२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

संसार हेर्ने कि टापु ?

बहस
यज्ञश

काठमाडौँ — सञ्जयका अघिल्ला दुई पत्नी ऋचा शर्मा र रिया पिल्लै तथा जेठी छोरी त्रिशालाबारे पनि फिल्म मौन छ । बरु सञ्जयका कति महिलासँग सम्बन्ध भए भन्ने कुरालाई उनले महत्त्व दिएका छन् । हिरानीले सञ्जयको जीवनलाई फिल्मजसरी नै सम्पादन गरिदिएका छन् । तर, यो सम्पादनमा राम्रा मात्रै फुटेज राखिएको छ ।

संसार हेर्ने कि टापु ?

राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ बारे भारतीय मात्र होइन, नेपाली मिडिया र सामाजिक सञ्जालमा निकै टीकाटिप्पणी भए । अभिनेता/नेता पिता सुनील दत्त र छोरा सञ्जय दत्तको सम्बन्ध, उनीहरूको जीवनकथा भएको फिल्मले धेरैलाई भावुक बनायो । फिल्मको कथावाचनको शैली, सुनील दत्तको धैर्य र संघर्ष तथा सञ्जय दत्तको खराब जीवनका किस्साहरू रोचक छन् पनि । यसअघि दुइटा ‘मुन्नाभाई’, ‘थ्री इडियट्स’ र ‘पीके’ जस्ता चर्चित फिल्म बनाएका कारण पनि हिरानीको फिल्म घोषणा भएदेखि नै चर्चामा थियो । त्यसमाथि सञ्जय दत्तजस्ता विवादास्पद स्टारको कथा !

यति हुँदाहुँदै पनि ‘सञ्जु’ हिरानीको सबभन्दा कमजोर फिल्म हो । सञ्जय दत्तको जीवनमाथि बनेको भए पनि यसमा फिल्म कलाकार, फिल्म र फिल्मी दुनिया गायब छ । छ त केवल लागूऔषध र आतंकवाद । यी दुवै सञ्जयको जीवनमा जोडिएका कुरा हुन् । यी दुवै कुरासहित दर्शकले सञ्जय दत्तलाई स्वीकार गरिसकेका छन् । तर, निर्देशक हिरानीले दत्तलाई गान्धी नै बनाउन खोजेजसरी उनको छवि पखाल्न निकै मिहिनेत गरेका छन् । न लागूऔषधमा सञ्जयलाई दोषी देखाइएको छ न त आतंकवाद र हतियारको प्रसंगमा । आतंकवादको प्रसंगमा त उनले पूरै मिडियालाई दोषी देखाएका छन् । फिल्मको अन्त्यमा आउने गीतमा प्रेसजगत्लाई गाली नै गरिएको छ । ‘सञ्जु’ हेर्दा खास आतंकवादी मिडिया होजस्तो लाग्छ ।
यस्तो किन लाग्छ भने, हिरानीले सञ्जय दत्तको जीवनको त्यति नै कथा भनेका छन्, जतिले उनलाई निर्दोष सावित गराउँछ । बाटो बिराएको एउटा अवोध किशोरबाट अन्डरवल्र्डसँग सम्बन्ध भएको एउटा अपराधीको छवि भएका सञ्जय दत्तलाई हिरानीले सधैंको अबोध सावित गराउन निकै मिहिनेत गरेका छन् । उनले मिडियाको भूमिका पनि त्यति मात्रै प्रस्तुत गरेका छन्, जसले मिडियालाई दोषी मात्र देखाउँछ । सञ्जय दत्तसँगै त्यही हतियारको मुद्दामा पक्राउ परेकाहरूलाई सधैं आतंकवादसम्बन्धी टाडा कानुन लगाइँदा सञ्जय मात्रै कसरी त्यसबाट बचे भन्ने फिल्मले कतै भन्दैन । सञ्जयलाई त्यसबाट निकाल्ने शिव सेनाका नेता बाल ठाकरेको कतै उल्लेख छैन । बरु, बिनाप्रसंग अटलविहारी वाजपेयीलाई उडाइएको छ । हिरानी भन्छन्— बम्बै दंगापछि पिता सुनील दत्तले मुसलमानको सेवा गरेकाले उनलाई धम्की आएपछि सुरक्षाका लागि सञ्जयले एके ४७ राइफल घरमा राखेका थिए । तर, बम्बै दंगाभन्दा एक वर्षपहिले नै सञ्जयले राखेका र छिमेकीहरूले पुलिसमा रिपोर्ट गर्ने गरी पड्काएका राइफलबारे केही बोल्दैनन् । न त सुनील दत्तसँग पहिले नै भएका लाइसेन्स प्राप्त हतियारबारे कतै बोल्छन् ।


