२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मायाले मात्र पुग्दैन

निबन्ध
हामीमध्ये धेरैको बानी छ— मायाप्रेमलाई आदर्श बनाउने । मायालाई जीवनका सारा दु:ख हल गर्ने उपाय भन्ठान्छौं । जब मायालाई बढी आदर्शका रूपमा महत्त्व दिन थालिन्छ, तब सम्बन्धले मूल्य चुकाउन थाल्छ ।

काठमाडौँ — सन् १९६७ मा जोन लेननले लेखे— तिमीलाई माया मात्र चाहिन्छ । उनले आफ्ना दुवै श्रीमती कुटे, आफ्ना एक सन्तानलाई त्यागे, यहुदी मूलका आफ्ना गे प्रबन्धकलाई उनको पहिचान र जातको विषयमा गाली गरे, एक पटक आफू दिनभरि नग्न अवस्थामा सुतेको भिडियो अरूलाई खिच्न लगाए । त्यसको ३५ वर्षपछि अमेरिकी ब्यान्ड नाइन इन्च नेल्सका ट्रेन्ट रेज्नरले लेखे–मायाले मात्र पुग्दैन ।

मायाले मात्र पुग्दैन

स्टेज प्रस्तुति र भिडियोका कारण चर्चित भईकन पनि रेज्नर आफ्नो सारा जीवन लागूऔषध र मद्यपानबाट टाढा रहे, एक महिलासँग विवाह गरे । उनका दुई सन्तान भए र असल अभिभावक–पति बन्न सांगीतिक टुर रद्द गरे ।


यीमध्ये एकको मायाबारे बुझाइ वास्तविक थियो । एकको थिएन । यीमध्ये एकले मायालाई सबै समस्याको समाधानको रूपमा आदर्शीकरण गरे । अर्कोले गरेनन् । यीमध्ये एक आत्मरतिमा रमाउने सन्काहा थिए । अर्काे त्यस्ता थिएनन् ।


हाम्रो संस्कृतिमा, हामीमध्ये धेरैले मायालाई आदर्शीकरण गर्छौं । हामी यसलाई जीवनको सारा ठूला दु:खका समाधानको रूपमा हेर्छौं । हाम्रो फिल्म, हाम्रा कथा, हाम्रो इतिहास सबैले यसलाई हाम्रो जीवनका दु:ख र संघर्षको समाधान तथा जीवनको अन्तिम लक्ष्यको रूपमा व्याख्या गरेको छ । हामी मायालाई आदर्शको रूपमा हेर्छौं र यसलाई बढी महत्त्व दिन्छौं । नतिजास्वरूप हाम्रो सम्बन्धले मूल्य चुकाउँछ ।


जोन लेननले जस्तै हामी ‘हामीलाई माया मात्र चाहिन्छ’ भनेर विश्वास गर्छौं र आफू नजिकका मानिसप्रतिको सम्मान, मानवीयता र प्रतिबद्धताजस्ता आधारभूत मूल्यलाई बेवास्ता गर्छौं । आखिर, मायाले सबै समाधान गर्ने भएपछि कसले अरू गाह्रो कुरामा ध्यान दिन्छ र ?


तर, रेज्नरले जस्तो ‘मायाले मात्रै पुग्दैन’ भन्ने विश्वास गर्‍यौं भने हामीले पूर्ण भावनात्मक र आवेगभन्दा माथि उठेर स्वस्थ सम्बन्धलाई बुझ्छौं । त्यसपछि मात्रै हामीले बुझ्छौं, मायामा डुब्नुभन्दा हाम्रो जीवन र सम्बन्धमा बढी महत्त्वका अरू थुप्रै कुरा छन् । र, हाम्रो प्रेमको सफलता यही गहिरो र महत्त्वपूर्ण मान्यतामा अडिन्छ ।

