१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एमबीबीएस खर्च १ लाख रुपैयाँ !

शिक्षा
नेपाली विद्यार्थीले डाक्टर बन्न र व्यापारीहरू मेडिकल डिग्रीको व्यापार गर्नका लागि मरिहत्ते गरिरहेको सन्दर्भमा सबैभन्दा धेरै रकम कति तिरेमा वा सबैभन्दा कम रकम कति खर्च गरेमा डाक्टर बन्न पाइन्छ भन्ने कुराको चासो स्वाभाविकै हो ।
हामीकहाँ करिब आधा करोड रुपैयाँ खर्चेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीका लागि कलकत्ताको मेडिकल पढाइ आफैंमा अचम्मलाग्दो छ।
दीपक अर्याल

काठमाडौँ — भर्ना शुल्क १६ सय रुपैयाँ । मासिक पढाइ शुल्क १२ सय रुपैयाँ । होस्टल शुल्क मासिक २० रुपैयाँ ।

एमबीबीएस खर्च १ लाख रुपैयाँ !

जम्माजम्मी खर्च यति नै हो । ५ वर्षे एमबीबीएस पढाइमा बढीमा हुने खर्च भनेको १ लाख रुपैयाँ मात्रै हो । के यो ‘सम्भव’ कुरा हो ?


यो विवरण हेर्दा सहजै भन्न सकिन्छ— यो ‘असम्भव’ कुरा हो । अझ हामीकहाँ करिब आधा करोड रुपैयाँ खर्चेर चिकित्साशास्त्रको अध्ययन गरिरहेका नेपालीका लागि त यो आफैंमा अचम्मलाग्दो कुरा हो, गिज्याएजस्तै । तर, भारतको पश्चिम बंगाल सरकार र त्यहाँका सरकारी मेडिकल कलेजहरूको सद्भाव, सहयोगका कारण नेपाली विद्यार्थीले यो सेवासुविधा निरन्तर पाइरहेकै छन् । ६० वर्षयताको यो इतिहासमा कम्तीमा १ सय २० नेपाली विद्यार्थीले माथि उल्लेख गरेकै शुल्क तिरेर चिकित्सक पढाइ पूरा गरेका छन् ।


सन् १९५५ मा जगदम्बा कुमारी देवी र तत्कालीन आरजी कर कलेज तथा कलकत्ता मेडिकल कलेजबीच भएको सम्झौताले नेपाली विद्यार्थीलाई भारतस्थित यी सरकारी मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि अवसर जुटाइदिएको हो । उल्लिखित शुल्क हाल यी कलेजमा पढ्ने विद्यार्थीले तिरिरहेको सन्दर्भमा सन् १९५५ तिरको शुल्क कति थियो होला (?) भन्ने अनुमान गर्न सकिन्छ ।


गाउँको स्कुलमा पढ्ने बेलामा शिक्षक/शिक्षिकाले ‘ठूलो भएपछि के बन्ने ?’ भनेर सोध्ने गरेको प्रश्नको उत्तरमा सबैभन्दा धेरै हात डाक्टर वा इन्जिनियर बन्ने सपनाका लागि उठ्ने गथ्र्यो । कुनै समयमा यी दुईबाहेक पनि संसारमा अरू पेसा वा व्यवसाय होलान् र भन्ने सोचिन्थ्यो । आज समय धेरै बदलिएको छ र संसारभर अथाह सम्भावनाहरू सिर्जना भएका छन् । तर, नेपाली समाज भने डाक्टर वा इन्जिनियर बन्ने त्यो स्कुले सपनाबाट धेरै टाढा पुगिसकेको छैन । त्यसैले डाक्टर बन्ने सपना, यसका लागि ऋण/धन गर्ने वा भएका जग्गाजमिन बन्धकी राख्नेसम्मका हाम्रो मानसिकता र परम्परामा अझै कमी आएको छैन । यही कमजोरीले गर्दा चिकित्सा क्षेत्र कुनै सामान्य पेसा वा सेवा नभएर बन्द–व्यापार र यही कारण जन्मिएको सामाजिक प्रतिष्ठाको एउटा पर्यायका रूपमा परिणत भएको छ ।


