कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राजेश : एउटा फेनोमेना

श्रद्धाञ्जली
राजेशले आफूभन्दा आधै कम उमेरकी केटीसँग बिहे गरेका थिए । एउटा उद्देश्य थियो– तिनै प्रेमिका अञ्जुलाई जलाउनु । उनी बदला लिनमा एकदम ‘माहिर’ थिए ।

काठमाडौँ — कुनै बेला एक किंवदन्तीझैं थिए राजेश खन्ना जसले लगातार १५ वटा हिट फिल्म दिए । राजेशको असली नाम थियो— जतिन खन्ना । उनलाई लिएर भनिन्थ्यो— बम्बैमा एउटा रेस कोर्स छ, महालक्ष्मी रेस कोर्स । त्यहाँ धेरै घोडा दगुर्छन्, एउटाले जित्छ । त्यसैलाई तुलना गर्दै लेखक जावेद अख्तरले भनेका छन्, ‘फिल्मी रेसमा तिनताक केवल एउटै घोडा दगुथ्र्यो, त्यसको नाउँ हो राजेश खन्ना ।’

राजेश : एउटा फेनोमेना

सन् १९७५ को जेठ महिनाका एक अपराह्न लन्डनबाट एउटा जेट विमान दिल्लीका लागि उडिरहेको थियो । विमानमा विभिन्न देशका मानिस थिए । भारतीयहरू त झन् हुने नै भए, घर फर्किरहेका । अन्य यात्रु कि बिजिनेसका लागि अथवा भारत घुम्नका लागि चढेका थिए । ७३७ जेट आफ्नो रफ्तारमा उडिरहेको थियो । सिट बेल्ट खोलेर बस्ने सूचना आएकाले, सबै आरामले बसिरहेका थिए । त्यत्तिकैमा एक्जेक्युटिभ क्लासबाट एउटा प्यासेन्जर उठ्यो र प्लेनमा ओहोरदोहोर गर्न थाल्यो । त्यसले आकाशे रङको थ्री–पिस सुट र महँगो टाई भिरेको थियो । त्यो यात्रुले ओहोरदोहोर गरेकामा त कसैलाई के आपत्ति हुन्थ्यो र ? तर त्यसले दोहोर्‍याउँदै बोलेको वाक्यमा भने धेरैजना अचम्म मानिरहेका थिए । त्यसले बोलेको वाक्य थियो, ‘हम राजेश खन्ना हैं ।’


त्यस बखतका अखबार र पत्रिकाले यो खबर छापेका मात्र थिएनन्, राजेश खन्नाको घमण्डी स्वभावको पनि निकै चर्चा गरेका थिए । यो घटना भएको थियो/थिएन, त्यसको विश्लेषण त्यति भैरहेको थिएन । केवल राजेश खन्नालाई स्टारडमको नशा चढेको हो भन्नेमै प्राय:जसो पत्रिकाहरू एकमत थिए । पछि थाहा भयो— त्यसो गर्नलाई राजेश खन्नालाई स्टारडमको नशा त जति चढेको थियो, त्योभन्दा बढी अर्को नशा पनि चढेको थियो । त्यो थियो, ‘रेड लेबल’ स्कचको नशा ।


‘रेड लेबल’ राजेशको फेभरेट ब्रान्ड थियो । उनी मृत्युको केही अघिसम्म पनि सधैं साँझ पिउँथे र, आफूलाई मन पर्ने ब्रान्ड ‘रेड लेबल’ नै पिउँथे । उनी बेस्सरी खान्थे र, साथीभाइलाई पनि बेस्सरी खुवाउँथे । स्टारडमको समय आउनु केही अघिदेखि नै राजेश खन्नाको ‘शाम की मेहफिलें शराब’ नामी थियो । ७३७ जेट र रेड लेबलको सन्दर्भ जोडिएका बेला राजेश करियरको ‘बिगिनिङ अफ द एन्ड’ सुरु भइसकेको थियो । तर, अहिले ‘बिगिनिङ अफ द स्टारडम’ कै चर्चा गरौं ।
***


केही कुरा स्पष्ट पारिहालौं । राजेश आफैंले पनि आफूलाई जुन आमाबाबुका छोरा भनेर मानिरहे, चुन्नीलाल खन्ना र लीलावती खन्नाका, उनी वास्तवमा तिनका छोरा होइनन् । उनका भाइका छोरा हुन् । अर्थात् आफ्ना ठूलाबाबुका छोरा बनेरै उनी चिनिए–चिनाए । चुन्नीलालले यिनलाई ‘एडप्ट’ गरेका हुन् । त्यति शिशुकालमा पनि होइन, राजेश खन्ना ५–६ वर्षका थिए तब । उनी आफ्ना नि:सन्तान जेठाबाबुका ‘धर्मपुत्र’ हुन्, तर एक मात्र पुत्रका रूपमा उनी हुर्के । चुन्नीलाल पैसावाल थिए, जे भन्यो, त्यही पाउँथे । एउटा उदाहरण दिऊँ, राजेश खन्ना स्कुलबाट आउँदा सरासर घर पस्दैनथे । बाहिर गेटमा उभिन्थे । आमाले गेटसम्म आएर उनको स्कुल–ब्याग बोकेर लगिदिनुपर्दथ्यो, अनि उनी घरभित्र पस्थे । यो उनको जिद्दी स्वभाव थियो ।