मायाबारे तीन कठोर सत्य
मायालाई आदर्शीकरण गर्नुको समस्या के भने यसले हामीमा यथार्थभन्दा भ्रामक आकांक्षाहरू विकास गराउँछ । यही भ्रामक आकांक्षाले हाम्रो त्यही सम्बन्धलाई बिगार्छ जसलाई हामीले सबैभन्दा प्राथमिकतामा राखेका हुन्छौं । अब मलाई यसबारे बुझाउन दिनुस् :

१. माया सबैका लागि उस्तै अनुकूल हुन्न ।
तपाईं कसैसँग प्रेममा पर्नुको अर्थ यो होइन कि उनीहरू तपाईंका लागि लामो समयसँग असल साथी बन्न सक्छन् । माया एउटा भावनात्मक प्रक्रिया हो र अनुकूल हुनु तार्किक प्रक्रिया । र, यी दुई एकआपसमा राम्ररी घुलमिल हुन्नन् ।
आफूलाई राम्रो व्यवहार नगर्ने, हामीलाई आफ्नैबारेमा नराम्रो अनुभूति गराउने, आफूले दिएको जति सम्मान दिन नसक्ने र आफ्नो कमजोरीका कारण अरूलाई पनि बर्बाद पार्ने खालका व्यक्तिसँग पनि प्रेममा पर्न सम्भव छ ।


जीवनमा आफूभन्दा फरक महत्त्वाकांक्षा वा उद्देश्य भएका, आफूभन्दा फरक दर्शनमा विश्वास राख्ने र आफ्नो सोचाइसँग विपरीत सोच राख्ने व्यक्तिसँग पनि प्रेममा पर्न सम्भव छ । हाम्रो खुसी लुट्नेसँग पनि प्रेममा पर्न सम्भव छ । यो सुन्दा अमिल्दो लाग्ला तर यथार्थ यही हो ।


मैले भेटेका र मलाई इमेल मार्फत समस्या बताउनेहरूको बारेमा सोच्छु म । उनीहरू मायामा पर्न आवश्यक त्यो ‘झिल्को’का कारण एकअर्कासँग नजिकिएका थिए । आफू आस्थिक क्रिस्चियन र पार्टनर आफूभन्दा ठीक विपरीत महिला र पुरुष अनि जनावरसँग पनि आकर्षित हुने खालका छन् भन्ने बिर्सिएर । उनीहरूलाई यो ठीक लाग्यो । र, ६ महिनापछि, जब एक जना दिक्क मानिरहेका हुन्छन् तब अर्को साथी मोक्ष प्राप्तिका लागि क्राइस्ट पुकारिरहेका हुन्छ । तब उनीहरूलाई लाग्छ— छ्या † के भाको यस्तो ? तर, वास्तविकता के हो भने अहिले केही भा’को होइन, यो सुरु हुनुअघि नै बिग्रिसकेको थियो ।


आफ्नो प्रेमी वा प्रेमिकाको खोजी गर्दा तपाईंले आफ्ना मन मात्रै होइन, मस्तिष्क पनि प्रयोग गर्नुपर्ने हुन्छ । हो, तपाईं मनलाई चंगा बनाउने र आफ्नो पाद पनि सुगन्धित बनाउन सक्ने व्यक्ति खोज्नुहुन्छ । तर, तपाईंले उक्त व्यक्तिको मूल्य, उसले आफूलाई कसरी व्यवहार गर्छ, उसले आफ्नो नजिकका व्यक्तिलाई कस्तो व्यवहार गर्छ, उनीहरूको महत्त्वाकांक्षा र बाहिरी दुनियाँप्रतिको उनीहरूको दृष्टिकोणलाई पनि मूल्यांकन गर्नुपर्छ । किनकि तपाईं आफूसँग अनुकूल नहुने व्यक्तिको प्रेममा पर्नुभयो भने तपाईंको समय खराब बन्न सक्छ ।

