कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काठप्रेमी संसार

आईसीडब्लूसीटी–२०१८
सम्पदा
संयोग नै मान्नुपर्छ– व्यावहारिक कक्षाका लागि ओस्लो नजिकैको जंगलमा गएर रूख काट्ने मौका मैले पनि पाएँ ।
पद्मसुन्दर महर्जन

काठमाडौँ — काठ, काठका संरचना र काष्ठकलाको इतिहास हामीसँग छ । बाह्रौं शताब्दीमा बनेको काष्ठमण्डपको इतिहास हामीसँगै छ जसको आज दुर्दान्त हालत छ । साँच्चै— काठलाई माया गर्ने, जोगाउने र संरक्षणको प्राथमिकतामा राख्ने सोचाइ भने हामीमा पलाएकै छैन । काष्ठकला संरक्षणका नाममा हामीकहाँ धेरैजसो विकासे काम मात्रै भएका छन् ।

काठप्रेमी संसार

बसिबियाँलोमा हामी अक्सर हाम्रै नेपाली काठपातको कुरा गर्छौं । काठले बनेका घर, चौतारी, पाटी, सत्तल र फलैंचाका अनेक उदाहरण जोडेर इतिहासका कुरा गर्छौ । हाम्रो सम्पदा र सभ्यताको बखान पनि यही काठमा जोडिएको छ ।


काष्ठमण्डपको गौरव होस् अथवा चाँगुनारायणको इतिहास, ५५ झ्याले दरबार अथवा उपत्यकाका दरबार स्क्वायरहरू † काठको महिमा यत्रतत्र छ । तर, काठ संरक्षण पद्धतिबारे नर्वेको ओस्लोमा आयोजित एउटा विश्वव्यापी प्रयोगात्मक मञ्चमा उभिन पाउँदा यसपालि हामीजस्ता थुप्रै काठप्रेमी मित्रहरू भेटिए जो आ–आफ्नो मुलुकलाई प्रतिनिधित्व गरेर आएका थिए । नर्वेको सुन्दर राजधानी ओस्लो केन्द्र गरेर आयोजित भेलामा २० मुलुकका काठ र सम्पदाविद्हरू भेला भएका थिए जसको इतिहास र सभ्यताको चिनारी काठमा जोडिएको छ । काठ पद्धतिको यो प्रयोगशालामा पाँच साता लामो अभ्यास गर्न क्यानडा, संयुक्त राज्य अमेरिका, एल साल्भाडोर, ब्राजिल, नर्वे, लिथुवानिया, युक्रेन, स्पेन, डेनमार्क, इटाली, स्लोभाकिया, रोमानिया, टर्की, इजिप्ट, इथियोपिया, जिम्बाबे, नेपाल, भारत, हङकङ र फिलिपिन्ससमेतको सहभागिता रहेको थियो । यो अवसरमा मूलत: विभिन्न काठबाट निर्मित सांस्कृतिक सम्पदा तथा वस्तुका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई कसरी बराबर महत्त्व दिने भन्ने सिकाइ–बुझाइ गर्न पाइयो । सन् १९८४ यता सञ्चालनमा रहेको ‘द इन्टरनेसनल कोर्स अन उड कन्जरभेसन टेक्नोलोजी’ युनेस्कोअन्तर्गतको पाठ्यक्रम हो ।


नेपाली काष्ठकला
विभिन्न सांस्कृतिक सम्पदामा वास्तुकलाशास्त्रीका रूपमा सम्बद्ध रहेका आधारमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) को प्रतिनिधित्व गर्दै गत जुन महिनामा म ओस्लो पुगेको थिएँ । आफ्नो देशमा रहेको काष्ठकलायुक्त सम्पदा र संरक्षणमा भइरहेको गतिविधिमा जानकारी दिनुपर्ने अवसरमा म भने झन्डै २ शताब्दीअघिको एउटा सम्पदामा केन्द्रित रहेको थिएँ । त्यो सम्पदा हो— हनुमानढोका दरबार क्षेत्रस्थित सरस्वती मन्दिर जसको निर्माण मिति संवत् १८८५ उल्लेख छ । २०७२ सालको भूकम्पले पूर्ण क्षतिग्रस्त रहे पनि हालै पुनर्निर्माण सम्पन्न भएको सरस्वती मन्दिरलाई मैले नेपाली सम्पदा–नमुनाका रूपमा राखेको थिएँ । यो पुनर्निर्माणको काम पुरातत्त्व विभागको समन्वय र अमेरिकी दूतावासअन्तर्गत सांस्कृतिक संरक्षणका लागि राजदूत कोषको सहयोगबाट सम्भव भएको थियो ।


सहभागी अरूहरूले भने आफ्ना मुलुकमा रहेका गिर्जाघर, मध्ययुगीन भवन, पुल, गुम्बा आदिको स्वरूप र संरक्षणमाथि प्रतिवेदन पेस गरेका थिए । सिकाइ–बुझाइको मुख्य विषयवस्तुमा काठको जैविक रचना, आयु, जैविक क्षयीकरण, निवारक संरक्षण पद्धति, संरचनात्मक मर्मत तथा वातावरण परिवर्तनका कारण सांस्कृतिक सम्पदामा पर्ने प्रतिकूल असरबारे अध्ययन गर्ने मौका मिलेको थियो ।


