१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अमेरिकी भोगाइ कथामा

समीक्षा

काठमाडौँ — अमेरिकामा नेपालीले भोगेका नकारात्मक पक्ष मात्रै उठाइएको हेर्दा ‘कथाकार राजव चर्कै देशभक्त हुन् कि झैं’ भन्न सकिने ठाउँ छ । राजव एक दशकयता अमेरिका बस्दै आएका छन् । लेखक आफैं पनि अमेरिका बसाइमा सन्तुष्ट नभएको संकेत यी कथाहरूबाट पाउन सकिन्छ । यदि यो कुरा सत्यमा बदलिने हो भने कथाकार राजवलाई काठमाडौंका गल्लीमा अब छिट्टै देख्न पाइने हो कि ?

अमेरिकी भोगाइ कथामा

धेरै नेपाली युवाको सपना अमेरिका जाने देखिन्छ । कतिपय लाखौं खर्च गरेर अवैध बाटोबाट अमेरिका पुगेका छन् । अमेरिका जान पाउनु भाग्य खुलेको ठान्ने प्रवृत्ति अहिले पनि छ । तर, सोचेजस्तो अमेरिका छ त ? त्यसका लागि राजवको कथासंग्रहमा छिर्नुपर्ने हुन्छ । ‘पाई’ मा राजव खासगरी अमेरिकी नेपालीको भोगाइमा छिरेका छन् । समाज गतिविधिलाई कथामा प्रतिविम्बन गर्नु एउटा कला हो । त्यो कला प्रयोग गर्ने प्रयास लेखकले गरेका छन् ।

अमेरिकाको सजिलो र स्वादिलो खाना ‘पाई’ बाट उनले कथाको नाम जुराएका छन् । पाईमा २० कथा छन्, धेरै कथामा अमेरिकी नेपालीको भोगाइलाई सजीव तरिकाले उतारेका छन् । केही कथा त्यहाँको अन्य परिस्थितिबाट उब्जिएका छन् । उनले लेखेका कतिपय कुरा हाम्रो परिवेशमा नौला लाग्न सक्छन् । जस्तो पहिलो कथा ‘रिटर्न टिकट’ मा पाउन सकिन्छ । एउटा विवाह हुँदै छ, छोराको विवाहका लागि काठमाडौंबाट बुवाआमा अमेरिका गएका छन् । विवाहको सबै तयारी भइसकेको छ । काठमाडौंबाट गएका बुवा आफ्ना छोराको विवाह देखेर चकित पर्छन् । हतारमा आएकी बुहारी २० मिनेटमा बिहे सकेर केही घण्टामै कार्यक्षेत्रमा फर्किन्छिन् । नेपालमा हुेर्केकी केटाकी आमा चकित खान्छिन् । यो त्यहाँको समाजमा भएको नेपाली पाराको विवाहलाई लेखकले रमाइलो पाराले उतारेका छन् । उनी कथामा आफैं उपस्थित हुन्छन् र भन्छन्, ‘तर म चुप नै रहिरहेँ । ऊ मैले केही बोलिदिए हुन्थ्योजस्तो लागिरहेको थियो । र, त्यही हिसाबले बोलिरहेको थियो । वास्तवमा म भित्रभित्रै अगाध मायाले भरिन थालेको थिएँ । तर, मेरी श्रीमतीले छोराको कानमा पोखिदिई, ‘बुवालाई बुहारी मन परेको छ बाबु ।’ यो नेपाली आमाबुवाको मनोविज्ञान थियो, मन नपरे पनि अमेरिकी छोराबुहारी स्विकार्नुको विकल्प थिएन ।


भौतिक सुख मात्र सब चीज हो ? यो प्रश्नको उत्तर खोज्दै छन् छोराको आग्रहमा अमेरिका गएका बूढाबूढी । ‘असर’ शीर्षकको कथामा भौतिक सुविधाले मात्र सुख दिन सक्दैन भन्ने देखाएको छ । उनीहरू छोराले किनेको सुविधासम्पन्न अपार्टमेन्टमा बस्छन् । पहिले उनीहरूका छोराछोरी पनि त्यही बस्थे । केही समयपछि घर किनेर उनीहरू सरे । त्यहाँ बूढाबूढी एक्लै परे । भौतिक रूपमा त्यहाँ सबै सुविधा छ । तर, भावनात्मक मायाको भने खडेरी ठान्छन् ती बूढाबूढी । एक दशक अमेरिका बसेपछि उनीहरूलाई लाग्छ, ‘नेपाल छाडेकोमा पछुतो छ । यो पछुतोबारे उनीहरू एकआपसमा कुरा गर्छन् । अरूलाई सुनाउँदैनन् ।’