त्यसबखत उनी राजेश खन्ना भइसकेका थिएनन् । उनी ‘जतिन खन्ना’ भनिन्थे । स्कुलमा उनको एउटा मिल्ने साथी थियो, रवि कपूर । पछि तिनै बरु फिल्म स्टार ‘जितेन्द्र’ भनेर प्रसिद्ध भए ।


जतिनलाई अभिनयप्रति भने स्कुलकै बेलादेखि नै रुचि थियो । पछि यो रुचि बढेर ‘प्यासन’ बन्यो । पुनाको वाडिया कलेजपछि जतिन बम्बईमै पढ्न थाले । त्यहाँ एउटा ‘थिएटर ग्रुप’ मा छिरे । उनी नाटकमा प्रवेश पाउन संघर्ष गर्न थाले । पहिलो रोल ‘मेरे देशके गाँव’ भन्ने नाटकमा पाए जसमा उनी एक पालेको भूमिकामा थिए । उनले पाएका थिए— केवल एक वाक्यको संवाद, ‘हो, हजुर, साहेब घरमा हुनुहुन्छ ।’ यति बोल्नलाई पनि जतिनले रातभर रिहर्सल गरे घरमा । तर बोल्ने बेलामा नर्भस भएर गल्ती बोले, ‘साहेब, हजुर घरमै हुनुहुन्छ ।’
जे होस्, यो उनको अभिनय–जीवनको थालनी थियो, त्यसकारण महत्त्वपूर्ण भयो । त्यसपछि अरू नाटकहरू आए, ‘और साम गुजरगइ’, ‘और दिया बुझगया’ आदि । यसका लेखक सागर सरहदी थिए जो पछि फिल्मका पनि नामी लेखक भए । जतिनले धर्मवीर भारतीको ‘अन्धा युग’ मा पनि खेले । यी सबैमा ‘और दिया बुझगया’मा बल्ल उनको अभिनयको प्रशंसा भयो, उनले एउटा पुरस्कार पनि हात पारे । जतिन खन्ना अत्यन्त हर्षित भए । तिनै बेलादेखि हो, उनी ‘यार–दोस्त’ सँग बसेर ‘मेहफिल’ जमाउन थाले— मदिरारहित र मदिरासहित ।
***


बीएस थापालाई पनि हामी सबै चिन्छौं । थापा प्रसिद्ध निर्देशक हुन् सिनेमाका, नेपाली सिनेमाका पनि । तिनताक उनी पनि नाटक निर्देशन गर्दथे । उनले एउटा नाटक निर्देशन गर्ने योजना बनाए, ‘महँगा सौदा ।’ त्यसको नायकमा उनले यिनै जतिन खन्नालाई लिने विचार गरे । उनले बम्बईको चर्च गेटस्थित एक नामी र महँगो रेस्टुराँमा (गेलार्ड) जतिनलाई भेट्न बोलाए । त्यहाँ ठूलठूला निर्माता, निर्देशक, अभिनेता आइरहन्थे । उनी बसेर, ती फिल्मी हस्तीहरूलाई आसलाग्दो गरी हेरिरहन्थे ।


यस्तैमा एक दिन गीताबालीसँग भेट भयो । गीताबालीले फोटो र बायोडाटा मागिन्— एउटा शीघ्र बनिने आफ्नो फिल्मका लागि । तर खेल्नलाई भने जतिनलाई छानिनन् । बरु, फिल्म लन्चिङको कार्यक्रममा भने बोलाइन् । फेरि भेटिन् र भनिन्, ‘आकाशमा ताराहरू देख्छौ ? एक दिन यिनै ताराहरूजस्तै तिमी पनि चम्किन्छौ ।’


पछि जतिन खन्नाका लागि गरेको भविष्यवाणी गीताबालीले भनेभन्दा बढी भयो । (गेलार्डमा एकदुई पटक म पनि पुगेको छु । त्यो चर्च गेटमा म बसेको होस्टलदेखि
एकदम निकट थियो । आस त मेरो पनि कुनै फिल्मी अनुहार देखिन्छ कि भन्ने थियो तर कहिल्यै देखिनँ ।)