बाबरी मस्जिद भत्काइनु र बम्बै दंगा आधुनिक भारतको इतिहासमा एउटा ठूलो रोगका रूपमा रहेका घटना हुन् । यी दुई घटनाले भारतमा हिन्दु–मुस्लिम विभाजन र राजनीतिमा हिंसाको प्रयोगलाई व्यापक मात्रामा बढाएका हुन् । शिव सेनादेखि बजरंग दल र भारतीय जनता पार्टीको हिन्दुवादी राजनीतिलाई स्वीकार्य बनाउने घटना पनि यिनै हुन् । १९९३ मा बम्बैमा भएका शृंखलाबद्ध विस्फोट र दंगा भारतलाई नै ध्वस्त पार्ने उद्देश्यले गरिएका थिए भन्ने इन्डियन एक्सप्रेसका पूर्वसम्पादक शेखर गुप्ताको विश्लेषण छ । उनले आफ्नो रिपोर्टिङ र त्यसबेला अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीसँगको कुराकानीलाई आधार मानेर भनेका छन्— ती घटनाअघि दाउद इब्राहिमका मानिसले सञ्जय दत्तसँग सम्पर्क गरेका थिए । उनीहरूले बम्बै ल्याएका राइफल, ग्रिनेड र आरडीएक्सबारे सञ्जय दत्तलाई थाहा थियो । उनले त्यो कुरा न आफ्ना पितालाई भने न पुलिसलाई । बरु, ती हतियारलाई लुकाउन मद्दत गरे । तर, फिल्ममा भने पिताको सुरक्षाका लागि हतियार राख्दा निर्दोष सञ्जय फसेको देखाइएको छ । सञ्जयले घरमा हतियारकै कारण टाढा लागेर अहिलेसम्म जेल बसिरहेका मानिसहरूबारे केही बोलिएको छैन । गुप्ताले यो कुरालाई फिल्मले गरेको अपराधका रूपमा व्याख्या गरेका छन् ।


सञ्जयका अघिल्ला दुई पत्नी ऋचा शर्मा र रिया पिल्लै तथा जेठी छोरी त्रिशालाबारे पनि फिल्म मौन छ । बरु सञ्जयका कति महिलासँग सम्बन्ध भए भन्ने कुरालाई उनले महत्त्व दिएका छन् । हिरानीले सञ्जयको जीवनलाई फिल्मजसरी नै सम्पादन गरिदिएका छन् । तर, यो सम्पादनमा राम्रा मात्रै फुटेज राखिएको छ । ‘डार्क’ का लागि यसमा कुनै स्थान छैन । कतिसम्म भने १९९३ को बम्बै विस्फोटमा उनले मुख्य अभियुक्त दाउद इब्राहिमको नामसमेत लिंदैनन् । अन्डरवल्र्ड डनहरूसँगको सञ्जयको सम्बन्धलाई पूरै नजरअन्दाज गरेर गणपति विर्सजनमा घर बोलाउने लोकल गुन्डालाई डनजसरी प्रस्तुत गरेका छन् ।


सञ्जय दत्त आफ्नो जमानाका स्टाइल आइकन हुन् । यो क्षेत्रमा बडी बनाउने, लामो कपाल पालेर ढल्केर हिँड्ने शैलीलाई स्थापित गर्ने मुख्य स्टार सञ्जय दत्त हुन् । उनका ‘नाम’, ‘सडक’, ‘साजन’, ‘थानेदार’, ‘खलनायक’ जस्ता फिल्म हेरेर उनलाई फलो गर्ने लाखौं मानिसका लागि उनी ट्रेन्ड सेटर हुन् । तर, हिरानीको फिल्ममा सञ्जय दत्तको यो कुनै पनि रूप छैन । यस्तो लाग्छ, पिताको फिल्म ‘रकी’ पछि उनले एकै पटक हिरानीको फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा नै अभिनय गरेका थिए । यो फिल्मका लागि दत्तले कमेडियनको फिल्मफेयर अवार्ड पाएको कुरालाई हिरानीले निकै महत्त्व दिएका छन् । जबकि दत्तले २० वर्षको करिअरमा उत्कृष्ट अभिनेताको फिल्मफेयर ‘वास्तव’ बाट पाएको कुराको कतै उल्लेख नै छैन ।


यी कुरा किन महत्त्वपूर्ण हुन् भने यिनले नै सुनील दत्तको छोरालाई स्टार सञ्जय दत्त बनाएका हुन् । स्टारको जीवनकथामा जेले स्टार बनायो त्यो कुरा नै नहुनु असामान्य हो । हिरानीले बाबु–छोराको सम्बन्धमाथि फिल्म बनाएको भन्ने गरेका छन् । यो फिल्म हेर्दा बिग्रिएको छोरालाई सुधार्न पिता सुनील दत्तले कति धेरै दु:ख गरेका थिए भन्नेचाहिं देखिन्छ । तर, उनले आफ्नो राजनीतिक पहुँचको प्रयोग गरेको चाहिं देखिँदैन ।