यति मात्र होइन, अमेरिका पुगेका बूढाबूढीहरूलाई छोराछोरीले ‘सहयोगी’ को रूपमा बढी ठानेको यो कथाको सन्देश छ । एक पात्रको छोराप्रति आक्रोश छ, ‘ए सुन, अबदेखि हामीलाई अन कल नोकरलाई झैं घर कुर्न, दाल तरकारी पकाउन, ह्यानत्यानका लागि डाक्ने हैन, तिमीहरूको छोरा हेर्नुपर्ने भए यैँ ल्याएर छोड्नू र लिन आउनू, हामी हाम्रो नातिनीलाई यै खेलाउँछौं ।’ यो एउटा अमेरिकी परिवेश भोगाइको आक्रोशको अभिव्यक्ति थियो । यस्तै सन्तानसँगै अमेरिका पुगेका अर्का वृद्धको मनोविज्ञान झल्काएको छ, ग्य्रान्डपा । नेपाल फर्केन मन भएका यी वृद्ध नेपाल जाने चाहना छोरा बुहारीलाई भन्न नसकेर नातिलाई भन्न लगाउँछन् । तर, उनको सुनुवाइ हुँदैन । अमेरिकालाई स्वर्ग ठान्नेहरूका लागि यसमा तिखो व्यंग्य छ ।
अमेरिकी जीवनशैली यति व्यस्त छ कि उनीहरू दसैंमा टीका थाप्न जाने फुर्सद पाउन पनि मुस्किल छ । लामो समय अमेरिकामा बस्दै आएका एक वृद्धका दसैंैको निम्तो मान्न जान नपाएको पात्रको भोगाइ ‘सी यु टीकाको दिन’ मा झल्किन्छ । त्यो जीवनशैलीले आफ्नो धर्म संस्कृतिलाई भुलाइदिएको चित्र यो कथामा कोरिएको छ ।


‘मर्माहत मुद्रा’ कथाले पाठकलाई बढी संवेदनशील बनाउन सक्छ । तीन छोराका वृद्ध बुवा अपांग छन् । आफ्नो करिब तीन दशक पुरानो साथीलाई अमेरिका भेट्दा ती वृद्ध निकै भावुक हुन्छन् । तर, उनी अतीततिर फर्कन चाहँदैनन् । म पात्र उनको अवस्था देखेर दु:खी हुन्छन् । ‘यसो भन्दा ऊ साह्रै मर्माहत मुद्रामा थियो । म पग्लँदै थिएँ । आफैंलाई सान्त्वना दिंदै उसले छोराहरूबारे थपेको थियो, ‘कहिलेकाहीँ फोन गर्छन् । म उसको कुम सुम्सुम्याउन थाले ।’


अमेरिका नेपाल फर्कन चाहनेहरू पहिलेभन्दा बढेका हुन सक्छन् । त्यता जानेहरू पनि बढेका छन् । श्रीमान् र श्रीमती जो पहिले अमेरिका जान्छन्, उनले आफ्नो जोडीलाई त्यतै बोलाउँछन् । तर, त्यता गइसकेपछि सबै त्यतै रमाउँछन् भन्ने छैन । ‘लगभग’ कथा मा श्रीमान्ले ठूलो रकम खर्च गरेर अमेरिका पुर्‍याउन सफल श्रीमती नेपाल फर्कने ढिपीले आक्रोशित हुन्छन् । नेपालमा हुँदा धेरै किताब पढ्ने उनी अमेरिका पुगेपछि रक्सी पसलमा काम गर्छन् । श्रीमती नेपाल फर्कौं भन्ने आग्रहलाई ठाडै अस्वीकार गर्छ । अन्तत: उसका श्रीमती नेपाल फर्कने निधो गर्छिन् । श्रीमान्ले ‘जाने भए तँ एक्लै जा’ भनेपछि ऊ एक्लै नेपाल फर्कंदै छे । ‘अहिले ऊ निदाउने कोसिसमा उसलाई लागिरहेको छ— हरिले न मलाई फोन गर्ला, न म उसलाई गरुँला ।’ सायद उनीहरूको सम्बन्ध लामो रहँदैन कि ?