नेपाली विद्यार्थीले डाक्टर बन्न र व्यापारीहरू मेडिकल डिग्रीको व्यापार गर्नका लागि मरिहत्ते गरिरहेको सन्दर्भमा सबैभन्दा धेरै रकम कति तिरेमा वा सबैभन्दा कम रकम कति खर्च गरेमा डाक्टर बन्न पाइन्छ (?) भन्ने कुराको चासो स्वाभाविकै हो । के नेपालीहरू १ लाख रुपैयाँ मात्र खर्च गरेर दक्षिण एसिया वा संसारका उत्कृष्ट डाक्टर बनेका उदाहरण छन् ? के यति थोरै पैसा वा खर्चमा डाक्टर बन्न सम्भव छ ? सम्भव छ भने कसरी ? यस्ता प्रश्नका केही उत्तर र उदाहरणका लागि मदन पुरस्कार गुठीबाट अध्ययनका लागि कोलकाता पुगेका र आफ्नो अध्ययन पूरा गरेका चिकित्सकसँग जिज्ञासा राख्न सकिन्छ । डाक्टर बन्नका लागि लाखौं खर्च गरिरहेको र नेपालका सन्दर्भमा कम्तीमा पनि ४० लाख रुपैयाँ खर्च गरेर नेपाली डाक्टर उत्पादन भइरहेको सन्दर्भमा १ लाख रुपैयाँमै नेपाली चिकित्सक उत्पादन भइरहेको र उनीहरूले नेपाल तथा विश्वका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवाहरू दिइरहेको कुरा धेरैले ख्याल नगरेको विषय हुन सक्छ ।


कुनै समयमा भारतका विभिन्न क्षेत्रमा सम्पर्क बनाइरहेका नेपालीले त्यहाँका मेडिकल कलेजलाई निश्चित सहयोग गरेबापत डाक्टरी अध्ययनका लागि वर्षमा निश्चित कोटा छुट्याइको थियो । सन् १९५५ मा रानी जगदम्बासँग मेडिकल कलेज एन्ड हस्पिटल कलकत्ता र आर जी कर मेडिकल कलेजले नेपाली विद्यार्थीलाई वार्षिक १/१ वटा मेडिकल सिट उपलब्ध गराउने गरी गरेको सम्झौता एउटा उल्लेख्य सामाजिक योगदान थियो । यो ६० वर्ष लामो इतिहासमा रानी जगदम्बासँग भएको सम्झौताअनुसार मदन पुरस्कार गुठीले छानेर पठाउने विद्यार्थीको संख्या १ सय २० पुगिसकेको छ र यी विद्यार्थीले कति शुल्क तिरे वा कति खर्च गरेर डाक्टर बने ? उनीहरूले नेपालभित्र वा बाहिर कस्तो योगदान दिइरहेका छन् भन्ने कुरा नेपालमा मेडिकल शिक्षाको बहस भइरहेका समयमा चर्चामा आउन जरुरी पनि छ ।


सन् १९८५ देखि यसरी पढ्न जाने विद्यार्थीका निम्ति गुठीले फिजिक्स, बायोलोजी, केमेस्ट्री र नेपाली विषयको परीक्षा लिन्थ्यो । यसरी परीक्षा लिएपछि शीर्ष १० लाई अन्तर्वार्ताका लागि बोलाइन्थ्यो र तीमध्ये २ जनालाई गुठीले उक्त कलेजमा पढ्नका लागि सिफारिस गथ्र्यो । उनीहरूलाई गुठीले छुट्टै छात्रवृत्ति वा अन्य कुनै आर्थिक सहयोग दिंदैन ।

बरु त्यहाँ पढ्न लाग्ने सम्पूर्ण खर्चका लागि विद्यार्थीका आमाबुबाहरू तयार छन् वा छैनन् भनेर अभिभावकको स्वीकृति लिइन्छ । एकैसाथ अध्ययन सकिएपछि कम्तीमा २ वर्ष नेपालमा सेवा गर्ने मञ्जुरीनामामा हस्ताक्षर गराइन्छ ।


कुनै समय चिकित्साशास्त्रको अध्ययन यति चर्चा गर्नुपर्ने विषय, यति व्यावसायिक वा चासोको विषय थिएन । तर, समयले यसमा सबैको चासो जगायो । यसमा सबैको चासो बढेपछि र यसमा आफ्नो भविष्य सुरक्षित देखेपछि भारतमै पनि कम पढेका, कम स्कोर ल्याएका कमजोर विद्यार्थीले चिकित्साशास्त्र अध्ययनका लागि ठाउँ पाए भन्ने गुनासो सुरु भयो । त्यसपछि अप्रिल २८, २०१६ मा भएको सर्वोच्च अदालतको निर्णयका आधारमा भारतभर एमबीबीएस गर्ने वा डेन्टल कोर्स गर्नेहरूका लागि नेसनल इलिजिविलिटी कम इन्ट्रान्स टेस्ट (निट) अनिवार्य गरियो । यस परीक्षामा निश्चित प्रतिशत र अंकसहित पास भए मात्र भारतभरका करिब ६६ हजार एमबीबीएस/बीडीएस सिटका लागि भर्ना हुने न्यूनतम योग्यता पुग्ने भयो । निट परीक्षाबाट जाने विद्यार्थीमध्ये २५ हजार ८ सय ४० विद्यार्थीले निजी कलेजमा र २७ हजार ५ सय ९० विद्यार्थीले सरकारी कलेजमा भर्ना पाउँछन् । यसरी छुट्याइएका सिटमध्ये निजी र सरकारीमा अध्ययनरत विद्यार्थीका लागि फरक–फरक शुल्क निर्धारण गरियो ।


