३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘पेसमेकर’ महँगो, तबला सस्तो

संगीत
कलाकार जीवन राई अहिले पेसमेकर किन्न नसकेर डेरामै सुस्ताइरहेका छन् । १५/१६ लाख रुपैयाँको जोहो गर्न पनि मुस्किल परिरहेको छ ।
सजना बराल

काठमाडौँ — कला, संस्कृति, संगीत र कथित पृष्ठभूमि गाँसेर संस्कृति मन्त्रालयसमक्ष पुगेका विभिन्न संघसंस्था/व्यक्तिलाई राज्यले भर्खरै मात्रै करोडौं रुपैयाँ बाँडेको छ । तर, एक जना ‘गोल्ड मेडलिस्ट’ तबलावादक भने मुटुको चाल स्थिर गराउन ‘पेसमेकर’ किन्न नसकिरहेकै निरीह अवस्थामा डेराकोठामा सुस्ताइरहेका छन् ।

‘पेसमेकर’ महँगो, तबला सस्तो

गायक फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रैछ...’, ‘मर्न बरु गाह्रो हुन्न...’ लगायतका गीतको ध्वनिमा एउटा समानता छ— ती सबैमा जीवन राईले तबला बजाएका थिए । अरुणा लामाको ‘अरुणा यात्रा’ एल्बम र गोपाल योञ्जनको ‘गीति मञ्जरी’ मा पनि जीवनकै तबला सुनिन्छ । संगीतज्ञ अम्बर गुरुङको ‘अल नेपाल म्युजिकल टुर’ का बेला उनी तबला बोकेर थुप्रै ठाउँ पुगे ।
गणेश रसिक, योगेश वैद्य, दीप श्रेष्ठ, रिमा गुरुङ हाडादेखि अहिलेका झुमा लिम्बु, मीना निरौला, राज सिग्देल र मेलिना राईसम्मका कतिपय कन्सर्टमा जीवनकै वादनकला मिसिएको छ । ‘मैले पहिलेदेखि अहिलेका पुस्तासँग सहकार्य गर्ने मौका पाएँ,’ राई भन्छन्, ‘थप काम गर्ने इच्छा छँदैछ ।’ नेपालयले आयोजना गर्ने ‘पँलेटी’ शृंखलाहरूमा पनि जीवन तबलवादक रूपमा सहभागी हुने गरेका थिए ।


विशेषत: शास्त्रीय संगीत र सुगम विधामा समेत जीवनलाई सप्रेम सम्झनेहरू धेरै छन्, उनी सधैं खोजखबर भइरहने पात्र हुन् । वरिष्ठ गीतकार रत्नशमशेर थापा उनलाई ‘कुशल वाद्यवादक’ ठान्छन् । ‘तबलावादनमा औपचारिक अध्ययन गर्नुका साथै ठूल्ठूला गीति सम्मेलन र दिग्गज कलाकर्मीसँग काम गरेका छन् जीवनले,’ थापा भन्छन्, ‘उनको वादन खारिएको सुनिन्छ । वाद्यवादकको हातै मीठो हुन्छ भन्छन् नि, यो कुरा उनमा लागू हुन्छ ।’


विसं २०५० देखि रेडियो नेपालमा काम सुरु गरेका जीवन पछिल्लो समय नेपाल म्युजिक सेन्टर र ग्यालेक्सी पब्लिक स्कुलमा संगीत शिक्षक थिए । भारतको दार्जिलिङमा आफ्नै दाजु सन्तकुमार राईसँग तबला सिक्दै गर्दा उनलाई गोपाल योञ्जनले नेपाल बोलाएका रहेछन् । ‘मैले उहाँकै गीतमा तबला बजाएर संगीत यात्रा सुरु गरेको थिएँ,’ ४४ वर्षे राई भन्छन्, ‘त्यसपछि धेरै स्रष्टासँग काम गरियो ।’


