध्ये एक हो यसका निर्देशक पा रंजिथ आफैं दलित समुदायको प्रतिनिधि हुन् । बलिउडमा धेरै दलित कलाकार र फिल्मकर्मीहरू काम गर्छन् तर अधिकांश आफुूलाई न त दलितको रूपमा परिचित गराउन चाहन्छन् न त विषयवस्तुलाई नै सशक्त रूपमा उठाउँछन् । तर, पा रंजिथ भने यस मानेमा धेरै साहसी देखिएका छन् । उनले आफूलाई प्रस्ट रूपमा दलित र अम्बेडकरवादी भएको स्विकारेका छन् । मुख्य पात्र कालाले गहन संवादहरू भनिरहँदा पृष्ठभूमिमा देखाउने ठाउँ, अम्बेडकर, गौतम बुद्ध र बौद्ध विहारहरूलाई प्रतीकात्मक रूपमा देखाइएको छ । निर्देशकले कालालाई एउटा नायकभन्दा पनि सिंगो भारतीय दलित आन्दोलनको रूपमा देखाएका छन् । उत्पीडितले आवाज नउठाएसम्म वा विद्रोह नगरेसम्म उनीहरूमाथिको दमन निरन्तर रहन्छ भन्ने कुरा चलचित्रले देखाएको छ ।
– रूपबहादुर सुनार

प्रकाशित : असार २३, २०७५ १०:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT