कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोख

कथा
मलाई थाहा छ, जीवनको कुनै घुम्तीमा कृष्ण दाइसित मेरो पक्कै भेट हुनेछ । तर, त्यसबखत मैले उनलाई रित्तो भेट्नेछु । आफ्नै कथाको चक्रव्यूहमा फसेको देख्नेछु उनलाई । त्यतिबेला हामीलाई सुनाउने कुनै कथा हुने छैन उनीसित ।
उमा सुवेदी

काठमाडौँ — सिमाली डाँडामा दिउँसो बाह्र बजे भूतहरू खाजा खान आउँछन् । त्यतिबेला पुग्नेलाई भूतले सर्लक्कै निल्छ ।’ कृष्ण दाइले नै हो गाउँका केटाकेटीहरूमाझ पहिलोपल्ट यो कुरा प्रचार गरेको । भर्खर किशोरावस्था सुरु भएको बेला म पनि कृष्ण दाइका कुरा खुब चाख मानेर सुन्ने गर्थेँ ।

दोख

उनको दिमागमा भूतप्रेत, बोक्सी र डायनका कुरा भरिदिने अरू कोही नभएर उनकै हजुरआमा थिइन् । कृष्ण दाइ जन्मिएको डेढ वर्षपछि फेरि सुत्केरी भइन् उनकी आमा । तर यस पटक लामो व्यथापछि पनि बच्चा जन्मिन नसक्दा कृष्ण दाइकी आमा बितेकी थिइन् । कृष्ण दाइले हजुरआमाबाट आमाकै जस्तो स्याहार पाएका थिए । सारै मायाले हुर्काएकी थिइन् हजुरआमाले कृष्ण दाइलाई । गाउँमा सबै भन्थे, ‘केटाकेटीको चाकर गर्न कृष्णकी हजुरआमाबाट सिकून् सबैले । यत्तिको स्याहार चाकर त सहोदर आमाले पनि गर्दैनन् ।’


अलि ठूलो भएपछि कृष्ण दाइलाई काखमा राखेर हजुरआमा कथाहरू सुनाउँथिन् । सुनकेसरी रानीका कथा, परी र जलपरीहरूका कथा, राजकुमार दिक्पाल, लाटोबुंगोको कथा, जुत्ता खाने बुहारीका कथा । तर, धेरैजसोचाहिँ भूतप्रेतका कथा सुनाउँथिन् हजुरआमाले । यसरी कृष्ण दाइ सानैदेखि हजुरआमाको कथा सुन्दै हुर्केका थिए । हजुरआमाले नातिको स्याहारसुसार र खानपानमा धेरै ध्यान दिएकाले उनी फुर्तिला र बलियाबांगा भए । बिरामी पनि हत्तपत्त पर्दैनथे । नातिलाई अलिकति टाउको दुख्यो कि हजुरआमाले अनेकथरीका जडीबुटीका काँढा बनाएर ख्वाइहाल्थिन् । ज्वरो आएको थाहा पाउनासाथ वल्ला गाउँ र पल्ला गाउँका वैध, धामी र झाँक्रीहरू दौडादौड गरेर आइहाल्थे ।


कृष्ण दाइको निरोगी ज्यानसँगै उनको दिमागमा हजुरआमाका कथाहरू फस्टाउँदै हुर्के ।


सुरुमा त कृष्ण दाइ आफूले सुनेका कथा जस्ताको तस्तै सुनाउँथेँ । तर, अलिक ठूला भएपछि सुनेको कथामा फूलबुट्टा भरेर सुनाउन थाले । पछिपछि त उनी आफैंले भूतप्रेतका नयाँनयाँ कथा बनाएर सुनाउन थाले । उनले बनाएका कथा पनि कम रोचक हुँदैनथे । उनका कथाको प्रभावले कत्ति केटाकेटीहरू सपनामा भूत आयो भन्दै चिच्याउँदै र कहालिँदै ब्युँझन्थे । कति भने सपनामा भूतसँग फाइट खेलेको कहानी भोलिपल्ट भेट हुनासाथ सुनाउँथे ।