विसं २०५२ मा नारायण संगीत प्रतिष्ठानले आयोजना गरेको ‘देशव्यापी शास्त्रीय संगीत प्रतियोगिता’ मा जीवनले पहिलो स्थान हासिल गरेका थिए । त्यही बेलादेखि उनीसँग परिचित बाँसुरीवादक जीवन आले उनलाई आफ्नै मिठास सिर्जना गर्न सक्षम वाद्यवादकका रूपमा लिन्छन् । ‘उनी विशेषगरी द्रुत लय र मध्यम तथा विलम्बित लयमा समेत उत्कृष्ट वाद्यवादक हुन्,’ आलेले भने, ‘शास्त्रीय र सुगम दुवै विधामा उनको गजबको पकड छ ।’


जीवनले दिल्लीको भरतरत्न विश्वविद्यालयबाट तबलावादनमा संगीत रत्न (गोल्ड मेडल) उपाधि पाएका छन् । त्यसअघि भारतकै प्रयाग संगीत समिति, इलाहावादबाट उनले तबलावादनमा संगीतप्रवीण प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । प्रतापसिंह लोहार र रामहरि गुरुङलाई जीवन आफ्ना गुरु मान्छन् ।


गायक बुलु मुकारुङले आफ्नो पुस्तक ‘नेपाली संगीतको अभिलेख’ मा जीवनबारे लेखेका छन्, ‘रेडियो नेपालबाट स्वर्ण पदक प्राप्त उनी तबला मात्र नभएर बाँसुरी, ढोलकजस्ता बाजा पनि बजाउँछन् । उनी म्युजिक कम्पोजर र एरेन्जरसमेत हुन् ।’ उनका ‘आत्मीय’, ‘तालप्रभा’, ‘लय’ लगायत विभिन्न शास्त्रीय वादनका एल्बम बजारमा आएका छन् । जीवनका विद्यार्थीहरू नै अहिले कुशल वाद्यवादनका रूपमा चिनिन थालिसकेका छन् । जस्तो कि भुवन गन्धर्व, श्रवण लामा, श्रद्धा परियार, इन्द्र सुनुवारजस्ता वाद्यवादक जीवनका विद्यार्थी हुन् ।

सहयोग खोज्दै जीवन
जीवनबारे यत्तिका लामो भूमिका बाँध्नुको विशेष कारण छ । उनी अहिले निकै गम्भीर रूपले अस्वस्थ छन् । मुटुमा समस्या उब्जिएपछि दुई साताअघि उनलाई गंगालाल अस्पताल लगिएको रहेछ । त्यहाँ नौ दिन राखेपछि डाक्टरले ‘अब यहाँ सकिँदैन’ भनेको उनकै सेवामा लागेकी शास्त्रीय गायिका शारदा क्षत्रीले बताइन् । ‘हामी त छाँगाबाट खसेझैं भयौं,’ उनले भनिन्, ‘धन्न हसना दिदी हुनुहुन्थ्यो, उहाँले नै जीवन भाइलाई नर्भिक अस्पताल ल्याएर उपचार गराइरहनुभएको छ ।’


मुटुको धड्कन (गति) कम हुने समस्या अर्थात् ‘लो इजेक्सन फ्रयाक्सन’ का कारण उनी बेहोस भएका थिए । केएमसी र गंगालाल हुँदै उपचारमा नर्भिक अस्पताल पुर्‍याइएको रहेछ । आर्थिक अभाव झेलिरहेका राईको अवस्थाबारे थाहा पाएपछि उनको वादन मन पराउने ललितपुरकी हसना शाक्य सहयोग गर्न तम्सिइन् । ‘भाइले सन्चो भएन भनेर फोन गरे,’ शाक्य भन्छिन्, ‘मैले अरू केही सोच्न सकिनँ । सकेको मद्दत गर्छु भनेर अस्पताल पुग्दा उनी पीडाले छटपटाइरहेका थिए ।’