गेलार्डमा बीएस थापा भेटिएपछि उनले देखे, छेउमा एउटी नवयौवना सुन्दरी देखिइन् । थापाले परिचय गराउँदै भने, ‘यी अञ्जु महेन्द्रु हुन्, तिम्रो नाटककी हिरोइन ।’
यसरी उनको जीवनको प्रथम नायकत्व र प्रथम नायिका/प्रेमिकासित भेट हुने कारण एक नेपाली बीएस थापा बनेका थिए । यो म यसकारण पनि भनिरहेको छु, पछि केही फिल्म फ्लप भएपछि उनलाई आलोचना गर्ने एउटा आधार यही पनि भयो : ‘एक गुर्खा/नेपाली सा पिम्पल्ड चेहरे के साथ आया है ।’


पछि फेरि राजेश खन्नाको हिट जमानामा त्यसैलाई यस्तरी गुणगान गरियो : ‘एक गुर्खा/नेपाली सा दिखने वाला चेहरा, आसमान छु गया । आम आदमी को उस मे अपनी छवि देखाइदेने लगी ।’


त्यसैले भन्दा रहेछन्— फिल्मी दुनियाँ यस्तै हो । ‘यह दुनियाँ सिर्फ चढ्ते सूरजको सलाम करती है’ अञ्जु महेन्द्रु उनको वास्तविक प्रेम थिइन् । धेरै काल, सम्भवत: सात वर्षसम्म उनी राजेशसँग ‘लिभ इन’ मा बसिन् । सारा घर सम्हाल्थिन्, राजेश खन्नाको हेरविचार गर्थिन् । सल्लाह पनि दिन्थिन् । तर राजेशलाई कसैको राय त्यति रुच्दैनथ्यो ।


एक दिन एक अन्य महिला मित्रले ‘आनन्द’ हेरेपछि भनिन्, ‘त्यो लम्बु (अमिताभ) सँग कहिल्यै काम नगर्नू । यसले तिमीलाई पछार्छ ।’ सधैंझैं राजेशलाई त्यो सुझाव त्यति मन परेन किनभने त्यसबखत उनी सफलताको ‘सातवाँ आसमान’मा थिए । तर पछि साबित भयो, उनी ठीक थिइन् । उनी पनि फिल्मी दुनियाँलाई जान्दथिन् । कुनै अभिनेताको रेन्ज बुझ्न उनलाई गाह्रो थिएन । जतिनको तिर्खा त केवल नाटकले मेटिने किसिमको भएन । एकदिन चिनजान केही नभए पनि राज कपूरलाई आफ्ना तस्बिरहरू पठाइदिए, बोलाइहाल्छन् कि भनेर । त्यो काम लागेन ।


सन् १९६५ मा केही नामी निर्माताहरू मिलेर ‘युनाइटेड प्रोडयुसर्स’ भन्ने संस्था खोले । नयाँ कलाकारलाई पनि काम दिऊँ भन्ने थियो । ‘फिल्मफेयर’ एक प्रख्यात फिल्म–पत्रिकासँग मिलेर एउटा कलाकार–प्रतियोगिताको आयोजना गरे । त्यसमा राजेश खन्नाले पनि भाग लिए र जिते । उनको पहिलो फिल्म ‘राज’ पनि प्रदर्शित भयो । राज ठीकै चल्यो । बरु त्यसको एउटा गीत भने गुनगुनाइरहन्थ्यौं, ‘अकेले हैं, चले आओ... ।’ अत्यन्त मीठो र लोकप्रिय गीत थियो यो । वविता नायिका थिइन् । याद गर्ने कुरो के छ भने यो प्रतियोगितामा अञ्जु महेन्द्रुकै भनाइ मानेर जतिन (राजेश खन्ना)ले भाग लिएका थिए । ‘राज’ जीपी सिप्पीको फिल्म थियो, धेरै नचले पनि ठूलो व्यापारको लाभ त जतिनलाई हुनु नै थियो ।
***


एउटा अर्को घटना भयो । जतिनका एक मामा थिए— केके तलबार । राजको सुटिङ चल्दै थियो । मामाले भने, ‘तिम्रो नाउँ फेर्नुपर्छ ।’ उनैले नाउँ राखिदिए, राजेश खन्ना । त्यहाँदेखि उनी जतिनबाट राजेश खन्ना भए । त्यसदिन मामाले त्यो नाउँ नराखिदिएको भए पछि जुन सुपरस्टार भयो, त्यो जतिन खन्ना नै हुन्थ्यो, किनभने ‘राज’ साइन गर्दा जतिन खन्नाले नै गरेको थियो । त्यसकारण भाग्यले दुनियाँले जान्ने सुपरस्टार राजेश खन्नालाई बनायो, जतिन खन्ना घरेलु नाउँमैं सीमित रह्यो । जबकि एउटा संघर्ष कलाकार बन्नका लागि जतिन खन्नाले नै गरेको थियो ।


