कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकारीको सिकार सोख

गोविन्द पोखरेल

काठमाडौँ — ढोरपाटन सिकार आरक्षमा गत आर्थिक आर्थिक वर्षमा १९ नाउर र १० झारलको सिकार भएको रहेछ । नेपाल आएर र वन्यजन्तु सिकार गरेर विदेशी इलिटहरूले वर्षौं वर्षदेखि आफ्नो सोख पूरा गर्दै आएका छन् ।

सिकारीको सिकार सोख

नेपालमा वन्यजन्तु सिकारका लागि विदेशबाट सिकारी–यात्रु आउनु नौलो कुरा होइन । जंगबहादुरको पालादेखि नै विदेशी इलिट नेपालमा सिकारका लागि आउँथे । बेलायतका शाही परिवार सदस्यहरू ‘बिग गेम हन्टिङ’ का लागि यता आउँथे । सन् १८७६ को फेब्रुअरीमा रानी भिक्टोरियाका छोरा एवं वेल्सका तत्कालीन राजकुमार अल्बर्ट इडवार्ड (पछि गएर एडवार्ड–७ राजा) बिग गेम हन्टिङका लागि नेपाल आएका थिए । प्रधानमन्त्री जंगबहादुृर राणाको निमन्त्रणामा आएका इडवार्डले दुई साताको नेपाल बसाइमा २३ वटा बाघको सिकार गरेको इतिहासमा उल्लेख छ ।


‘बिग गेम हन्टिङ’ भन्नाले सिंह, बाघ, चितुवा र गैंडाको सिकार बुझिन्छ । नेपाल–भारतमा भने बाघ र गैंडाको सिकारलाई ‘बिग गेम हन्टिङ’ को रूपमा लिइन्थ्यो । राणा र राजाको शासनकालमा ‘बिग हन्ट’ चलिरह्यो । प्राकृतिक स्रोतमाथि उनीहरूले सधैं कब्जा जमाउँथे । पञ्चायती व्यवस्थाको अन्त्यसँगै जंगलमा गएर सिकार गर्ने परिपाटीको अन्त्य भयो ।


बिग गेम हन्टिङका लागि तराईको जंगल उपयुक्त थियो । जंगबहादुरको शासनकालमा एउटै सिजनमा तीन सयवटासम्म बाघ मारिएको कन्जर्भेसन एन्ड सोसाइटी नामक जर्नलमा उल्लेख छ । अध्येता निना भट्टको ‘किङ्स एज वार्डेन्स एन्ड वार्डेन्स एज किङ्स : पोस्ट राना टाइज विटुइन नेपाली रोयल्स एन्ड नेसनल पार्क स्टाफ’ नामक रिसर्च आर्टिकलमा शाही परिवारले सिकार खेल्ने क्रममा एक सिजनमा ३ सयवटा बाघ मारिएको दाबी (पेज २९) गरिएको छ ।


आफ्नो सत्ता टिकाउनका लागि राणाहरूले ‘बिग गेम हन्टिङ’ को आयोजना गर्थे । विभिन्न मुलुकका शाही परिवार तथा शासकलाई सिकारका लागि नेपाल बोलाइन्थ्यो । पछि राजाहरूलाई सिकार खेल्ने लत बसाइदिने काम राणाहरूले नै गरेका थिए भन्ने गरिन्छ ।


बिग गेम हन्टिङ राणाका लागि सत्ता टिकाउने एउटा राम्रो कूटनीतिक माध्यम बनेको थियो । रणोद्दीप सिंहको पालामा सन् १८८४ मा द ड्युक अफ पोर्टल्यान्ड बाघको सिकारका लागि नेपाल आएका थिए । राजा एडवार्डका जेठा छोरा राजकुमार अल्बर्ट भिक्टोर, ड्युक अफ क्लारेन्सी सन् १८८९–९० को जाडो याममा वीरशमशेरको निमन्त्रणामा बिग हन्टिङका लागि नेपाल आएको इतिहास छ ।