अमेरिकामा बस्ने नेपालका कथाहरू मात्र विषय किताबमा छैनन् । यसमा अमेरिकी समाजका अन्य विम्बहरू पनि रमाइलो तरिकाले राखेका छन् । उनी आफैं लेखक भएका हुनाले आफूले लेखन र पुस्तक पसल, लेखनसम्बन्धी कार्यशाला, वक्ता र स्रोतका विषय उठाएका छन् जुन नेपालमा हुने कार्यक्रमभन्दा फरक देखिन्छ । उनको ‘फिल’ भन्ने पात्रको मुख्य काम नै प्रकाशित किताबमाथि बोल्नु हो । यसको अर्थ ऊ विज्ञचाहिँ होइन । उसको जागिर नै प्रकाशित पुस्तकमाथि बोल्नु हो । प्रकाशित किताब पढ्नु र त्यसबारे व्याख्या गर्नु उसको जागिर हो । जागिर नै किन नहोस् ? उसले विज्ञजस्तै बोलेको अनुभव लेखकले गरेका छन् ।


सोध्छन्, ‘तपाईंबाहेक अथर इभेन्ट्समा काम गर्ने यहाँ अर्को कोही छैन कि क्या हो ? जहिले पनि तपाईं बोलेको देख्छु ?’ उसले रुष्ट मुद्रामा भनेको थियो, ‘एउटै भेडाबाट हजार सुइटरको ऊन कात्न पल्केका छन् मुनाफाखोरहरू ।’


‘ग्रेभस्टोन’ मार्मिक कथा छ । इराक युद्धमा छोरा गुमाएकी एक आमाको यो कथाले हरेक आमाको मुटु हल्लाउँछ । अर्काको देशमा युद्ध लड्न जाने अमेरिकी सरकारप्रति आक्रोशित ती महिलाको चिहानढुंगामा लेखिएको छ, ‘हाम्रो युद्धपिपासु सरकारको परिणाम । इराक युद्धमा वीरगति प्राप्त राष्ट्रभक्त ।’ उनले छोरोका लागि भनेका छन्, ‘तिमी मरेका छैनौ छोरा । आराम गरिरहेका मात्र हौ । म म सधैं तिमी बिउँझियौ कि भनेर यहाँ तिम्रो ओछ्यानमा आउनेछु, मेरो प्यारो बहादुर छोरा ।’ २०७२ मा लेखिएको यो कथा २०५९ मा अमेरिकी सेना सहभागी भएको इराक युद्धमा मारिएका एक सेनाको सम्झना र आक्रोश छ ।


किताबको नाम जुराएको ‘पाई’ कथाचाहिँ अमेरिकामा मुस्लिम समुदायप्रतिको हेराइको एउटा उदाहरण हो । जहाजको यात्रामा गोरी महिलाले मुस्लिम व्यक्ति बसेको सिट नजिक बस्न नसक्ने बताएपछि उत्पन्न परिस्थितिको चित्रण यसमा छ । आतंकवादका नाममा मुस्लिमप्रतिको अपमान उनले उतारेका छन् । कथाको म पात्र मुुस्लिम भएकाले उनले कसैले सोधे अपमान हुने डरले आफू पाकिस्तानबाट आएको नभनी भारत वा अन्य देश भन्ने निधोमा पुगेको मनोविज्ञानले त्यहाँको परिस्थिति देखाउँछ ।


अमेरिका बसाइका क्रममा लेखिएका कथाहरूलाई त्यहाँको परिवेश झल्काउने राजवको प्रयास छ । कथाका अधिकांश संवाद अंग्रेजीमा भएकाले नेपाली पाठकका लागि ब्रेक दिन सक्छन् । अंग्रेजीमा संवाद लेखे पनि तिनलाई नेपाली स्वादमा ढालेकाले किताबको बीचमा पुग्दा सहज हुन थाल्छ । अधिकांश कथामा लेखक आफैं म पात्रबाट बोलेका छन् र कथाका घटनामा उनी आफैं पुगेजस्तो गरी लेखेका छन् । यसले कथालाई जीवन्त बनाएको छ ।


अमेरिकामा बसेका नेपाली सबैको मनस्थिति एउटै हुँदैन । यसमा लेखक चुकेका छन् । अमेरिकामा जमेर बसेका नेपालीहरूको सुन्दर जीवनका कथा लेख्न सकेको भए अझ राम्रो हुन्थ्यो । उनले नेपालीले भोगेका नकरात्मक पक्ष उठाउनुको अर्थ लेखक देशभक्त हुन् कि भन्न सकिने ठाउँछ । यद्यपि उनी दशकदेखि अमेरिका बस्दै आएका छन् ।


लेखक आफैं पनि अमेरिका बसाइमा सन्तुष्ट नभएको संकेत यो कथासंग्रहबाट पाउन सकिन्छ । यदि यो कुरा सत्यमा बदलिने हो भने कथाकार राजवलाई काठमाडौंका गल्लीमा अब छिट्टै देख्न पाइने हो कि ?
– गंगा बीसी

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?