राजेश खन्नालाई ‘स्टारडम’ दिलाउने पहिलो फिल्म ‘इत्तेफाक’ नै भयो । त्यसै समयको आसपास शक्ति सामन्तको ‘आराधना’ र राज खोसलाको ‘दो रास्ते’को सुटिङ पूरा भइसकेको थियो । ती सबै रिलिजलाई तयार भएपनि प्रदर्शनमा भने ‘इत्तेफाक’ ले नै बाजी जित्यो ।


निकै तारिफ भयो, राजेश खन्ना र नायिका नन्दाको पनि । एक सस्पेन्स थ्रिलर ‘इत्तेफाक’ मा राजेश खन्नालाई देखेपछि सारा इन्डस्ट्री भन्न थाल्यो—यो अहिलेसम्म कहाँ थियो ?
‘कटी पतंग’ जस्तै ‘आराधना’ स्त्रीप्रधान फिल्म थियो । तर ‘आराधना’ रिलिज भएपछि राजेश खन्ना एकाएक आँधीबेहरी बनेर देशभरि बग्न थाले । त्यसैपछि उनका सारा फिल्महरू लगातार हिट हुन थाले । महिना–महिनाभर पनि टिकट नपाउनेगरी । टिकटको कालोबजारी त हुन्थ्यो नै, उनका फिल्महरूले त टिकटको ब्ल्याक–रेट पनि बढाइदिए । अल इन्डिया सुपरहिट भए ती फिल्मरु । केवल राजेश खन्नालाई हेर्न उनीहरू सिनेमा हलबाहिर लाम लाग्न थाले र टिकटको झ्यालमा ‘सोल्ड आउट’को बोर्ड झुन्डिएको हेर्दै फर्किन थाले । तिनताक ती सिनेमाहलबाहिर सुनिने एउटा अत्यन्त प्रचलित संवाद यस्तो प्रकारको हुन्थ्यो । दुई सिनेमा–दर्शकका बीचमा हुने संवादमा लैंगिक भेद थिएन :
–डु यू ह्याभ एक्स्ट्रा टिकट ?
–नो सरी ।
कहिलेकाहीं आफ्नो गर्ल फ्रेन्डलाई कुनै ब्ल्याकमा किनेका टिकट गर्ल फ्रेन्ड नआउँदा अन्तिम समयमा आफूले किनेको रेटमा बेचिदिन्थ्यो । हिट फिल्ममा प्राय: यस्तै हुन्थ्यो । राजेश खन्नाका फिल्ममा यस्तो झन् बढी हुन्थ्यो । माथिको संवाद मैले आफैंले राजेशको एउटा फिल्म ‘रोटी’ को बखत सुनेको/देखेको हुँ । तिनताक प्राय:जसो हलमा धेरैजसो राजेश खन्नाका फिल्महरू चलिरहेका हुन्थे । मान्छे पहिलो सोमा राजेश खन्नाको एउटा फिल्म हेर्थे र, राजेशकै दोस्रो फिल्म हेर्न अर्को हलमा पस्थे ।


सन् १९६९, ४ नोभेम्बरमा रक्की सिनेमा हलमा ‘आराधना’ रिलिज भयो । यही मिति हो जसपछि राजेश खन्नाका लागि ‘मास हिस्टेरिया’ पैदा भयो । ‘आराधना’ नै त्यो फिल्मलाई ‘इत्तेफाक’ को स्टारलाई ‘सुपरस्टार’ बनायो । तर यो फिल्म रिलिज हुनुअघि यही फिल्म थियो, जसका लागि शक्ति सामन्त अत्यन्त चिन्तित थिए । एक दिन घुम्दै आफ्नो एक नयाँ कथा सुनाउन लेखक गुलशन नन्दा शक्ति सामन्तकहाँ गएका थिए । सामन्तलाई जुन कथा सुनाए गुलशनले, त्यो पछि ‘कटी पतङ्ग’ का नाउँले एक अर्को राजेश खन्नाको सुपरहिट फिल्म बन्यो । यसै फिल्ममा हो— आशा पारिखले नायिकाका रूपमा आफ्नो एकमात्र फिल्ममेकर अवार्ड पाएकी । खासमा ‘कटी पतंग’ उपन्यासका रूपमा पहिल्यै लोकप्रिय भइसकेको थियो । अझ एउटा खबर त यस्तो थियो— यो चिनियाँ भाषामा अनूदित भएर चीनमा ‘कटी पतंग’ एक करोड पचहत्तर लाख अर्थात् लगभग दुई करोड प्रति बिक्यो रे ।
त्यसै साँझ शक्ति सामन्तले भने, ‘हेर न आराधनाको क्लाइमेक्स एउटा अर्को फिल्मको क्लाइमेक्ससँग मिलेजस्तो भयो ।’


