२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बढ्दो ‘स्केट’ मोह

खेल
झन्डै पाँच वर्षअघि युवा फर चेन्जले नेपालमा स्केट खेलको संरक्षण र प्रवद्र्धनमा काम सुरु गरेको पाइन्छ । अहिले आएर नेपालभरि करिब पाँच सय जति स्केट खेलाडीहरू सक्रिय रहेका छन् ।
सुशील दर्नाल/रासस

काठमाडौँ — ग्रान्ड एकेडेमी, कुमारीपाटीमा कक्षा १२ मा अध्ययनरत लोरिन बान्तवा राईको सानैदेखिको चाहना हो— स्केट खेलाडी बन्ने । बिहान १२ बजे कलेज सकेर घर फर्किएपछि उनी स्केट अभ्यासका लागि दिनैभरि डल्लुस्थित स्केट पार्कमा व्यस्त हुन्छिन् ।

बढ्दो ‘स्केट’ मोह

अन्तर्राष्ट्रिय स्तरको स्केट खेलाडी बन्ने सपना बोकेकी राईले नेपाल स्केटिङ तथा स्केट बोडिङ संघले पोखरामा आयोजना गरेको प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरिन् । त्यति मात्र होइन, युवा फर चेन्ज नामक संस्थाले पाल्पामा आयोजना गरेको ‘स्केट फेस्टिबल जात्रा’ मा समेत महिलातर्फ प्रथम हुन सफल भइन् । इलाम घर भई हाल काठमाडौँ भैंसीपाटी बस्दै आएकी राईले भनिन्, ‘मैले एक दिन स्केट खेलको अभ्यास गरिनँ भने के बिर्सेंबिर्सेंजस्तो लाग्छ, स्केटमा त मेरो लत नै बसिसक्यो, अब यसैमा भविष्य खोज्दै छु ।’


कोपेश स्कुल, नरेफाँट काठमाडौँमा कक्षा नौमा अध्ययनरत् धनकुटाका शरद राई पनि भविष्यमा प्रोफेसनल स्केटर बन्ने उद्देश्य बोकेर अभ्यासमै व्यस्त हुन्छन । ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) मा ‘बेस्ट स्केटर अफ द इयर’ हुन सफल राई आजकाल बिहान ७ देखि बेलुका ६ बजेसम्म स्कुलमै व्यस्त हुन्छन र बेलुका ७ देखि ८ सम्म सडकमा स्केट अभ्यास गर्छन् । काठमाडौँका गजेन्द्र बर्देवा पनि स्केट खेलमा पोख्त हुनका लागि आजकाल दिनभर अभ्यासमा व्यस्त हुन्छन् । विगत तीन वर्षदेखि स्केट खेलमा सक्रिय बर्देवाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स्केट पार्कमा र काठमाडौँका खुला ठाउँमा अभ्यास गर्दै आएका छन् । ‘पहिलापहिला मलाई स्केट खेलप्रति त्यति चासो लाग्दैनथ्यो, आजकाल पूरै समयजस्तो यसमै व्यस्त हुन्छु,’ ग्लासियर कलेजमा कक्षा १२ मा अध्ययनरत बर्देवाले भने ।


लोरिन, शरद र गजेन्द्र मात्रै होइन, कोटेश्वरस्थित ग्रामर कलेजमा कक्षा १२ मा पढ्ने सन्दीप शाह ठकुरी पनि दिनमा दुई घण्टा स्केट अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा पुग्छन् । ‘मेरो दाइले सानामा स्केट खेल खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएको हुँ, सुरुमा घरमा बा र आमाले गाली गर्नुहुन्थ्यो, मैले बिस्तारै पुरस्कार जितेर राम्रो गर्न थालेपछि अहिले त बुझ्नुहुन्छ,’ सन्दीपले भने ।
खासगरी अमेरिका, अस्ट्ेरलियालगायत युरोपियन देशमा साहसिक खेलको रूपमा खेलिने स्केट खेलप्रति नेपालका युवा पनि सक्रिय बन्दै गएका छन् । विश्वमा स्केट खेलको विकास हेर्ने हो भने सन् १९६० तिर अमेरिकाको एक सहरमा स्केट बोर्डलाई साधनको रूपमा लिने गरेको पाइन्छ । त्यसपछि युरोपियन देश हुँदै विश्वका अन्य देशमा विकास भएको पाइन्छ । नेपालका हकमा भने सुरुसुरुमा विदेशी नेपाल आउँदा स्केट बोर्ड लिएर आउने र खेल्ने गरेको पाइन्छ । नेपालमा पहिलेपहिले धनी वर्गका छोरा/छोरीले विदेशबाट ल्याएर खेल्ने गरे तापनि त्यसको व्यवस्थापन हुन सकेको थिएन । सन् २०११ मा यहाँ स्केट खेलाडीको एउटा सूमह बन्यो । यो खेलको व्यवस्थापन बेला थियो त्यो । पछि सन् २०१३ मा युवा फर चेन्जले स्केट खेलको संरक्षण र प्रवद्र्धनमा काम सुरु गरेको पाइन्छ । अहिले नेपालभरि करिब ५ सय स्केट खेलाडी सक्रिय रहेका छन् ।


