३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

छोइरहूँजस्तो च्छो–रोल्पा

पर्यटन

काठमाडौँ — दोलखा सदरमुकाम चरिकोटबाट च्छो–रोल्पा हिमताल पुग्न तीन दिन लाग्छ । चरिकोटबाट छ्योतछ्योतसम्म यातायात सुविधा छ । शेर्पाबस्ती रहेको छ्योतछ्योत गौरीशंकर गाउँपालिकामा पर्छ । दोलखावासीका लागि मात्र होइन, यस क्षेत्रमा पुगेका अधिकांशलाई छ्योतछ्योतको झर्ना हुँदै सिमीगाउँ जाने बाटो थाहा छ ।

छोइरहूँजस्तो च्छो–रोल्पा

२१ सय मिटर उचाइमा रहेको सिमीगाउँ पुग्न अहिले फराकिलो र व्यवस्थित पैदलमार्ग निर्माण भएको छ । ठाडै उकालो बाटो भए पनि यात्राबीचको हराभरा जंगल, चराचर र खोलाको सुसेलीले बाटो काटेको पत्तै हुँदैन । जिउबाट खलखली पसिना निस्के पनि यहाँको मनोरम दृश्यले सबै हैरानी भुल्न सकिन्छ ।


सिमीगाउँ पुगेपछि फरक संसारमा पुगेको महसुस हुन्छ । नजिकै गौरीशंकर हिमाल, शेर्पा, तामाङ जातिको लुङदोरले सजिएका चिटिक्क घरहरू । पर्यटकीय ओहोरदोहोर चल्ने बाटाहरू । माने, चौतारा र हरियाली जंगलले गाउँ नै रमाइलो लाग्छ । सिमीगाउँमा सामान्य चिया–नास्तापछि यात्रा अगाडि बढ्छ । साँझमा २४ सय ७० मिटरमा रहेको सुर्मुचेमा बासका लागि पुगिन्छ । सुर्मुचे होटल एन्ड लज घना जंगलबीचमा छ, सुविधायुक्त बासका निम्ति ।


अर्को दिन बिहानी फेरि यात्रा अघि बढ्छ । लेकको बाटो भएकाले सकेसम्म पानी पिउनु बेस हुन्छ । २ घण्टाको हिँडाइपछि २७६० मिटरमा रहेको क्याल्चेमा पुगिन्छ । क्याल्चेबाट खाना खान दोङाङ पुग्न सकिन्छ । खोला तीरमा रहेको होटल तथा लजको राम्रो व्यवस्था भएको हुँदा पर्यटक प्राय: खाना खान यहीं आइपुग्छन् ।


अर्को दिनको यात्रा भने निकै लामो छ । दोङाङबाट ५ घण्टाको यात्रामा वेदिङ बास पुग्न सकिन्छ । ३७ सय मिटरमा रहेको वेदिङ प्राकृतिक सुन्दरताले भरिएको छ । सगरमाथा हिमआरोहीको गाउँ भनेर वेदिङ चिनिन्छ । यो गाउँबाट ७५ जनाभन्दा बढीले सगरमाथामा पाइला टेकिसकेका छन् । यहाँ काटमार गर्न पाइँदैन, जाँड–रक्सी खाएर हल्ला गर्न पाइँदैन । यहाँ प्रसिद्ध सङछोलिङ गुम्बा छ । हरेक वर्ष असारमा ठूलो मेला लाग्छ । यहाँ आउने पाहुनाहरूलाई स्थानीय नाच देखाउँदै स्वागत गरिन्छ ।


बिहानको खानापछि बासका लागि ‘ना’ गाउँमा पुग्न सकिन्छ । बाटैभरि डाँफे, मुनाल, घोरल देख्न पाइन्छ । लामा कलाकारले कोरेका बुद्धका तस्बिरले कुनै भीरपाखा, ढुंगा, पहरा खाली देखिन्न । रूखबिरुवा केही नभएको र चारैतिर हिमालले घेरिएको फरक भूगोल छ यहाँ । सबै घरहरू ढुंगाले सजिएका छन्, सम्म फाँटमा आलु खेतीबाहेक अरू देखिन्न ।
४५८० मिटर उचाइमा रहेको यो च्छो–रोल्पा हिमताल फुट्ने हल्ला पनि चलिरहन्छ बारम्बार । पछि पानी कटान गरेपछि फेरि हल्ला थामिन्छ । च्छो–रोल्पा पुग्न बिहान सबेरै हिँड्नुपर्छ । नजिकैको हिमालले तानेझैं लाग्छ । सेताम्मे हिमालले मन उफार्छ । चौंरी गाईको नचाइले भोक–तिर्खा मेटाइदिन्छ । ताल पुग्दा जिन्दगीले सबै कुरा जितेको अनुभूति हुन्छ ।

शब्द/तस्बिर: जीवन लामा

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?