बुद्ध र रावण

हिमेश

काठमाडौँ — मुनिन्द्ररत्न वज्राचार्यले जस्तो अनुभव गरेका छन्, मेरो अनुभव पनि ठ्याक्कै त्यस्तै छ । केही समयअगाडि श्रीलंका पुगेका थिए, उनी । त्यहाँ पुगेयता उनले एक श्रीलंकाली साथीलाई सुनाए छन्, ‘ओहो, रावणजस्तो राक्षसको देश पो हो है ।’ उनको यो भनाइमा ती साथीले विमति राखेछन् र भनेछन्, ‘रावण त निकै बुद्धिमान पो हुन् त ।’ मैले पनि श्रीलंका पुगेयता यस्तै प्रश्न त्यहाँका केही पत्रकारलाई राख्दा उत्तर उस्तैउस्तै थियो ।

बुद्ध र रावण

धेरैको समान धारणा के थियो भने, रावणलाई हेर्ने पुरानो नजर फरक हुनुपर्‍यो । रावणको छवि हाम्रोमा जस्तो छ, खासमा एक ठूलो सिंहाली जमात त्यसलाई परिवर्तन गर्ने प्रयासमा रहेछ र उनीहरू सामूहिक रूपमा त्यसबारे काम गरिरहेका रहेछन् । उनीहरू आयुर्वेदको सुरुआत कहाँबाट भयो, त्यससँग रावणलाई जोड्न चाहन्छन् । अनि यताका कतिपय सांगीतिक बाजा छन्, त्यसको कुनै न कुनै सुरुआती विकासलाई पनि रावणसँगै जोड्न चाहन्छन् ।


त्यति मात्र होइन, रावण निकै बुद्धिमान रहेको त भयो नै, उनीहरूको दाबी छ, रावण बौद्धमार्गी पनि हुन् । अब प्रश्न, रावण र बुद्धको समय त फरक छ, यो कसरी सम्भव हुन्छ ? यसबारे खोज्दै जाँदा पहिलो उत्तर रह्यो, ती रावण उही रावण होइन, जुन रामायणमा वर्णन गरिएको छ । लंकावतार सूत्रबारे राम्रो जानकारी राख्ने गौतमवीर वज्राचार्य पनि मान्छन्, जुन रावणको चर्चा रामायणमा छ, लंकावतार सूत्रमा चर्च गरिएको रावण एकै होइनन् ।


अनि ती बुद्ध पनि उही बुद्ध होइन, जसलाई हामी ऐतिहासिक बुद्ध भन्छौं । यी त यसअघिका बुद्ध हुन् । अझ भनौं, सिद्धार्थ गौतमभन्दा अगाडिका बुद्ध । बौद्ध धर्ममा पनि बुद्धवंशको चर्चा त छ नै । खालि समानता के भने रावण श्रीलंका राजा थिए, उनी निकै पराक्रमी पनि थिए । यो सबै चर्चा अहिले किनभन्दा भर्खर नेपालीमा एउटा पुस्तक अनुवाद भएर तयार भएको छ, लंकावतार सूत्र । महायानी बौद्ध धर्मको पुस्तक हो, यो, अनि वैपुल्य सूत्र पनि ।


काठमाडौं उपत्यकाका बौद्ध धर्ममा नवग्रन्थको ठूलो महत्त्व छ । यहाँको बौद्ध धर्मको संस्कृति र संस्कार यसैमा आधारित छ भन्दा फरक पर्दैन । लंकावतार सूत्रसँगै नवग्रन्थका अरू सूत्र हुन्, प्रज्ञापारमिता, गण्डकव्यूह, दसभमीश्वर, समाधिराज, सद्धर्मपुण्डरिक, तथागतगुह्यक, ललितपविस्तर र सुवर्ण प्रभास । यी सबै नेपाल भाषामा उपलब्ध छन्, लंकावतार सूत्र त अब नेपालीमा पनि प्रकाशित भयो । संस्कृतबाट नेपाल भाषामा यसको अनुवादक थिए, पण्डित दिव्यवज्र वज्राचार्य, नेपालीमा त्यसैलाई अनुवाद गरेको हुन्, सिद्धिविलास वज्राचार्यले ।


पालिमा त्रिपिटकको जुन स्थान छ, महायानी बौद्ध धर्मको नवग्रन्थको स्थान त्यही हो । नवसूत्र संग्रहमा भुमिका लेख्दै सत्यमोहन जोशीले लेखेका थिए, नवग्रन्थ भन्नु नै बौद्ध धर्म, बौद्ध आध्यात्मिक आचार विचार र बौद्ध दर्शनको समष्टि हो, महायानी बौद्ध सम्प्रदायको केन्द्रविन्दु हो । यी सबै ग्रन्थ संस्कृतिमा रहेको हुँदा पछि आएर काठमाडौं उपत्यकामा यसको अध्ययनमा कठिनाइ हुन थाल्यो । कतिसम्म भने धेरैले यी नवग्रन्थका सबै सूत्रको नाम पनि बिर्सिन थाले ।