तर, एउटा विशेषता भने फरक थियो कृष्ण दाइमा । उनी अत्यन्त कहालीलाग्दो स्थितिमा पुर्‍याएर कथा टुंग्याउँथे । एक छिन हामी सबै केटाकेटीहरूको अनुहारमा देखापरेको त्रासलाई मज्जा मानेर हेर्थे । जब हाम्रो अनुहारमा निकै बेरसम्मै त्यस्तो त्रास बाँकी भइरहन्थ्यो अनि उनले हामी सबैलाई सहज बनाउँदै भन्थे, ‘मैले त कथा सुनाएको पो त । कथा कल्पनाको कुरा हो । सत्य होइन । वास्तवमा भूतप्रेत भन्ने कुरा हुँदै हुन्न । त्यो हाम्रो दिमागको उपज मात्र हो ।’


उनको यस्तो कुराले हामी केही आश्वस्त त हुन्थ्यौँ तर फेरि पनि डरको केही अंश हाम्रो दिमागमा बाँकी नै रहन्थ्यो । त्यही शेष रहेको डर हाम्रो
सपनामा उपस्थित हुन्थ्यो र हामीलाई कहालिँदै ब्युँझन विवश बनाउँथ्यो ।
***

एक पटक साउनमा निकै दिन लगातार पानी परिरह्यो । घर छेउको बिरिङखोलामा ठूलो बाढी आयो । मैले त्यस्तो ठूलो बाढी न कहिल्यै देखेकी थिएँ न त्यसपछि देखेँ । बाफ रे, बगरै ढाकेको थियो भेलले । तर, केही दिनपछि पानी बिस्तारै केही रोकिन लागेको थियो । बाढी घट्दै आएको थियो तर त्यति नै बेला एउटा हल्लाले गाउँ ततायो—‘शान्तिपुरको अदुवा व्यापारीलाई खोलाले बगायो ।’


यो कुरा सुन्नेबित्तिकै हामी सबै खोलाको डिलमा ताँत लाग्यौँ । बलिया युवाहरू खोलामा पौडिएर यता र उता खोज्न लागे ।


केही बेरपछि हाम्रो गाउँभन्दा निकै तल ती व्यापारीको लास भेटियो । फोनको जमानै थिएन । धन्न एक जना गाउँलेले शान्तिपुरमा त्यो व्यापारीलाई देखेको रहेछ र उसको परिवार पत्ता लगाउन सजिलो भयो ।


त्यो घटनाबारे कुरा सेलाउन नपाउँदै हजुरआमाले भनिन्, ‘त्यो मान्छेलाई भूतले तानेर लग्यो । खोलामा आज दोख बसेको थियो । भोको दोखले उसैलाई खप्पै निल्यो ।’


कृष्ण दाइले त्यही कुरामा थप मरमसला मिसाएर यसरी प्रचार गरे— ‘हाम्रो खोलामा एउटा बलियो भूत बसेको छ । राति मसँग आएर उसैले भनेको, ‘मेरो भोलि विशेष दिन हो । उत्तरतिरको एउटा बलियो खुराक लिएर जान्छु ।’


अनि त्यो भूत हराएको एकै छिनमा व्यापारीलाई खोलाले बगायो । त्यतिको बाढीमा त त्यो व्यापारी कति पटक वारपार गरिसकेकै हो नि । त्यो भूस्तले नतानेको भए बग्थ्यो भन त ? तर, अब त्यो भूत मेरो साथी भइसक्यो । तिमेरु कोही नडराओ । तिमेरु मेरा साथी अनि म भूतको साथी । भूत र तिमेरु पनि साथी साथी । हैन त ?’