गुलशनले केही बेर सोच्दै भने, ‘उसो भए राजेश खन्नालाई बाबु–छोरा दुवैको रोल गर्न दिनुस् ।’


यसरी राजेशको ‘सुपरस्टार’ बन्ने बाटोमा झन् बलियो ढलान भयो । पहिले ‘आराधना’ मा राजेश खन्ना बाबुको रोलमा सानै भूमिका थियो, जसको आधैमा मृत्यु हुन्छ । उनले यो रोल केवल ‘शक्ति दा’ का कारण स्विकारेका थिए । अब उनलाई दुवै रोल प्राप्त भएको थियो ।


तिनताक फिल्म विशेषज्ञजस्तो सलिम जावेद (लेखक), नवीन निश्चल (अभिनेता), यश चोपडा (निर्देशक), जे. ओम प्रकाश (निर्माता) आदि सारा भन्ने गर्दथे । एकताक थियो, जब अरू कोही चल्दैनथ्यो, केवल राजेश खन्ना चल्दथ्यो । बम्बैमा एउटा रेस कोर्स छ, महालक्ष्मी रेस कोर्स । त्यहाँ धेरै घोडा दगुर्छन्, एउटा जित्छ । त्यसैलाई तुलनीय रूपमा लेखक जावेद अख्तरले भने, ‘फिल्मी रेसमा तिनताक केवल एउटै घोडा दगुथ्र्यो, त्यसको नाउँ हो राजेश खन्ना ।


सबै राजेशका फ्यान थिए । केटीहरू त फ्यान मात्रै होइन, उनका लागि पागल नै थिए । रगतले चिठी लेख्थे, उनको सेतो गाडी उभिएको ठाउँमा फर्कंदा राजेश खन्ना देख्थे— गाडीको चारैतिर केटीहरूले चुम्बन गरेर लिपिस्टिक नै लिपिस्टिक देखिन्थ्यो । यस्तो ‘क्रेज’ मैले त्यसअघि केवल गायक एल्विस प्रिस्लेका लागि मात्र थियो भन्ने पढेको थिएँ । केटीहरू राजेशको तस्बिर तकियामुनि राखेर सुत्थे, सपनामा देखिन्छन् कि भन्ने आसले । त्यति मात्र होइन, उनको कारको पाङ्ग्रा दगुरेको ठाउँको धूलो लिएर आफ्नो सिउँदोमा हाल्थे रे । चिठी त कति हो कति । फोन कल दिनभरि–रातभरि आउँथ्यो । हिसाब गर्दा एक मिनेटमा एक कल आउँथ्यो रे । तिनमा नब्बे प्रतिशत केटीहरूको हुन्थ्यो रे । यस्तो अवस्थामा ‘आराधना’, ‘कटी पतंग’ का जुनसुकै नायिकाप्रधान फिल्म भए पनि केटीहरू नायिका होइन, राजेश खन्नाकै लागि जान्थे । ‘आराधना’ ले शर्मिला टैगोरलाई ‘मदर इन्डिया’ को स्टाटस दिलाएको थियो भनिन्छ । डिस्ट्रिब्युटरहरूले यो फिल्म शर्मिलाकै नाउँले किनेका थिए । तर भइदियो उल्टो । भनिन्छ, राजेशले लगातार १५ हिट फिल्म दिए । हिन्दी फिल्मको इतिहासमा यस्तो भएको थिएन ।


अब सोच्नुस् केटीहरू यस्ता फ्यान भए कि राजेश खन्नाका लागि जे पनि गर्न तयार हुने गर्थे । राजेशसँग विवाह गर्न इच्छुक त कति हो कति । यस्तामा, जसका रोमान्टिक केटा साथी थिए, ती के गर्दा होलान् ? भनिन्छ, प्रेमिकालाई रिझाउन तिनलाई राजेश खन्नाको फ्यान हुनुबाहेक अर्को विकल्पै थिएन । यसरी पनि राजेश खन्नाको फ्यानमा वृद्धि भयो रे । तर राजेश खन्नाका केटाहरू पनि त्यतिकै प्रशंसक थिए, यो सत्य हो । कति फ्यान त आजसम्म पनि ‘राजेश खन्ना युग’बाट अझै मुक्त हुन सकेका छैनन् । भन्छन्, राजेशजस्तो न भयो न हुनेछ ।
राजेश खन्ना एक मुडी कलाकार थिए, यो एक सनकको सीमासम्म पुग्थ्यो । हर साँझ फिल्मी मानिस जम्मा गरेर रक्सी खानु, पहिले मनोरञ्जन थियो, अब उनको लत बनेको थियो । असीमित रक्सी खानु र चम्चाबाट प्रशंसा बटुल्नु उनको अपरिहार्य आवश्यकता बनिसकेको थियो । उनको बैठकमा आलोचकको काम थिएन । अन्य प्रतिद्वन्द्वी कलाकारको अभिनयलाई थोत्रो ठम्याउनु तिनको काम हुन्थ्यो । तर, उनको सुपर स्टारडममा कमी आएको थिएन ।