२. मायाले तपाईंको सम्बन्धको समस्या समाधान गर्दैन
म र मेरी पहिलो प्रेमिका एकअर्कामा गहिरो प्रेममा थियौं । हामी फरकफरक सहरमा बस्थ्यौं, एकअर्कालाई भेट आउजाउ गर्न पैसा हुन्थेन । हामी हप्तैपिच्छेको अर्थहीन झगडा र नाटकमा पनि व्यस्त भयौं ।


जति पटक झगडा गरे पनि फेरि भोलिपल्ट बोलिहाल्थ्यौं र हामी एकअर्कालाई कति चाहन्छौं भन्ने भावना साटासाट गथ्र्यौं । हामी यस्ता सामान्य कुराले हाम्रो सम्बन्धलाई फरक नपर्ने र यसको समाधानको उपाय निकाल्नेमा आश्वस्त थियौं । हाम्रो मायाले हामीलाई यो सबै समस्या समाधान हुनेमा विश्वस्त बनायो तर व्यावहारिक रूपमा केही पनि परिवर्तन भएको थिएन ।


हाम्रो कुनै पनि समस्या समाधान भएनन् । बरु, झगडाहरू दोहोरिरहे । भनाभन बढ्दै गयो । एकअर्कालाई भेट्न नपाएको यथार्थ घाँटीमै गोमन सर्प बेरिएजस्तो डरलाग्दो थियो । हामी आफूमै यति केन्द्रित भयौं कि एकअर्कालाई बुझ्नसमेत सकेनौं । केही नबोली फोनमा घण्टौं बस्थ्यौं । यो धेरै लामो समयसम्म चल्छ भन्ने कुनै आशा थिएन तैपनि हामी तीन वर्ष सम्बन्धमा रह्यौं ।


आखिरमा मायाले सबै जित्यो, हो ?
कुनै आश्चर्यबिनै हाम्रो सम्बन्ध आगोको रापमा परेको कागजको टुक्राझैं भयो । र, यसबाट मैले के ज्ञान पाए भने : मायाले हाम्रो सम्बन्धमा भएको समस्यालाई त छोप्छ तर यसले साँच्चिकै कुनै समस्या समाधान गर्दैन ।
यसैगरी विषालु सम्बन्धहरू चल्छन् । भावनाका घनचक्करले मदहोस बनाउँछ । हरेक पटक आउने भावनाहरू अघिल्लाभन्दा महत्त्वपूर्ण हुन्छन् । तर, तपाईंसँग व्यावहारिक र स्थिर जग भएन भने बढ्दै आउने भावनाका वेगले बगाएर लैजान्छ ।

३. सधैं आफैंले त्याग गर्नुपर्छ भन्ने छैन
कसैलाई माया गर्नुको एउटा परिभाषा यो पनि हो कि तपाईं आफ्नो लागिभन्दा उसका लागि र आफ्नो आवश्यकताभन्दा उसको आवश्यकता पूरा गर्नेबारे सोच्नुहुन्छ । तर, आफैंलाई ठ्याक्कै नसोधिने प्रश्न हो— तपाईंले के त्याग गर्दै हुनुहुन्छ, अनि यो आवश्यक छ ?


मायालु सम्बन्धमा कहिलेकाहीं आफ्ना इच्छा, आवश्यकता र समय एकअर्काका लागि त्याग्नु सामान्य हो । म के भन्छु भने यो सामान्य र स्वस्थ हुन्छ र यो सम्बन्धलाई राम्रो बनाउने एउटा महत्त्वपूर्ण कडी पनि हो ।


तर, जब आफ्नो आत्मसम्मान, स्वाभिमान, शरीर, आकांक्षा, उद्देश्य कसैसँग सम्बन्धमा बस्नका लागि त्याग्नुपर्ने हुन्छ तब त्यो माया समस्यात्मक बन्छ । एक मायालु सम्बन्धले व्यक्तिगत पहिचानलाई बिगार्ने वा बदल्ने होइन, सघाउनुपर्छ । यदि हामी अनुचित सम्बन्धको अवस्थामा छौं भने मायाले हामीप्रति शोषण गरिरहेको छ । र, यो अवस्थामा विचार पुर्‍याइएन भने यसले हामीलाई इतिहासको कुनै कालखण्डका मानिसजस्तो हिंस्रक बनाउँछ ।