खालि प्रज्ञापारमिताबारे मात्र धेरैले नाम सुने । अहिले पनि यसको पाठ गर्ने परम्परा काठमाडौंमा जीवित छ । अझै पनि भुजिमोल, रञ्जना र प्रचलित लिपिमा लेखिएका नवग्रन्थका पाण्डुलिपि सुरक्षित छन् । कुनै समय थियो, जति बेला यी नवग्रन्थको प्रतिलिपि तयार पार्ने, त्यसलाई सुरक्षित राख्ने र पूजा गर्ने परम्परा थियो । अझै पनि केही बौद्ध विहारमा नवग्रन्थलाई खटमा राखेर जात्रा गर्ने चलन छ । यस्तै साउन महिनामा बौद्ध विहारमा नौ दिनसम्म विशेष पूजा गर्ने चलन पनि छ, यही नवग्रन्थलाई प्रदर्शनीमा राख्दै ।


अझ खास तीर्थमा यी नवग्रन्थका एकएक सूत्र पूजा र पाठ गर्ने चलन पनि । त्यसमध्ये लंकावतार सूत्र खसिंखेल मनोरथ तीर्थमा पूजा र पाठ गरिन्छ । उता भारतमा बौद्ध धर्मको पतनपछि नवग्रन्थ पनि हराएर गए । नष्ट नै भए । तर, नेपालमा ती सबै ग्रन्थ भने सुरक्षित रह्यो । पछि नेपाल संस्कृत महायानी बौद्ध धर्म र यसका ग्रन्थका लागि प्रसिद्ध छ भनेर संसारलाई चिनाउने काम गरेका हुन्, ब्रायन हडसनले ।


लंकावतार सूत्रको तीन चिनियाँ अनुवाद पाइन्छ । सन् ४४३ मै गुणभद्रले संस्कृतबाट अनुवादको काम गरे । यही काम फेरि सन् ५१३ मा बोधिरूचि र सन् ७०० तिर शिक्षानन्दले गरे । जापानी विद्वान् सुजुकीले यसबारे अध्ययन गरेर ठूलो ग्रन्थ तयार पारेका छन् । यस ग्रन्थको सुरुमा नागार्जुनको नाम पाइन्छ, त्यसैले धेरै विद्वान्को के मत छ भने यसका रचनाकार नागार्जुनपछिका हुन् । यसमा चित्तले चित्तलाई कसरी देख्न सकिन्छ भन्ने प्रश्नका उत्तर दिन रावणको उल्लेख गरेको पाइन्छ ।


रावणले दायाँ टाउकोको मुखले बायाँ टाउकोको मुखलाई हेर्दा जुन अनुभूति हुन्छ, त्यस्तै चित्तले चित्तलाई ज्ञान गरेर अनुभव गरिरहेको हुन्छ भनिएको छ । महायान बौद्ध धर्म मुख्यत: शून्यवाद र विज्ञानवादमा विभाजित छ । प्रज्ञापारमितामा शून्यवादबारे बताइएको छ । विज्ञानवादको सुरुआत शून्यवादपछि मात्र हो । यसको विकास पनि शून्यवादको विरोधमा भएको थियो भनिन्छ । लंकावतार सूत्र खासमा यही विज्ञानवादको मूल ग्रन्थ हो ।


भनिरहनु पर्दैन, विज्ञानवादलाई बुझ्ने हो भने लंकावतार सूत्र अध्ययन गर्नुपर्‍यो । लंकावतार सूत्र भनेपछि नामले नै प्रस्ट पार्छ, यो रावणलाई दिइएको सद्धर्मको उपदेश हो । यसमा कुल दस अध्याय छन्, त्यसमध्ये पहिलो अध्यायमा बुद्ध र रावणबीच दोहोरो संवाद छ । बोधिसत्त्व महामतिले भनेपछि रावणले बुद्धसँग धर्म र अधर्मबारे प्रश्न गर्छन् । यसरी लंकावतार सूत्रमा बुद्ध, बौद्ध धर्म र रावणको संयोजन पाइन्छ, जुन आपंैmमा अद्वितीय छ ।


फेरि नवग्रन्थका रूपमा लंकावतार सूत्र नेपालमा कसरी पढिन र पुजिन थालियो, त्यो पनि उत्तिकै रोमाञ्चित पार्ने खालेको छ । यी एकपछि अर्को मोड कसरी तयार भए, बौद्ध धर्मको विद्यार्थीका लागि यो निकै जिज्ञासामय प्रश्न हुन् । यी सबैलाई बुझ्न सबैभन्दा पहिले लंकावतार सूत्र अध्ययन गर्नुपर्‍यो । सजिलो के भने अब यो नेपालीमा पनि उपलब्ध छ । त्यसपछि तयजस्तै छ, धेरै प्रश्न जिज्ञासाका प्रश्न उठ्ने छन्, रावणलाई लिएर पनि ।

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?