सर्वोच्च शिखर ‘ट्रान्जिट’

पर्यटन
कुम्भराज राई

काठमाडौँ — ओखलढुंगामा जन्मिए पनि बाल्यकालमै काठमाडौं फर्किएका युगकवि सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ कविताको अंश हो यो । त्यतिखेर पैदल हिँडेर राजधानी आवतजावत गर्नुपर्ने भएकाले रामेछापमा पर्ने तामाकोसी र काभ्रेमा पर्ने रोसीलाई समेत युगकविले कवितामा जोडे ।

सर्वोच्च शिखर ‘ट्रान्जिट’

त्यो तामाकोसी त्यो सुनकोसी
त्यो गिरि फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा
‘तामाकोसी र रोसी ओखलढुंगासँग जोडिएकै छैन’ भन्दै कविताको यो अंशको कतिपयले आलोचना गर्छन् । तर, ती कविताको साइनो सम्बन्ध फेरि जोडिएको छ । कवितामा युगकविले स्मरण गरेका ठाउँहरू विश्वको सर्वोच्च शिखर सगरमाथा जाने राजमार्ग बनेको छ । त्यसमाथि मुख्य ‘ट्रान्जिट’ बनेको छ, ओखलढुंगा ।


मध्यपहाडी राजमार्गमा पर्ने घुर्मी–खुर्कोट सडक खुलेपछि बीपी राजमार्ग हुँदै बनेपा भएर राजधानी जोडिएको छ । ओखलढुंगा सदरमुकाम र कोटेश्वरको दूरी २ सय २० किलोमिटरमा सीमित भएपछि सोलुखुम्बु जाने आउने मूलबाटो यही बनेको छ । पहिले दोलखाको जिरी हुँदै रामेछापको बाम्ती भण्डार भएर सगरमाथाको फेदी (बेसक्याम्प) जाने पर्यटकहरू अहिले सिधै गाडीबाट सल्लेरी पुग्ने गर्छन् । काठमाडौंदेखि करिब २ सय ८० किलोमिटर दूरीमा सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्न सकिन्छ ।


लुक्लामा सधैंजसो बिग्रिरहने मौसमले उडानको भर हुन्न । त्यसैले मुख्य विकल्प अब बनेपा–खुर्कोट–घुर्मी–ओखलढुंगा–सल्लेरी बनेको छ । सोलुखुम्बु प्रवेशद्वारकै रूपमा भएकाले ओखलढुंगा ट्रान्जिट प्वाइन्ट बनेको छ । जसले गर्दा जिल्लाभित्र पर्यटकीय पूर्वाधारहरू निर्माण गर्न सके ट्रान्जिट हुनुको प्रशस्त फाइदा उठाउन सकिन्छ । पर्यटनको दृष्टिले ओखलढुंगाका प्रमुख स्थानहरू हुन्, पोकली झरना, लिब्जु, ककनी मन्दिर, देम्बाडाँडा, सिद्धिचरण स्रष्टा पार्क, रुम्जाटार आदि ।


रामेछापको मन्थली हुँदै लिखु तरेर १ सय ३० मिटर अग्लो पोकली झरनाबाट खिजीचण्डेश्वरी हुँदै देम्बाडाँडा भएर पत्तालेसम्मको पर्यटकीय पदमार्ग साविकमा सञ्चालन भइरहेको छ । पोकली झरनामा क्यानोनिङको सफल अभ्याससमेत भइसकेको छ । पोकली–खिजी–देम्बा–पिके–पत्ताले पर्यटकीय पदमार्गलाई अझै व्यावसायिक विकास गर्न सकिन्छ । धार्मिकस्थलकै रूपमा सुनकोसी र चम्पादेवी गाउँपालिकाको बीचमा पर्ने ककनी मन्दिर, मानेभन्ज्याङ गाउँपालिकाको लिब्जु प्रमुख रूपमा छन् । सदरमुकाममा रहेको सिद्धिचरणको जन्मस्थल र स्रष्टा पार्क, सहिद पार्क थामडाँडा, लगलगे डाँडा, गुरुङहरूको ऐतिहासिक बस्ती रुम्जाटार पर्यटनको प्रचुर सम्भावना बोकेका ठाउँ हुन् ।


खोटाङको हलेसी–रुम्जाटार–सोलुखुम्बुको पत्ताले जोड्ने केवलकारको योजना पूरा गर्न सके ओखलढुंगालाई विश्वको शिखरसँग जोड्ने ट्रान्जिट सावित गर्न सकिन्छ । रुम्जाटारमा पूर्वकै ठूलो गुम्बा निर्माणाधीन छ । यसले झनै सहयोग पुग्नेछ । सगरमाथा हेर्ने सबैभन्दा छोटो गन्तव्यको रूपमा विकास भइरहेको सोलुखुम्बु दुधकुण्ड नगरपालिका र सिद्धिचरण नगरपालिकाको सिमानामा रहेको पत्तालेको कारण ओखलढुंगा ट्रान्जिट बन्नमा सहयोग पुगेको छ ।


भौगोलिक रूपले ओखलढुंगा आफैंमा सुन्दर छ । तर, विश्वको शिखर जाने पर्यटकहरूलाई आकर्षित गर्ने आधारहरू तयार भइसकेका छैनन् । त्यसका लागि केही पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै तहको समन्वय जरुरी छ । गुराँस फुल्ने वनजंगल, जडीबुटी, जंगली जनावर, चराचुरुंगी संरक्षण गर्न सके थप टेवा पुग्न सक्छ । पर्यटन व्यवसायसँग सम्बन्धित कम्पनीहरूले समेत ओखलढुंगाका पर्यटकीय गन्तव्यका रुटहरूको अध्ययन गर्न जरुरी छ ।


काभ्रेको रोसीखोला, तामाकोसी, सुनकोसीको किनारैकिनार हुँदै विश्वको ध्यान तान्ने सर्वोच्च शिखर सगरमाथा जाने पर्यटकहरूलाई ‘ट्रान्जिट प्वाइन्ट’ को रूपमा भुलाउने ठाउँहरू प्रशस्त छन् । बर्सेनि हजारौंको संख्यामा विदेशी पर्यटकहरू ओखलढुंगा हुँदै सगरमाथा आउजाउ गरिरहेका छन् । पर्यटनको दृष्टिले ओखलढुंगा आफ्नै नाभिमा भएको सुगन्ध पत्ता लगाउन नसकेर दौडिरहेको कस्तूरीझैं बनेको छ ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?