सन् १९७१ को एक शुक्रबार बम्बेका स्कुल र कलेजहरू लगभग खाली थिए । केवल केही ‘पढाकु’ किसिमका र पैसा नभएका विद्यार्थीहरू मात्र पुगेका थिए । त्यस दिन छुट्टी पनि थिएन । किन रित्तो ? भनेर सोध्दा पिउनले भन्यो, “आज राजेश खन्नाको नयाँ फिल्म ‘आनन्द’ बम्बईका हलहरूमा लागेको छ ।”


एक पटक नीतु सिंको जन्मदिनको पार्टीमा राजेश खन्ना आमन्त्रित थिए । बर्थडे केक काटेपछि राजेश खन्नाले आफ्नै शैलीमा भने, ‘म नीतुलाई के गिफ्ट दिऊँ, के गिफ्ट दिऊँ... ? एक्कासि गिफ्ट अनाउन्स गरे, म तिमीसित एउटा फिल्म खेल्छु ।’


त्यो सुनेपछि नीतुले खुसी भएर भनिन्— यो आजको सबभन्दा ठूलो ‘तोहफा’ हो मेरा लागि । यस्तो थियो, राजेश खन्नाको ‘रुतवा ।’


यो चामत्कारिक, अभूतपूर्व र अविश्वसनीय स्थिति थियो । त्यसैले ‘सुपर स्टार’ मात्र नपुगेर होला, उनको ‘करिश्मा’ लाई एउटा अर्को नाउँ दिइयो, ‘फेनोमेना ।’


उनलाई भेट्न विदेशबाट फ्यानहरू आइरहन्थे । अञ्जु महेन्द्रुको घरमा उनी बस्थे । त्यहाँ उनलाई भेट्न दैनिक हजारौं फ्यान आउँथे जसमा केटीको संख्या पर्याप्त हुन्थ्यो । अञ्जु त्यसले गर्दा चिढिन्थिन्, डिस्टर्ब अनुभव गर्थिन् । दिनरात यस्ता मानिसबाट घेरिनु, तिनले ‘क्रेज’ पूर्वक कराए–चिच्याएको सुन्नु, जसले उनीसँग कुनै सरोकार राखेका छैनन् । तर त्यो घर पनि राजेश खन्नाले नै उनको जन्मदिनमा उपहार दिएका थिए । अञ्जु महेन्द्रु, आज पनि त्यही घरमा बस्छिन् ।


राजेश खन्नाका अर्की पनि एउटी पत्रकार मित्र थिइन्— घनिष्ठ मित्र देवयानी चोबल । उनको ‘स्टार एन्ड स्टाइल’ भन्ने पत्रिकामा स्तम्भ थियो, ‘फ्रयांक्ली स्पिकिङ’ जुन आफ्नो तीक्ष्णताले गर्दा एकदम लोकप्रिय थियो । राजेश खन्ना एक जनाप्रति भने उनी नरम थिइन्, स्तम्भको धर्मले गर्दा ।


कति मान्छे त भन्थे— देवयानी उनकी प्रेमिका हुन् । वास्तवमा ‘आनन्द’ हेरेपछि ‘लम्बूसँग नखेल्नू’ भन्ने राय दिने महिला मित्र यिनै हुन् । राजेश रिसाएका थिए, मनमनै त्यो कमेन्टमा । एकदिन दालभात खाएर हात धोएपछि यिनले हात पुछ्न रुमाल नझिकेर देवयानीको महँगो सारीको फेरले मज्जाले पुछे, अफवाह उडाए । राजेशलाई यस्तो प्रदर्शन पनि मन पथ्र्यो । अञ्जु, देवयानी र अन्य कतिसँग क्रमश: यिनको सम्बन्ध बिग्रँदै गयो र ठ्याम्मै बिग्य्रो अन्त्यमा । खासमा उनी आफूलाई भगवान् ठान्न थालेका थिए । ‘दर्शक फिल्म हेर्न होइन, मलाई हेर्न आउँछन् । मेरो कुनै फिल्म फ्लप भए पनि म फ्लप हुन्न,’ भन्ने भ्रममा उनमा पलाएको थियो । त्यो समय उनले बुझ्ने गरी आउने क्रममैं थियो ।
***


