कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

यताका ढोई, उताका मत्ता

सन्दर्भ
वेदराज पौडेल

काठमाडौँ — सबैभन्दा बढी हात्तीपीडित र प्रभावित भनेर चिनिएको बाहुनडाँगीले जानीनजानी हात्तीमाथि अन्याय गरेझैं लाग्छ । बंगालबाट बाहुनडाँगी हुँदै कोसीटप्पु आउने मत्ता (भाले) हात्तीहरू खासमा यताका ढोई (पोथी) सँग प्रेम र संसर्ग गर्न हत्ते हालेर लामो यात्रामा निस्केका रहेछन् । तर, अहिले बाहुनडाँगीको सीमावर्ती जंगलमा विद्युतीय तारबार लगाएपछि मत्ता–ढोईबीच न प्रेम छ, न संसर्ग नै ।

यताका ढोई, उताका मत्ता

के कुनै जबरजस्त प्रेम–कहानी केटाकेटीबीच मात्रै हुन्छ र ? होइन रहेछ । जीवजन्तु प्रजातिमै ठूलो मानिएको भाले हात्ती र ढोइबीचको प्रेम पनि उत्तिकै रोचक हुने रहेछ । कोसीटप्पु हात्तीसारका जंगली मत्ता (भाले) र ढोई (पोथी) हात्तीबीचको प्रेम कहानी अहिले पूर्वी भेगतिर चर्चामा छाएको छ ।


मत्ता हात्ती माकुना र आरक्षको ढोई हात्ती शोभाकलीबीच प्रेम चलेको एक दशक भइसकेको छ । अहिले फेरि अर्को पटक यो प्रेम टुसाएको छ, शोभाकलीका गर्भमा, देशदुनियाले थाहा पाउने गरी हुर्कंदै गरेको बच्चा माकुनाको प्रेम हो सर,’ हात्तीसारका दरोगा सुनील तामाङ माकुना–शोभाकली प्रेमका साक्षीझैं भेटिए ।


संयोग कस्तो छ भने उही माकुना र शोभाकलीकी जेठी छोरी लक्ष्मीकली (हाल १० वर्षीया) पनि यतिखेर दुई जीउकी छे । अर्थात्, आमाछोरी दुवै गर्भवती बनेका छन् । लक्ष्मीकली भने जंगली दाह्रे हात्तीबाट गर्भवती भएकी हो ।


प्रेमले मानिसलाई मात्र होइन, पशुलाई पनि एकअर्कामा समर्पित गराउँछ भन्ने उदाहरण बनेको छ— माकुना–शोभाकली प्रेमकहानी । कोसीटप्पु आरक्षमा रहेका पोथी हात्तीसँग संसर्ग गर्नै भनेर भारतको पश्चिम बंगालबाट बर्सेनि हिउँदयाममा हात्तीको एउटा झुन्ड आउने गर्छ । यही झुन्डमा मिसिएर १२ वर्षअघि माकुना (दाह्रा नभएको) हात्ती पनि कोसीटप्पु आइपुगेको थियो । त्यो बेला ४८ वर्षीया अधबैंसे ढोई शोभाकलीसँग मोहित भएको माकुना फेरि फर्किएर मूलघर (बंगाल) कहिल्यै गएन । जत्थामा आएका अरू सबै हात्ती बाहुनडाँगी हुँदै बंगाल छिरे पनि माकुना भने शोभाकलीकै वरपर झुमिरह्यो—पागलप्रेमी बनेर । हो, त्यही बेला माकुना–शोभाकली संसर्गमा लक्ष्मीकली जन्मिएकी थिई ।


यो प्रेमकहानीको दु:खको किस्सा अब भने बाहुनडाँगी गाउँसँग पनि जोडिएको छ । हात्तीआतंकबाट देशभरमै पीडित गाउँका रूपमा बाहुनडाँगी चिनिएपछि सरकार र स्थानीय निकाय मिलेर सीमावर्ती जंगलमा विद्युतीय तारबार गरिएको ३ वर्ष भइसकेको छ । अहिले ढोई खोज्दै भाले हात्तीहरू भारतबाट नेपालसम्मको यात्रामा आउन नसक्ने भएका छन् । पछिल्लो पटक झन्डै ४ वर्षअघि बंगालबाट कोसीटप्पु आइपुगेका १० वटा भाले हात्ती नै अन्तिम यात्रु बनेका छन्, यिनीहरू सबै आरक्षको ढोई हात्तीसँग लहसिएर यतै बसिरहेका छन् । अब घर फर्कने अथवा द्विदेशीय संसर्ग गर्ने कुरा पनि ‘विद्युतीय तारबार’ का कारण रोकिएको छ । यताका ढोई यतै, उताका मत्ता उतै ।