गएको अक्टोबरमा जीवनलाई पहिलो ‘हार्ट अटयाक’ भएको थियो । आफ्नो जन्मथलो दार्जिलिङ पुगेका बेला उनी बेहोस भएर लडेका थिए । नाकमा चोट लाग्यो । त्यसपछि उतै जाँचबुझ गर्दा जन्डिस देखियो । त्यसको दुई महिनापछि काठमाडौं आए । छाती पोल्ने, कुर्कुच्चो सुन्निने लक्षण देखियो । घरेलु उपचारले सुन्निएको मत्थर पार्‍यो पनि । त्यसैले सामान्य ठानेर आफ्ना सांगीतिक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए । हसनाकै दुइटा गीतको कम्पोजिसन गर्दागर्दै उनी फेरि बेहोस भएका रहेछन् ।


यस पटक उनी पहिलेझैं तुरुन्त ब्युँतिन सकेनन्, थलै परे । जीवनकै गाउँलेसमेत रहेकी शारदाले आफ्नो भाइ मानेको जीवनलाई अस्पताल लगिन् । ‘तीन दिन सीसीयूमा राख्नुपर्‍यो,’ उनी भन्छिन्, ‘बेहोस हुनुभन्दा केही दिनअघिदेखि नै भाइलाई पेट दुख्ने, अप्ठयारो हुने हुन्थ्यो रे । अस्पताल आएपछि थाहा भयो, मुटुमा समस्या रहेछ ।’ गौशालास्थित दुईकोठे डेरामा बस्दै आएका जीवनलाई शास्त्रीय संगीत कल्याण संस्थाले उपचारार्थ ५० हजार रुपैयाँ सहयोग गरेको छ । उनका विद्यार्थीले पनि थोरबहुत मद्दत गरिरहेका छन् ।


‘दुई सातामै झन्डै दुई लाख रुपैयाँ खर्च भइसकेको छ,’ शारदा भन्छिन्, ‘अब पेसमेकर जडान गर्नुपर्छ रे । त्यो पनि सामान्य नभएर सीआरटी पेसमेकर चाहिन्छ भन्नुभएको छ । यो महँगो हुन्छ रे । १५/१६ लाख रुपैयाँ अब चाहिएला । हामी अलमलमा परेका छौं ।’


यिनै कुराहरू सुनेपछि जीवनसँग काम गरेका गायिकाद्वय झुमा लिम्बु र मीना निरौला गत सोमबार नर्भिक अस्पताल पुगेका थिए । जीवनका निम्ति आर्थिक सहयोग संकलन गर्ने योजनामा उनीहरू छन् । संगीतकर्मीहरूसँग स्वैच्छिक चन्दा उठाउने तरखरमा रहेछन् मीना र झुमा । संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान र अरू सांस्कृतिक निकायसँग कुरा राख्दा सबैतिरबाट ‘पैसा छैन’ भन्ने जवाफ पाएका रहेछन् । ‘राज्यले कलाकारलाई के दिन्छ र ?’ झुमाले भनिन्, ‘संस्कृति र समाज कल्याण मन्त्रालयले राजनीतिक अर्थमा पैसा बाँडिरहेको पत्रिकामा पढेका छौं । तर, सही अर्थमा जीवन राईजस्ता कलाकारका लागि सहयोगी बनिदिने निकाय भेटेकै छैनौं ।’


पँलेटी शृंखलामा जीवनसँग स्टेज सेयर गरेकी मीना उनलाई ‘अनुशासित, सरल र लगनशील’ संगीतकर्मीका रूपमा व्याख्या गर्छिन् । दोहोर्‍याउँदै विभिन्न पुरस्कार र सम्मान पाए पनि बडप्पन नदेखाउने जीवनको बानीबाट आफू प्रभावित भएको मीनाले बताइन् । ‘जीवन दाइ निकै सरल र समर्पित मान्छे हो,’ उनले भनिन्, ‘म्युजिकमै लागेर घरबार पनि जोड्नुभएन । उहाँको यस्तो डेडिकेसनको कदर हुनैपर्छ । अरू कसैले कदर नगरे पनि हामी सहधर्मीले यो घडीमा सक्दो सम्झनैपर्छ ।’

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?