संयोग नै मान्नुपर्छ— व्यावहारिक कक्षाका लागि ओस्लो नजिकैको जंगलमा गएर रूख काट्ने, आफ्नो आवश्यकताअनुसार ‘फर्निस्ड’ गर्ने र झ्याल–ढोकाको जोडाइ देखाउने मौका पनि मैले पाएँ । काष्ठ काममा चाहिने परम्परागत औजारहरू नर्वेको कक्षाकोठामा पनि थिए । सबै देशका सहभागीहरू रन्दा, करौटी, बन्चरोजस्ता औजारबारे जानकार थिए । फरक यत्ति हो— कसैकोमा औजारको बनोट र ढाँचा अलिक फरक थियो ।


गोष्ठीमा पुराना महत्त्वपूर्ण ऐतिहासिक झ्याल, ढोका तथा मञ्च, बाकस आदिको मर्मत, संरक्षण र ‘कन्सोलिडेसन’ गरिएको थियो । मध्ययुगीन समयको काष्ठ सामग्रीमा गरिएका पेन्टिङ र बुट्टालाई कसरी संरक्षण गर्ने भनेर ज्ञान पनि बाँडिएको थियो । सापेक्षिक आद्र्रता र तापमानले गर्दा काष्ठकलामा कस्ता प्रतिकूल असर परी क्षय हुन्छ भनी सूक्ष्म अध्ययन गर्न सिकाइएको थियो । विश्वको सबैभन्दा पुरानो काठे संरचना भनेको जापानको नारास्थित होरियुजी मन्दिर हो जुन ६०७ इस्वीमा निर्माण भएको हो । अनुकूल वातावरण भयो भने काठको आयु हजारौं वर्ष हुन्छ भन्ने उदाहरण थियो— होरियुजी मन्दिर ।


उच्च सापेक्षिक आद्र्रता नरहेको अवस्थामा काठको आयु बढ्छ नै । र, काठको काम गर्दा ‘फंगल’ र ‘टर्माइट्स’ बारे पनि जानकार हुनैपर्छ ।

हामीकहाँ काठ कामका कालीगढ, वास्तुविद् र विज्ञ भए पनि सूक्ष्म जीवाणुका बारे आधारभूत जानकारीसमेत नभएको/नरहेको अवस्था छ । हो, अरू देशमा जस्तै नेपालमा पनि वास्तुकलाका दृष्टिमा उच्चकोटीका संरचना र सम्पदा छन् । तर, विकासका नाममा कति सम्पदा आज मासिंदै छन् भने कति राम्रो बनाउने भनेर अज्ञानताको सिकारमा परेका छन् । हामीकहाँ सम्पदा संरक्षणका नाममा विकासे खोक्रा अभियानहरू बढी हुन थालेका छन् ।

प्राथमिकतामा काठ
वास्तुकलाका ठूला भवनदेखि संग्रहालयमा संगृहीत साना काष्ठकलाका वस्तुलाई फरकफरक तरिकाबाट अभिलेख, आकलन र संरक्षण गर्ने वैज्ञानिक विधिबारे नर्वे कार्यशालामा सिकाइएको थियो । यसका लागि ओस्लोस्थित भाइकिङ सिप म्युजियमको प्रयोगशालामा एकदिने विशेष भ्रमण तथा गोष्ठी राखिएको थियो । परम्परागत रंग र लगाउने विधिका बारेमा पनि बहस चलाइएको थियो । यसका साथै परम्परागत औजार र त्यसको प्रयोगविधि अध्ययन पनि आकर्षणको अर्को विषय थियो ।


कार्यशालाको अर्को आकर्षणमा यसको व्यावहारिक पक्ष जोडिएको थियो जसमा नर्वेका विभिन्न सम्पदा क्षेत्रको भ्रमण–अवलोकन गर्न पाइयो । नर्वेका विख्यात स्टेभ गिर्जाघरदेखि माइहोगेन संग्रहालय, रिंगबु चर्च, क्लेपे फार्म, लोभ स्टेभ चर्च, उर्नेस चर्च, वोरग्युन्ड चर्च, भाल्डेट्रस् म्युजियम, नस्र्क फल्क म्युजियम आदिको अध्ययन–भ्रमण गर्ने अवसर मिल्यो । यसमध्ये ११ औं शताब्दीमा बनेको उर्नेस स्टेभ चर्चमा रहेको विशेष काष्ठकला सबैभन्दा आकर्षणमा थियो । नर्वेमा रहेका २८ वटा संरक्षित स्टेभ चर्चलाई राष्ट्रले ‘संरक्षण–संवद्र्धनको पहिलो प्राथमिकता’ मा राखिएको रहेछ ।


हामीकहाँ भने अझै पनि ‘काठै त हो नि’ भनेर अझै पनि सामान्य चासो र सरोकारमा पनि काष्ठकला आउन सकेको छैन । देश र समाजको इतिहास, सभ्यता र संस्कृतिसँग जोडिएको काष्ठकलालाई जीवन्त राख्न काठलाई प्राथमिकतामा राखिनुपर्ने हो तर काठमा कहीं कतैको पनि ध्याउन्न जान सकेको देखिन्न । कतिसम्म भने ९० सालको भुइँचालोपछि २०७२ सालको भुइचालोमा मात्रै मठमन्दिर, काष्ठकला र यस्ता सम्पदाबारे बहस सुरु भएको अवस्था छ । काष्ठकलाका सम्पदाहरू जीवित छँदैमा यसको महिमा र पहिचान जोगाउने दिशामा कोही पनि अग्रसर देखिँदैनन् । काष्ठकला र यो दुर्लभ सम्पदाबारे पनि मौसमी खेती झैं कुरा हुन्छ अनि, सेलाउँछ । यो सबैभन्दा मन दुख्ने कुरा हो ।
[email protected]

प्रकाशित : श्रावण ५, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?