१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यौन कथाको सँगालो

काठमाडौँ — मानवीय जीवनमा सर्वाधिक खोजिएको चीजमध्ये यौन पनि एक हो । कति र कुन हदसम्म गोप्य राख्न सकिन्छ र ? कहीं न कहीं कुनै न कुनै रूपमा प्रकट हुन्छ । यौनमैं जोडिएको हुन्छ—माया, प्रेम र विश्वास । समाजका यिनै तथ्यलाई बस्नेतले ‘अनुहारहरू’ कथासंग्रहमा समेटेका छन् ।

यौन कथाको सँगालो

-पढ्ने उत्कट चाहना बोकेकी बादी किशोरी शिक्षककै पहिलो भोग्या बनेर देहव्यापारमा संलग्न हुन्छे ।


-देशमुक्तिको यात्रामा संलग्न युवती द्वन्द्वकै क्रममा सहकर्मीको यौन प्यास मेटाउने साधन बन्छे ।

-कमलरी बस्न गएकी थारू किशोरी दोजिया भएपछि घरबाट निकालिन्छे ।


यी हाम्रो समाजका प्रतिनिधि घटना हुन् । यिनै सामाजिक घटनालाई टिपेर भाषाको मिठासपूर्ण अभिव्यक्तिका साथ कथा पस्किएका छन्, श्रीरामसिंह बस्नेतले ।


‘यथार्थको सानो बीजलाई कल्पनाको माटोमा रोपेर कथारूपी बिरुवा उमार्ने प्रयत्न संग्रहमा गरिएको छ,’कथाकार बस्नेतले भनेका छन् । ४० वटा कथामा समेटिएको कलेवर त्यति ठूलो भने लाग्दैन । एक बसाइमा पढी सकिने कथाले जीवनका अँध्यारा पक्षलाई प्रकाशित गरेका छन् । भाषाको प्रवाह सरस छ । लामो समय पत्रकारिता जगतमा भिजेका बस्नेतको अनुभवले कथा लेखनमा काम गरेको देखिन्छ । समाजमा जे घटना हुन्छन्, त्यसलाई सबैले बुझ्ने भाषामा प्रस्तुत गर्नु पत्रकारिताको धर्म हो । संग्रहमध्ये २६ वटा कथामा यौनको विषय अभिधेयात्मक रूपमा आएको छ, ७ कथामा ध्वन्यात्मक छ । यसरी यो संग्रहलाई ‘यौन कथाको संगालो’ भन्दा पनि खासै फरक पर्दैन । बाँकी ७ कथामा जीवनको जुन चित्र देख्न सकिन्छ, त्यसले भिन्न पाटोलाई छर्लङ्ग पारेको छ ।


कथाले जाति, समुदाय, वर्ग, क्षेत्र, परिवेशभन्दा माथि उठेर मानवीय संवेदनालाई समेटेका छन् । विश्वव्यापीकरणको प्रभावले कथा पनि सार्वजनीन भएका छन् । परिबन्दले आतंककारी बनेको युवक मात्र होइन युद्धमा होमिएका दुश्मन सैनिकबीचको आत्मीयताले जस्तै कठोर पाठकलाई पनि पगाल्न सक्छ । पुनर्वासमा गएका भुटानी शरणार्थीको एकांकी जीवनले निम्त्याएको दुर्घटना, भाग्यवादी चिन्तनप्रतिको विद्रोह, देशभित्र अनागरिक भएका नागरिकहरूको यात्रा र आन्तरिक द्वन्द्वमा सन्तान गुमाएका अभिभावकको व्यथाले मन अमिलो बनाउँछ ।


केही लामा शीर्षक आफैं कथा बोल्छन् । धेरै छोटा शीर्षक पाठकलाई डोर्‍याउँछन् । केही लघुकथा चटनी बन्छन् । संग्रहभित्र दु:ख, करुणा र आँसु मात्र होइन, हाँसो र व्यङ्ग्य पनि अभिव्यक्त भएका छन् । हीनताबोध, उच्च महत्त्वाकांक्षा र सुन्दर देखिने जीवनभित्रको कुरूप मानसिकता कथामा उद्घाटित हुन्छन् । साङ्ग मात्र होइन शारीरिक अपाङ्गता भएका पात्रले आफू र आफ्नो परिवेशलाई नियाल्ने दृष्टि कथामा आएका छन् । अधिकांश प्रथम पुरुषवाचक भए पनि केही कथा तृतीय पुरुषवाचक भएकाले पाठकले फरक स्वाद पाउँछन् । परम्परागत वर्णनात्मक शैलीबाहेक संग्रहमा रहेका केही संवादात्मक शैलीका कथाले पाठकमा नयाँपनको मिठास दिन्छन् । भन्न सकिन्छ, परिपक्व कथाकारले कोरेको समाजको सग्लो चित्र हो, यो संग्रह । तर, कथाकार भने आफूले धेरै सिक्न बाँकी रहेको बताउँदै विनीत बन्छन् ।
– रामरञ्जन पौडेल

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?