मित्रताको परीक्षण
पुस्तकमा लेखिएको सम्बन्धसम्बन्धी सबैभन्दा पुरानो सल्लाह हो— तिमी र तिम्रो प्रेमी सबैभन्दा मिल्ने साथी हुनुपर्छ । अधिकांश मानिसले यो सल्लाहलाई सकारात्मक रूपमा लिन्छन् : मैले मेरो प्रेमीसँग मेरो मिल्ने साथीसँगजस्तै धेरै समय बिताउनुपर्छ, मेरो साथीसँगजस्तै मैले मेरो प्रेमीसँग केही कुरा नलुकाई गफ गर्नुपर्छ, मेरो साथीसँगजस्तै प्रेमीसँग रमाइलो गर्नुपर्छ ।


तर, मानिसहरूले यो सल्लाहमा भएको नकारात्मक पक्ष पनि बुझ्नुपर्छ : के तपाईं आफ्नो प्रेमीले मिल्ने साथीको रूपमा गरेको नकारात्मक व्यवहार मन पराउनुहुन्छ ?
रमाइलो के छ भने, जब अस्वस्थ र अव्यावहारिक सम्बन्धमा रहेका मानिसलाई यो प्रश्न सोध्दा उनीहरूबाट ‘मन पराउँदैनौं’ भन्ने उत्तर आउँछ ।


मैले एक जना महिला चिनेको छु जसको भर्खरै विवाह भयो । उनी आफ्ना पतिलाई गहिरो प्रेम गर्छिन् । ऊ एक वर्षसम्म बेरोजगार बस्दा, विवाहका लागि कुनै चासो नदिंदा, आफ्ना साथीसँग घुम्न जानका लागि उनलाई त्याग्दासमेत ती महिलाले सोही पुरुषसँग विवाह गरिन् ।


तर, जब विवाहको भावनात्मक उचाइ मेटियो तब वास्तविकताले डेरा जमायो । उनीहरूको विवाहको एक वर्षपछि पनि उनको पति बेरोजगार थियो । उनी काममा जाँदा उनको पति घर असरल्ल पारेर बस्थ्यो, आफ्ना लागि खाना नबनाइदिए रिसले चुर हुन्थ्यो, कुनै गुनासो गरे उल्टै उनले आफ्नो जीवन बर्बाद पारेको भन्दै झपाथ्र्यो ।


उनी अझै पनि उक्त पुरुषसँग मायामा किन थिइन् भने उनले माथि उल्लेख गरिएका प्रेमका कठोर यथार्थलाई बेवास्ता गरिन् । उनले प्रेमलाई आदर्शीकरण गरिन् । उसले यत्रो दु:ख दिंदा गालामा थप्पड हान्नुको साटो उनले मायाले सम्बन्धलाई अनुकूल बनाउने विश्वास गरिन् । तर, त्यसो भएन । विवाहबारे परिवारले चिन्ता व्यक्त गर्दा पनि उनले आफ्ना समस्या विवाहपछि समाधान हुने आशा गरिन् । अहिले सम्बन्धको जहाज डुब्नै लाग्दा उनी आफ्ना साथीहरूसँग कसरी यो सम्बन्धलाई बचाउने भनेर सल्लाह मागिरहेकी छन् । तर, सत्य के भने कुनै पनि उपायले काम गर्ने छैन ।


हामीले हाम्रो मित्रतामा नसहने व्यवहार प्रेममा किन सहने ?
कल्पना गर्नुस्, तपाईंको मिल्ने साथी तपाईंसँगै बस्छ । तपाईंको कोठा फोहार पार्छ, कुनै काम गर्दैन र घर भाडा पनि तिर्दैन । यो र त्यो खाना बनाइदेऊ भन्छ । र, तपाईंले सम्झाउन खोजे उल्टै रिसाउँछ । यदि यस्तो भयो भने तपाईंहरूबीचको सम्बन्ध पेरिस हिल्टनको अभिनय करियरभन्दा पनि चाँडो सकिन्छ ।


