१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मांसाहारी कीरा

प्रकृति

काठमाडौँ — हरिया वनस्पतिले हावामा रहेको कार्बन डाइअक्साइड र जमिनको पानी संश्लेषण गरेर ग्लुकोज बनाउँछ । ग्लुकोज वनस्पतिको भोजन हो । यो प्रक्रियालाई प्रकाश संश्लेषण भनिन्छ । तर, प्रकृतिमा यस्ता वनस्पति पनि हुन्छन् जसले ग्लुकोजको अतिरिक्त भोजनका निम्ति सोझै कीरा–फटयांग्रा आहार बनाउँछ ।

मांसाहारी कीरा

यस्ता वनस्पति ‘इन्सेक्टिभोरस प्लान्ट’ का रूपमा चिनिन्छन् ।
नेपालमा केही प्रजातिका ‘इन्सेक्टिभोरस प्लान्टस्’ पाइन्छन् । तीमध्ये एक हो— ड्रोसेरा पेल्टाटा । यो वनस्पति पारिलो घाम लाग्ने अक्सर घाँसेमैदानहरूमा भेटिन्छ । तर, यसलाई वर्षायामको सुरुदेखि मध्यसम्म मात्र देखिन्छ । यसो हुनुको कारण अन्य बेला यो वनस्पतिको जमिनमाथिको भाग मर्छ । जमिनमुनि भने यसको गानो वर्षभरि नै जीवित रहन्छ ।


यो वनस्पति १० देखि २० सेन्टिमिटर उचाइसम्म अग्लो हुन्छ । जेठ महिनामा हल्का सेतो रंगमा फुल्ने यसको पुष्पपत्र १.५ मिलिमिटर लामो हुन्छ । यसको पात हत्केला आकृतिको हुन्छ । यसैमा चिपचिपे पदार्थ निस्कने रौंजस्ता मसिना आकृति हुन्छन् । तिनै चिपचिपे पदार्थमा कीराहरू जब टाँसिन्छन् तब वनस्पतिले एक विशेष रसायन अर्थात् इन्जाइम उत्पादन गरी कीरामा रहेको जैविक पदार्थ ग्रहण गर्छ ।


तस्बिरमा दिइएको ‘ड्रोसेरा पेल्टाटा’ तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाको निर्माणाधीन चोत्लुङ पार्क नजिक गत जेठ महिनामा खिचिएको हो । यसले विशेषत: भुसुनालाई आहार बनाउँछ । बिरलै रूपमा झिंगालाई आहार बनाउँछ । ड्रोसेरा पेल्टाटाले एक तस्बिरमा ‘ओरेन्ज क्रेन फ्लाई’ लाई पनि आहारा बनाउन लागेको देखिन्छ । यो वनस्पतिका लागि त्यत्रो कीरा आहारका लागि उपयुक्त होला भनेर पत्याउन गाह्रो हुन्छ ।
– कमल मादेन

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?