निट परीक्षा लागू गर्ने क्रममा फरकफरक धारणा, प्रक्रिया, अन्योल तथा तयारीका माझ गुठीले एक वर्ष (सन् २०१६/१७) कुनै पनि विद्यार्थी यस अध्ययनका लागि पठाउन सकेन । तर, यस समस्याको समाधाननिम्ति तत्कालीन परराष्ट्रमन्त्री कमल थापा, भारतस्थित नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतसँग निरन्तर संवाद भइरह्यो । फलस्वरूप अर्को वर्षदेखि यस कार्यक्रमले निरन्तरता पायो ।


यो नयाँ व्यवस्थासँगै निटमा सहभागी भएर पास भएका सबै विद्यार्थीले चिकित्साशास्त्र अध्ययनका लागि फारम भर्न पाउँछन् । पहिले लिने गरिएको फिजिक्स, केमेस्ट्री र बायोलोजीको परीक्षा खारेज गरेर त्यसको सट्टा निटको परीक्षालाई मान्यता दिएको छ भने लिखित नेपाली परीक्षा र अन्तर्वार्ताको प्रक्रिया भने यथावत् छ । यसरी चिकित्साशास्त्र अध्ययन गरिरहेकाहरू सबैले कलेजमा र कलेजपछि पनि राम्रो गरिराखेका छन् । सन् २०१४ का श्रृतिक देवकोटाले सन् २०१८ को तेस्रो प्रोफेसनल एमबीबीएसतर्फ सबैभन्दा धेरै नम्बर ल्याएर कलेज टप गरेका थिए । कपिल दवाडी (२००९) एनाटोमी प्रोसेक्टरसीप– २०१० का लागि पुरस्कृत भए, त्यस्तै सन्तोष उपाध्याय (२०१६) एनाटोमी प्रोसक्टरसिप–२०१६ का लागि पुरस्कृत भए । इन्डियन इन्स्टिच्युट मेडिकल रिसर्चअन्तर्गत मेडिकल रिसर्च फेलोसिप पाएका केही तथ्य–तथ्यांक पनि गुठीसँग छ ।


हाल दुईवटा कलेजमा मात्र गुठीबाट गएका १२ जना विद्यार्थी अध्ययनरत छन् । यीमध्ये केहीले इन्टर्नसिप गर्दै छन् भने केही सबै पढाइ सकेर पोस्ट ग्य्राजुएट (पीजी) अध्ययनका लागि तयारी गर्दै छन् । गुठी एउटा माध्यम मात्र भए पनि यस्तै कामहरू फरक–फरक विधामा फरक–फरक संस्थाले गरिरहेको हुन सक्छ ।


माथि उल्लिखित शुल्क सन् २०१८ (हाल) यी सरकारी कलेजमा मेडिकल पढिरहेका विद्यार्थीसँग सोधेर लिइएको हो । कुल नौ सेमेस्टरमा सकिने चिकित्साशास्त्रको अध्ययन क्रममा ‘इन्टर्नसिप’ बापत कलेजले उपलब्ध गराउने आर्थिक सहयोगका विषयमा पनि सोच्ने हो भने यी अध्ययनहरू लगभग नि:शुल्क छन् । अर्थात् यो कुनै छात्रवृत्ति कोटा होइन, तर ६० वर्षदेखिको यो निरन्तरतामा आपसी सम्बन्ध, सहयोग र सद्भावका कारण नेपाली विद्यार्थीले सस्तो मूल्यमा उत्कृष्ट चिकित्सा शिक्षा पाइरहेका छन् ।


पश्चिम बंगालमा सरकारी मेडिकल कलेजहरूको स्थिति कस्तो छ ? किन उनीहरूले यति सस्तोमा डाक्टर उत्पादन गरिरहेका छन् ? आदि कुराहरूको पनि एकैसाथ खोज गर्न सकिन्छ । पश्चिम बंगाल स्वास्थ्य विश्वविद्यालयअन्तर्गत सञ्चालित १४ मध्ये १३ सरकारी कलेज रहेछन्, एउटा मात्रै निजी पाइयो । यी सरकारी कलेजको शुल्कको विषयमा थाहा पाउँदा (उल्लिखित) अचम्म लाग्ने तथ्यहरू देखा पर्छन् । सौभाग्यले यस सरकारी उदारताको प्रतिफल नेपाली विद्यार्थीहरूले पनि पाइरहेका छन् । आशा छ, अझै पाइरहनेछन् ।

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?