हामी सबैले आआफ्ना मनभरि अनेकथरीका डर पालेर रुन्चे हाँसो ओठमा फिस्स देखाउँदै ‘हो’ को संकेतमा मुन्टो हल्लायौँ । कृष्ण दाइका कुरा हामी सबैले पत्यायौँ । त्यसपछिका दिनमा खोलातिर जानुपर्दा कृष्ण दाइलाई लिएर मात्र जान्थ्यौँ ।


कृष्ण दाइबाट हामीलाई धेरै कुरामा सहयोग मिलेको थियो । गणितका नरिवलजस्ता सारा र चाम्रा समस्याहरू एकै पटकमा दिमागमा घुस्ने गरी सिकाइदिन्थे । कहिलेकाहीँ स्कुलबाट भागेर फिल्म हेर्न जाँदा उनैले घरमा पत्याउने गरी केही कहानी बनाएर सुनाइदिइसकेका हुन्थे । अनि त बेलुका अबेर आउँदा पनि आमाले केही नभनी तातो भात पस्किदिनुहुन्थ्यो ।
छोरीले राति घरबाट निस्कनै नहुने भन्ने मानसिकतामा हुर्केकी मेरी आमा पनि कृष्ण दाइको साह्रै विश्वास गर्नुहुन्थ्यो ।


गाउँमा कसैको घरमा बिहे, पूजाआजा हुँदा मलाई आमाले कृष्ण दाइकै साथ लगाएर पठाउनुहुन्थ्यो । एक किसिमले भन्ने हो भने कृष्ण दाइ हामी केटाकेटीका लागि एक असल अभिभावक भएका थिए ।


पढाइमा पनि अब्बल थिए कृष्ण दाइ । सहयोगी उस्तै थिए । आमा नभएको केटो भनेर गाउँमा सबैले माया गर्थे । पढाइका अतिरिक्त बाहिरी ज्ञानले पनि भरिपूर्ण थिए उनी । एकपल्ट सुनेको कुरा हत्तपत्त बिर्सँदैनथे । एसएलसीमा उनी जिल्ला टप भए ।


कृष्ण दाइका बुबा गाउँकै सरकारी स्कुलमा मास्टर थिए । छोराछोरी पढाउने कुरामा उनी धेरै सचेत थिए । उनी गाउँका कुनै पनि केटाकेटी निरक्षर नहोऊन् भन्ने चाहन्थे । कतिपय गरिब बालबालिकालाई उनले छात्रवृत्तिको व्यवस्था गरिदिएका थिए ।


घरायसी स्थितिले पनि साथ दिएको र कृष्ण दाइको रहर पनि डाक्टरै बन्ने भएकाले उनी आईएस्सी पढ्न काठमाडौं लागे । काठमाडांै जानुअघिल्लो साँझ उनले हामी केटाकेटीहरूलाई भेला पारे र भने, ‘लु, अब मेरो तिमीहरूसित बिदावारी हुने बेला भयो । अब दुई वर्षपछि मात्र गाउँ फर्किन्छु । त्यतिन्जेल त तिमीहरू पनि ठूला भइसक्छौ । मेरा कथाहरू पनि बिर्सिसक्छौ होला । भूतप्रेतका कथा त बिर्सेकै राम्रो ।’


तर, हामीलाई ती कथाहरू बिर्सनु थिएन किनभने ती कथा मार्फत हामी कृष्ण दाइलाई सम्झिरहन चाहन्थ्यौँ । उनले फेरि भने , ‘जीवनमा मैले तिमीहरूलाई धेरै कथा सुनाएँ । कति कथा मलाई हजुरआमाले सुनाउनुभएको थियो । कति कथा मैले आफैँले बनाएर सुनाएँ । अब तिमीहरू पनि कथा बनाउने गर । मज्जा हुन्छ कथा बनाउन र सुनाउन । तर, हामीले आफ्नो जिन्दगीलाई कहिल्यै कथा बनाउनु हुँदैन ।’


हामीले उनका सबै कुरा बुझ्यौँ । तर अन्तिम वाक्य भने पटक्कै बुझेनौँ । जिन्दगीलाई कथा बनाउनु किन हुँदैन भनेर सोध्ने हिम्मत पनि भएन । त्यही अनुत्तरित प्रश्न हामीमाझ छोडेर कृष्ण दाइ हिँडे ।