पछिल्लो समयमा सकारात्मक धारणासहित खेलप्रति नयाँ पुस्ताले सक्रियता देखाएको युवा फर चेन्ज संस्थाका अध्यक्ष जागृत पहाडी बताउँछन् । यो संस्थाले स्थापनाकालदेखि विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसमा स्केट खेलबारे गोष्ठी, स्केट प्रतियोगिता तथा स्केटबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘हाम्रो नेपाली समाजमा केही वर्षअघिसम्म स्केट खेललाई कुलतमा लागेका मान्छेले खेल्ने खेलको रूपमा हेरिन्थ्यो तर अहिले बिस्तारै दृष्टिकोणमा परिवर्तन आउँदै छ,’ अध्यक्ष पहाडीले भने ।


यो संस्थाले गत असार पहिलो सातामा प्रदेश नं. ५ अन्तर्गत पाल्पा, तानसेनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘स्केट फेस्टिबल जात्रा’ आयोजना गरेको थियो । ‘स्केट फेस्टिबल जात्रा’ मा नेपालसहित, माल्दिभ्स, भारतलगायतका मुलुकबाट स्केट खेलाडी आएका थिए । फेस्टिबलमा भेटिएका माल्दिभ्सका अली साहिलले पश्चिमा देशमा लोकप्रिय खेलमा पर्ने स्केट खेलको नेपालमा पनि उत्तिकै सम्भावना रहेको प्रतिक्रिया दिए । प्रतियोगितामा पुरुषतर्फ गजेन्द्र बर्देवा र महिलातर्फ लोरिन बान्तवा राई प्रथम भएका थिए ।


स्केट खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले विसं २०७१ मा नेपाल स्केटिङ तथा स्केट बोडिङ संघसमेत गठन गरेको छ । संघका अध्यक्ष अच्युत खनालले स्केट खेललाई पनि अन्य खेललाई जस्तै सकारात्मक ढंगबाट महत्त्व दिँदै प्राथमिकतामा राख्नुपर्ने धारणा राख्छन् । यतिखेर पोखराको रंगशालाको हातामा नेपालकै अन्तर्राष्टिय स्तरको स्केटको पूर्वाधार निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि भारत, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे क्यानाडालगायत ३५ देशका अतिथिले श्रमदान गरेका थिए ।


काठमाडौँको बिजेश्वरीमा विगत ३ वर्षदेखि ‘स्केट सप’ चलाउँदै आएका उज्ज्वल डंगोलले आफूले सुरु गरेदेखि अहिलेसम्म पसल फाइदामै रहेको बताए । दैनिकजसो १/२ ‘स्केट बोर्ड’ बिक्री हुनुले पनि नेपालमा स्केट खेलप्रति युवा आकर्षण बढ्दै गएको डंगोलको बुझाइ छ । काठमाडौँ, पोखरा र चितवन गरी तीनवटा मात्र स्केट बोर्डसम्बन्धी पसल छन् । स्केट खेल प्रशिक्षार्थी मनोज पाण्डेले नेपालमा स्केट खेलमा युवा आकर्षण बढ्नु आफैँमा सकारात्मक हो भन्छन् । स्न २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकमा स्केटले मान्यता पाउने भएको सन्दर्भमा नेपालमा पनि स्केट खेललाई फुटबल, भलिबल वा अन्य खेललाई जस्तै मान्यता दिनु जरुरी देखिएको छ ।

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?