वा, अर्को परिस्थिति : एउटा पुरुषको एक प्रेमी छे जुन यति ईष्र्यालु छे कि आफ्नो प्रेमीको सबै एकाउन्टको पासवर्ड लिन्छे । उसको अफिसको कामका लागि कतै जाँदा पनि सँगै जाने ढिपी कस्छे ता कि कुनै अरू केटीले उसलाई आँखा नलगाओस् । उनीहरूको सम्बन्ध कमजोर धाँजोजस्तै छ । उसको जीवन २४ सै घण्टा कसैको निगरानीमा बसेको जस्तै भएको छ । यसले उसको आत्मविश्वास नै ओझेलमा पारेको छ । उसको आफ्नो भन्ने केही छैन । उनी उसलाई केही कुरामा पनि विश्वास गर्दिनन् । त्यसैले उसले आफूलाई कुनै कामको लायक पनि सम्झिएन ।


तैपनि ऊ उनीसँगै सम्बन्धमा छ । किन ? किनकि ऊ प्रेममा छ ।
याद राख्नुस् : मायामा रमाउने एक मात्र उपाय भनेको मायाभन्दा अन्य कुनै कुरालाई महत्त्वपूर्ण रूपमा लिनु हो ।


तपाईं आफ्नो जीवनयात्रामा धेरैथरी मानिससँग प्रेममा पर्न सक्नुहुन्छ । आफूलाई राम्रो गर्ने र नराम्रो नगर्ने दुवै खाले मान्छेसँग प्रेममा पर्न सक्नुहुन्छ । तपाईं स्वस्थ र अस्वस्थ तरिकाले प्रेममा पर्न सक्नुहुन्छ । युवा अवस्था वा बुढ्यौलीमा प्रेममा पर्न सक्नुहुन्छ । माया महत्त्वपूर्ण छैन । माया दुर्लभ पनि होइन ।


तपाईंको आत्मसम्मान महत्त्वपूर्ण र स्वाभिमान दुर्लभ छ । तपाईंको जीवनकालमा धेरैखाले माया प्राप्त हुन सक्छ तर तपाईंले एक पटक आफ्नो आत्मसम्मान, आफ्नो स्वाभिमान र आफूप्रति विश्वास गर्न सक्ने क्षमता गुमाउनुभयो भने तिनलाई पुन: प्राप्त गर्न धेरै गाह्रो हुन्छ ।


माया एउटा अचम्मको अनुभव हो । जीवनले हामीलाई दिने यो एउटा ठूलो अनुभव हो । र, यो सबैले रमाउन इच्छा राख्ने एउटा अनुभव पनि हो । तर, अन्य अनुभवहरूजस्तै यो पनि स्वस्थ र अस्वस्थ हुन सक्छ । अन्य अनुभवजस्तै, यसले हामीलाई परिभाषित गर्नुहुन्न, हाम्रो जीवनको उद्देश्य तोक्नु वा हाम्रो परिचय तोक्नु हुन्न । यसले हामीलाई उपभोग गर्नु हुन्न । यसका लागि हामीले हाम्रो पहिचान र आत्ममूल्य त्याग गर्नुहुन्न । किनकि जब हामीले त्यसो गर्छौं तब हामीले आफू र आफ्नो प्रेमलाई पनि गुमाउँछौं ।


किनकि हामीलाई जीवनमा मायाबाहेक अरू पनि धेरै चीज चाहिन्छ । माया महान् छ । माया आवश्यक पनि छ । माया सुन्दर छ । तर, मायाले मात्र पुग्दैन ।
(अमेरिकी ब्लगर मार्क म्यानसनको पुरस्कृत आलेख ‘लभ इज नट इनफ’ को अनुवाद विजय तिमिल्सिनाले गरेका हुन् ।)

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?