कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कूटनीतिक नियात्रा

पुस्तक प्राप्ति

काठमाडौँ — पूर्वराजदूत हरिकुमार श्रेष्ठ स्वभाव र लेखाइ दुवैमा अन्तर्मुखी पात्र हुन् । श्रेष्ठको नियात्रा र संस्मरणको पुस्तक ‘मैत्री एक्सप्रेस’ मा लेखाइ र विचारको अन्तर्मुखी शिल्पी भेट्न सकिन्छ । व्यक्ति, घटना, स्थान र व्यक्तिगत स्मृतिका २१ वटा शीर्षकलाई लेखक श्रेष्ठले आत्मपरक शैलीमा निबन्ध बनाएका छन् ।

कूटनीतिक नियात्रा

कूटनीतिक वृत्तका वरपर घुमिरहने पात्र भए पनि श्रेष्ठले साहित्यिक शैली र शिल्पीसहित संस्मरण लेखेका छन् । उनले आफ्नो लन्डन, ढाका र क्वालालम्पुर बसाइको कूटनीतिक अवधिलाई पनि कसरी भावना र मानवीय संवेदना भरेर सिर्जनामा उतारेका रहेछन् भन्ने दृष्टान्त ‘मैत्री एक्सप्रेस’ ले दिएको छ । हरिकुमारको यसअघि ‘अविरल यात्रा’ (यात्रा संस्मरण) प्रकाशित भइसकेको छ ।


विशेषत: १२ घण्टा लामो ढाका–कलकत्ताको मैत्री एक्सप्रेस रेल्वे सेवाको अनुभवलाई पुस्तकको शीर्षक बनाएर नियात्राकार श्रेष्ठले काकतालीमा दिल्लीसम्म उत्रिएको दैनिकीलाई मीठो शैलीमा उतारेका छन् । श्रेष्ठले मलेसियामा नेपालीमाझ ‘आइकन’ बनेका हितैषी पात्र बलबहादुर रानाको आकस्मिक मृत्युमा लेखेको शब्दचित्र (बाल राना : एक शब्दचित्र) पनि उत्तिकै पठनीय लाग्छ । आफैंमा पठनीय र रुचिकर यो नियात्रा सामग्रीमा झिंझो लाग्ने गरी लेखाइएको राजेन्द्र सुवेदीको समालोचकीय दृष्टिकोणले ‘मैत्री एक्सप्रेस’ लाई सरस–सहज बनाउनुको साटो थप बोझिलो बनाएको छ । बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ ।


यात्रा संस्मरणमा श्रेष्ठले ‘सीमान्तमा पाइला’, ‘माइती हुनुको पीडा’, ‘ढाका टोपी’, ‘बर्मा गए नि कर्मसँगै’, ‘पहाडपुरको यात्रा’ जस्ता आत्मिक भावनाले भरिएका र नोस्टाल्जिक कथानकसमेत लेखेका छन् ।


प्रकाशकका तर्फबाट कवि दुबसु क्षत्रीले लेखकलाई भनेका छन्, ‘हरिकुमार श्रेष्ठ— माया र छायाका लेखक हुन्, प्रीति र प्रकृतिका लेखक हुन्, शिष्टता, सौम्यता र सौन्दर्यका लेखक हुन् ।

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?