शोभाकली र माकुना


शोभाकलीका माउते जगन्नाथ चौधरी सम्झन्छन्, ‘दिनभर अरू हात्तीसँगै जंगलमा बस्ने माकुना साँझ परेपछि जहिल्यै शोभाकलीलाई भेट्न हात्तीसार आइपुग्थ्यो ।’ दुई वर्षदेखिको यो माकुना दैनिकी अहिले भने रोकिएको छ । शोभाकली गर्भवती भएको थाहा पाएर माकुना हात्तीसार आउन छाडेको छ । ‘गर्भवती भएपछि संसर्ग नगर्ने भएकाले माकुना यता नआएको हो,’ माउते भन्छन् । आउने भदौमा माकुना–शोभाकलीको अर्को सन्तान जन्मँदै छ ।


हात्तीमा विद्यावारिधि गर्दै गरेका पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार हात्तीबीचमा पनि प्रेम ‘स्वत:स्फूर्त र सबैले थाहा पाउने गरी’ हुने गर्छ । उनका अनुसार जुन ढोईसँग उसको संसर्ग र गर्भ रहेको हुन्छ, उक्त ढोईले बच्चा जन्माएपछि मत्ता हात्ती जन्मेको बच्चा हेर्न जान्छ । ‘त्यो आफ्नो बच्चा हो कि होइन भन्ने चिनिहाल्छ । आफ्नै हो भने उसले त्यो बच्चालाई पनि प्रेमपूर्ण व्यवहार दर्साइहाल्छ,’ अशोकराम भन्छन् ।


रामका अनुसार मत्ताले ढोईलाई होइन, ढोईले चाहिँ मत्ता हात्तीलाई मन पराएपछि मात्रै ‘संसर्ग’ सम्भव हुन्छ । ढोईले पनि मत्ता कत्तिको जवान छ, यसबाट जन्मने सन्तान कत्तिको बलियो हुन्छ भन्ने निक्र्योल गरेरै मात्रै संसर्ग चाहन्छ । योभन्दा महत्त्वपूर्ण कुरा, त्यो मत्ताले आफूलाई कत्तिको यौन सन्तुष्टि दिन सक्छ भन्ने आँकलन गरेर मात्रै ढोई (पोथी) मत्ता
(भाले) तिर तानिएकी हुन्छे ।


आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले आरक्षका ५ ढोईमध्ये चारवटा गर्भवती भएको जानकारी दिए । यस पटक आरक्षमा चारवटा छावा थपिने भएपछि उनी निकै खुसी देखिन्थे । संरक्षण क्षेत्रमा लाग्नेलाई मात्रै होइन, यो आम सर्वसाधारणलाई पनि खुसीको कुरा हो । किनकि पृथ्वीमा रहेको सबैभन्दा ठूलो जनावर हात्ती अनेक खतराबीच बाँचिरहेको प्राणी हो ।


आरक्षमा रहेका ५ ढोईमध्ये अहिले शोभाकली, दमदमीकली, सरस्वतीकली र लक्ष्मीकली गर्भवती छन् । गर्भवती भएको २२ महिनामा हात्तीले छावा जन्माउने गर्छ । आरक्ष कार्यालयले यी गर्भवतीका लागि विशेष खानपान र आरामको प्रबन्ध गरेको छ । चरनका लागि लगिए पनि उनीहरूलाई धेरै हिँडाएर टाढासम्म लगिँदैन । घाँस–दाउरा पनि उनीहरूलाई बोकाइँदैन ।
हात्तीसारका दरोगा सुनील तामाङ अरू बेलाभन्दा बढी स्याहारसुसार अहिले गर्भवती हात्तीलाई गरिरहेका छन् । यो बेला बिहान १५ केजी धान, १ किलो सख्खर र २५ ग्राम नुन खुवाएपछि हात्तीको दैनिकी सुरु हुन्छ । दिउसोको चरनपछि बेलुका हात्तीसारमा घाँस दिइन्छ । एउटा वयस्क हात्तीले २ सयदेखि २ सय ५० किलोसम्म घाँसपात र अन्न खान सक्छ ।


हात्तीसारमा ढोई हात्ती मात्रै भएपछि जंगली हात्तीले दिने दु:खको कुरो पनि उत्तिकै छ । यही भएर आरक्ष प्रशासन र राष्ट्रिय प्रकृति संरक्षण कोष मिलेर जंगली हात्ती माकुना दाह्रेको घाँटीमा रेडियो कलर बाँधिएको छ । हात्तीको अवस्थाबारेमा ‘अपडेट’ लिइराख्न यसो गरिएको हो । दरोगाका अनुसार २०७३ मंसिर शोभाकली, दमदमीकली २०७३ चैतमा, सरस्वतीकली २०७४ कात्तिक, लक्ष्मीकली २०७४ मंसिरमा गर्भवती भएका हुन् । कोसीटप्पु आरक्षका पृथ्वीकली, बराहगज, कुशप्रसादगज, पार्वतीकली र तीर्थकली हात्ती भने चितवन राष्ट्रिय निकुञ्जमा ‘काज’ मा गएका छन् ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?