सन् १९७३ मा राज कपूरको एउटा फिल्म रिलिज भयो— ‘बबी’ । बबीमा डिम्पल कपाडिया भन्ने एक नयाँ हिरोइन थिइन् । फिल्मले तन्नमजस्ता भएका राज कपूरलाई एकाएक सम्पन्न र पुन: ‘ग्रेट सो–म्यान’ बनाइदियो । १६ वर्षकी डिम्पल त त्यस बखतका केटाकेटीको ‘आइकन’ नै बनिन् । राजेशले डिम्पलसँग धुमधामले बिहा गरे । त्यो विवाहमा दिलीप कुमार, राज कपूर र सायरा बानोले पनि भाग लिएका थिए । यस बखतसम्म अञ्जु महेन्द्रुसँग उनको सम्बन्ध छुटिसकेको थियो । राजेशले आफूभन्दा आधै कम उमेरकी केटीसँग बिहे गरेका थिए । एउटा उद्देश्य थियो— तिनै प्रेमिका अञ्जुलाई जलाउनु । उनी बदला लिनमा एकदम ‘माहिर’ थिए ।


यस विवाहले रन्थनिएर एक दुई केटीले त आत्महत्यै गरे । एउटी केटीले एउटी कुकुर्नी पाली र, त्यसको नाउँ डिम्पल राखेर, त्यसलाई दिनरात पिट्न थाली । पुलिस केसै भएको थियो रे । राजेशको जीवनको यही सबभन्दा रमाइलो र अन्तिम ठूलो घटना थियो । सन्तान जन्मिनु पनि सुखद घटना थियो तर दुवै सन्तान, ट्विङ्कल र रिंकु छोरी जन्मेका हुनाले उनी त्यति खुसी थिएनन् । एउटा छोरा चाहन्थे ।


राजेश खन्नाले आफूप्रति आफ्ना दर्शकको ‘क्रेज’ को दर्शन सबभन्दा बढी एकचोटि गरे बैंग्लोरमा । त्यो अद्भुत दृश्य फेरि कहिल्यै त्यति मात्रामा दोहोरिएन । तिनताक कर्नाटक सरकारले पनि स्टेट लट्री चलाउँथ्यो, लाखभन्दा बढीको । एक पटक सरकारले निर्णय गर्‍यो— त्यस्तो चिठ्ठाको फाइनल ड्रका लागि राजेश खन्नालाई बैंग्लोर निम्त्याउने । राजेश बैंग्लोरको स्टेडियम जाँदा बैंग्लोरमा यति धेरै दर्शक जम्मा भए— भनिन्छ, फेरि त्यति भीड कुनै कार्यक्रममा आजसम्म पनि बैंग्लोरको भूमिमा भएकै छैन । चारैतिर टाउकैटाउका, दस माइलको भीड थियो रे । जनताको आफूप्रतिको आकर्षण देखेर अभिभूत भए राजेश, उनका आँखामा आँसु भरिएर आयो । सोचे— मलाई पारस पत्थर बनाउने यिनै जनता हुन् ।
आफ्नो सुपर स्टारडमको त्यो दृश्य, बिर्सन सकिने पनि थिएन । त्यसको प्रमाण के भने उनले आफ्नो आखिरी समयमा आखिरी अभिनय गरेको फिल्म कुनै फिचर फिल्म थिएन, एउटा पंखाको विज्ञापन थियो । उनी हिँड्न पनि नसक्ने थिए, उनलाई चिन्ने पनि कोही थिएन । ह्विल चेयरमा बल्लबल्ल पुगेका थिए । उनले त्यो विज्ञापन फिल्म स्वीकार गर्ने एउटै कारण थियो, फिल्मको सुटिङ त्यहीं भएको थियो— बैंग्लोर स्टेडियममा । स्टेडियम जहाँ उनले आफ्नो चमत्कारी सुपर स्टारडमको पहिलो र सायद त्यति बिशाल अन्तिम अनुभव गरेका थिए । त्यहाँ पनि उनी रोएका थिए ।


पछि उनका फिल्महरू फ्लम हुन थाले, जसको थालनी ‘दिल, दौलत और दुनियाँ’ बाट भएको थियो । ठूलो सफलतापछिको पहिलो असफलता । पछि यश चोपडाको ‘दाग’ जस्तो फिल्मसफल पनि भयो । तर त्यो चमत्कार दोहोरिन सकेन ।