हाम्रो लागि त उनी हिँडेको दिन दिउँसै रात परेजस्तो भएको थियो । नहोस् पनि कसरी ? सबैलाई अनेकथरीका कथा सुनाएर दंग पारेका उनी अब हामीमाझ नहुनु भनेको हाम्रो दैनिकीबाट कथा हराउनु थियो । के अब हामी कथाबिना नै हुर्किनुपर्छ ? यो हामी सबै केटाकेटीका लागि कहालीलाग्दो कुरा थियो ।


उनी गएपछि पीपलबोट चौतारो पनि रित्तोरित्तो देखिन थालेको थियो । उनी जैले पनि चौतारोमा पुगेपछि मुखले सिट्ठी बजाउँथे । उनको सिट्ठीको आवाजसँगै हामी दौडादौड गर्दै त्यहाँ पुग्थ्यौँ । गाउँभरिका केटाकेटीले चौतारो एकै छिनमा भरिने गथ्र्यो । तर अब त्यसरी सिट्ठी बज्न छोड्यो । त्यो सिट्ठी मात्र होइन रहेछ, संगीत पनि रहेछ । कृष्ण दाइ गएपछि हामीहरूको माझबाट कथा मात्र हराएन, संगीत पनि हरायो । लय पनि हरायो ।


उता, काठमाडौंमा पनि अब्बल निस्किए कृष्ण दाइ । आईएस्सीमा कलेज टप गरेछन् । लगत्तै उनले अमेरिकाको प्रतिष्ठित कलेजमा स्कलरसिप पाइहाले । अमेरिका जानुअघि उनी गाउँ आएका थिए ।


त्यो रातभरि हामी कृष्ण दाइकै वरिपरि झुम्मियौँ ।


साइन्स ल्याबदेखि होस्टलको बद्मासीसम्म अनि घरको याददेखि हजुरआमाले सुनाएका भूतप्रेत, धामी र झाँक्रीका कहानीसम्म सबै सुनाए । कतिपय कथा हामीले बिर्सिसकेका थियौँ । ती कथाहरू फेरि दोहर्‍याएर सुनाए । उनले काठमाडौंको कलेजमा पढ्दा साइन्स ल्याबमा काम गरिरहेको बेला भूतहरूसँग कुरा गरेको गज्जबको कहानी पनि बनाएर सुनाएँ । हामी दंग परेर आधा रातसम्मै उनका कहानी सुनेर बस्यौँ ।


तर, फेरि उनी गाउँ छाडेर जाने दिन आइहाल्यो । उनले पहिलेजस्तै यस पटक पनि हामीलाई भने, ‘जिन्दगीलाई कथा बनाउनु हुँदैन ।’
यस पटक पनि हामीले उनीसित जिन्दगीलाई किन कथा बनाउनु हुँदैन भनेर सोध्नै सकेनौँ ।
***

उनी अमेरिका लागेको पनि पन्ध्र वर्ष बितेछ । उनले उता गएर निकै प्रगति गरे भन्ने सुन्यौँ हामीले । अमेरिकाको नाम चलेको हस्पिटलमा मुटुको सर्जन भएछन् । त्यसपछि उनले उतै बिहे गरे । दुई सन्तान पनि जन्मिए । यो पालि उनले हजुरआमालाई तीन महिना अमेरिकामा राखे ।


अब त हामी पनि ठूला भइसक्यौ । तर, हामी गाउँका साथीभाइहरूले अझै पनि कृष्ण दाइलाई सम्झिरहन्छौँ । कृष्ण दाइसँग हामी केही साथीहरूको बेलाबेला फोनमा कुरा पनि भइरहन्छ । गाउँ छँदाका रमाइला कुरासँगै आफ्ना पारिवारिक कुरा पनि गरिरहन्छन् उनी । अनि अमेरिका बसाइका कुराहरू पनि सुनाइरहन्छन् हामीलाई ।