फ्रेन्च फर्डिनान्ड वीरशमशेरको निमन्त्रणामा सन् १८९३ को मार्चमा नेपाल आएका थिए । उनलाई वीरशमशेरका काका केशरसिंह र उनका छोरा प्रेमशमशेर र ब्रिटिस रेसिडेन्टका कर्णेल एच वाइलीले स्वागत गरेका थिए । उक्त सिकार घटनाबारे आर्क ड्युकले आफ्नो डायरीमा राम्ररी वर्णन गरेका छन् ।


प्रिन्स अफ वेल्स (पछि गएर राजा एडवार्ड आठौँ) पनि सिकारका लागि सन् १९२१ मा चन्द्रशमशेरको शासनकालमा नेपाल आएका थिए । तत्कालीन बेलयाती राजा जर्ज पाँचौँले नेपालमा गरेको बिग हन्टिङको चर्चा अहिलेसम्म पश्चिमा जगत्मा हुने गर्छ । चन्द्रशमशेरको निमन्त्रणामा सन् १९११ मा राजा जर्ज पाँचौँले तराईको सुखिबार र कसरा जंगलमा १८ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म सिकार खेलेका थिए ।


नेपाली सेनाको कमान्डर इन चिफबाट राजीनमा दिएपछि सन् १९५६ मा जुद्धशमशेरका छोरा किरणशमशेर जबराले पहिलो पटक नेपाल सिकार प्राइभेट लिमिटेड नामक एउटा निजी कम्पनी सञ्चालनमा ल्याएका थिए । यो कम्पनीले ‘बिग गेम हन्टिङ’ लाई प्रमोट गथ्र्यो । किरणका छोरा सुबोधशमशरले आफ्नो ब्लगमा लेखेअनुसार सो कम्पनीले युरोप र अमेरिकाबाट आउने बिग गेम हन्टर्सका लागि सिकार खेल्न मद्दत गथ्र्यो । राणाशासनको अन्त्यपछि राजाहरूले यसलाई निरन्तरता दिए ।


राजा महेन्द्र आफ्ना दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्रलाई लिएर सिकार गर्नका लागि तराईका जंगल जान्थे । राजा महेन्द्रले सन् १९६१ मा बेलयाती महारानी क्विन एलिजाबेथको नेपाल भ्रमणको अवसर पारेर बिग हन्टको आयोजना गरेका थिए । त्यसबेला एउटा बाघ र गैंडा मारिएको थियो ।


पश्चिमी मिडियाले जर्ज पाँचौँको १० दिने नेपाल भ्रमण क्रममा ६० भन्दा ठूला जनावरहरू मारेको उल्लेख गरेका छन् । राजा जर्जको नेपाल भ्रमण क्रममा खिचिएका फोटो एल्बम सार्वजनिक भएपछि यसबारे खुलासा भएको थियो । तस्बिरको क्याप्सन अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको थियो ।

राजा जर्जको नेपाल भ्रमणका १ सय ७९ वटा फोटो सार्वजनिक भएका थिए । फोटोहरूमा राजा जर्ज एउटा मृत रोयल बेंगल टाइगर र एउटा ठूलो गैंडाको अगाडि तस्बिर खिचाएका छन् । क्रिसमस आसपासमा जर्जले ३९ वटा बाघ, १८ वटा गैंडा र ४ वटा भालु मारेको ब्रिटिस पत्रिका द एक्सप्रेस डट को डट यूकेले लेखेको छ ।


जर्ज पाँचौंको टोली राप्ती नदीको किनारमा टेन्ट बनाएर बसेको थियो । राप्ती नदी क्षेत्रमा पर्ने सुखिबारमा उनले ५ दिन बिताए भने अन्य दिन कसरामा बिताएका थिए । सिकारी टोलीमा १४ हजार मानिस सहभागी थिए । त्यसबेला दुई हजार हात्ती परिचालन गरिएको थियो । चारदेखि ६ सयवटा हात्तीको मद्दतमा बाघलाई घेरेर चंगुलमा पारेपछि सिकार गरिएको थियो । हिस्टोरिकल रेकर्ड अफ द इमपेरियल भिजिट टु इन्डियाको पेज नम्बर २ सय ३१ देखि २३३ मा यो विवरण उल्लेख छ ।