मित्रहरू अलग्गिँदै गए, ‘मेहफिल’ मा आउनेहरू कम हुँदै गए । पछिपछि त उनी एक जना अर्को कोही यति । एक पटक यश चोपडाले भनेका थिए, ‘उसलाई निर्माण निर्देशकले सधैं बेलुकी हाजिरी बुझाउनुपर्ने, आउँदा–जाँदा लिन–पुर्‍याउन जानुपर्ने, सधैं उसको प्रशंसा गर्नुपर्ने, यो मबाट भएन, त्यसैले साथ छुट्यो ।’


पछि डिम्पलले पनि छाडिन् तर उनी अन्तिम समयसम्म साथ दिन आइरहन्थिन्, परेका बेलामा । अन्तिम समयमा पनि यिनी साथै थिइन् । अञ्जु, देवयानी, टिना मुनिम सब आए र छाडेर गए । एक दिन डाक्टरले घोषित गरिदिए कि तिमीलाई क्यान्सर छ, ‘एडभान्स्ड स्टेज’मा । उनले मुसुक्क हाँसेर भने, एउटा कमजोर र रोगी ओठले— ‘आनन्द’ (फिल्म) जस्तै मृत्यु हुन थालेछ मेरो । एक प्रकारले आनन्दजस्तो, एक्लोपनको हिसाबले ‘कागज के फूल’ जस्तो पनि ।
***


राजेश खन्नालाई सबैले ‘फेभरेट’ मान्दैनन्, मेरा पनि होइनन् तर केही ‘अ’ अर्थात आनन्द आराधना, आविष्कार, अमर प्रेम, आप की कसम, आनन्द, अवतार अनि ‘नमक हराम’ आदि जस्ता फिल्मका लागि उनलाई सम्झनैपर्छ । अर्को, एउटा कसैले प्राप्त नगरेको उचाइ र सफलताबाट एकान्तको खाडलमा अन्त्य हुने उनको जीवनकाललाई पनि उनलाई सम्झनुपर्ने हुन्छ । उनको ‘त्वरित’ पतन (दुईदेखि पाँच वर्षपछि भनूँ) । ‘अन्दाज’ फिल्ममा, शम्मी कपूर र हेमा मालिनीसमेतले भ्याउँदैनन् भनेर राजेशको ‘गेस्ट रोल’ हालेर त्यसलाई हिट बनाइएका कति फिल्म पछि वितरकहरू किन्न नमान्नेसम्म भए । योभन्दा अपमान र दु:ख एउटा कलाकारलाई के होला अरू ? दिइएको उपाधि खोसेझै, पछि उनलाई, ‘एक्स–फेनोमेना’ भन्न थालियो ।


‘जिन्दगी एक सफर है सुहाना’, ‘मेरे सपनों की रानी कब आएगी तू’, ‘रूप तेरा मस्ताना’जस्ता गीतहरू राजेश खन्नाले गाएका हुनाले युवायुवतीले सबभन्दा गाउन चाहने र सुन्न चाहने गीत थिए । मेरो व्यक्तिगत धारणा छ— गायक किशोरकुमारको गायन राजेश खन्नाको उत्थानसँग धेरै सम्बन्धित छ ।


राजेशको ‘त्वरित’ पतनमा उनको स्वभाव, वास्तविक आमाबाबुसँगको विछोड, अहंकार, आशंका र ईष्र्याको धेरै हात छ भनिन्छ । नत्र एकताका ‘माथि आका (मालिक/ईश्वर) तल काका’ भनिने काका (साने भनेजस्तै) अर्थात् राजेश खन्नालाई यस्तो भने पनि, एउटा कुरामा उनलाई कसैले खोट लगाउन कदापि सक्दैन, उनको कलाप्रतिको प्रेम । नत्र भने मृत्युको ठीकअघि काम्दै हिँडेर भए पनि ‘मेरा फ्यानले मलाई कहिल्यै छाड्दैनन्’ भन्ने वाक्य बोल्न कोही गएको थाहा छैन । यो अन्तिम विज्ञापन–फिल्म, अप्रिलमा रिलिज भएको थियो । उनको निधन जुलाई १८ (२०१२) मा भएको थियो ।


यस्ता ठूला र समर्पित कलाकारलाई म उनले धेरै पटक बोल्ने गरेको ‘दाग’ फिल्ममा लेखेको एक मार्मिक कविताद्वारा नै श्रद्धाञ्जली दिन्छु, किनभने यो कविता उनको एक अत्यन्त प्रिय कविता थियो :
इज्जतें, शोहरतें, चाहतें, उल्फतें
कोई चीज दुनियाँ में रहती नहीं
आज मैं हुँ जहाँ, कल कोई और था
ये भी एक दौर है, वो भी एक दौर था ।
कलाकार राजेश खन्नाले डिम्पललाई बोलेको अन्तिम शब्द के थियो, थाहा छ ? ‘टाइम अफ प्याक अप’, यस्ता सुपरस्टारलाई के भन्ने ?

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?