सबै कुराले साथ दिइरहेको थियो कृष्ण दाइलाई । तर, जिन्दगी सधैँ एउटै बाटोमा कहाँ हिँड्दो रहेछ र † एउटै लयमा कहाँ बग्दोरहेछ र † अचानक उनी अमेरिकामा बिरामी परे ।
उनले सबै कुराको परीक्षण गराए । तर, उनको शरीरमा लागेको रोगको पहिचानै हुन सकेन । उनी आफैँ डाक्टर, त्यसमा पनि अमेरिकाजस्तो सुविधा सम्पन्न ठाउँमा भएकाले उनको उपचारमा कुनै कमी रहेन । उनलाई जाँच्ने डाक्टरका अनुसार त उनी पूरै निरोगी छन्् । तर, कृष्ण दाइको मनमा आफू ठीक छु भन्ने कुराको विश्वास नै भएन ।


उनले आफू बिरामी परेको कुरा हजुरआमासँग भने । हजुरआमाले उनको इन्टरभ्यु नै सुरु गरिन्, ‘तेरो हस्पिटलमा कुनै बेला तँलाई केही कुराले हल्लाएजस्तो भएको थियो ? अनि अपरेसन गर्दागर्दै कुनै बिरामी मरेको थियो ? के त्यो मर्ने बिरामीले तँलाई नै हेरिरहेको थियो ? अनि तैँलै पनि त्यसलाई ट्वाल्ल परेर हेरेको थिइस् ?’


हजुरआमाको प्रश्न सुनेर उनी मजाले हाँसे ।
केही उत्तर दिएनन् । तर, बिस्तारै ती प्रश्नहरू उनको मनभित्र गाडिएर बसे । उनको चेतनामा हजुरआमाका प्रश्नले एक किसिमको तरंग उत्पन्न गरिरह्यो । मनलाई अन्तै लान खोज्दा पनि घुमीफिरी मन तिनै प्रश्नमा आएर अड्किन्थ्यो । उनी हैरानै भए । यस्तै बेला उनले सम्झिएका थिए एक जना बिरामीलाई ।


त्यो मान्छे मुटुसम्बन्धी गम्भीर रोगले ग्रस्त थियो । उसको अप्रेसनमा ठूलो रिस्क थियो । तर, बिरामीको परिवार र स्वयं बिरामीको अनुमतिमा अस्पतालले त्यो रिस्क लिने भयो । उसको अपरेसन गर्ने डाक्टरहरूको टिमको नेतृत्व कृष्ण दाइले नै गरेका थिए । तर, पूर्वानुमान गरेबमोजिम अप्रेशन पूरा गर्नै नपाई बिरामीको मृत्यु भएको थियो । बल्ल कृष्ण दाइले सम्झिए, मर्दाखेरि त्यो बिरामीका आँखा खुलै थिए र ती आँखाले टुलुटुलु उनैलाई हेरिरहेका थिए ।


त्यसपछि कृष्ण दाइलाई राति निद्रा पर्न छाड्यो । काममा उनको मन जान छाड्यो । बिदा लिएको लियै गर्न थाले । घरमा बस्दा पनि एक्लै एक्लै कताकता टोलाउन थाले ।
अस्ति भर्खरै त हो । मैले धेरै वर्षपछि कृष्ण दाइलाई फोन गरेँ । उनी न्युयोर्कबाट आफ्नो घर क्यालिफोर्निया फर्कँदै थिएँ । निकै हतारमा थिए क्यार ।
‘म पछि क्यालिफोर्निया पुगेपछि फोन गर्छु है ।’
उनले यति भनेर भाइवर अफ गरिहाले ।


बिहान म उठेर चिया पिउँदै गर्दा कृष्ण दाइको फोन आयो । मैले कुरैकुरामा न्युयोर्क जानुको कारण सोधिहालेँ, ‘अफिसियल कामले कि घुमघामको लागि जानुभएको थियो दाइ ?’
उनले अलिक अन्कनाउँदै भने, ‘खास घुमघाम त थिएन । केही प्राइभेट काम थियो ।’