नेपाल अन्डर द रानाजका लेखक एड्रिन सेभरले आफ्नो किताबमा राजा जर्ज पाँचौंले नेपालमा गरेको बिग हन्टको अझ बढी व्याख्या गरेका छन् । राणाहरूले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रलाई सन् १८४६ देखि १९५१ सम्म सिकार–क्षेत्र बनाएका थिए । उनीहरूले सिकारलाई एउटा खेलको रूपमा लिँदै विभिन्न मुलुकका राजालाई ‘बिग गेम हन्टिङ’ मा सहभागी गराउँथे ।


यसरी बिग गेम हन्टिङबाट १९औँ शताब्दीमा नेपालका शाही परिवारको पारिवारिक, नेपालको सांंंस्कृतिक तथा राजनीतिक परिवेश बुझ्न मद्दत पुर्‍याएको छ । बिग गेम हन्टिङबाट पाठ सिक्दै शाही परिवारले इकोलोजी तथा वातावरणको संरक्षण–संवद्र्धनमा सहयोगमा पुर्‍याएको थियो । राजा महेन्द्रको निधनपछि वीरेन्द्रको पालामा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो ।


नेपालमा सन् १९७० को दशकबाट इकोलोजी र पारिस्थितिजन्य प्रणालीको संरक्षण गर्न थालिएको हो । राणाकालमा पनि वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि चिडियाखानाको स्थापना गरिएको थियो । यस्तै सन् १९५० को दशकमा प्राकृतिक विज्ञान संग्रहालय, गोदावारी वनस्पति उद्यान स्थापना भएको थियो ।


सन् १९७३ मा बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वातवरण र वन्यजन्तु तथा वनस्पति संरक्षणमा ठूलो भूमिका खेलेका वातावरण एवं वन्यजन्तु जीव विज्ञानका प्राध्यापक अमूल्यरत्न तुलाधारको भनाइ छ । राष्ट्रिय संरक्षण रणनीतिले पनि नेपालमा प्राकृतिक सम्पदाको दोहनमा रोक लगाउँदै संरक्षणमा अगाडि बढाउन मद्दत पुर्‍यायो । वन्यजन्तु संरक्षणका लागि नेपाली सेनाले पनि ठूलो भूमिका खेलेको छ ।


नेपालमा कुनै समय बिग गेम हन्टिङका नाममा मारिएका बाघको संख्या जति (३ सयवटा) बाघ नेपालमा अहिले पनि छैन । सन् २०१३ मा गरिएको राष्ट्रिय बाघ गणनाका अनुसार नेपालमा अहिले एक सय ९८ वटा बाघ छन् । उबेलाको परिवेश र अहिलेको परिवेश भिन्न छ । चोरी सिकारी र वासस्थानको विनाश तथा बिग गेम हन्टिङका कारण बाघको संख्या घटेको हो । प्राध्यापक तुलाधार भन्छन्, ‘नेपालमा बिग गेम हन्टिङ हँुदा पारिस्थितिक प्रणालीमा त्यति असर परेको थिएन । कारण, त्यसबेला पाकिस्तान, आसाम र नेपालका जंगलहरू जोडिएका थिए, बाघको वासस्थान क्षेत्र पनि ठूलो थियो । त्यही भएर अन्यत्र क्षेत्रबाट पनि तराईमा बाघको आवतजावत हुन्थ्यो र प्राकृतिक सन्तुलन मिलिहाल्थ्यो ।’
राणाकालको अन्त्य र तराईमा मलेरियाको उन्मूलनसँगै बसाइसराइ दर बढ्यो । वनजंगलको फँडानी तीव्र बन्यो । बस्ती बढ्न थालेपछि बाघको प्राकृतिक वासस्थान मासिँदै गयो । धेरैपछि, विश्व संरक्षण कोषको सहयोगमा सन् १९७० को दशकबाट बाघ संरक्षणको कार्यक्रम सुरु भयो ।


बासस्थान टुक्रिँदा कुनै समय भारतको कोर्बेट राष्ट्रिय निकुञ्ज र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लोप भएको थियो । पछि अन्यत्रबाट त्यस ठाउँमा बाघ ल्याएर संंख्या बढाइएको थियो । बाघको संरक्षणका लागि स्थानान्तरणलाई एउटा उपयुक्त विकल्पका रूपमा सर्वस्वीकार्य बनाउन सक्नु जरुरी छ ।

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?