कसैको पनि जीवनकथामा सबै कुरा अटाउँदैन । केलाई केन्द्रमा राख्ने र कुन पात्र तथा घटनालाई लिएर कथा बुन्ने भन्ने शैली फरक–फरक हुन सक्छ । तर, एउटा विवादास्पद घटना, देशको इतिहाससँग जोडिएको कुरालाई तोडमोड गरेर तथ्य र इतिहासलाई नै बंग्याउने गरी बनाउनुचाहिँ फिल्ममेकरको बेइमानी कहलाउँछ । यसमा सर्जक र कलाकारका रूपमा उसको नियतमाथि प्रश्न खडा हुन्छ ।


हिरानी दत्तलाई नै लिएर ‘मुन्नाभाई ३’ बनाउने तयारीमा छन् । ‘सञ्जु’ ले नै कमाइको कीर्तिमान बनाइसकेको छ । हिरानीले बनाएका ५ फिल्ममध्ये ४ वटामा सञ्जय दत्त छन् । यस हिसाबले हेर्दा बजारमा आक्रमण गर्नका लागि हिरानीसँग भएको मुख्य हतियार नै सञ्जय दत्त हुन् । आफ्नो हतियार चम्किलो बनाउन कसलाई मन लाग्दैन र ? हिरानीले त्यही काम गरे । उनको जीवनकथामा लागेका सबै खियाहरू पखालेर चम्किलो दत्त उनले दर्शकका लागि पेस गरे ।


लोकतान्त्रिक समाजमा अखबार वा मिडियाको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । यसले जनताका तर्फबाट प्रश्न गर्ने काम गर्छ । सत्ता, सत्ताधारीका गतिविधिको निगरानी गर्ने र समाजका विकृति विसंगतिबारे उजागर गर्ने काम मिडियाले गर्छ । मिडियाको यही काम शक्तिशाली र सत्ताधारीलाई मन पर्दैन । अनि, सुरु हुन्छ यसमाथि आक्रमण । हिरानीले एक अखबारमा छापिएको एउटा क्लिपलाई पूरै फिल्मभरि प्रयोग गरेर बाँकी सबै समाचारहरू लुकाए । यस्तो लाग्छ उनी संसारको नक्साबाट कुनै एउटा टापुलाई मात्र देखाएर त्यति मात्रै संसार हो भन्ने सावित गर्न चाहन्छन् । यो शैली खतरनाक छ ।


फिल्मको सुरुआतमै एउटा भारतीय खादी कुर्ताछाप लेखकको हुर्मत लिइन्छ । त्यसपछि दत्त परिवार आफ्नो ‘भर्सन’ सुनाउनका लागि विदेशमा बसेर किताब लेखिरहेकी लेखकको शरणमा पुग्छ । फिल्मले सुरुमै भारतीय प्रकाशन र लेखकहरूलाई विश्वास गर्दैन । जबकि, भारतीय लेखकहरूले पछिल्लो समय बुकरदेखि ठूल्ठूला पुरस्कार र पुस्तक बजारमा हस्तक्षेप गरिरहेका छन् । जुन काम भारतको फिल्ममेकरले गर्न सकेका छैनन्, त्यो काम लेखकले गरिरहेका छन् । भारतीय लेखकको क्षमता नभएर होइन कि ‘सञ्जु’ मा लुकाइएका कुरामाथि प्रश्न नगर्नका लागि लेखक पात्र पनि विदेशी नै चाहिएको हो कि ? फिल्मले सञ्जय दत्त एउटा राजनीतिक दलमा प्रवेश गरेर चुनाव लडेको पनि उल्लेख गर्दैन ।


सोनम कपुर र करिश्मा तन्नाका चरित्रलाई हेर्दा लाग्छ, उनीहरूलाई फिल्मको स्टार पावर बढाउन मात्रै प्रयोग गरिएको हो । मनीषा कोइराला, अनुष्का शर्मा र दिया मिर्जाको हकमा पनि त्यही कुरा लागू हुन्छ । अभिनयको हिसाबले ‘रकस्टार’ पछि रणवीर कपुरको यसमा गतिलो अभिनय छ । सञ्जय दत्तका रूपमा रणवीरले कतै अभिनय गरेका छन्, कतै ‘मिमिर्की’ त कतै उनलाई ‘कपी’ गरेका छन् । केही दृश्यमा उनी दुरुस्तै दत्त पनि छन् । भावको सम्प्रेषणमा चाहिँ उनी एकनास छन् । रणवीरभन्दा भिन्न शैलीमा परेश रावलले भने सुनील दत्त बन्ने प्रयास गरेका छैनन् । उनी दत्त होइन, आफ्नै शैलीमा छन् । पछिल्लो समय थुप्रै फिल्मबाट दर्शकलाई प्रभावित बनाउन सफल विक्की कौशल यसमा पनि प्रभावशाली छन् ।

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?