प्राइभेट भनेपछि मैले सोधिरहनु थिएन । म कुरा अन्तै मोड्ने सूरमा थिएँ । तर, दाइले आफैं सोध्नुभयो, ‘तिमी सूर्य दाइको बुबालाई चिन्छौ नि ?’
‘अँ चिन्छु । किन र दाइ ?’
‘उहाँ सूर्यकोमा न्युयोर्क आउनुभएको रहेछ ।’
‘अनि के भयो त ? उहाँलाई भेट्न जानुभएको ?’
‘यत्तिकै भेट्न त के जानु यति टाढाबाट । तर काम परेपछि पाँच घन्टा प्लेनको यात्रा गरेर भए
पनि गएँ ।’
मलाई एकदम चासो लाग्यो । सूर्य दाइको बुबा म राम्ररी चिन्थेँ । उहाँ हाम्रो गाउँका चर्चित व्यक्ति थिए । मलाई सूर्य दाइको बुवासित कृष्ण दाइको के काम परेछ भन्ने खुल्दुली भयो ।
‘दाइ, के त्यस्तो परेर जानुभयो ? फेरि आफ्नो ड्युटी नै छोडेर त्यति टाढा जानुपर्ने के बाध्यता पर्‍यो दाइ ?’


दाइ सिरियस भए र भने, ‘हेरन, म बिरामी छु । निकै समय भइसक्यो । सबै कुरा चेक गराइसकेँ । तर, केही देखिन्न । डाक्टरहरूले सबै कुरा नर्मल छ भन्छन् । रिपोर्ट पनि सबै नर्मल देखाउँछ । तर म ठीक छैन भन्ने कुरा मलाई महसुस हुन्छ । सूर्य दाइको बुबा त हाम्रो गाउँका नामी धामी हुन् । त्यसैले एक पटक उनीलाई हेराउन गएको । हस्पिटलको दोख लागेको रे । उनले फुकिदिएपछि अहिले मन हल्का भएको छ । राति पनि आरामले निदाएँ । बिहान उठ्दा दिमाग पनि हल्का भएको थियो ।’


म केही बोल्न नसकी उनका कुरा सुनिरहेँ । केही भन्नु थिएन । एकोहोरो उनी बोलिरहे र मैले सुनिरहेँ । कति बेला उनले फोन राखे केही थाहा पाइनँ ।


अब दिमागभारि हुने पालो मेरो । मेरा अगाडि भूतप्रेतका कथा सुनाइरहेका कृष्ण दाइ सर्लक्क उपस्थित भए । उनी राम्ररी मुस्कुराउन सकिरहेका थिएनन् । उनले कथा पनि सुनाउन सकेनन् । मलाई लाग्यो, आफैँले सुनाउने गरेका काल्पनिक कथा नै कृष्ण दाइको जीवनमा विश्वास बनेर गजधम्म बसिदियो । अरूलाई कथाको संसारमा भुलाउने कृष्णदाइ आफैं कथामा हराए । आफैँ आफ्नो कथाको हिस्सा बने । आफ्नो जिन्दगीलाई नै कथामा रूपान्तरित गरे ।


मलाई थाहा छ, जीवनको कुनै घुम्तीमा कृष्ण दाइसित मेरो पक्कै भेट हुनेछ । तर, त्यसबखत मैले उनलाई रित्तो भेट्ने छु । आफ्नै कथाको चक्रव्यूहमा फसेको देख्ने छु उनलाई । त्यतिबेला हामीलाई सुनाउने कुनै कथा हुने छैन उनीसित ।
कथाबिनाका कृष्ण दाइसितको त्यो भेट मेरा लागि सुखद हुने छैन । तर, त्यो भेटमा म उनीसित पक्कै सोध्नेछु, ‘आफ्नो जिन्दगीलाई कथा किन बनाउनु हुँदैन ?’

प्रकाशित : श्रावण ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?